टर्कीमा धर्मनिरपेक्षतालाई धक्का, नेपालले के सिक्ने ?

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

आइतवार टर्कीमा सम्पन्न जनमत संग्रहमा राष्ट्रपति रेचेप तैय्यीप अर्दोगान र उनको जस्टिस एन्ड डिभेलोपमेन्ट पार्टी (एकेपी)ले गरेको संविधान संशोधनको प्रस्ताव झिनो बहुमतले पारित भएको छ । अर्दोगानले आफू बलियो हुने र सम्भवतः सन् २०२९ सम्म सत्तामा रहिरहनका लागि बाटो खोल्ने गरी गराएको भनिएको जनमत संग्रहमा ५१.३ प्रतिशतले संशोधन मान्य छ भनी मत दिए ।


यो जनमत संग्रहमा संसदीय व्यवस्थाको अन्त्य गरी शक्तिशाली कार्यकारी राष्ट्रपति बनाउने प्रमुख प्रस्तावलाई सञ्चारमाध्यमहरूले बढी उचाले । सेरेमोनियल राष्ट्रपतिका रूपमा रहेका अर्दोगानले शक्तिशाली कार्यकारीको व्यवस्था गरेर आफैंले निरंकुश शासन व्यवस्था चलाउनका लागि संकटकालको स्थितिमा विपक्षीहरूलाई थर्काएर जनमत संग्रहमा विजय प्राप्त गरेका हुन् भनेर विश्लेषण गरिँदैछ ।

स्वतन्त्र पर्यवेक्षकहरूले निर्वाचनमा धाँधली भएको र कतिपय मतपत्रमा आधिकारिक सीलबन्दी नै नभएको आरोप लगाइरहेका छन् भने विपक्षी दलहरूले पनि आफूहरू धाँधलीमा परेको बताएका छन् । सबभन्दा ठूलो डर त विजयपछि अर्दोगानले विपक्षीलाई उठ्नै नदिने तथा लोकतन्त्रलाई ध्वस्त पार्ने डरहरू व्यक्त भइरहेका छन् ।

यी सबै विश्लेषणले टर्कीको समाज कसरी विभाजन भएको छ भन्ने देखाएका छन् । अर्दोगान तथा उनको एके दलले अपेक्षा गरेभन्दा एकदमै कम मत पायो । विपक्षीको ४८.३ प्रतिशत मतले समाजको तीव्र ध्रुवीकरणको संकेत दिएको छ । त्यसैले युरोपेली नेताहरूले अर्दोगानलाई सबै पक्षलाई समेटेर अघि बढ्ने सुझाव दिएका छन् । गहिरो रूपमा हेर्दा यो ध्रुवीकरण भनेको धर्मनिरपेक्षतावादी र धार्मिक आस्था भएका व्यक्तिहरूबीचको विभाजन हो र झिनो बहुमतले भएपनि धार्मिक आस्थावान समुदायको विजय भएको हो ।


यो विभाजन बुझ्नका लागि टर्कीको इतिहास केलाउनुपर्ने हुन्छ । सन् १९२२ मा तत्कालीन ओट्टोमान साम्राज्यको पतनपछि मुस्तफा कमाल अतातुर्कले टर्कीलाई धर्मनिरपेक्ष बनाए । पश्चिमको जस्तै विकास गरेर टर्कीलाई बलियो बनाउने उद्देश्यले पश्चिमीकरणको अभियानलाई उनले तीव्र बनाउँदै मुसलमान धर्मलाई सार्वजनिक रूपमा अभ्यास गर्न दिएनन् ।

पछि सन् १९६० मा भएको सैनिक कू र त्यसपछि आएका कमजोर गठबन्धन सरकार अनि आर्थिक मन्दीका कारण टर्कीमा चरम अस्थिरता आयो । जनताहरू व्यापक रूपमा निराश हुँदै गए । त्यहीबीचमा टर्कीसँग सिमाना जोडिएको मध्यपूर्वमा पश्चिमी हस्तक्षेपका कारण अस्थिरता बढ्दै गएर टर्की पनि असहज स्थितिमा पुग्यो ।

यही क्रममा सन् २००२ मा अर्दोगानको एकेपीले सत्ता हात पा–यो । त्यसपछि एकेपी लगातार सत्तामा छ र देशको आर्थिक वृद्धिदर क्रमशः बढ्दो छ । तर यसबीचमा धर्मगुरु तथा धार्मिक आस्था भएका व्यक्तिहरू क्रमशः बलिया हुँदै गए । महानगरीय क्षेत्रहरूमा पश्चिमी संस्कृतिमा हुर्किएका व्यक्तिहरूले धर्मनिरपेक्षतालाई अंगालिरहेपनि ग्रामीण र दुर्गम क्षेत्रका मानिस भने धार्मिक नै छन् । जनमत संग्रहमा इस्तानबुल लगायतका महानगरवासीहरूले अर्दोगानका विपक्षीहरूलाई मत दिए भने दूरदराजको ग्रामीण क्षेत्रका मानिसले अर्दोगानको इस्लामप्रतिको झुकावलाई समर्थन गरे ।


