सिरियामा कुर्दहरूलाई अमेरिकाले दियो धोका, अब के हुन्छ ?

असोज २२, २०७६

काठमाडौं – सिरियामा अमेरिकाको सैन्य नीतिमा आएको परिवर्तनले उक्त क्षेत्र डामाडोल हुने बताइएको छ । अमेरिकाले उत्तरपूर्वी सिरियाबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने निर्णय लिएको छ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको यो निर्णय पेन्टागनका अधिकारीहरूले सोचेको भन्दा फरक छ । अधिकारीहरू उत्तरपूर्वी सिरियामा अमेरिकी सेना सानो संख्यामा भए पनि रहिरहून् भनी चाहन्थे । उक्त क्षे    त्रमा इस्लामिक स्टेटविरुद्धको अभियान अन्त्य नहोस् भन्ने पेन्टागनको चाहना छ । 


ADVERTISEMENT

अमेरिकाको पछिल्लो कदमबाट सिरियामा रुस र इरानको प्रभाव बढ्ने बताइएको छ । उक्त इलाकामा अमेरिकाले कुर्दहरूसँग मिलेर आईएसविरुद्ध अभियान चलाइरहेको छ । 

उता टर्की चाहिँ कुर्दहरूलाई आतंकवादी बताउँछ । अमेरिकाले कुर्दहरूलाई सहयोग नगरोस् भन्ने टर्कीको लामो समयदेखिको चाहना थियो । 

कुर्दिश लडाकूहरू सिरियाली डेमोक्रेटिक फोर्सेस अर्थात् एसडीएफका अंग हुन् । यो समूह सिरियामा आईएसविरुद्ध अमेरिकाको सबभन्दा विश्वसनीय साथी हो । 

राष्ट्रपति ट्रम्पले टर्कीका राष्ट्रपति रेचेप तैयब अर्दोआनसँग सीधा कुरा गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ । टर्कीले कुर्दहरूका विरुद्ध सैन्य कारवाही चलाउनेछ तर त्यसको दायरा कति ठूलो हुने हो भन्ने स्पष्ट छैन । 

टर्कीको सेना अमेरिका समर्थित कुर्दहरूसँग भिडेमा उक्त इलाका डामाडोल हुन्छ । 

गत वर्षको डिसेम्बर महिनामा ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए तर देशभित्र निकै विरोध भएपछि उनी पछि हट्नुपरेको थियो । ट्रम्पको उक्त निर्णयबाट युरोपेली सहयोगीहरू पनि सन्तुष्ट थिएनन् । 

वाशिङटन इन्स्टिच्युटमा टर्किश रिसर्च प्रोग्रामका निर्देशक सोनेर क्यागप्टेले द न्युयोर्क टाइम्ससँग कुरा गर्दै अमेरिकाको विरोध नभएपछि टर्कीले उत्तरी सिरियामा आक्रमण गरेर कुर्दिश नियन्त्रणको सिरियाली क्षेत्रमा उपस्थिति जनाउने बताएका छन् । अर्दोआनले हजारौं सिरियाली शरणार्थीलाई त्यहाँ पठाउन सक्ने र सिरियामा आफ्नो पनि दखल हुने दाबी गर्ने उनी बताउँछन् । यो महत्त्वपूर्ण प्रगति हो । 

यसैको आडमा टर्कीले उक्त क्षेत्रमा रहेका कुर्द लडाकूहरूमाथि आक्रमण गर्न सक्ने आशंका पनि गरिएको छ । टर्कीले यसो गरेमा उसको अर्थतन्त्र ध्वस्त गरिदिने ट्रम्पले धम्की दिएका छन् । 

ट्रम्पले टर्कीको सेनालाई सिरियासँग जोडिएको सीमामा लिमिटेड अपरेसनको अनुमति दिएको ह्वाइट हाउसले बताएको छ । टर्कीको यस कारवाहीमा अमेरिका समर्थित कुर्दहरू नपर्ने अमेरिकाको भनाइ छ । सिरियाली विशेषज्ञहरू चाहिँ ह्वाइट हाउसको यस निर्णयको आलोचना गरिरहेका छन् । 

उनीहरूका अनुसार, अमेरिकाले कुर्दहरूलाई त्यत्तिकै छोडिदिँदा आठ वर्षदेखि जारी सिरियाली संकटको दायरा झनै बढ्नेछ । कुर्दहरू सिरियाली राष्ट्रपति बशर अल असदलाई साथ दिन आउन सक्ने सम्भावना रहन्छ । असदको सेना टर्कीसँग लड्नका लागि तयार छ । 

अमेरिकाको सैन्यफिर्ती घोषणा एसडीएफका लागि आश्चर्यको विषय हो । एसडीएफले एक बयान जारी गरेर अमेरिकाको यस निर्णयबाट आईएसविरुद्धको लडाईं र शान्तिमा झड्का पुग्ने उसको भनाइ छ ।

