दलदलमा प्रधानमन्त्री ओली : यी हुन् असफलताका मुख्य २ कारण !

बोर्णबहादुर कार्की
बोर्णबहादुर कार्की

वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत रहेका कार्की लोकान्तरका नियमित स्तम्भकार हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो २ वर्षे शासनकाल निकै उपलब्धिमूलक भएको दाबी गरेका छन् । सरकारका प्रवक्ता (सञ्चार तथा सूचना प्रविधि मन्त्री) गोकुलप्रसाद बाँस्कोटाले सरकार गठन भएको २ वर्षमा संघीयताको कार्यान्वयन, जल, थल र आकाश कनेक्टिभिटीको स्थापना, विमानस्थल लगायतका राष्ट्रिय महत्त्वका निर्माण कार्यमा द्रूतता आदि कुराहरू प्रस्तुत गरेर प्रधानमन्त्री ओलीको दाबीलाई पुष्टि गर्न थप कसरत गरेका छन् । 

प्रधानमन्त्री ओली र सरकारका प्रवक्ताको भनाइ सतही र आधारहीन रहेको विज्ञहरू बताउँछन् । राजनीतिक वृत्तमा मात्र होइन, जनताले पनि प्रधानमन्त्रीका दाबीलाई उडन्ते गफ भन्न थालेका छन् । यस सन्दर्भमा नेकपाकै पार्टी पंक्तिबाट पनि प्रधानमन्त्री ओलीको आलोचना हुन थालेको छ । असफलतालाई ढाकछोप गर्नुभन्दा वास्तविकता स्वीकार गरेको भए उनीप्रति पार्टीपंक्तिदेखि जन–समुदायसम्मको सहानुभूति रहने थियो भन्ने भनाइ उनीहरूको रहेको छ । यस सन्दर्भमा प्रधानमन्त्री ओलीको २ वर्षे कार्यकाल किन असफल रह्यो अहिले सबै क्षेत्रबाट टिका–टिप्पणी, विश्लेषण र मूल्यांकन हुन थालेको छ । 


Advertisement

प्रधानमन्त्री ओलीको २ वर्षे कार्यकालमा केही हुँदै नभएको भने होइन, गर्न सकिने जति सम्भावना र अवसर थियो त्यो अनुसार धेरै न्यून भयो भन्ने मात्र हो । प्रधानमन्त्री ओलीप्रति जनधारणा यति नकारात्मक बनेको छ कि उनले गरेका केही सकारात्मक कामको पनि जस दिने पक्षमा आमजनता देखिँदैनन् । गत आम निर्वाचनमा प्रधानमन्त्री ओलीप्रति पहाड जस्तो जनसमर्थन र उनले केही गर्दछन् भन्ने जनविश्वास थियो ।

नेपालको राजनीतिक इतिहासमा पहिलो पटक यस्तै जनसमर्थन प्राप्त गरेर बीपी कोइराला प्रधानमन्त्री बनेका थिए भने दोस्रोपल्ट ओली प्रधामन्त्री बनेका थिए । बीपी र ओली दुवै दुईतिहाइ जनसमर्थनमा प्रधानमन्त्री बनेका थिए । बीपीको समयमा प्रतिपक्षी पार्टीहरू अति कमजोर अवस्थामा रहेका थिए भने ओलीको समयमा पनि प्रतिपक्षको स्थिति त्यस्तै छ । फरक के मात्र थियो र छ भने बीपीको समयमा खतराको रूपमा राजा महेन्द्र थिए भने ओलीको समयमा त्यस्तो खतरा पनि थिएन । ओलीका अगाडि चुनौती न्यून, अवसर अपार थिए भन्दा अतिशयोक्ति हुँदैन । 


Advertisement

आफू सरहका नेता र आफ्नो गुटइतरका नेता, कार्यकर्तालाई बेवास्ता गर्ने मात्र होइन किनारा लगाउने, पार्टी पद्धतिलाई भत्काएर आफूमा शक्ति केन्द्रित गर्ने अति महत्वाकांक्षाबाट उनी अन्तरपार्टी द्वन्द्वमा नराम्ररी फसे । यसरी अन्तरपार्टी द्वन्द्वमा फसेका ओली जनतासँगको जीवन्त सम्बन्धबाट अलग–थलग हुन पुगे । गुटको बलमा पार्टी र सरकार दुवैमा एकाधिकार स्थापित गर्ने महत्त्वाकांक्षाले उनलाई दुवै मोर्चा (सरकार र पार्टी) मा असफल बनाएको हो ।

