सार्थक जीवनका सूत्र

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

योगका आयाम अनेक छन् । तिनमा गरीबी निवारण पनि पर्छ । गरीबीको अर्थ धनको गरीबी मात्र होइन । तनको गरीबी, मनको गरीबी, विद्या, बुद्धि र विवेकको गरीबी, शिक्षा स्वास्थ्य तथा रोग र भोकसम्बन्धी गरीबी पनि हुन् । योग यी तमाम गरीबीका अचूक औषधि हो । योग भन्नाले सामान्यतया ज्ञानयोग, ध्यानयोग, भक्तियोग र कर्मयोग भन्ने बुझिन्छ तर त्यतिमात्र चाहिँ होइन । महामुनि पतञ्जलिले अष्टाङ्ग योगको कुरा गरेका छन् । तिनमा यम, नियम, आसन, प्राणायाम, ध्यान, धारणा, प्रत्याहार र समाधि पर्छन् । तथापि हाल योग भन्नाले आसन, प्राणायाम र ध्यानलाई लिने गरिएको छ । पश्चिमी जगतमा समेत लोकप्रिय हुँदै गएका छन् यी ।   

आसन : यसका अनेक भेद छन् । ८४ आसनको समेत चर्चा भेटिने गरेको छ । तिनका गर्ने तरिका पनि फरक छन्, प्रतिफल पनि फरक छन् । सबै आसन सबैले गर्न सक्दैनन् । कसैले कुनै आसन गर्नै हुँदैन । 


Advertisement

सवासन: यो सबैले सबै अवस्थामा गर्न सकिने आसन हो । यो सुतेर गरिन्छ । सबैभन्दा सजिलो आसन पनि यही हो । लाभका दृष्टिले पनि बढी नै महत्त्वको मानिन्छ ।   

विधि: सर्वप्रथम टम्म मिलेको जमिनमा उत्तानो परेर सुत्नुपर्छ । जमिनमा चटाई वा कम्मल ओछ्याउन सकिन्छ । हात उत्तानो पारे पनि हुन्छ, घोप्टो पारे पनि हुन्छ । घोप्टो पार्ने भए शरीरसँगै र उत्तानो पार्ने भए केही टाढा राख्नुपर्छ । गोडा पनि त्यस्तै हो । जोडेर राखे. पनि हुन्छ, केही टाढा राखे पनि हुन्छ तर टाढा राख्ने भए दायाँवायाँ लर्किन दिनु राम्रो हुन्छ । मनलाई कुनै इष्ट वस्तु वा आफ्नै श्वासप्रश्वासमा केन्द्रित गर्ने प्रयास गर्नुपर्छ ।


Advertisement

फाइदा: यसका फाइदा अनेक छन् । मन शान्त र शरीर स्वस्थ हुन्छ । अनुहारमा कान्ति छाउँछ । शरीरमा फूर्ति बढ्छ । खानामा रुचि र काममा लगान बढाउँछ । मीठो निद्रा लाग्छ । जीवनलाई सकारात्मक हुन सिकाउँछ । विकृतिको जड दूषित मन हो । दुःखको कारण पनि यही हो, गरीबीको बीज पनि यही । यस आसनले त्यही मनलाई स्वस्थ र शान्त रहन सहयोग गर्छ ।

प्राणायाम: प्राणायाम भनेको प्राणको बाटोमा हिँड्नु हो, प्राणको गतिलाई चिन्नु र बुझ्नु पनि हो । महामुनि पतञ्जलिले प्राणको गति रोक्नु हो भनेका छन् । प्राणको गति रोक्नु भनेको व्यवस्थित गर्नु हो । प्राणको गति व्यवस्थित गर्नु भनेको श्वासप्रश्वासको गति व्यवस्थित गर्नु हो । जीवन भनेको श्वासप्रश्वासको गति नै हो । यसैमा जीवन टिकेको छ । यसलाई व्यवस्थित गर्दा आयु लम्बिन्छ भने उन्नति र प्रगतिको पर्दा खुल्छ ।

प्राणायामको नाम: यसको नाम नाडिशोधन तथा कुण्डलिनी जागरण प्राणायाम हो । यो प्राणायाम गर्न जति सजिलो छ, फाइदा पनि त्यत्तिकै छ । सबैभन्दा बढी फाइदा भनेको कुण्डलिनी जागरण नै हो यसको, जसले रोग, शोक, भोक जस्ता तमाम गरीबी निवारणमा सहयोग पुर्‍याउँछ ।

