एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य सम्पन्न, सञ्चालन गर्ने तयारी

कात्तिक २३, २०७६

विराटनगर – बहुप्रतिक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य सम्पन्न भएको छ ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघाहामा संरचना तयार गरिएको छ ।


ADVERTISEMENT

चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भएपनि यसको निर्माण कार्य सन् २०१६ बाट शुरू भएको हो ।

भारतको अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रकम १ अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँच चौकीबाट शुरू भएपछि विराटनगर रानीसँग जोडिएर रहेका जोगबनी बजार पनि सहज हने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।

विविध कारणले निर्माणमा ढिलो भएको भनिएपनि आगामी केही दिनमै जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । उनले भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सो चौकी सञ्चालनमा आउने बताए ।

यसबाट भन्सारका हरेक गतिविधिलाई व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस