७० वर्ष नाघेका पर्यटकलाई चन्द्रागिरि केवलकार सेवा निःशुल्क

ज्येष्ठ नागरिकको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ ।

बच्चादेखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले योजना ल्याइएको हो ।


Advertisement

योजना अन्तर्गतको सेवा लिन पर्यटकले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ । 

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यसअघि नै गरिसकेको छ । त्यसका अतिरिक्त ३ फीटसम्म उचाइँ भएका बालबालिकालाई पूर्णत निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ । केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीलाई २५ प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।


Advertisement

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्