हरिश वली : सांगीतिक पिटी गुरु

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

साच्चै जिन्दगी सम्झिँदा उनलाई अहिले पनि सपना जस्तै लाग्छ ।  जन्मिएको ६ महिनामै पारिवारिक विवशताले आमासँग मामाको साथमा भारतको हिमालच प्रदेशको सिम्ला पुगेका थिए हरिश वली । त्यहीँ तातेताते गर्दै हुर्किए । पढाई शुरू गरे । पढाईमा पनि अब्बल बन्दै गए


Advertisement

पढाईसँगै उनी विद्यालयको सांगीतिक प्रार्थना (पिटी) कक्षा तीनदेखि नै'लिडर’ भएर नेतृत्वमा रहिरहे । स्नातक उत्तीर्ण गरेपछि भारतबाट पिटी सम्बन्धी तालिमको लागि उनी चीन जान छनोट भए । उनको खुशीको सीमा नै रहेन । चीन जान राहदानी, नागरिकता वा राशन कार्ड मागियो । तर उनीसँग थिएन । चिनेजानेका र नजिकका सबैलाई 'कार्ड’ बनाइदिन बिन्ती गरे । कसैले उपलब्ध गराएनन्/सुनेनन् । उनी चीन जानबाट बञ्चित भए ।

अनि बल्ल बुझे आफ्नो पहिचान र राष्ट्रको महत्व । त्यसको भोलिपल्टै उनी जन्मिएको २४ वर्ष पुगेपछि आफ्नो देश नेपाल र जन्म गाउँ गंगादेव गाउँपालिका–६ रोल्पा आए । गाउँ आएपछि २४ वर्षमा जन्मदर्ता गराए । नागरिकता पनि बनाए । आफ्ना शैक्षिक योग्यता समकक्षता (इक्युभ्यालेन्ट) गराए ।


Advertisement

नेपाली भाषा सिक्दै पनि गए । अनि उनले बल्ल बुझे आफ्नो माटोको महत्त्व ।

*****

उनी कक्षा तीनदेखि नै कक्षा १२ सम्म एसेम्ली लिडर थिए । भारत फर्केर नजाने प्रण गरेर वलीले विस्तारै नेपाली बोल्न सिक्दै गए ।

एक दिन उनी आफ्नै गाउँको जीवनज्योति माविको कक्षा ८ मा गएर गणित विषय पढाए । उनको पढाउने शैलीले विद्यार्थी र त्यहाँको शिक्षकहरू आकर्षित भए । उनको पढाउने कला र विद्यार्थीहरूलाई पिटी सिकाउने शैली सिकाउन रोल्पाकै बुद्धिविकास माविले राहत शिक्षकको रूपमा ४ हजार ५ सय रुपैयाँ तलब दिने गरी राहत कोटामा उनलाई गणित शिक्षक र खेल शिक्षकको रूपमा नियुक्त गर्‍यो । उनले विद्यार्थीलाई पढाईसँगै खेलमा र पिटीमा अब्बल बनाउँदै लगे ।

२०६८ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयलाई उनले च्याम्पियन बनाए । विद्यार्थीलाई पढाईसँगै खेल र सांगीतिक पिटीप्रति लगाव बढ्दै गयो । उनको लोकप्रियता देखेर रोल्पा सदरमुकामस्थित बालकल्याण माविमा २०६८ सालमा त्यहाँ प्रधानध्यापक मदुसुदन पोखरेलले आउन अनुरोध गरे । उनको अनुरोधलाई वलीले सहर्ष स्वीकार गरेर १० हजार ५ सय रूपैयाँ तलबमा खेल शिक्षकमा ल्याइयो । उक्त विद्यालय नेकपाका सांसद् कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, उपराष्ट्रपति नन्दबहादुर पुनले अध्यापन गराएको विद्यालय हो । सात वर्ष वलीले त्यही स्कूलमा पढाए ।

विद्यार्थीलाई खेल पनि सिकाए । अनि निरन्तर विद्यालयलाई राष्ट्रपति रनिङ शिल्डमा प्रथम पनि बनाए । त्यतिमा मात्र उनको क्षमता सीमित रहेन । उनले जिल्लाभरका सबै शिक्षकहरूलाई खेलमा परिपक्क बनाउँदै सिकाए ।

जिल्लाको खेलकूदको विकासमा ठूलो योगदान पुर्‍याए । वलीले विद्यालयमा विद्यालयमा पिटी सिकाएको भिडियो रोल्पाका मेयरले युटयुबमा राखेपछि नेपालकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने र उत्कृष्ट विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविका प्रधानध्यापक घनश्याम पाठकले देखे । पाठकलाई त्यो पिटी मन पर्‍यो । अनि रोल्पा पुगेर वलीलाई पाठकले अनुरोध गरे- हाम्रो विद्यालयमा आएर दुई चार दिन सिकाइदिनुपर्‍यो । अनि गएको फागुनमा विद्यालयमा आएर तीन घण्टा पिटी सिकाए । ५ हजार ५ सय विद्यार्थी दंग परे । शिक्षक विद्यार्थी प्रभावित भए । अनि पाठककै पहलमा मावि तृतीय श्रेणी दरबन्दी सिर्जना गरेर गएको वैशाख २ गतेदेखि रुपन्देहीको कालिका मानवज्ञानमा वली झरे ।

उनी भन्छन्, 'मेरो सीप र क्षमता देशभर फैलाउने गरी म रूपन्देही झरेको हुँ । रोल्पामा पनि मलाई पैसाको कमी थिएन । विद्यालय तहमा पनि यो पिटीलाई देशभर बनाउने लक्ष्य छ ।’

