कोरोनाविरुद्धको लडाईं: पहिलो चरणको रणनीति फेल, यही पाराले सफल होला 'प्लान बी' ?

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

तीन साताअघि सरकारले कोभिड १९ (कोरोना भाइरस)सँग लड्न भन्दै ३ चरणको रणनीति सार्वजनिक गर्‍यो । गत फागुन १८ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनासँग लड्न सरकारसँग तीन रणनीति रहेको जानकारी गराएका थिए ।

उनले पहिलो रणनीतिअन्तर्गत कोरोनालाई नेपाल आउनै नदिने दिशामा सरकारले काम गरिरहेको बताएका थिए । दोस्रो रणनीति अन्तर्गत नेपालमा यदि संक्रमण देखियो भने राज्यले सम्पूर्ण शक्ति लगाएर त्यसलाई निराकरण गर्ने बताए भने तेस्रो रणनीतिअन्तर्गत नेपालमा महामारीका रूपमा कोरोना फैलिहाल्यो भने स्वास्थ्य संकटकाल लगाएर त्यसको सामना गर्ने उनले बताएका थिए ।


Advertisement

उनले सञ्चारकर्मीहरूलाई बताएको पहिलो रणनीति फेल भइसकेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीय नेपाली युवतीलाई कोरोनाको संक्रमण देखिएको उनैले मन्त्रालयमा पत्रकारहरूलाई बोलाएर सार्वजनिक गरे । यही चैत ४ गते नेपाल उत्रिएकी ती युवतीमा ६ दिनपछि अर्थात् गत आइतवारमात्र कोरोनाको संक्रमण पुष्टि भएको थियो । 

यसरी भयो लापरवाही 


Advertisement

फागुनको अन्तिम सातासम्म पनि नागरिक उड्ययन प्राधिकरणका कर्मचारीहरूले अन्तर्राष्ट्रिय उडानहरू रोक्नुपर्ने कुनै आवश्यकता नरहेको बताउने गर्दथे । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भनेका थिए, ‘राज्यले अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिसकेको छ, यो नै काफी हुन्छ, उडान रोकिरहन पर्दैन यात्रु नपाएपछि एयरलाइन्सले उडान गर्नै सक्दैनन् ।’

उनले त्यतिबेला डब्लूएचओ र आईकाओले पनि उडान रोक्न नभनेकाले अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्था त्यतिबेला नरहेको बताउने गरेका थिए ।

यता अन्तर्राष्ट्रिय उडान रोक्नेबारे सरकारले पनि छिटो निर्णय लिन सकेन । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिनदिनै बस्ने गर्दथ्यो, तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती भएनन् । बरू सरकारले इरान, इटाली, जापान, दक्षिण कोरिया लगायतका देशका नागरिकहरूलाई अनअराइभल भिसा दिन बन्द गरिदियो । तर जहाजमा उडेर आउनेहरू आइरहे । 

विदेशबाट आउनेहरूलाई अवतरण हुनेबित्तिकै स्वास्थ्य परीक्षण गर्न भनेर हेल्थ डेस्क राखिएको थियो । डेस्कमा रहने स्वास्थ्यकर्मीहरूले ज्वरो नाप्ने भन्दा अरू काम गर्दै गरेनन् । कतिपयलाई स्वास्थ्य प्रमाणपत्र ल्याउन भनियो, कतिपयलाई फारम भरेर सेल्फ क्वारेन्टाइन बस्न भनियो । त्यसपछि कुनै अनुगमन गरिएन । 

त्यतिबेला केही सञ्चारमाध्यमहरूले सरकारको तयारी बिल्कुलै नपुगेको भन्दै समाचार टिप्पणीहरू लेख्न थाले । सरकार भने आफ्नो तर्फबाट सम्पूर्ण पूर्वतयारी भएको भन्दै जनतालाई आश्वासन दिन व्यस्त देखियो । 

नाम नखुलाउने शर्तमा स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘हामीले यस्तो पाराले हुँदै हुँदैन भनेर मन्त्रीलाई धेरैपटक भन्यौं । हामी आफैं आतंकित हुनुपर्ने परिस्थिति उत्पन्न भयो । मन्त्रीज्यूले ल म समितिमा सल्लाह गर्छु भन्नुहुन्थ्यो । समितिले निर्णय पनि गरेको हो, तर कार्यान्वयन हुने स्थिति नै देखापरेन ।’

उनले त्यतिबेला सबैले यो महामारीलाई हल्का ढंगले लिएका कारण नै अहिले नेपालमा कोभिड १९ भित्रिने परिस्थिति देखिएको आरोप लगाए । 

गत फागुन २८ गते बिहीवार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले चैत्र १ गते शनिवारदेखि विदेशीलाई दिइँदै आएको अनअराइभल भिसा बन्द गर्ने निर्णय गर्‍यो । त्यसअघि नै भिसा लिइसकेकाहरूले स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्ने भनियो ।
समितिको निर्णयमा भनिएको थियो, ‘मार्च १४ २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टाइनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने, कूटनैतिक र अफिसियल भिसा

प्राप्त विदेशीहरू पहिलोपटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किँदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने र व्यवसायिक अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागू गर्ने ।’

चैत १ गतेदेखि बीसौं हजार विदेशीहरू नेपाल आएको तथ्यांक अध्यागमन विभागसँग छ । तर तिनीहरू कहाँ क्वारेन्टाइनमा बसिरहेका छन्, सरकारले अनुगमन गर्न जरूरी देखेको छैन । 

निर्णय गरेर व्यवहारमा कार्यान्वयन नगर्नु नै सरकारको ठूलो लापरवाही भएको जनस्वास्थ्यविज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । ‘पहिलो कुरा त फ्लाइट टोटल्ली बन्द गर्न सक्नुपर्थ्यो, त्यसो नगरे नेपाल आएका सबैलाई सरकारकै नियन्त्रणमा अनिवार्य क्वारेन्टाइनमा राख्न सक्नुपर्थ्यो,’ डाक्टर पाण्डेले लोकान्तरसँग भने, ‘सरकार यहीँनेर चुकेको छ ।’

अनि भित्रियो कोरोना  

चैत ४ गते कतारको दोहा हुँदै फ्रान्सबाट आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्‍यो । विभिन्न स्रोतका अनुसार कतार एयरवेजको फ्लाइट नम्बर ६५२ मा कोरोना संक्रमित युवतीसँगै २ सय ५ जना यात्रुहरू नेपाल आएका थिए । उनलाई नेपाल आएको एकसातापछि कोरोनाको संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरेर ती युवतीलाई कोरोना देखिएको बतायो । तर उक्त जहाजमा सँगै आउने यात्रु कहाँ छन्, ती युवतीले नेपाल आएपछि को–कोसँग भेट गरिन् भन्ने प्रश्नको जवाफ सरकारसँग छैन । 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले लोकान्तरसँग भने, ‘हामीले उनीसँग नेपाल आउने सबैलाई होम क्वारेन्टाइनमा बस्न भनेका छौं ।’ 

क्वारेन्टाइन बाध्यकारी होइन र भन्ने प्रश्नमा डाक्टर देवकोटाले भने, ‘केलाई बाध्यकारी भन्ने, के लाई बाध्यकारी नभन्ने ? सरकारले कसैलाई पनि घरबाट बाहिर निस्किन दिएको छैन । नागरिकहरूकै स्वास्थ्यका लागि हो नि !’
परीक्षणको दायरा बढाउने दोस्रो रणनीति पनि सफल हुने छाँट छैन 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अब दक्षिण पूर्वी एसियामा कोरोना फैलिन सक्ने भन्दै चेतावनी दिएको दुई साता बित्न लागिसक्यो । 

त्यसका लागि बढी भन्दा बढी परीक्षण गर्नुपर्ने सल्लाह डब्ल्यूएचओले दिने गरेको छ । डब्ल्यूएचओको सल्लाह अनुसार सरकारले परीक्षणको दायरा बढाउनेसमेत निर्णय गर्‍यो । तर परीक्षणको संख्या बढ्न सकेको छैन । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यो समाचार टिप्पणी लेख्दासम्म कूल ६ सय १० जनाको कोरोना परीक्षण भएको छ भने ६ सय ८ जनामा नेगेटिभ रहेको मन्त्रालयको वेबसाइटमा देखाइएको छ । जबकि सरकारले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि ८० देखि ९० जनामा मात्र थप परीक्षण गरिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले परीक्षणको दायरा बढाउने भनेपनि त्यो नभएको स्वीकारे । ‘हाम्रो पनि चिन्ताको विषय बनेको छ परीक्षणको दायरा कसरी बढाउने भनेर,’ डाक्टर पाण्डेले भने, ‘विभिन्न ठाउँबाट आउने स्याम्पल जति हवाई जहाजमा अड्केको छ । कसरी परीक्षण गरेर पठाउनु अब ?’

यसबारेमा डाक्टर पाण्डेले मन्त्रालयमै गएर कुरा गर्ने बताए । ‘यो विषय गाह्रो भइरहेको छ, म मन्त्रालयमै गएर कुरा राख्छु,’ उनले भने, ‘परीक्षणको दायरा बढेको छैन । पहिला विदेशबाट आएकालाई मात्र जाँच्ने भन्ने थियो, अहिले कोरोनाको लक्षण देखिने ६० वर्षमाथिका सबैलाई जाँच्ने भनिएको छ । भारतबाट आउने कति छन् कति, तिनीहरूको जाँच्नु पर्‍यो । यस अर्थमा हामी परीक्षणको दायरा बढाउन सफल भएका छैनौं ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले परीक्षण किन बिस्तार भएन भन्ने प्रश्न मन्त्रालयलाई नै सोध्ने सल्लाह दिएकी छन् । मंगलवार लोकान्तरसँग कुरा गर्दै डाक्टर झाले भनिन्, ‘परीक्षणको दायरा विस्तार किन नभएको भन्ने प्रश्न मन्त्रालयलाई नै सोध्नुस् । परीक्षणका लागि स्याम्पल खोज्ने काम हाम्रो होइन । यहाँ जे नमूना आउँछ, त्यो टेस्ट गरेर पठाइदिने हो ।’

