पूर्व सांसद दम्पतीको लोभलाग्दो व्यावसायिक केरा खेती

कात्तिक २३, २०७६

टीकापुर –  १० वर्षे सशस्त्र जनयुद्धको सैन्य पृष्ठभूमि बोकेको एक दम्पत्ति कैलालीको जोशीपुर गाउँपालिका–२ झवहीस्थित पथरैया नदीको ढिकमा फैलिएको केरा बारीमा व्यस्त छ ।

सक्रिय राजनीतिबाट समय व्यवस्थापन गरी नेपबहादुर थारु ‘सिंहराज’, र रुपा सोशी चौधरी  केरा बारीमै अस्थायी टहरा बनाएर काममा तल्लीन छन् । घनाजंगलको जस्तो देखिने केरा बारीमा पुग्दा सिंहराज केही मजदुरसँगै केरा गोडमेलमा व्यस्त थिए भने रुपा टहराको सरसफाइ गर्दै थिइन् ।


ADVERTISEMENT

केरा बारीको चारैतिर अवलोकन गराउँदै सिंहराजले लोकान्तरसँग भने, ‘ केरा बारी १३ बिघा जमिनमा फैलिएको छ । बारीको सबैतिर पुग्न, हेरचाह गर्न, ढुवानी गर्न सजिलो होस् भनेर बारीको मध्यभागमै व्यावसायिक योजनाअनुसार रोड बनाएका छौं । जसले व्यावसायिक उदेश्यमा सघाउ पुर्‍याएको छ ।’

२०६८ सालदेखि ३ जनाको साझेदारीमा नेपाल एग्रीकल्चर फर्ममार्फत व्यावसायिक केरा खेती थालिए पनि अहिले भने सिंहराज र उनको श्रीमतीको मात्रै लगानी छ । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर खेती गरिएको केराको कारोबार वार्षिक १ करोड बराबर हुँदै आएको छ ।

पहिलो प्राथमिकता राजनीति

तत्कालीन माओवादीको शैन्य पृष्ठभूमिबाट सक्रिय राजनीतिमा आएका दुवै जना हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य छन् । सिंहराज नेकपाको सुदूरपश्चिम समिति सचिवको जिम्मेवारी पाएका छन् भने रुपा कैलाली जिल्ला इन्चार्ज ।

यी दम्पतीको यात्रा राजनीतिक मञ्चदेखि केराबारीको कुटोकोदालो गर्दै अघि बढिरहेको छ । राष्ट्रको समृद्धिको लागि आर्थिक समृद्धि प्रधान विषय रहेको बताउँदै सिंहराज व्यवसायलाई आवश्यकताको रूपमा बुझेको तर्क गर्छन् । उनी थप्छन्, ‘राजनीति सँगसँगै उत्पादनलाई जोड्न जरुरी हुन्छ । दैनिक जीविकोपार्जनको लागि पनि जरुरी हो । तर धनाढ्य बन्नलाई व्यवसाय शुरूआत गरिएको होइन (हाँस्दै) साँझ विहानको छाक टार्नलाई पनि श्रम त गर्नैपर्‍यो नि !’

तर राजनीति नै आफूहरूको पहिलो प्राथमिकता रहेको सिंहराज बताउँछन् । उनी भन्छन्, ‘पार्टीको काम बाहेक बाँकी समय बारीमा नै बित्छ । पार्टीका काम नरहेको बेला दिनभरि फर्ममा नै व्यस्त हुन्छु । व्यवसायलाई पार्ट टाइमको रूपमा व्याख्या गर्दा ठीक होला ।’

रुपा अगाडि थप्छिन्–युद्धको मोर्चामा पनि संघर्ष गर्‍यौ । हाल सक्रिय राजनीतिसँगै व्यवसाय पनि गर्दैछौं । यो पनि संघर्षको एक खुड्किलो नै हो । राजनीति सेवा हो । राजनीतिक, पारिवारिक उदेश्य परिपूर्ति गर्न व्यवसाय माध्यम हो ।’

टीकापुर केराब्राण्ड

केही वर्ष अगाडिसम्म नेपाली बजार पूर्ण रूपमा भारतीय केराले कब्जा गरेको थियो । तर पछिल्लो समय स्थानीय उत्पादनले भारतीय केरालाई प्रतिस्थापन गर्दै लगेको छ । टीकापुरमा उत्पादित केरा सुदूरपश्चिमका सबै जिल्लाका साथै  नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, काठमाडौंसम्म बजार पाउँदै आएको सिंहराज बताउँछन् ।

