स्रष्टा झोक्राउँदा साहित्य ओइलाउँछ

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

समकालीन नेपाली साहित्य टाक्सिएको अवस्थामा छ । कुनै कडा रोगव्याधिले सताएको दीर्घरोगी जस्तो । कथा, कविता, नाटक, निबन्ध, उपन्यास लगायतका अनेक फाँटहरू उपलब्ध नै छन् तर साहित्यका स्रष्टाहरूमा सिर्जना गरौं-गरौंको उत्साह छैन । भए नै पनि पर्याप्त छैन । धान फल्ने खेत, मकै उब्जिने बारी, सागपात हुने करेसाबारी र तुलफूलका स्रोत मानिने घरबारी सबैतिर अचेल बाँझोपन दृष्टिगोचर हुन्छ ।  हरियो-परियो हेर्न दिंदै आएका रुख बुट्यानमा पनि खडेरी परे झैं लाग्छ । बलिया हात-पाखुरी हुनेहरू कि मरुभूमि हराभरा गर्न अरब देश गएका छन् कि त सिमाना सुरक्षामा खटिन टाढा-नजिकका अन्य मुलुक पुग्ने परम्परा धानिरहेका छन्, यिनै बाध्यताले खेत-बारी बाँझा पाटामा परिणत भएका छन् । त्यसैगरी, स्रष्टाहरू सुस्ताउनाले  साहित्यका विशाल मैदान पट्यारलाग्दा पठार जस्ता हुन पुगेका छन् ।

स्रष्टा किन सुस्ताए त ? किन तिनको जाँगर मरेको हो ? सूचना प्रविधिमा आएको यत्रो उल्लेख्य परिवर्तनले इण्टरनेटका माध्यमद्वारा एक हैन अनेक चौतारीमा खोलिदिएको छ । फेसबूकको ‘छन्द चौतारी’ दृष्टान्त हो । यसरी, सुविधामाथि सुविधा थपिएका बेलामा साहित्य सिर्जना त झन् फस्टाएको हुनुपर्ने हो । तर यथार्थ भने भिन्दै छ । किन होला त ? खोजीनीति गर्नेले अनेक तर्क र आधार फेला पार्न सक्छन् । तर सामान्य समझ भएकाले समेत बुझेको-बेहोरेको तथ्य के हो भने साहित्यलाई मनोरञ्जन मात्र ठान्दै आएकाहरूले आफूले चाहेको आमोद-प्रमोद अन्यत्रैतिर खोज्न थाले, पाउन पनि लागे । फलस्वरुप साहित्यिक कृतिप्रतिको आकर्षण घटेर जाँदो छ । पुस्तकको आकारमा आउने साहित्यिक कृतिका पाठकहरूको गणना घट्ने क्रममा छ । मासिक, द्वैमासिक, त्रैमासिक भनेर चिनिने कतिपय पत्र-पत्रिका अचेल निस्कनै छोडेका छन् । मुद्रित सामग्री र मसलन्दका पसलमा पोटिला कथा,कविता जस्ता रचनाहरू भएका पत्र-पत्रिका भेटिन छोडेका छन् ।


Advertisement

विडम्बना,२०४६ सालको राजनीतिक परिवर्तनपछि आएको खुला वातावरणमा नेपाली साहित्य मौलाउने बाटोतिर लाग्नुपर्नेमा दुब्लाउने दिशातिर डोरिंदै गयो । एकपछि अर्को गरेर नेपाली मौलिकपन दिने साहित्यिक प्रकाशनहरू हराउँदै गए । यसरी हराउने प्रमुख प्रकाशनहरूमा पर्छ ‘रत्नश्री’ द्वैमासिक । दाजु मदनदेव भट्टराई र भाइ शान्तदेव भट्टराईको जोश र जाँगरबाट २०२० साल भाद्र-आश्विनबाट प्रकाशन शुरु भएको ‘रत्नश्री’ आषाढ-श्रावण, २०५७ को अङ्कपछि बन्द भयो यद्यपि त्यस्तो कठिन अवस्था आउने सङ्केत २०४७ बाटै भएको थियो । जे होस्, दर्जनौको संख्यामा स्रष्टा र सयकडौंको गन्तीमा रचना र कृति नेपाली वाङमयलाई उपलब्ध गराउने यो मञ्च मूलत: आर्थिक कारणले धान्न नसकिने अवस्थामा पुग्यो । उद्धारका उपाय भएनन् ।

‘साहित्य रत्नश्री र म’ नामक हालै छापिएको पुस्तकमा शान्तदेव भट्टराईले यी र यस्तै विषयबारे सामयिक चिन्तन-मनन प्रस्तुत गर्नुभएको छ । यसमा प्रकाशन अवधिका कतिपय अग्रलेख, सामयिक टिप्पणीहरू पनि समावेश भएका छन् । त्यस्तै, लोकसेवा आयोगले राष्ट्रभाषा नेपालीलाई कम आँकेको बेला, प्रज्ञा-प्रतिष्ठानलाई प्राज्ञहरूको साटो कारिन्दाको किल्ला बनाउने प्रवृत्ति झाङ्गिएका बखत र साहित्यमा राजनीतिक प्रदूषण बढेको समय ‘रत्नश्री’ले घन्काएको आवाजका अभिलेख यस पुस्तकका विभिन्न खण्डमा पाइन्छन् । सिद्धिचरण श्रेष्ठ, पोषण पाण्डे, भारती खरेल, तारानाथ शर्मा (तानासर्मा), रत्नदास प्रकाश र पारिजात जस्ता स्रष्टाहरूले ‘रत्नश्री’लाई आफ्ना अभिव्यक्ति र चिनारीका माध्यमको रूपमा पाएको जानकारी यस पुस्तकका पृष्ठहरूमा पाइन्छन् ।


Advertisement

‘सम्पादकीय आयतनमा शान्तदेव भट्टराई’ शीर्षकमा प्रा.राजेन्द्र सुवेदीद्वारा प्रस्तुत आलेखले यस किताबको सन्दर्भमा विस्तारित भूमिकाको काम गरेको छ । यसमा नेपालको साहित्य संसार खुम्चिंदै जाने क्रमको गहन विवेचना भएको छ । उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डेको प्रयासमा २०१७ सालमा प्रकाशन आरम्भ भएको ‘रूपरेखा’ अहिले इतिहास भईसकेको छ । कतिपय अरू प्रकाशन पनि हराए । समकालीन प्रकाशनमध्ये अहिलेसम्म धानिएका चर्चित पत्रिका थोरै छन् जसमा रोचक घिमिरेको सम्पादनमा निस्कने ‘रचना’ र नगेन्द्रराज शर्मा सम्पादक रहेको ‘अभिव्यक्ति’ पर्दछन् । महिला स्रष्टालाई सम्मान र प्रोत्साहन गर्ने प्रकाशनमा ‘रत्नश्री’ अग्रणी रहेको लेखक भट्टराईको दाबी छ । ‘नारी अङ्क’ नै निकाल्ने काम गरेको गरेकोले सम्भवत: यस दाबीको विरोध हुँदैन होला ।

वि.सं. १९५५ मा ‘सुधासागर’ निस्क्यो, तीन वर्षपछि गोरखापत्र (उतिखेर ‘गोर्खापत्र) छापिन थाल्यो । यसरी हेर्दा नेपालमा ‘खबर पत्रकारिता’ भन्दा पहिले ‘साहित्यिक पत्रकारिता’ आरम्भ भएको देखिन्छ । लेखक शान्तदेव भट्टराईले यसकै आधार पनि दिएर साहित्यिक पत्रकारिता चाहिँ किन पछाडि पर्नगएको हो भनेर प्रश्न उठाउनु भएको छ । प्रश्न जायाज छ, तर अचेलको सञ्चारजगत्‌को दृश्यपटल नियाल्दा खबर पत्रकारिता पनि बलियो धरातलमा उभिएको देखिंदैन । समग्र मुद्रण पत्रकारितामा नै सूचना प्रविधिमा आएको परिवर्तनले असर पारेको छ । तैपनि, सुखद् संयोग नै भन्नुप-यो, यस्तो कठिन परिस्थितिमा समेत मुलुकको जेठो अखबार गोरखापत्र संघर्षरत छ, र सो संस्थानका नेपाली प्रकाशनमा साहित्यिक पत्रिका ‘मधुपर्क’ अग्रपङ्तिमा रहेको छ ।

शान्तदेव भट्टराईले पुस्तकको प्रारम्भिक मन्तव्यमा उल्लेख गरेको एउटा अर्को प्रसङ्गले मेरो ध्यान तानेको छ, र मजस्ता अन्य पाठकको ध्यान पनि आकृष्ट गर्छ होला भन्ठान्छु । कुरो हो ‘नियात्रा’ को । नियात्रा शब्दले सामान्य किसिमको यात्रा-वृत्तान्त बुझाउने होइन रहेछ । अर्को शब्दमा, कुनै तीर्थस्थल वा पर्यटकीय स्थान गएर फर्केपछि लेखिने-छपाइने सतही विवरण नियात्राको कित्तामा पर्दैन । नियात्रा त साहित्यका कविता,कथा,उपन्यास,नाटक, निबन्ध सरहको छुट्टै विशिष्ट विधा हो । नेपालमा यस विधाको पहिलो कृति रहेछ ‘बेलाइततिर बरालिँदा’। अनि, डा. तारानाथ शर्माले नै यो किताब निस्कनुअघि लेखेको ‘मेनाई साँघुको यात्रा’ पहिलो नियात्रा (निबन्ध) रहेछ । शर्माले बेलाइतमा अध्ययनरत छँदै लेखिपठाएको त्यो नियात्रा ‘रत्नश्री’ मा २०२३ सालको अन्तिम अङ्कमा छापिएको जानकारी भट्टराईले दिनुभएको छ । यो साहित्यका साधक र पाठक दुबैथरीका लागि महत्वपूर्ण सूचना हो । प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा दिइएको ‘नियात्रा’को यस परिभाषाले पनि‘रत्नश्री’का भट्टराईको जानकारीलाई पुनर्पुष्टि गर्दछ : “यात्रा-वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध” ।

   कृति : साहित्य रत्नश्री म

   लेखक: शान्तदेव भट्टराई

   प्रकाशक : विवेक प्रकाशन,काठमाडौं

   पृष्ठ: १७४ । मूल्य: रु.२५०/

   प्रकाशन वर्ष: वि सं २०७६    

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्