अब १००० जनाको परीक्षण मात्र सम्भव 

स्वास्थ्य विभागका महानिर्देशक डाक्टर महेन्द्र श्रेष्ठले अहिले आफूहरूसँग १ हजार जनाको मात्र परीक्षण गर्ने क्षमता रहेको बताएका छन् । उनले लोकान्तरसँग परीक्षणको दायरा बढिरहेको पनि दाबी गरे । 

‘अहिले कोरोना परीक्षण गर्ने किटको विश्वमै सर्टेज छ, हामीले जता पाउँछौ त्यतैबाट ल्याउने तयारी गरिरहेका छौं,’ डाक्टर श्रेष्ठले भने, ‘हामीसँग लगभग १६ सयको परीक्षण गर्ने क्षमता थियो । ६ सय जति गरिसक्यौं । अब १ हजार जतिको परीक्षण गर्न सक्छौं ।’ 

परीक्षणका लागि सबै प्रदेशमा रहेका प्रादेशिक अस्पतालमा स्याम्पल जम्मा गरेर काठमाडौं ल्याइने गरेको उनले बताए । ‘हरेक प्रादेशिक अस्पतालमा तालिम गरेको मान्छे छ, त्यहाँ आएका स्याम्पलहरूलाई हामीले यहाँ ल्याएर परीक्षण गरेर पठाउने हो,’ डाक्टर श्रेष्ठले भने, ‘कोही पनि मान्छे छैन भने पनि हामीले यहीँबाट गएर पनि काम गर्ने गरेका छौं ।’

रणनीति बदलिएको छैन, कामको एप्रोच परिवर्तन भएको हो – प्रवक्ता डा. विकास देवकोटा 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोनाविरुद्धको लडाईंमा सरकारले रणनीति परिवर्तन नगरेको स्पष्ट पारेका छन् । ‘हामीले रणनीति परिवर्तन गरेका होइनौं, शुरूदेखि नै हामी कोरोना नेपालमा भित्रिन नदिने र भित्रिहालेमा कसरी महामारीको स्थितिमा नलैजाने भन्ने रणनीतिमै काम गरिरहेका छौं,’ डाक्टर देवकोटाले लोकान्तरसँग भने, ‘बरू सोही रणनीति अन्तर्गत गर्नुपर्ने कामको एप्रोच परिवर्तन गरेका छौं ।’

उनले बाहिरबाट आएका मान्छेहरूलाई क्वारेन्टाइनमा राख्ने, सुसूचित गर्ने, जिम्मेवार बनाउने र कोरोनालाई महामारीका रूपमा फैलिन नदिन सकेसम्म बाहिरको आवागमनलाई रोक्ने अहिलेको रणनीति रहेको बताए । 

‘भारत लगायत अन्य देशबाट नेपाल आएकाहरूलाई घरमै क्वारेन्टाइन राख्नका लागि सरकारले पछिल्लो कदम उठाएको हो,’ उनले भने, ‘लाखौँ मान्छे आएका छन्, तिनीहरूको अनुगमन गर्न हामीले घरघरमै स्वास्थ्य अधिकारी पठाउन सम्भव छैन । त्यसैले अहिले बाहिर ननिस्किने निर्देशन जारी गरेका हौं ।’

डाक्टर देवकोटाले परीक्षणको दायरा बढाउने विषयमा छलफल भइरहेको बताए । ‘बढीभन्दा बढी परीक्षण गर्ने गरी दायरा बढाउने कुरा छ, हामी छलफल गर्दैछौं,’ उनले भने । 

अन्त्यमा देशै लकडाउन गर्ने सरकारको निर्णय  

सोमवार साँझ अबेरसम्म बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक साताका लागि देश नै लकडाउन गर्ने निर्णय गर्‍यो । 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले औषधि र खाद्यान्न किन्नबाहेक घरबाहिर निस्किन नपाउने गरी देश नै लकडाउन गर्ने निर्णय गरेको हो । सरकारी कर्मचारीहरूलाई समेत अत्यावश्यक परेका बेला बोलाउने गरी बिदा दिइएको छ ।

उद्योग तथा कलकारखानाका कर्मचारीलाई पनि बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो बिरामी भेटिएपछि सरकार लकडाउनको निर्णयमा पुगेको हो । यसबाट सम्भावित महामारीको रोकथाम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटा बताउछन् ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्