‘जस्तो कि, मुग्लिनतिर सुन्तला बेच्दा गोरखाको सुन्तला भनेर बेचिन्छ । अत्तरियामा निगालीको सुन्तला भनेर बेचिन्छ । त्यसैगरी अब काठमाडौंमा पनि टीकापुरको केरा भनेर बेच्ने परिपाटी शुरू भइसकेको छ,’ सफलता सुनाउँछन् उनी, 'ढुवानीको कारण परिमाणको हिसाबले काठमाडौंको बजारमा धेरै बजार लिन नसकेपनि अन्य स्थानबाट ल्याएको केरालाई टीकापुरको केरा भनेर बेच्न काम शुरू भएको छ ।’

पहिलो पटक थोपा सिँचाइ

नेपालको केरा खेतीमा थोपा सिँचाइ प्रविधि भित्र्याउने नै नेपाल एग्रीकल्चर फर्म भएको उनीहरूको दाबी छ । उक्त प्रविधिले व्यावसायिक केरा खेतीलाई नयाँ उचाइमा पुर्‍याएको सिंहराज बताउँछन् । शुरूआती चरणमा सो प्रविधि भित्र्याउँदा अनेकथरी अड्कलबाजी भएको सुनाउँदै उनले भने, 'हाम्रो एक जना साझेदार दिपेन्द्र चौधरीको खोज अनुसन्धानबाट आधुनिक प्रविधि भित्र्याएका हौं । प्रविधिको शुरूआत गर्दा धेरैले भन्थे, फलानो फर्मका मान्छे पग्लाए । केहीले हौसला पनि दिन्थे । अन्ततः यो प्रविधि सफल भयो ।’

उसो त कैलालीको टीकापुर क्षेत्रलाई केरा खेतीको हब नै मानिन्छ । जसले गर्दा केरा उत्पादनमा टीकापुरको योगदान अग्रपंक्तिमा आउँछ । फलतः हालसम्म टीकापुरका ३ जना किसानले केरा खेतीमा उत्कृष्ट किसानको रूपमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । केरा किसान तथा उद्यमी कालु हमाल, विनोद शाह र नेपाल एग्रीकल्चर फर्मकै अर्का रामबहादुर कुँवरले सम्मान ग्रहण गरेका हुन् ।

टीकापुरमा फष्टाएको केरा खेतीसँगै रोजगारी समेत सिर्जना भएको छ । टीकापुर क्षेत्रमा करीब १ हजार बिघामा हुने केरा खेतीमा हजारौं जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाल एग्रीकल्चर फर्मले मात्रै दैनिक १५ देखि १७ जनालाई नियमित रोजगारी दिन सफल भएको सिंहराज बताउँछन् ।

जेल र जनवादी विवाह

नेकपा एकता केन्द्र निकट अनेरास्ववियु ११ औं बाट राजनीतिक जीवन शुरू गरेका सिंहराजले तत्कालीन माओवादीको जिल्ला इन्चार्ज हुँदै २०६० क्षेत्रीय ब्यूरो सदस्य, केन्द्रीय समिति सदस्य भए । यसैबीच उनी सैन्य मोर्चा अन्तर्गत जनमुक्ति सेनाको कमान्डरसम्म बन्न पुगे ।

उनी भन्छन्–‘संगठनको अन्तिम रूप सेना, संघर्षको अन्तिम रूप युद्ध भन्ने पार्टीको सैद्धान्तिक माध्यता अनुरूप कैलाली जिल्ला इन्चार्जपछि जनमुक्ति सेनामा आबद्ध भए । जनमुक्ति सेनामा बटालियन कमिसनर (राजनीतिक आयुक्त), बिग्रेट कमिसनर, डिभिजन सहायक प्रमुख जिम्मेवारी पाएका थिए ।

उता वामपन्थी वैचारिक पारिवारिक संस्कारमा हुर्केकी रुपा बुवा मंगल चौधरीसँगै विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय भइन् । २०५४ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मा आवद्ध भएकी उनी २०५६ भदौ २ गते पक्राउ परिन् । ३५ दिनको हिरासतपछि उनलाई जेल चलान गरियो । जिल्ला अदालत कैलालीले उनलाई १० वर्ष जेल सजाय सुनाएको तर उच्च अदालत दिपायले २०५७ चैत्र ३० गते जिल्ला अदालत कैलाली फैसलालाई उल्ट्याउँदै सफाइ दियो ।

झण्डै २० महिनाको जेल बसाइपछि पुनः पार्टीमा फर्किइन् । युद्धको मोर्चामै सिंहराज र रुपाबीच प्रेमको अंकुरण भयो । २०५९ सालमा उनीहरूको जनवादी विवाह भएको हो । यसैबीच आफूले जनमुक्ति सेनाको बटालियन कमिसनरको समेत जिम्मेवारी पाएको उनी बताउँछिन् ।

रुपाको राजनीतिक उचाइ यतिमै सीमित भएन । तत्कालीन माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि उनी २०६३ मा आन्तरिम व्यवस्थापिका सदस्य मनोनित भइन् भने २०६४ को संविधानसभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. १ बाट २२ हजार मत ल्याई निर्वाचित समेत भइन् ।

कात्तिक २३, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस