कोरोनाविरुद्ध लडाईंमा अग्रपंक्तिका सिपाही प्रहरी र स्वास्थ्यकर्मी: सहयोग गरौं, मनोबल बढाऔं

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

यतिखेर कोरोना भाइरस कोभिड- १९ विरुद्धको लडाईंमा प्रहरी र स्वास्थ्यकर्मीहरू फ्रन्ट लाइनमा छन्। फौजी भाषामा भन्ने हो भने एसल्टमा ग्रुपमा छन्। जनता होस् कि नेता होस् तिनीहरू बंकरभित्र छन्, अर्थात घरभित्र छन्। मानौं कि यो तेस्रो विश्वयुद्ध हो। र घर बंकरजस्तो भएको छ। मानिसहरू घरभित्रै थुनिएका छन्। अर्थात लक–डाउनमा परेका छन्। बाहरि भाइरसको आक्रमण निरन्तर छ। 

'हामी तपाईंको सुरक्षार्थ बाहिर छौं, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’ चोकमा उभिएर प्रहरी जवान माइकिङ गर्छन् । अर्थात घरबाहिर निस्कियो भने भाइरसले आक्रमण गर्छ तपाईंहरू घरभित्रै बस्नुहोस्, हामी लड्छौं यो नाथे भाइरससंग। हो अहिले नेपालमा मात्र हैन विश्वमा नै सुरक्षाकर्मीहरू खासगरी प्रहरी कोरोना भाइरससँग फ्रन्ट लाइनमा लडिरहेका छन्। लडाईंको विश्वमा धेरैलाई कोरोनाको संक्रमण भइसकेको छ। कतिको दु:खद् मृत्यु पनि भएको छ । 


Advertisement

मलाई त के लाग्छ भने यो विशेष परिस्थितिमा प्रहरीहरूको तलब/भत्ता अहिलेभन्दा दोब्बर बनाइनु पर्छ। उनीहरूको हेल्थ इन्सुरेन्स सरकारले गराइदिनुपर्छ। विशेष भत्ताको व्यवस्था गरिनुपर्छ। फिल्डमा खटिएका प्रहरीहरूका लागी संक्रमण भइहालेमा क्वारेन्टाइन र आइसोलेसन रूम तयार गरिनुपर्छ किनकी उनीहरूको परिवार, बालबच्चालाई सुरक्षित राख्नु पनि राज्यको कर्तव्य नै हो। सकडमा, अस्पतालमा र कोरोना सम्बन्धमा खटिएका प्रहरीहरूलाई विशेष तालिम दिनुपर्छ र सोही अनुरूप सेवा सुविधा पनि दिनुपर्छ। उनीहरूको मनोबल उच्च गराउने समय हो यो । हामीले प्रहरीको मनोबललाई कसरी हुन्छ, उच्च बनाइदिनुपर्छ ।

तपाईं हामीलाई थाहा नै छ, डण्ठा चलाएर, भीड हटाएर, जथाभावी हिँडिरहेकाहरूलाई पक्राउ गरेर, कोरोनाबारे सचेतना फैलाएर, नेपालमा सरकारले जारी गरेको ‘लक–डाउन’ व्यवहारिक रूपमा कार्यान्वयन गराउन प्रहरी नै फ्रन्ट लाइनमा खटिँदै आएको छ। फ्रन्ट लाइनमा खटिने हुँदा प्रहरीले नै सबैभन्दा पहिले संक्रमितको ‘फेस’ गर्नुपर्छ। त्यसैले कोरोना भाइरस संक्रमणको पहिलो जोखिम प्रहरीमा छ । के प्रहरीले स्यानिटाइजर, पञ्जा र मास्क पाएका छन् त? के प्रहरीलाई भाइरससँग लड्नका निम्ति हतियार पर्याप्त छ त ? के प्रहरीलाई पीपीई दिइएको छ त ?


Advertisement

कुनैपनि युद्ध सफल हुनका लागि जनशक्ति भएर मात्र पुग्दैन, आवश्यक हातहतियार पनि चाहिन्छ । तर कोरोना भाइरससँगको लडाईंमा कुनै हतियार बम, गोला र बारुद हैन कि मेडिकल उपकरणहरू चाहिएको छ । यस्ता उपकरणहरूको सहायताविना भाइरससँग लड्न गाह्रो हुन्छ । नेपाल सरकारले यसबारे अहिलेसम्म के प्रगति गर्‍यो । त्यो महत्त्वपूर्ण कुरा हो । यतिखेर हामीले प्रहरीलाई अनेक ढंगले सघाउन सक्छौं । सबैभन्दा मुख्य कुरा त हामी घरभित्रै बसेर, लक–डाउनलाई पूर्णतया पालना गरेर सघाउन सक्छौं । दोस्रो मानवीयताको पक्ष, ड्यूटीमा रहेका प्रहरीहरूलाई पानी, जुस, फलफूलजस्ता चिजहरू खान दिन सक्छौं । 

हामीले डाक्टरहरूको मनोबल बढाउन पनि आवश्यक छ । हाम्रो देश मात्र यस्तो एउटा देश होला जहाँ स्वास्थ्य राज्यको दायित्वमा पर्दैन र उपचार निजीकरण भएको छ । माफियाकरण भएको छ । धनीका लागि मात्रै स्वास्थ्य भएको छ । यस्तो देशमा स्वास्थ्यकर्मीहरूमा देश सेवाको भावना जाँच्नु पर्दछ, तर सुनिन्छ, धेरै निजी मेडिकलहरू बन्द भएका छन् । औषधि सपलहरू बन्द भएका छन् । खोलिएका अस्पतालहरूमा पनि नयाँ बिरामी भर्ना लिन मानिन्न । यतिसम्म कि सुत्केरी व्यथा लागेकालाई डाक्टरहरूले हेरिरेहेका छैनन् । आज मुटुको बिरामीलाई कोरोनाको आशंकामा अस्पताल परिसरमा मर्न बाध्य बनाइएको छ । 

खैर, यो राज्यको कुकर्मका बारेमा पछि कुनैबेला चर्चा गरौंला, तर यो समय झगडा गर्ने समय हैन । यो समय आरोपप्रत्यरोप गर्ने समय हैन । यो समय एक अर्काको गल्ती–कमजोरी देखाउने समय हैन । हामीसँग जे जति डाक्टरहरू छन्, स्वास्थ्यकर्मीहरू छन् उनीहरूलाई मनोबल दिएर काममा खटाउनुपर्दछ । सरकारले यो अवस्थामा अस्थायी या स्वयंसेवी र इच्छुक चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूलाई आह्वान गर्न सक्छ । अस्पतालमा काम गर्नेहरूलाई सरकारले विशेष सेवा–सुविधा उपलब्ध गराउनुपर्दछ । मान, सम्मान र पुरस्कारको घोषणा गर्नुपर्दछ । मेडिकल उपकरण त अनिवार्य नै भयो। सरकारले डाक्टरहरूलाई सुसाइड गर्न लगाउने हैन, सुसाइडको स्थितिमा पुगेकाहरूलाई जोगाउनका निम्ति, बचाउनका निम्ति प्रयोग गर्ने हो ।

लक–डाउनको नीति

बेलारूसमा राष्ट्रपति लुकासेन्कोले हालसालै एक टिभी सोमा भनेका थिए, ‘कोरोना भाइरसलाई एक ट्रयाक्टरले रोक्नेछ ।’ उनको यो भनाइ बेलारूसका सामाजिक सञ्जालमा भाइरल बनेको थियो भने केहीले यस भनाइको मजाक पनि उडाएका थिए । तर राष्ट्रपतिको यो भनाइ खेतमा मेहतन गर्नुपर्नेतर्फ लक्षित थियो । बेलारूसका आमनागरिक कोरोना भाइरसले मच्चाएको यो महामारीबारे जानकार नभएका हैनन् । तर आशय के थियो भने खेतमा एक्लाएक्लै काम गरौं, खेतमा ट्याक्टर चलाउने काम गरौं । यसो गर्दा कोरोना आउँदैन ।‬

यसो गर्दा कोरोना आउँदैन नै भनेर होला काठमाडौं शहर छाडेर लाखौं मानिसहरू गाँउ गएँ । काठमाडौं मात्र हैन देशका मुख्य शहरका मानिसहरू गाँउ फर्के । यसो गर्दा के भयो भने 'पपुलेसन डिसेन्ट्रलाइजल' भयो। पपुलेसन डिसेन्ट्रलाइज हुँदा के भयो भने शहरमा खाद्यान्न संकट कम देखिन्छ । यतिनात्र हैन लक–डाउनका निम्ति पनि यो पपुलेसन डिसेन्ट्रलाइज जरुरी कदम थियो । के गाउँ फर्केकाहरू खेतमा काम गर्दैछन् ? खेतमा ट्याक्टर चलाउँदैछन् ? यदि तिनीहरूले दूरी मेनटेन गरेरे यसो गर्दैछन् भने पक्कै पनि बेलारूसमा राष्ट्रपतिले भनेजस्तै खेतमा कोरोना आउने छैन । 

यस्तै अनेक उपाय अपनाएर कोरोना भाइरसलाई थप फैलिन नदिन अहिले नेपालसहित विश्वका कैयौं शक्तिशाली देशहरू लडकाउनको स्थितिमा रहेका छन् । पर्ख र हेरको रणनीतिमा रहेको नपालले अन्तत: नागरिकको जीवन रक्षका लागि महत्त्वपूर्ण कदम उठाएको छ । नेपाल सरकार घन्यवादको पात्र छ । तर लक–डाउनलाई सफल वा असफल बनाउने भन्ने कुरा चाहिँ नेपाली जनताहरूको हातमा छ । पक्कै पनि हामीले हाम्रो देशलाई चिहानघर बनाउन चाहन्नौं, वुहान र रोमको जस्तो त्रासदीमा पनि बाँच्न चाहन्नौं । यसकारण हामीले यो लक–डाउनलाई सफल बनाउनैपर्छ र भाइरसविरुद्ध विश्वयुद्धमा सफलता हासिल गर्नैपर्दछ ।

तपाईं हामी सबैलाई अब यो कोरोना भाइरस कोभिड- १९ के हो, कसरी यो भाइरसको जन्म भयो, यसका जोखिमहरू के के छन् र विश्व शक्ति करोनासँग कसरी लडिरहेको छ, त्यो अवगत नै छ । सामाजिक सञ्जाल र राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाहरूबाट हामी सबै अपडेट छौं । यस्तो संघीन अवस्थामा हामी कोही पनि आफ्ना प्रिय आफन्तजनहरू, प्रिय मित्रहरू, परिवारका सदस्यहरू गुमाउन चाहन्नौं । हामी सबै बाँच्न चाहान्छौं, हामी सबै कोरोना भाइरससँग युद्ध लड्न चाहान्छौं र हामी सबै कोरोना भाइरससँग युद्ध लडेर विजय प्राप्त गर्न चाहान्छौं । हामी विजेतामध्येको एक हुन चाहन्छौं ।

हामीले यस्तो पिंडी भोग्नु छैन। जस्तो छिमेकी देश चिन वुहानका जनताले भोगे । तर पनि उनीहरूले अन्तिमसम्म आफ्नो विरता प्रदर्शन गरे । वुहानका महान जनताहरू भाइरससँगको लडाईंमा अनुशासित भएर निरन्तर लडिरहे ।

चीनले २३ जनवरीमा वुहान सहर लक–डाउन गर्‍यो । लक–डाउनमा परेका निरोगीहरूलाई घरमै पुगेर प्रहरीले राहत बाँड्यो। सार्वजनिक यातयातका साधनहरू सम्भवत पूरै जस्तो बस, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । वुहान शहरबाट बाहिर जान र शहर भित्रिन प्रतिबन्ध लगायो। शुरूका दिनमा संसारभरका मानवअधिकारवादीले चिनियाँ कदमको निकै आलोचना गरेका पनि थिए तर, विश्व स्वास्थ्य संगठनले भने लक–डाउन गर्ने चिनियाँ निर्णयकै कारण वुहानबाहिर भाइरसको संक्रमण रोकिएको तथ्य प्रस्तुत गर्‍यो । यसरी यो भन्न सकिन्छ कि विरोधका बाबजुत पनि चीनले लक–डाउनकै जनधारणामा भाइरस नियन्त्रण गर्‍यो । र उ विजेता भयो । 

कोरोना भाइरस कोभिड- १९ को संक्रमणका कारण 

चीनमा ३ हजार दुई ७० जनाको मृत्यु भयो। संक्रमित ८१ हजार ९३ जनामध्ये निको भएका ७२ हजार ७ सय ३ छन् । पछिल्लो पाँच दिनमा वुहानमा कोरोना संक्रमित नयाँ बिरामी शून्य देखिएका छन् । यो सबै लक–डाउनका कारण नै सम्भव थियो । चीनले अख्तियार गरेको कोरोनाविरुद्धको लक–डाउन नीति हाल विश्वका सबै देशले गरेका छन् । बेलायत, अमेरिका, भारत, इटाली, स्पेन, डेनमार्क, आयरल्याण्ड, जर्मनी, पोर्चुगल, चेक गणतन्त्र, फ्रान्स, बेल्जियम, नर्वे, स्लोभेनिया, इन्डोनेसिया, एल साल्भाडोर, न्युजिल्याण्ड, पोल्याण्डलगायत कैयौं देशहरू लक–डाउनमा रहेका छन् ।

र लक–डाउन नै कोरोनाविरुद्धको सजिलो लडाईं हो । एक व्यक्तिदेखि अर्कोमा सर्न नदिएर नै हामीले कोरोना भइरसलाई रोक्न सक्छौं । यो रुघाखोकी जस्तो सामान्य विषय हैन । मजाकको विषय पनि हैन । जस्तो कि इटालीको हकमा उनीहरूले ४ सय ६३ जनाको ज्यान जानुका साथै ९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएपछि मार्च ९ अर्थात् गएको फागुन २६ गतेदेखि लक–डाउन गरेका थिए । त्यो खेलवाड नै इटालीका जनताहरूका लागि अभिसाप बन्न पुग्यो । अमेरिका र युरोपेली मुलुकहरूले पनि कोरोना भाइरसलाई सामान्य ढंगले आंकलन गरेका कारण आज युरोपको अर्थतन्त्र नै तहस–नहस हुने अवस्थामा पुगेको छ । 

कोरोना भाइरसलाई शुरूमा इटालीका मानिसहरूले सामान्य रुघाखोकीका रूपमा बुझे । दक्षिणपन्थी पार्टीका तर्फबाट लोम्बार्डीका गभर्नर अटिलियो फोन्टानाले २५ फेब्रुअरीका दिन क्षेत्रीय संसद्मै भनिदिए– यो कोरोना भाइरस सामान्य फ्लूभन्दा थोरै मात्र खतरनाक हो । कोरोना भाइरस इटालीको समस्याग्रस्त अर्थतन्त्रमा नराम्रो पार्न चलाइएको हल्ला हो ।'

त्यस्तो भोलिपल्ट लोम्बार्डीले बार, रेस्टुरेन्ट र अरू व्यवसायमा लागेका केही बन्देजहरू फुकुवा गर्‍यो । मिलान शहरका मेयर जुजिपे सालाले ‘मिलान रोकिने छैन’ भन्ने अभियान नै चलाएर मिलानका बासिन्दाहरूलाई नडराउन भने ।

लोम्बाडीले बार, रेस्टुरेन्ट र अरू व्यवसायमा लगाएको बन्देज फुकुवा गरेको केही घण्टालगत्तै फोन्टाना मातहत काम गर्ने एक जनालाई कोरोना भाइरस पोजेटिभ देखियो । उनी आइसोलेसनमा बसे । केही दिनपछि, ७ मार्चमा जिन्गारेटीले आफूलाई पनि कोरोना भाइरस लागेको सार्वजनिक गरे । अहिले इटालीमा कोरोना संक्रमणको संख्या ८६ हजार पुग्दैछ । 

के हामीले इटालीले गरेको भूल दोहोर्‍याउन सक्छौं ?

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्