कोराना अस्पतालमा पति गुमाएकी महिलाको पीडा : न मुख हेर्न पाएँ, न कसैले सान्त्वना दिए !

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा रहेका बाबुरामले शनिवार राति ९ बजे पत्नी रीतालाई फोन गरेका थिए ।

बाबुरामले फोनमा भनेका थिए, ‘मैले खाना खाएँ, मलाई ठीक छ । तिमीहरू पनि खाना खाएर सुत ।’


Advertisement

त्यो रातिको संवादपछि उनी सुते । भोलिपल्ट बिहान रीताले बाबुरामलाई फोन गरिन् । फोन उठेन । पटक–पटक फोन हानिरहिन् । १०–१२ पटकको घण्टीपछि फोन उठ्यो । बाबुरामले ‘अह अह अह’ गरे, रीताले आवाज बुझिनन् । ‘के भो हजुरलाई’ भनेर रीता रुन थालिन् । 

पतिलाई रोगले च्यापेको बुझेपछि रीताले बुटवलका साथीलाई भनेर अस्पतालको अवस्था बुझ्न लगाइन् । रीता आफैं पनि अस्पताल आउने तयारीमा लागिन् । कोरोनाको डरले आफन्तले उनलाई अस्पताल नजान सुझाव दिए तर उनले मानिनन् ।


Advertisement

एकैछिनपछि हस्पिटलबाटै रीतालाई फोन आयो । ‘तपाईं छिटो यहाँ बुटवलको कोरोना विशेष अस्पतालमा आउनुपयो । तपाईका श्रीमानलाई काठमाडौं लैजानुपर्ने भयो, तपाईको परिवारका २–३ जना आउनुहोस्’ भनेर । रीता एम्बुलेन्स रिजर्ब गरेर बुटवलको अस्पताल आइन् । उनी हस्पिटलभित्र जान खोजिन् तर जान दिइएन । अस्पतालभित्र जान मिल्दैन भनियो ।

उनले पटक–पटक अनुरोध गरिन् तर पनि भित्र जान दिइएन । २ घण्टापछि उनी भित्र गइन् तर पतिलाई राखिएको शय्यासम्म पुग्न दिइएन । त्यसपछि डाक्टरहरूले उनलाई भने, ‘तपाईंको श्रीमानलाई बचाउन सकिएन ।’ उनी मुर्छा परिन् ।

पतिको निधनको जानकारीपछि उनी एक्लै रन्थनिएर हस्पिटल बाहिरको चौरमा पुगिन् । अस्पतालमा उनलाई ढाडस दिने, सान्त्वना दिने कोही भएनन् । उनको नजिक कोही गएनन् । दिनभर चौरमा मुर्छित भइन् उनी । दुःखद क्षणमा उनले आफन्तको समेत साथ पाइनन् । दिउँसो १२ बजे अस्पताल पुगेकी उनी राति ९ बजेसम्म चौरमा एक्लै पल्टिइन् ।

कोही आफन्त र दाजुभाइ पनि आएनन् । राति भएपछि उनकै अगाडि पति बाबुरामको शव प्लास्टिकमा र्‍यापिङ गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लगियो । उनले पतिको मुख हेर्छु भनेर बिन्ती बिसाउँदा समेत हेर्न पाइनन् । ९ बजेपछि रीतालाई एम्बुलेन्समार्फत घरमा पुर्‍याइयो ।

... ...

बाबुराम चैत ६ गते यूुएईबाट आएका थिए । यूएईबाटै ज्वरो आएको थियो उनलाई । रुपन्देहीको सेनामैना घर आएपछि उनले गाउँमै मेडिकलमा चेकजाँच गरेर रगत जाँच गराए । रगत चेकजाँच गर्दा उनलाई टाइफाइट देखियो । औषधि खाएपछि ज्वरो निको भयो तर खाना रुचेन ।

उनी फेरि सैनामैनाकै पर्रोहा स्वास्थ्य चौकीमा पुगे । त्यहाँ उनलाई कोरोनाको लक्षण जस्तो देखिएको भन्दै बुटवल जान भनियो । उनी चैत १३ गते लकडाउनको समयमै अटो रिक्सा रिजर्ब गरेर बुटवलको लुुम्बिनी प्रादेशिक अस्पतालमा आए । उनलाई कोरोनाको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना गरियो । चैत १३ गते अस्पताल भर्ना भएका उनीको स्वाब ४ दिनसम्म पनि अस्पतालले चेकजाँचका लागि नपठाएर लापरवाही गरेको रीताको भनाइ छ । उनका २ छोरा छन् ।

विदेशबाट आएपछि बाबुराम क्वारेन्टाइनमा बसेनन् । जसले गर्दा अहिले उनको घरमा त्रास छ । उनीहरूसँगै घरको तल्लो तलामा बस्ने १२ जना त्रसित छन् । बाबुरामको मृत्यु भएपछि मृत्युको कारण कोरोना संक्रमण हो/होइन भनेर यकिन भइसकेको छैन । बाबुरामको रिपोर्ट सोमवार साँझसम्म आउने अस्पतालले जनाएको छ । पीडामा रहेकी रीतालाई सान्त्वना दिने कोही छैनन् । 

कुनै दीर्घरोग नभएका बाबुरामको अस्पताल पुगेको ३ दिनपछि मृत्यु हुँदा कोरोना भएको हो कि भन्ने आशंका बढेको छ । जसले गर्दा बुटवलबासी त्रसित छन् ।

(रीतासँगको कुराकानीमा आधारित)

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्