कालिका मानवज्ञान विद्यालयकै विद्यार्थीले लेखेको 'हाम्रो कालिका राम्रो कालिका’ गीतमा केही विद्यार्थीले मादल, खैजडी, बाँसुरी, क्यासियोको संगीत भर्छन् । देशभक्तिपूर्ण गीत र संगीतको मीठो धुनमा विद्यालयका कक्षा २ देखि १० सम्मका करीब तीन हजार विद्यार्थी फूर्तिका साथ ५ मिनेट बढी पिटी खेल्छन् । विद्यार्थीको पिटी सैनिक र प्रहरीको ठूलो पल्टनको झल्को दिने गरी अनुशासित, लयबद्ध र मिलेको हुन्छ । पिटी सकिएपछि राष्ट्रियगान बज्छ ।

विद्यार्थी र शिक्षकले पनि अनिवार्य गाउँछन् । त्यसपछि कुनै विद्यार्थीले देश–विदेशका प्रमुख घटनासम्बन्धी समाचार वाचन गर्छन् । प्रधानाध्यापकले त्यसदिन कुनै कार्यक्रम भए जानकारी गराउँछन् । १२ मिनेटभित्र यी सबै क्रियाकलाप सकिन्छ र विद्यार्थीहरू फेरि पंक्तिवद्ध भएर कक्षा कोठामा पुग्छन् । कुनै एउटा कक्षाका विद्यार्थीले विद्यालय परिसर सरसफाइ गर्छन् र उनीहरू कक्षामा पनि पुग्छन् । अनि संगीतको धुन बन्द हुन्छ । यो दृश्य बुटवलको कालिका–मानवज्ञान मावि बुटवलमा बिहानको प्रार्थना समयमा हरेक दिन देख्न सकिन्छ । प्रार्थना समयमा पुग्ने जो कोही संगीतसहित पिटी खेलाएको देखेर रोमाञ्चित हुन्छन् ।

विद्यार्थी संख्या र शैक्षिक नतिजामा मुलुककै सर्वोत्कृष्ट कालिका–मानवज्ञान माविले प्रार्थना समयमा विद्यार्थीलाई सांगीतिक पिटी खेलाउने नौलो अभ्यास शुरू गरेको हो । पाठ्यक्रममै पिटी समावेश भए पनि अधिकांश विद्यालयले नियमित खेलाउँदैनन् । संगीतसहितको पिटी त सामुदायिक विद्यालय कसैले पनि नखेलाएका विद्यालयका प्रधानाध्यापक पाठक बताउँछन् ।

कक्षाकोठामा जानुअघि संगीतका माध्यमबाट विद्यार्थीको 'मूड फ्रेस’ गराउन सांगीतिक पिटी शुरू गरिएको उनले बताए । 'संगीतले जो कसैको मूड फ्रेस बनाउँछ, पिटीले विद्यार्थीको शारीरिक व्यायाम र तन्दुरुस्तीसँगै पढाइप्रति रुचि बढाएको छ,’ पाठकले भने, 'विद्यार्थीमा ऊर्जा, सकारात्मक सोच र अनुशासन पनि सिकाइएको छ ।’ धेरै विद्यार्थी संख्या भएर पनि विद्यार्थीहरू अनुशासनमा रहेका र सिकाइमा सकारात्मक प्रभाव पारेको पाठकले बताए । घरबाट फरक-फरक मुड र वातावरणबाट आउने विद्यार्थीहरू संगीतसहितको पिटीले सबैलाई खुशी र ऊर्जाशील बनाउने सांगीतिक पिटीका अभियान्ता खेलकुद शिक्षक वलीले बताए । मानसिक रूपमा सांगीतिक पिटीका लागि विद्यार्थीलाई सिकाएर छुट्टै ब्याण्ड तयार गरिएको उनले बताए । शिक्षकको अनुपस्थितिमा विद्यार्थीले नै पिटी खेलाउन सक्ने उनले बताए । कालिका मानव ज्ञानले शुरू गरेको सांगीतिक पिटीको सकारात्मक प्रभाव थाहा पाएर हालसम्म विभिन्न प्रदेशका करीब सय वटा स्थानीय तह अवलोकन गर्न आइसकेको शिक्षक वलीले बताए ।

अहिले बुटवलका कान्ति र नवीन औद्योगिक माविले पनि सांगीतिक पिटी अनुशरण गर्न थालेका र प्रदेशका थुप्रै विद्यालयबाट प्रशिक्षण दिन माग आएको प्रधानाध्यापक पाठकले बताए । विद्यालयले उत्कृष्ट शैक्षिक गुणस्तर कायम राख्न शिक्षकलाई अनिवार्य मुस्कानसहितको अध्यापन, विद्यार्थीले प्रश्न सोध्दा रिसाउन, झर्किन नपाइने, शिक्षकको हाजिरी र मूल्यांकन हरेक कक्षामा विद्यार्थीले गर्ने, शिक्षकले कक्षाकोठामा शैक्षिक सामग्री अनिवार्य लानुपर्ने जस्ता विद्यार्थी केन्द्रीत शिक्षण विधि अपनाएको छ । उनी भन्छन्- सरकारी जागिर खाने सोच छैन । यही मेरो अभियानलाई देशभर फैलाउछु । मेरो यो अभियानबाट विद्यार्थीहरू आकर्षित भएका छन् ।

उनले ८० भन्दा बढी विद्यालयमा पिटी सिकाइसकेका छन् । उनी भन्छन्, 'म देशभरका सबै विद्यालयमा सांगीतिक पिटी सिकाउने लक्ष्य छ । त्यो अभियानमा म लाग्छु ।’

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्