भान्छामा प्रयोग हुने 'शीतलचिनी'को महत्त्व कति छ ? सोल्टी होटेलका सेफ यसो भन्छन्

भान्छामा प्रयोग हुने शीतलचिनीलाई मरिङ्गा/सजीवनको नामबाट पनि चिनिन्छ । यो अत्यन्त लाभदायक तरकारी हो । भनिन्छ, शीतलचिनीले शीरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ ।

नेपालमा सहजै पाइने भएपनि शीतलचिनीको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ । छिप्पिएको शीतलचिनीको कोसामा छोक्रा हुने हुँदा धेरैले मन पराउँदैन् तर कलिलोमा भने निकै मुलायम हुन्छ ।


Advertisement

सोल्टी होटेलका सु-सेफ आर.बी. बुढाथोकीले यसको महत्त्व र गुणका बारेमा प्रकाश पारेका छन् ।

भारतबाट शुरु भएको शीतलचिनीको खेती बिस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । यो सब्जीको औषधीय गुण यति धेरै छ कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । शीतलचिनी दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ । शीतलचिनीको पातले पनि औषधीय गुण बोकेको हुन्छ, जसलाई शीतलचिनी भनेर चिनिन्छ ।


Advertisement

वनस्पती वैज्ञानिकहरुका अनुसार शीतलचिनीका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ । भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ । हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ । शीतलचिनीको पात अर्थात शीतलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ ।

नेपालमा औषधीय गुण नबुझेर होला, शीतलचिनीको प्रयोग ज्यादै न्यून देखिन्छ । शीतलचिनीको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ । आयुर्वेदमा शीतलचिनीको प्रयोगले ३ सय भन्दा बढी रोगको निदान हुन्छ भनिएको छ । शीतलचिनीको फूल, फल, डाँठको सारपात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनले अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा शीतलचिनी प्रयोग गर्न सल्लाह दिएको छ ।

शीतलचिनी लाई कसरी हुर्काउने?

शीतलचिनीलाई हुर्काउन सजिलो छ, किनभने यो हाँगा काटेर पनि रोप्न सकिन्छ र दानाबाट पनि बेर्ना निकाल्न सकिन्छ । तर ख्याल गर्नुपर्ने कुरा के छ भने, यसको बिरुवा हुर्काउँदा प्रशस्त मात्रामा पानी हाल्नुपर्ने हुन्छ ।

बिरुवा ८ देखि ९ फिट नहुँदासम्म नियमित पानीले भिजाएर राख्नु जरुरी छ । एउटा परिपक्व रुख हुँदा शीतलचिनी ३० देखि ४० फिट अग्लो हुन्छ । यसको पात भने मसिनो खालको हुन्छ । केही छिप्पिँदै गएपछि शीतलचिनी फुल्छ र फूल पनि धेरै औषधीय गुण बोकेको हुनाले संकलन गरेर सुकाइन्छ र बेचिन्छ ।

शीतलचिनीले रोपेको ४ देखि ६ महिनामा फल दिन थाल्छ र निरन्तर १० वर्षसम्म दिइरहन्छ । हरेक रुखले २ सय ५० देखि ३ सय ५० सम्म शीतलचिनी स्टिक दिन्छ । २५ देखि ३० डिग्री सेल्सियस तामक्रम शीतलचिनीका लागि उपयुक्त मानिन्छ । शीतलचिनी एक त्यस्तो खेती हो, जसले थोरै लगानीमा धेरै आम्दानी दिन्छ ।

शीतलचिनी जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ । यो वनस्पति तराई तथा मध्य पहाडमा सजिलै खेती गर्न सकिन्छ । सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३ सयदेखि ४ सय रुपैयाँ सम्म काठमाडौंमा शीतलचिनी बिक्री गरिन्छ । 

के–के बनाउन सकिन्छ शीतलचिनीबाट?

शीतलचिनीबाट भारतमा १ सय २५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ । दक्षिण भारतमा यो सब्जी अति नै मह्त्वकासाथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ । यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्न-भिन्न रुपमा पस्किने गरिन्छ । नेपालमा भने कलिलो शीतलचिनीको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ । भारतमा शीतलचिनीको ग्रेभी, सुप, सलाद, साम्बर, शीतलचिनी मसला, अचार र दालमा मिसाएर खाने चलन छ ।

शीतलचिनीको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ । पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ । त्यस्तै शीतलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ । वास्तवमा शीतलचिनीलाई सब्जीको राजा नै मानिन्छ । शीतलचिनीको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । 

यस्ता छन् २० गुण

१. शीतलचिनी या यसको पात शीतलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
२. हड्डी मजबुत बनाउन भूमिका खेल्छ । 
३. कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । 
४. उच्चरक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ । 

५. रोघा–खोकीजस्ता संक्रमण हुनबाट जोगाउँछ । 
६. गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ । 
७. छालासम्बन्धी संक्रमणबाट जोगाउँछ । 
८. शीतलचिनी पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ । 
९. शीतलचिनीको पातलाई शीतलचिनी अर्थात्मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ । 
१०. शीतलचिनीले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ । 
११. शीतलचिनीको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ । 
१२. शीतलचिनीको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ । 
१३. शीतलचिनीको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ । 
१४. कलेजो खराब हुनबाट जोगाउँछ । 
१५. चोट–पटकलाई छिटो भन्दा छिटो निको बनाउन मद्दत गर्छ । 
१६. छालाका लागि शीतलचिनीको पत्ता उपयोगी मानिन्छ ।
१७. शीतलचिनीको तेल कपालका लागि उत्तम मानिन्छ ।
१८. मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ । 
१९. शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ। 
२०. पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्