विधि: बसेर पनि गर्न सकिन्छ, सुतेर पनि गर्न सकिन्छ यसलाई । तर बसेर गर्नु राम्रो हुन्छ । मेरुदण्ड भने सोझो हुनुपर्छ । जुनसुकै समयमा पनि गर्न सकिन्छ । तथापि बिहानको खाली पेटमा गर्नु राम्रो हुन्छ । बस्ने तरिका मिलाइसकेपछि दुवै नाकको प्वालबाट जोडसित लामो सास तानेर पेटमा भर्नुपर्छ । त्यसपछि त्यति नै समय रोकेर जोडसित छाडिदिनुपर्छ । श्वास छाडेपछि त्यति नै समय पेटलाई खाली नै रहन दिनुपर्छ । त्यसपछि पुन: अघिकै क्रम दोर्‍याउँदै जानुपर्छ । समयको एकरूपतामा ध्यान दिनुपर्छ । दैनिक करीव पाँच मिनेटको समय दिए पुग्छ । श्वास तान्दा मनमनै सो र छाड्दा हम् अक्षर उच्चारण गर्नुपर्छ । श्वास छाड्दा नाभीमुनि दवाव पर्नुपर्छ ।  

फाइदा: यसका पनि फाइदा अनेक छन् । सामान्यतया शारीरिक, मानसिक र आध्यात्मिक गरी तीन किसिमले हेर्न सकिन्छ ।

शारीरिक फाइदा: रुघा, खोकी, नाकबन्द, पिनास, दम, निमोनिया, मधुमेह, टाउको दुखाइ, अजीर्ण, अपच, मन्दाग्नि ग्यास्ट्रिक, अल्सर, घाँटी खसखस आदिमा फाइदा गर्छ । स्नायु प्रणाली, रक्तसञ्चार प्रणाली तथा पाचन प्रणाली मजबूत बनाउँछ । आलस्य भगाउँछ, भोक जगाउँछ, निद्रा लगाउँछ । रक्तचाप, धातु पतला, स्वप्नदोष, रक्तप्रदर, श्वेतप्रदर जस्ता समस्या हटाउँछ ।

मानसिक फाइदा: अभाव, गरीबी, डिप्रेसन, पागलपन आजका समस्या हुन् । यसमा यो अति उपयोगी प्राणायाम हो ।

आध्यात्मिक फाइदा: मानव शरीरमा मेरुदण्डको फेददेखि टुप्पोसम्म सातवटा सूक्ष्म चक्र हुन्छन्, जसलाई मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा र सहस्रार चक्र भनिन्छ । यिनीहरू क्रमशः मेरुदण्डको टुप्पो गुदद्वार नजिक, नाभिमुनि, नाभी, हृदय, घाँटी, आँखीभुईंको बीच र शिरमा रहेका हुन्छन् । मेरुदण्डको दायाँ, वायाँ र बीचमा क्रमशः इडा, पिङ्गला र सुषुम्ना नाडी हुन्छन् भने गुदद्वारभन्दा तल कुण्डलिनी शक्ति बसेको हुन्छ । करीव पाँच हजार वर्ष पूर्व ऋषिमुनिहरूले पत्ता लगाएका हुन् यी । यस प्राणायामले सर्वप्रथम कुण्डलिनी शक्तिलाई जागृत गर्छ भने सुषुम्ना नाडीमार्फत् षड्चक्र भेदन गराई सहस्रार चक्रमा रहेका शिवतत्वसित मेल गराउँछ । यही नै शिव र सतीको मिलन हो । जब शिव र सतीको मिलन हुन्छ तव जीवनका सारा समस्या समाप्त भई आयु र आरोग्य वृद्धि हुन्छ । रोग भगाउँछ, गरीबी हटाउँछ ।

ध्यान: मनलाई कुनै इष्टवस्तुमा केन्द्रित गर्नुलाई ध्यान भनिन्छ । महामुनि पतञ्जलिले यस्तै अर्थमा लिएका छन् ।

नाम: ध्यानका पनि नाम अनेक नाम र तरिका छन् तर यहाँ उल्लेख गर्न लागिएको ध्यानको नाम अनाहतनाद ध्यान हो । कान बन्द गर्दा जुन आवाज सुनिन्छ, मनलाई त्यसैमा केन्द्रित गर्नु नै यसको विशेषता हो ।

विधि: सर्वप्रथम पद्मासन वा सुखासनमा बस्नुपर्छ । मेरुदण्ड सोझो हुनुपर्छ । बस्ने तरिका मिलाई सकेपछि कानमा कपास र गुदद्वारमा नरम कपडा राखेर प्वाल बन्द गरी मनलाई भित्री आवाजमा केन्द्रित गर्नुपर्छ । विना आहत स्वतः उत्पन्न हुने भएकाले यसलाई अनाहतनाद भनिएको हो । दैनिक करीव आधा घण्टा यसको अभ्यास गर्नु राम्रो हुन्छ ।

फाइदा: फाइदा अनेक छन्, जुन माथि नै आइसकेका छन् । मनलाई शान्त पारी कर्मप्रतिको इमान्दारी र सक्रियता नै यसको विशेषता हो तर उल्लिखित आसन, प्राणायाम र ध्यान एक अर्कोका पूरक हुन् । एक विना अर्को पूर्ण हुन सक्दैनन् । त्यसैले पूर्ण फाइदाका लागि तीन वटैको अभ्यास गर्नुपर्छ । करीव एक वर्षदेखि नै असरको अनुभव हुन थाल्छ ।  

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्