लकडाउनले बढायो घ्यूको मूल्य, प्रतिलिटर १ हजार ६० रुपैयाँ

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । 

नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । 


Advertisement

‘उपभोक्ताले बढी मूल्य किन लिएको भनेर गुनासो गर्नेबित्तिकै व्यापारीको सहज जवाफ आउने गर्छ – थोकमा माल नै पाइँदैन, हामीले पनि बढी मूल्य तिरेर ल्याउने गरेका छौं,’ नेपालगञ्ज–१९ का लक्ष्मण केसीले भने । 

उनका अनुसार लकडाउनअघिसम्म अस्पताल क्षेत्रको अनुपम डेरीबाट १ हजार प्रतिलिटरमा पाइँदै आएको घ्यू अहिले प्रतिलिटर १ हजार ६० मा बिक्री गर्ने गरिएको छ ।


Advertisement

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उपभोक्ताका गुनासा आपूmले पनि सुन्ने गरेको बताउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने पसलको अनुगमन गरी कारवाहीको दायरामा ल्याइने चेतावनी दिए ।

लकडाउनअघि बजार अनुगमन गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता संरक्षण कार्यालयको भूमिका शून्य भएपछि पनि व्यापारीले कृत्रिम अभाव र मनपरी मूल्य लिने गरेका छन् ।

वाणिज्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र  उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भने बजार अनुगमन गरिएको जिकिर गरेकी छन् ।

कमेन्ट गर्नुहोस्