यो इतिहाससँगै टर्कीको पूँजीवादी विकासलाई पनि अध्ययन गर्नुपर्ने हुन्छ । धर्मनिरपेक्ष राज्यले पश्चिमतर्फ ढल्केका शहरिया ठूला व्यापारीलाई प्रोत्साहन गरेर ग्रामीण क्षेत्रका धार्मिक आस्था भएका व्यापारीलाई हतोत्साहित गरेको थियो । अर्थतन्त्रमा आफ्नो पनि भाग हुनुपर्ने उनीहरूको मागलाई बेवास्ता गरिएपछि निरपेक्षतावादी र मुसलमानहरूका बीचमा सांस्कृतिक द्वन्द्व शुरु भयो । अनि इस्लामिक पार्टीहरूको उदय भयो ।

धर्मनिरपेक्षतावादी बुर्जुवाहरूले राज्यका सेवासुविधा हत्याए भने साना शहरका व्यापारीहरू पीडा भुलाउन धर्मको शरणमा पुगे । धार्मिक व्यक्ति सत्तामा नहुनाले टर्कीले आर्थिक र राजनीतिक अस्थिरता बेहोर्नुप–यो भन्ने भावना तल्लो तप्काका मानिसमा बिस्तारै पलाउँदै गयो ।

टर्कीमा धर्मको यो संघर्षलाई बुझ्न धेरैमध्ये दुईवटा पुस्तक महत्त्वपूर्ण छन् । नोबेल साहित्य पुरस्कार विजेता ओरहान पामुकले आफ्नो उपन्यास 'स्नो'मा धर्मगुरु तथा धर्मनिरपेक्षतावादीहरूको संघर्षका बारेमा मिहिन विश्लेषण गरेका छन् । त्यस्तै, आतिश तासीरको ‘स्ट्रेन्जर टु हिस्ट्री : अ सन्स जर्नी थ्रु इस्लामिक ल्यान्ड्स’ले पनि टर्कीमा राज्यद्वारा शक्ति लगाएर कार्यान्वयन गरिएको धर्मनिरपेक्षतालाई आस्थावानहरूले कसरी चुनौती दिइरहेका छन् भनी उल्लेख गरिएको छ ।

टर्की गणतन्त्रका संस्थापक कमाल अतातुर्कले मुसलमानबहुल देशमा धर्मनिरपेक्षता लगाउनका लागि सेनालाई अभिभावकत्व दिएका थिए । त्यही सेनाले अर्दोगानलाई गत वर्ष हटाउन खोजेको भएपनि उनका समर्थकले कू असफल बनाएर विद्रोही सैनिकहरूलाई कठोर सजाय दिए ।


सभ्यताको द्वन्द्व चलिरहेको वर्तमान समयमा संसारभरिका मुसलमान देशमा धर्मगुरुहरूले आफूलाई सशक्त रूपमा अघि सारेका छन् । त्यही क्रममा आस्थावानहरू पनि शक्तिशाली महसूस गर्दैछन् । टर्कीमा धर्मनिरपेक्षतावादी अनि युरोपेली संस्कृतिमाथि धार्मिक आस्था भएका व्यक्तिको लगातार आक्रमण भइरहेको छ । धर्मनिरपेक्षतावादी र धार्मिक समुदायलाई कसरी एकीकरण गर्ने भन्ने नै अर्दोगानको अहिलेको चुनौती हो ।

धर्मनिरपेक्षता आफैंमा समस्याग्रस्त विषय हो । धर्मनिरपेक्षतावादीहरू धर्मलाई सार्वजनिक विषय बनाउन नहुने र यो नितान्त निजी मामिला भएको तर्क गर्छन् । राज्य धर्मको मामिलामा तटस्थ रहनुपर्ने उनीहरूको जिकिर रहन्छ । तर धर्मनिरपेक्षता आफैंमा तटस्थ विषय हुन सक्दैन किनकि यसले व्यक्तिवादलाई केन्द्रमा राख्छ र व्यक्तिमा धार्मिकतालाई अंगीकार गर्न वा नगर्न स्वतन्त्र हुने अधिकार राख्ने बताउँछ ।

वास्तविकता चाहिँ के हो भने हामी कोही पनि सामाजिक प्रभावभन्दा बाहिर रहेर नितान्त व्यक्तिवादी रहन सक्दैनौं । व्यक्तिको वरिपरि समाज निर्माण हुन सक्छ भनेर सोच्नु नै धर्मनिरपेक्षतावादीहरूको कमजोर तर्क हो किनकि प्रत्येक व्यक्ति परिवारको सदस्य हुन्छ । त्यो परिवार आफैं एउटा संस्कृतिको अंग हुन्छ जसमा एक किसिमको धार्मिक मान्यता चलिआएको हुन्छ । यस्तो परिवारमा हुर्केको व्यक्ति पूर्ण रूपमा धर्मनिरेपक्ष हुन सक्दैन ।


त्यसमाथि धर्मनिरपेक्षतावादीहरूले धार्मिक आस्था राख्नेहरूलाई असभ्यको जस्तो व्यवहार गरेर कुरा बिगारिरहेका छन् । तर वास्तविकता चाहिँ धार्मिक द्वन्द्वका कारणले भन्दा पनि धर्मनिरपेक्षतावादका सन्तानका रूपमा उदाएका फासिवाद, कम्युनिजम र उदारवादी लोकतन्त्रले धेरै मानिसको ज्यान लिए । धर्मका विषयमा धेरैवटा पुस्तक प्रकाशन गरिसकेकी लेखिका करेन आर्मस्ट्रोङको सन् २०१४ मा आएको पुस्तक ‘फील्ड्स अफ ब्लड : रिलिजन एन्ड द हिस्ट्री अफ भायलेन्स’ मा धर्मभन्दा पनि राजनीतिक सिद्धान्तकै कारण धेरै युद्ध र हत्या भएको सप्रमाण तर्क गरिएको छ ।

त्यसैले धर्मनिरपेक्षतावादीहरूले धर्मको साटो विश्वास गर्ने राजनीतिक सिद्धान्त पनि आफैंमा चोखा छैनन् । तिनमा दम हुन्थ्यो भने ती सिद्धान्त अपनाउने देशमा जन्मेका मुसलमानहरू अतिवादीहरूको आकर्षणमा पर्ने थिएनन् अनि प्रवासमा बस्ने टर्किशहरुले अर्दोगानलाई भारी मतदान गर्ने थिएनन् ।


टर्कीको कुरा गर्दा अर्दोगानलाई धर्मनिरपेक्षतावादीहरूले राक्षसका रूपमा चित्रित गरेका भएपनि उनीहरूको यो भूल हो । उनी त आफ्नो समयमा उदाएका एक शक्तिशाली नेता मात्र हुन्, उनैले धार्मिकताको द्वन्द्वको यो स्थितिमा टर्कीलाई ल्याइपु–याएको होइन । उनले धर्मनिरपेक्षतावादी र धार्मिक आस्था भएका व्यक्तिलाई एकीकरण गर्न सकेनन् भने चाहिँ टर्कीको स्थिति अत्यन्तै नाजुक हुनेछ ।

टर्कीका धर्मनिरपेक्षतावादीहरूलाई अहिले त सेनाको समर्थन पनि छैन । अनि टर्कीमा मात्र नभई सबैतिर धर्मनिरपेक्षता सार्वजनिक जीवनमा निजी आस्थालाई सहन गर्ने प्रणालीका रूपमा विकसित हुनुपर्नेमा सार्वजनिक क्षेत्रबाटै धर्मलाई पूर्णतः निषेध गर्ने गरेकोले धार्मिक अतिवादले जन्म लिन पुगेको छ । त्यसमाथि पश्चिमी देशहरू चाहिँ धर्मनिरपेक्षताको पराजयका कारण क्रिस्चियानिटीमा प्रतिकूल असर पर्ने आँकलन गरेरै अर्दोगानको दानवीकरणमा उद्यत छन् ।

टर्कीमा धर्मनिरपेक्षताको असफलताले नेपाललाई पनि पाठ सिकाउँछ । मुसलमानबहुल टर्कीमा जबर्जस्ती धर्मनिरपेक्षता लादिएजस्तै असी प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या भएको नेपालमा जनताको अभिमत नलिइकनै धर्मनिरपेक्षता घोषणा गरियो र वर्तमान संविधानको मस्यौदाबाट धर्मनिरपेक्षता हटाउन जनताले सुझाव दिएपनि त्यसको कार्यान्वयन गरिएन । संविधानको अन्तिम पाठमा अमिल्दो सनातनपरक व्याख्या गरेर भएपनि धर्मनिरपेक्षता कायम गरियो र यसका नाममा पश्चिमी स्वार्थबाट प्रेरित भएर क्रिस्चियन धर्मलाई प्रोत्साहित गरिँदैछ ।


यसले धार्मिक द्वन्द्वको स्थितिलाई अभिप्रेरित गरेको छ । भोट ब्यांकका लागि ल्याइएको धर्मनिरपेक्षताको दूरगामी दुष्परिणाम देशले भोग्नुपर्ने भएको छ । टर्कीको जस्तै नेपालमा पनि समाज विभाजनको शृंखला तीव्र हुने लक्षण देखिँदैछ अनि यसले अर्दोगान जस्तो निरंकुश शासकको उदय अवश्यम्भावी बनाएको छ ।

यो सामग्री तयार पार्न जर्ज फ्राइडम्यान, हलिल कारावेली लगायतका लेखकका आलेखहरूलाई आधार बनाइएको हो ।


Advertisement


Advertisement

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्