विप्लवनिकट अखिल क्रान्तिकारीले भारतीय दूतावास र राष्ट्रसंघको कार्यालयमा बुझायो ज्ञापनपत्र

कात्तिक २२, २०७६

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी)ले भारतद्वारा नेपाली भूमिमाथिको अतिक्रमणको विरुद्ध शुक्रवार नेपालस्थित भारतीय दूतावास र संयुक्त राष्ट्र संघको कार्यालयलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ ।

बुधबार संगठनले घोषणा गरेको संघर्षको कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए । अध्यक्ष ढकालको नेतृत्वमा ज्ञापनपत्र बुझाएको संगठनले देशभर मसाल जुलुस सहितको प्रदर्शन समेत गरेको थियो ।


ADVERTISEMENT

ज्ञापनपत्र बुझाएपछि अध्यक्ष ढकालले पत्रकारसँग कुरा गर्दै नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको फाइदा उठाउँदै भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाद्दै आएको हरेक प्रकारको दादागिरीको विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, वुद्धिजीवि, पत्रकार, कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरूमा विशेष अपिलसमेत गरे ।

अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपालमाथि भारतीय दादागिरीको अन्त्यका लागि अखिल (क्रान्तिकारी)ले कात्तिक २० देखि २३ गतेसम्म बुद्धिजीवी, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने साथै कात्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने, २२ गते भारतीय दूतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा उजुरी दिने, २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्नेसमेतको कार्यक्रम घोषणा गरेको छ ।

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस