मनको ‘लकडाउन’ : नानाभाँती रोगव्यथाबाट मुक्ति, सुखी जीवनको सूत्र

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

सुखी जीवनको कुरा गर्दा ध्यानको भूमिका सर्वाधिक अगाडि आउँछ । ध्यानको सोझो सम्बन्ध मनसित हुन्छ । मनलाई स्थिर गरी इष्टवस्तुमा केन्द्रित गर्नु नै ध्यान हो ।

यसको चर्चा वेदमा पनि भएको छ, उपनिषद्मा पनि भएको छ । इतिहास र पुराणमा पनि भएको छ, धर्मशास्त्र तथा तन्त्रशास्त्रमा पनि भएको छ । बौद्धदर्शनमा पनि भएको छ, अन्य दर्शनमा पनि यथावसर आएका छन् ।


Advertisement

महामुनि पतञ्जलिले अष्टाङ्ग योगको चर्चा गरेका छन्, जसमा ध्यान पनि पर्छ । ‘तत्र प्रत्ययैकतानता ध्यानम् ।’ (पातञ्जल योगदर्शन ३।२)  

ध्यानका किसिम


Advertisement

ध्यान अनेक किसिमका छन् । विद्वान्हरूले अनेक नाम र परिभाषा दिएका छन् यसका, जसमा अनाहतनाद ध्यान पनि पर्छ । हरेक उमेर समूहका मानिसले हरेक अवस्थामा गर्न सक्ने ध्यान हो यो । फाइदाका दृष्टिले सर्वाधिक अगाडि नै छ ।

खासगरी प्रकृतिसँग बढी नजिक छ यो । प्रकृतितर्फ फर्कने सजिलो सूत्रभन्दा पनि हुन्छ यसलाई । जहाँ पुगे पनि प्रकृतितर्फ नफर्की सुखै छैन मानिसलाई । यसमा अनाहतनादको ध्यान रामवाण मानिएको छ ।

गर्ने तरिका 

अनाहतनादको ध्यान भनेको आफ्नै आन्तरिक आवाज सुन्नु हो । यसलाई गर्न न गुरु चाहिन्छ, न कुनै झन्झट व्यहोर्नुपर्छ । सकेसम्म बसेर गर्नु राम्रो हुन्छ । सुतेरै पनि गर्न सकिन्छ । सोझो भएर बस्नुपर्छ ।

आसन पद्मासन वा सुखासन जुनसुकै अपनाउन सकिन्छ तर मेरुदण्ड भने सोझो हुनुपर्छ । बसाइको भार शरीर र गोडामा समानरूपमा दिनुपर्छ । अन्यथा गोडा निदाउने, निद्रा लाग्ने जस्ता समस्या आउन सक्छ । दुई कानको प्वाललाई कपास र गुदद्वारलाई नरम कपडाले बन्द गर्नुपर्छ । बिहानको खाली पेटमा गर्दा बढी प्रभावकारी हुन्छ । दैनिक आधा घन्टा गरे पुग्छ । 

शुरूमा ध्यान न लाग्न सक्छ । निरासा वा पट्यार लाग्न सक्छ । मन यताउता भाग्न सक्छ तर आत्तिनु हुँदैन । जतिपटक भाग्न खोज्छ, उति पटक फर्काएर उही आवाजमा केन्द्रित गर्ने प्रयास गर्नुपर्छ । बिस्तारै बानी पर्दै जान्छ र आफै केन्द्रित हुन थाल्छ ।

शुरूशुरूमा पञ्चभूतादिको ध्यान लाग्न सक्छ । कहिले पृथ्वी, कहिले समुद्र, कहिले अग्निकुण्ड वा सौर्यशक्ति, कहिले हावाको झोक्का, कहिले आकाशको दृश्य देखापर्न सक्छन् । यदाकदा दृश्य डर लाग्दा पनि हुन सक्छन् तर आत्तिनु हुँदैन । बिस्तारै मन अनाहत नादमा केन्द्रित हुन पुग्छ । त्यसपछि चरम आनन्दको स्थिति आउँछ । सयम बितेको पत्तै हुँदैन । समय पुगेपछि आफैं टुट्छ । 

लाभ

यसका फाइदा अनेक छन् । मनको गति निकै चञ्चल छ । निरन्तर यताउता भागिरहन्छ र नाना भातिका समस्या लिएर आउँछ । रोग, भोक, शोक के–के हो के–के । दुःखको कारण संसार होइन, मन हो । मन बिग्रे बुद्धि बिग्रन्छ । बुद्धि बिग्रे विचार बिग्रन्छ र विचार बिग्रेपछि व्यवहार बिग्रन्छ । यस ध्यानले तिनै दूःषित मनलाई निर्मल पारी वर्तमानमा केन्द्रित गराउँछ, मनलाई आफूभित्रै ‘लक डाउन’ गरिदिन्छ, समस्यै–समस्याले ग्रस्त संसारमा विचरण गर्न दिँदैन ।

बाल्यकालीन सुख असीम हुन्छ । उनीहरू जति सुखी हुन्छन् त्यति नै आनन्दित पनि । सुनको सिंहासनमा नपाइने आनन्द ढुंगा माटोबाटै पाइरहेका हुन्छन् उनीहरूले । किनकि उनीहरू वर्तमानमा बाँचेका हुन्छन् । युवावास्था आगतमा टिकेको हुन्छ, प्रौढावस्था विगतमा । फलतः उनीहरू सुखी र आनन्दित हुन सकिरहेका हुँदैनन् तर बालबालिका वर्तमानमा बाँचेका हुन्छन् । त्यसैले उनीहरू सुखी र आनन्दित रहेका हुन्छन् । अनाहतनादको ध्यानले सबैलाई त्यहीँ अवस्थामा पुर्‍याउने काम गर्छ ।  

प्रकृति संरक्षणको कुरा सबै गर्छन् । यसका लागि सरकारहरू आफैं लागेका हुन्छन् । बर्सेनि ठूलै रकम छुट्याएका पनि हुन्छन् तर सँगसँगै उसको निर्मम बलात्कार गर्न पनि पछि पर्दैनन् । प्रकृति सबैको साझा हो । जीवजन्तु सबैले निर्वाध बस्न पाउनुपर्छ तर हाम्रा लागि भने बपौतीबाहेक केही हुन सकिरहेका छैनन् यी । मानिसले के मात्र गरेका छैनन् उसमाथि खेलबाड गर्न । गर्न हुने पनि गरेका छन्, नहुने पनि गरेका छन् । फलतः त्यसैको फल भोगिरहेको छन् आफैंले ।

नानाभाँतीका रोग आएका छन् । कसैको उपचार छ, कसैको उपचार नै छैन । कतिको औषधि पत्ता लाग्न कति समय लाग्ने हो, यसै भन्न सकिने अवस्था छैन । विगतमा पनि यस्तै भएको थियो अहिले पनि त्यस्तै भइरहेको छ । यस्तै चाला रहे भविष्यमा पनि यस्तै हुने निश्चित छ ।

आखिर कहिलेसम्म यस्तो ? जहिलेसम्म हामी साँचो अर्थमा प्रकृति संरक्षणतर्फ ध्यान दिँदैनौं । जब हामी अन्तरात्माको आवाज सुन्न थाल्छौं, तब मात्र प्रकृतिप्रति इमान्दार हुन सक्छौं । त्यसपछि केही गर्र्र्नै पर्दैन, प्रकृति आफैं संरक्षित हुन थाल्छ । कसैको बैशाखी चाहिन्न उसलाई । यसका लागि धेरै गर्नै पर्दैन, मात्र हामीले आफैंप्रति इमान्दार भए पुग्छ । अनाहतनादको ध्यान त्यतैतिरको पाइलो हो । 

यसका फाइदा अनगिन्ती छन् व्यक्तिगत जीवनमै पनि । मनमा शान्ति छाउँछ । अनुहारमा कान्ति आउँछ । शरीरमा ऊर्जा भरिन्छ । जोश र जाँगर आउँछ । केही गरौं भन्ने भावना जगाउँछ । निर्णय क्षमता बढाउँछ । पाचन शक्ति बढाउँछ, भोक जगाउँछ, आलस्य भगाउँछ, निद्रा लगाउँछ । विद्यार्थीहरू पढाइमा रुचि राख्नेछन् । कर्मचारी वर्गमा सेवाभाव जागृत हुनेछ । सरकारी काममा चुस्तता आउनेछ । नेतृत्वमा हुनेलाई मेरा होइन हाम्रा भन्न सिकाउँछ । हाम्राका बदला राम्राको खोजी हुन थाल्नेछ । यसरी केलाउँदै जाने हो भने फाइदा के–के छन्, होइन, के–के छैनन् भन्नुपर्ने हुन्छ । 

मानिलिऔं कुनै कुराको द्विविधामा हुनुहुन्छ, निर्णय गर्न सकिरहनुभएको छैन ? २ मिनेट कान बन्द गरी अन्तरात्माको आवाज सुन्नुस्, समस्या स्वतः समाधान भएको पाउनुहुनेछ । निद्रा नलागेर छट्पटिनुभएको छ ? सुतेकै अवस्थामा केही समय त्यस्तै गर्नुस्, कतिबेला निद्रादेवीको शरणमा पुगिन्छ पत्तै हुँदैन । माइग्रेनको समस्या छ, टाउको दुखेर हैरान हुनुहुन्छ ? २ मिनेट त्यस्तै गर्नुस्, केही राहत मिलेको पक्कै अनुभव गर्नु हुनेछ ।

यी केही उदाहरण हुन् । जीवनका हरेक अवस्थामा यही नियम लागू हुनेछ । जतिबेला अफ्ठ्यारोमा पर्नुहुन्छ यस्तै गर्नुस् तत्कालै केही सहज हुँदै जानेछन् । 

समग्रमा भन्नुपर्दा वसुधैव कुटुम्बकमको भाव जागृत गर्ने सूत्र हो यो । ऋषिमुनिहरू यसैका कारण द्यावाभूमि सर्वत्र शान्ति र समुन्नतिको कामना गर्न सफल भएका थिए । उनीहरू द्यौ शान्ति, अन्तरिक्ष शान्ति, पृथ्वी शान्ति मात्र भन्दैन थिए त्यस्तै गरिरहेका पनि हुन्थे । फलतः बाघ र बाछोमा मित्रता थियो । सर्प र मुसो पनि मिलेकै हुन्थे । देवता र मानवमा समानता थियो । देवताहरू मानिस बन्न रुचाउँथे । मानिसहरू देवता बन्न पुगिरहेका हुन्थे । अब के गर्ने रोजाइ हाम्रै हो, सुख पाउने कि दुःखकै सागरमा हराइरहने ? जीवन हाम्रै हो, कस्तो बनाउने हाम्रै हातमा छ । अस्तु अहिलेलाई यति नै । 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्