अर्दोआन टर्की–सिरिया सीमामा ३०० माइलसम्म सेफ जोन मागिरहेका छन् । उनी उक्त इलाका १० लाख सिरियाली शरणार्थीहरूका लागि चाहन्छन् । 

ती शरणार्थीहरू अहिले पनि टर्कीमा छन् । यसका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त नभएमा उनले शरणार्थीहरू युरोप पठाउने बताएका छन् । अर्दोआन अब सिरियाली शरणार्थी फर्किऊन् भन्ने आशा गर्छन् । 

अगस्ट महिनाको आरम्भदेखि अमेरिकी र टर्किश सेनाले मिल्र काम गरिरहेका छन् । उनीहरू ३०० माइल लामो सीमाक्षेत्रको ७५ माइल क्षेत्रमा संयुक्त गश्ती गरिरहेका थिए । 

अमेरिका समर्थित कुर्द बल निकै माइल पछिल्तिर धकेलिए र आफ्नो किल्लालाई पनि नष्ट गरे । अर्दोआनका लागि यो प्रगति पनि कमै हो । अघिल्लो साता उनले सीमाक्षेत्रहरूमा टर्कीले आक्रमण गर्न सक्ने संकेत दिएका थिए । 

द न्युयोर्क टाइम्सका अनुसार, उत्तरी सिरियामा अमेरिकाको एक हजार सैनिक छन् र ६० हजार कुर्द लडाकू छन् । 

अमेरिका सिरियाबाट बाहिरिएपछि फेरि आउन नसक्ने विशेषज्ञहरूको मत छ । टर्की नेटोको प्रभावशाली सदस्य देश हो तर कुर्दहरू आईएसविरुद्ध अमेरिकी लडाईंका पार्टनर हुन् । 

कुनै समयमा ओट्टोमान साम्राज्यको केन्द्रमा रहेको टर्कीमा २० प्रतिशत जनसंख्या कुर्द छन् । कुर्द संगठनहरूले आफ्नो सांस्कृतिक पहिचानलाई टर्कीले दबाइरहेको आरोप लगाउँछन् । केही संगठन सन् १९८० को दशकदेखि नै छापामार संघर्ष गरिरहेका छन् । 

अमेरिकाको डेलावेर विश्वविद्यालयका प्राध्यापक मुक्तदर खान यस विषयलाई बुझ्न इतिहासतिर फर्कनुपर्ने बताउँछन् । 

उनी भन्छन्, ‘टर्कीमा दुईवटा नश्लीय पहिचान छन् : टर्किश र कुर्दिश । कुर्द जनसंख्या लगभग २० प्रतिशत छ । पहिला उनीहरू सांस्कृतिक स्वतन्त्रता मागिरहेका थिए तर अहिले स्वतन्त्रता मागिरहेका छन् । उनीहरू कुर्दिस्तान बनाउन चाहन्छन् ।’

पश्चिम एसियाको नक्शा हेर्दा टर्कीको दक्षिणपूर्व, सिरियाको उत्तरपूर्व, इराकको उत्तरपश्चिम र इरानको उत्तरपश्चिममा कुर्दहरू बस्छन् । 

कुर्दहरू सुन्नी मुसलमान हुन् तर उनीहरूको भाषा र संस्कृति फरक छ । प्राध्यापक खानका अनुसार, कुर्दहरू संयुक्त राष्ट्रसंघको आत्मनिर्णय अधिकारका आधारमा उनीहरूलाई बेग्लै कुर्दिस्तान बनाउने हक छ । 

सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेदेखि नै उत्तरी इराकमा कुर्दिस्तान लगभग स्वतन्त्र राष्ट्र झैं छ । 

खान भन्छन्, ‘कुर्दहरूको एक राष्ट्र लगभग बनेको कुराले टर्की डराएको छ । त्यसमाथि कुर्द लडाकूहरूले आईएसविरुद्ध लड्नका लागि अमेरिकाबाट हतियार पाएका छन् । उनीहरू शक्तिशाली बनेर सिरियामा आईएसबाट जितेको भागलाई इराकको कुर्दिस्तानसँग जोडेर कुर्द राष्ट्र बनाउन सक्छन् । त्यसो भएछ भने टर्कीका लागि खतरा हुनेछ ।’

टर्कीका लागि यो पहिलेदेखि नै चिन्ताको विषय हो । शुरूमा आईएसविरुद्ध अमेरिकाले कुर्दहरूको सहयोग लिन खोज्दा टर्कीले त्यसको विरोध गरेको थियो । अमेरिकाले सिरियाबाट सेना हटाएमा टर्कीले सैन्य कारवाही चलाएर कुर्द इलाका ध्वस्त पार्नेछ र उनीहरूको अधीनमा रहेको जमीन खोस्नेछ ।

बीबीसी हिन्दीबाट
 

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार