कोभिड–१९ : बजार क्षेत्रमा किटनाशक औषधि छर्कियो

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीको बजार क्षेत्रमा आइतबार किटनाशक औषधि छर्किएको छ ।

स्थानीय युवाहरुको सक्रियतामा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए।


Advertisement

उहाँका अनुसार तरकारी लाइन, पराशर टोल, महर्षि टोल, निमचोक टोललगायतका ठाउँमा किटनाशक औषधि छर्किएको र अन्य ठाउँमा पनि किटनाशक औषधि छर्किने तयारी गरिएको छ । “बढी भीडभाड हुने स्थान छनोट गरेर किटनाशक औषधि छर्किन शुरु गरेका हौँ”, उनले भने। 

दमौली निवासी लक्ष्मीभक्त खनाल, सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेललगायतको संयुक्त लगानीमा किटनाशक औषधि खरिद गरी बजार क्षेत्रमा छर्किएको व्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले बताए। औषधि छर्किनका लागि युवाहरु प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ, सुदीप काफ्ले, लक्ष्मीभक्त खनाललगायत खटिएका थिए ।


Advertisement

सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने बताइएको छ । यसैगरी व्यास नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न घरभित्रै बस्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ । 
 

कमेन्ट गर्नुहोस्