कोरोना ‘लक–डाउन’ : पोखरा विमानस्थलको निर्माण कार्य भित्रभित्रै, चिनियाँको लक्ष्य प्रभावित

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

नेपालका करीब २ दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल निर्धारित समयभन्दा ६ महिनाअघि नै सञ्चालन हुने गरी तीव्र रुपमा काम भइरहेकोमा पछिल्लो समय कोरोना भाइरसको कारण प्रभावित बन्यो । 

कोरोनासँगै पछिल्लो ३ महिना निर्माण प्रक्रियामा बाधा उत्पन्न भएकोमा अहिले लक–डाउनको स्थितिले मुलुक झनै चपेटामा परेको छ तर समयसीमाभन्दा ६ महिनाअघि अर्थात् सन् २०२० डिसेम्बरभित्रै निर्माण प्रक्रिया सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यलाई मूर्तरुप दिन लक-डाउनमा समेत विमानस्थलको भित्री काम भने जारी छन् ।


Advertisement

विमानस्थल, चीन र कोरोना । संयोग नै मान्नुपर्छ । यिनीहरू सम्बन्धित रहे । किनकि चिनियाँ लगानीमा निर्माणाधीन विमानस्थलमा अधिकांश कामदार तथा कर्मचारी चिनियाँ नै छन् । विश्वलाई आतंकित पारेको कोरोना भाइरसको उत्पत्ति पनि चीनकै वुहान, हुवाई प्रान्तमा सन् २०१९ डिसेम्बरमा भयो । 

जब ‘आउट ब्रेक’ भयो, त्यसयता लगातार पोखरा विमानस्थलको निर्माण पनि प्रभावित बन्दै गयो । सोही बेला चीनमा नयाँ वर्ष मनाउन यहाँका केही कामदार स्वदेश फर्के । स्वदेश फर्केपछि कोरोनाकै प्रभावका कारण उनीहरूसहित केही नयाँ कामदार तत्काल पुनः नेपाल आउन सकेनन् । पछि यहाँ आउन लागेकाहरू चीन र नेपालमै २–२ पटक गरी क्वारेन्टाइनमा बस्नुपर्‍यो । पटक–पटक गरी आएका १०७ जना कामदार तथा कर्मचारी सबैले गत ४ चैतदेखि मात्र काम थाले । 


Advertisement

गत फेब्रुअरीपश्चात पहिलो चरणमा ३६ जना र दोस्रो चरणमा गरी ७१ जना कामदार तथा कर्मचारी यहाँ आएका थिए । चीनमै १० दिनसम्म क्वारेन्टाइनमा बसेकोमा उनीहरूलाई पोखरा विमानस्थलमा समेत काममा लाग्नुअघि १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । 

कोरोनाका कारण विमानस्थलको निर्माण निकै प्रभावित बन्न पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन् । पोखरा विमानस्थलभित्र लामो समयसम्म क्वारेन्टाइन बस्नेहरू १८ दिनसम्म छोटो समय बस्नेहरू १० दिनसम्म बसेका थिए । क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्य जाँचमा कुनै पनि संक्रमण नभेटिएपछि काममा फर्काइएको थियो । यसरी नेपाली २६२ र चिनियाँ २७१ जना कामदार तथा कर्मचारीबाट अब कामले गति लिन्छ कि भनी आशा गरिएकोमा, सोचेजस्तो भएन । त्यसको १ हप्ता नबित्दै १० चैतदेखि नेपाल सरकारले कोरोनाको उच्च जोखिमबाट जोगिन देशभर लक–डाउन गर्‍यो । लक–डाउन गर्ने सरकारको घोषणापछि यहाँ कार्यरत १६२ जना नेपाली कामदारलाई बिदा दिँदै घर फर्काइयो । हाल १०० नेपाली र २०० जना चिनियाँ कामदारले भित्री भागमा जे–जति काम हुन सक्छ, सो गरिरहेको जानकारी मुनंकर्मीले दिए । 

‘लक–डाउनले यहाँका ७१ जना जति चिनियाँ कामदारले काम पाउन सकेका छैनन् । त्यत्तिकै बसेका छन्, बाँकीलाई विमानस्थलको भित्री काममा लगाइएको छ,’ उनले भने ।

उनका अनुसार कार्यरतमध्ये फिनिसिङ, इलेक्ट्रिकल, एसी, टायल छाउने, झ्याल–ढोका लगायतका काममा व्यस्त छन् । बाहिरी आवतजावतमा रोक लगाइएको र सवारीसाधन पनि नचलेको हुँदा अन्य कामहरू थाती रहेको उनी बताउँछन् ।

नेपाल सरकारको आवश्यक विधि र प्रक्रिया पूरा गरी चिनियाँ सीएएमसीई इन्जिनीयरिङ कम्पनीलाई नेपाल सरकारले निर्माणको जिम्मा दिएको हो । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको क्षेत्रीय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रुपमा हेरिएको छ । सन् २०१७ नोभेम्बरदेखि शुरू भई हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको विमानस्थलमा ह्यागर टर्मिनल भवनसहित १४ वटा भवन तयार भइसकेका छन् । भवनमा छाना छाउने काम भने ९७ प्रतिशत सम्पन्न भइसकेको छ । 

लक–डाउनअघि जारी रहेका सडक ढलान, कार पार्किङस्थल निर्माण कार्य भने अहिले रोकिएका छन् । आगामी सन् २०२१ जुलाई १० सम्म निर्माण सम्पन्न गर्ने समयसीमा रहेकोमा त्यसको ६ महिनाअघि नै सम्पन्न गर्ने यसअघि प्रक्षेपण गरिएको भएपनि कोरोनाकै कारण सो लक्ष्य प्रभावित हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माण भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २ हजार ५०० मिटर लामो धावनमार्गको विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुनेछ । विमानस्थल सञ्चालन आएपछि पोखरा मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने देखिन्छ । 

विमानस्थल निर्माण प्रक्रियाको शुरूआततर्फ फर्किंदा सन् १९५० सम्म पोखरा यातायातको साधनबाट पूर्णतः बञ्चित थियो । सडक सञ्जालसँग जोडिनुअघि हवाई यातायातमा जोडिएको पोखराका लागि सन् १९५३ मा काठमाडौं र सन् १९५९ मा भैरहवाबाट हवाई उडान थालनी भएको थियो । पछि सन् १९६८ मा सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) र सन् १९७१ मा पृथ्वी राजमार्ग (पोखरा–नौबीसे) को निर्माणपछि यहाँको पर्यटनले गति लिएको हो ।

२०३२ सालमा पोखरा वडा–१४, १५ र १८ वडाको ३ हजार १०६ रोपनी जग्गा अहिलेको विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । पछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । गत ५ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति विमानस्थल परियोजनालाई दिएको थियो । सरकारको निर्णयप्रति भने स्थानीयले विरोध जनाएका छन् । २०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका थिए ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्