सफलताको सम्भावनै सम्भावना बीचमा रहेका ओलीको अगाडि थोरै गर्दापनि धेरै देखिने अवस्था थियो । थोरै पनि गर्न नसकेका ओलीले आफ्नो असफलता ढाकछोप गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्री ओलीले आफ्ना कमजोरीलाई लुकाउन गर्ने कसरतलाई आम जनताले ‘नाँच्न नजान्नेका लागि आँगन टेडो’ भन्ने आरोप लगाउन थालेका छन् । प्रचुर अवसर र सम्भावना हुँदाहुँदै ओली किन यसरी असफल भए ? यो प्रश्न आमजिज्ञासाको विषय बनेको छ । प्रधानमन्त्री ओलीको व्यक्तित्व शिखरमा पुगेको भारतीय सत्ताद्वारा लगाइएको अमानवीय नाकाबन्दीमा उनले निभाएको भूमिका नै हो । उनी त्यतिबेला राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको पक्षमा पहाड झैं खडा भएका थिए । नाकाबन्दीका समयमा नेपाली जनतामा जागेको अभूतपूर्व राष्ट्रियता र देशभक्तिपूर्ण भावनालाई प्रधानमन्त्री ओलीले वाणी र नेतृत्व दिएकाले नै उनको पक्षमा अपाररूपमा जनसमर्थन जुटेको थियो । 

यसरी जनसमर्थन प्राप्त गरेका ओलीसँग जनताको ठूलाठूला अपेक्षा थिए, र रहनु पनि स्वभाविक नै थियो । जनअपेक्षा पूरा गर्न तत्कालीन, दीर्घकालीन, प्राथमिक र सहायक उद्देश्य र योजना निर्धारण गर्नु आवश्यक हुन्थ्यो, तर त्यतातर्फ ओलीको ध्यानै जान सकेन । राष्ट्रिय आवश्यकता र जनताका चाहना बुझ्ने भन्दा उडन्ते र हावादारी गफमा प्रधानमन्त्री ओली अल्मलिए, उनका लागि असफलताको पहिलो आधार नै यही बन्यो । जनअपेक्षाको भारी जति गरुङ्गो थियो त्यति बुझ्ने र धान्ने क्षमता उनीसँग थिएन । कति शासकहरू ज्ञान, सीप र क्षमता नभएपनि योग्य, इमान्दार र सक्षम सहयोगीको भरथेगले सफल भएका प्रशस्त उदाहरणहरू छन् । प्रधानमन्त्री ओलीले सहयोगी र सल्लाहकार आफूभन्दा कम ज्ञान, सीप र क्षमताका मात्र होइन, चाटुकार प्रवृत्ति भएकालाई रोजे । यो उनका लागि असफलताको दोस्रो कारण बन्यो । 

एमाले र माओवादी एकताबाट ठूलो र प्रभावकारी राजनीतिक शक्ति नेकपा निर्माण भएको थियो । नेकपाका नेतादेखि कार्यकर्ताहरूलाई विश्वासमा लिएर अघि बढेका भए प्रधामन्त्री ओलीले उल्लेखनीय सफलता हाँसिल गर्न सक्दथे । तर आफू सरहका नेता र आफ्नो गुटइतरका नेता, कार्यकर्तालाई बेवास्ता गर्ने मात्र होइन किनारा लगाउने, पार्टी पद्धतिलाई भत्काएर आफूमा शक्ति केन्द्रित गर्ने अति महत्वाकांक्षाबाट उनी अन्तरपार्टी द्वन्द्वमा नराम्ररी फसे । यसरी अन्तरपार्टी द्वन्द्वमा फसेका ओली जनतासँगको जीवन्त सम्बन्धबाट अलग–थलग हुन पुगे । गुटको बलमा पार्टी र सरकार दुवैमा एकाधिकार स्थापित गर्ने महत्त्वाकांक्षाले उनलाई दुवै मोर्चा (सरकार र पार्टी) मा असफल बनाएको हो ।

नाकाबन्दीताका प्रधानमन्त्री ओलीको छवी राष्ट्रवादी र देशभक्त बनेको थियो । त्यही छवीले उनलाई आम निर्वाचनमा ठूलो जनसमर्थन प्राप्त भएको थियो । तर प्रधानमन्त्री बनेको केही समयपछि नै भारतीय सत्ताको अगाडि आत्मसमर्पण र चाकडी गर्न थालेपछि ओलीको छवी नराम्ररी धुमिल भयो ।

नेपाली धर्म, संस्कृतिलाई समाप्त गर्न अघि सारिएको तथाकथित होली वाइन, सार्कलाई विघटन गर्न ल्याइएको बिमस्टेक, नेपाललाई अफगानिस्तान संस्करणमा रूपान्तरित गर्न ल्याएको अमेरिकी इन्डो प्यासिफिक स्ट्राटेजी र मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई नाङ्गो रूपमा काँधमा बोकेर हिँड्ने दुस्प्रयासबाट उनी अन्तर्राष्ट्रिय षडयन्त्रकारीको मतियार बन्न पुगे । विवादस्पद उनका यस्ता कसरतबाट छिमेकी मूलुकसँगको सम्बन्ध मात्र होइन, देशको स्वतन्त्रता र स्वाधीनतासँग प्रत्यक्ष जोडिएको असंलग्न परराष्ट्र नीति पनि नराम्ररी धरापमा पर्‍यो । असन्तुलित विदेश नीति अवलम्बन गर्दा ओलीको राजनीतिक यात्रामा नराम्ररी धक्का लाग्यो । उनको असफलताको यो उल्लेखनीय कारण बन्यो ।

ओलीका अदूरदर्शी चिन्तन र व्यवहारले राष्ट्रिय राजनीतिमा अस्वभाविक संकट थपिने निश्चित छ । यसरी असफलताको दलदलमा फसेका ओलीलाई नेकपाले उद्दार गर्न सकेन भने उनले आफूसँगै नेकपा मात्र होइन सिंगो देशलाई नै अपुरणीय र अभूतपूर्व क्षति पुर्‍याउने खतरा छ ।

प्रधानमन्त्री ओलीको उल्लेखनीय सम्पत्ति भ्रष्टाचारविरोधी छवी थियो । छोराछोरीविहीन उनले केही गर्न नसके पनि भ्रष्टाचार गर्दैनन् भन्ने बलियो जनविश्वास थियो । यसअघि सत्तामा पुग्दा बचेर छिपेर दाँयाबाँया गर्ने गरे पनि आमजनताको नजरमा उनको छवी स्वच्छ नै थियो । वाइडबडी र न्यारोबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री ओलीको नाम पनि मुछियो । यो प्रकरणमा आफू संलग्न नरहेको सफाइ दिनुको बदला ढाकछोप गर्ने कसरतबाट उनको भ्रष्टाचारविरोधी छवी नराम्ररी धुमलियो । त्यसपछि एनसेल, फोरजी, सेक्युरिटी प्रेस, नेपाली मिनी स्याटेलाइट र यति होल्डिङ्स भ्रष्टाचार प्रकरणले त उनको बँचेखुचेको छवी पनि समाप्त भयो । यसरी छवी बिग्रिएका ओलीले राम्रो गरेको काम पनि नराम्रो देख्ने जनधारणा बनेको अवस्थामा ओली असफलताको दलदलमा फस्नु स्वभाविक थियो । 

२ वर्षे कार्यकालमा यसरी असफल भएका प्रधानमन्त्री ओली भावी दिनमा सफल हुने सम्भावना ज्यादै न्यून हुँदै गएको छ । प्रधानमन्त्री ओलीले गरेका उपलब्धिमूलक कार्यहरू पनि असफलताका फोहोरमैलाले नदेखिने गरी छोपिदिएका छन् । यो स्थितिलाई चिर्दै अघि बढ्न युद्धस्तरमा निकै मेहेनत गर्नुपर्ने हुन्छ । अशक्त बिरामी उनले सक्रियतापूर्वक असफलतालाई सफलतामा रूपान्तरण गर्न प्रायः असम्भव छ । ओलीको अशक्तताबाट अनुचित लाभ लिइरहेका स्वार्थी तत्वहरूबाट सकारात्मक सहयोग हुने सम्भावना छैन । उनीहरूले प्रधानमन्त्री ओलीको काँधमा बन्दुक राखेर निहीत स्वार्थ पूरा गरिरहेकाले उनको असफलताको ग्राफ झन् बढेर जाने घटनाक्रम विकसित हुँदै गएका छन् । प्रधानमन्त्री ओलीलाई घेरेर बसेकाहरू कुनै हालतमा पनि उनलाई उपचारका लागि आराम गर्न दिने पक्षमा छैनन् ।

प्रधानमन्त्री ओली पनि त्यही मनस्थितिमा देखिन्छन् । काम पनि गर्न नसक्ने पद पनि नछाड्ने ओली प्रवृत्तिले देशलाई अझ संकटग्रस्त बनाउने सम्भावना बढ्दो छ । यसरी अकर्मण्यता र असफलतामा फसेका प्रधानमन्त्री ओली देशको स्वतन्त्रता र स्वाधीनतामा नै गम्भीर आघात पुर्‍याउने अमेरिकी एमसीसीबाट सहयोग लिन ज्यान छाडेर लागि परेका छन् । यो एमसीसी प्रकरणले ओली र जनताबीचको द्वन्द्व र दूरी निकै बढेको छ । ओलीका यस्ता अदूरदर्शी चिन्तन र व्यवहारले राष्ट्रिय राजनीतिमा अस्वभाविक संकट थपिने निश्चित छ । यसरी असफलताको दलदलमा फसेका ओलीलाई नेकपाले उद्दार गर्न सकेन भने उनले आफूसँगै नेकपा मात्र होइन सिंगो देशलाई नै अपुरणीय र अभूतपूर्व क्षति पुर्‍याउने खतरा छ ।

बोर्णबहादुर कार्की
बोर्णबहादुर कार्की

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्