भारतबाट आएकालाई होम क्वारेन्टाइनमा

फाइल तश्वीर

भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरू गरिएको छ ।  

    शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै ११ र १२ नं वडामा समेत केही सर्वसाधारण भारतबाट आएको सूचना प्राप्त भएकाले उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राख्ने काम शुरू गर्न लागिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो ।
 
अन्य स्थानीय तहमा समेत भारतबाट मानिस आएको सूचना प्राप्त भएकाले सोको पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम जारी रहेको उहाँको भनाइ छ ।
 
विदेशबाट आएकाको लगत सङ्कलन शुरू
 
कोरोनाबाट जोगिन तथा जोगाउनका लागि जिल्ला प्रशासन कार्यालयको आग्रहमा सबै स्थानीय तहले विदेशबाट आएकाको लगत सङ्कलन शुरू गरिएको छ । जिल्लाका सबै पालिकामा को–कहाँबाट आएका हुन्, सबैले सूचना दिएर सहयोग गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
 
छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा भारतबाट आएका स्थानीयवासीलाई पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम शुरू भइसकेको छ । त्यस्तै विभिन्न  जिल्लाबाट आएर जाजरकोटमा अलपत्र परेका २० जनाको उद्धार गरी सम्बन्धित ठाउँमा पठाउने कामसमेत भएको छ । डोल्पाका मात्र २० जनालाई सुरक्षित तरिकाले पठाएको प्रजिअ पन्तको भनाइ छ ।
 
क्वारेन्टाइन निर्माण कार्य तीव्र


Advertisement

जिल्लाका सात स्थानीय तहले स्वास्थ्य सहायता कक्ष स्थापनादेखि क्वारेन्टाइन निर्माणका कामलाई तीव्रता दिएका छन् । 

बाँचौँ र बचाऔँ भन्ने मूल ध्येयका साथ कुनै कसर बाँकी नराखी काम गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।


Advertisement

सीमानाकामा झनै कडा गरिएको शाहको भनाइ छ । नलगाड नगरपालिकाले रुकुमपश्चिमको आठविसकोट चिसापानी बीचमा स्वास्थ्य सहायता कक्ष स्थापाना गरी काम शुरू गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएकाले औषधि आपूर्तिका लागि स्वास्थ्य सेवा कार्यालयबाट औषधि लिएर आफू जान लागेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्