सरकारले व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमको नीति निर्माण गर्नुपर्छ : पृथ्वीबहादुर पाण्डे

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे प्रतिष्ठित व्यवसायी हुन् । होटेल, हाइड्रो जस्ता नेपालका ठूला औपचारिक व्यवसायमा लगानी गरेका पाण्डेले आफूलाई ‘सेमी रिटायर्ड’ भन्न रुचाउँछन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको बेला नेपालमा पनि रोकथाम र नियन्त्रणमा गरिएको ‘लकडाउन’ले अर्थतन्त्रमा कसरी प्रभाव पारिरहेको भन्ने विषयमा लोकान्तरकर्मी ईश्वर अर्यालले पाण्डेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश –


Advertisement

कोरोनाले स्वास्थ्यमा भन्दा अर्थतन्त्रमा बढी असर !

लकडाउनले गर्दा नेपाल मात्र होइन, संसार घरभित्र थुनिइरहेको छ । अहिले संसारका धेरै मान्छेहरू कोरोना भाइरसका कारण प्रभावित भएका छन् । नेपालमा भन्दा पनि युरोप र अमेरिकामा अहिले भाइरसको प्रकोपले सताएको छ ।


Advertisement

हाम्रो उपमहाद्वीपमा चाहिँ त्यति इम्प्याक्ट परेको छैन । किन हो, कसैलाई थाहा छैन । टेस्ट राम्रोसँग भएको छैन कि पहिल्यैदेखि इम्युनिटी बढ्ने खालको भ्याक्सिनहरू धेरै प्रयोग भएर हो कि ?
स्वास्थ्यको कोणबाट हेर्ने हो भने मान्छेहरूको मृत्युदर त्यति देखिएको छैन तर अर्थतन्त्रमा परेको प्रभावलाई हेर्ने हो भने यो भयंकर छ ।

सबैभन्दा बढी असर पर्यटनमा 

हाम्रा अर्थतन्त्रका धेरै सेक्टरहरू प्रभावित भएका छन् । तीमध्ये पनि धेरै असर परेको क्षेत्र भनेको हस्पिटालिटी र ट्राभल एजेन्सी हो । हाम्रो अर्थतन्त्र कृषिमा आधारित अर्थतन्त्र हो भने त्यसपछि दोस्रो पर्यटन नै हो । धेरैले रोजगारी पाउन सक्ने क्षेत्र भनेको कृषि हो । त्यसपछि नेपालको पोटेन्सियल चाहिँ पर्यटन नै हो ।

वार्षिक १०/१२ लाख विदेशीहरू ल्याउने गरेर हामीले काम गरिरहेका छौं, त्यो निकै कम थियो पहिला पनि । भिजिट नेपाल भनेर १० बाट सिधै २० लाख पर्यटक ल्याउने कुरा गर्‍यौं, हरेक तयारीहरू भएको थियो । अहिले मुलुक लकडाउनमा पर्‍यो ।

जहाँबाट पर्यटक आउने हुन्, ती पनि लकडाउनमा छन्, जहाँ आउने हो नेपाल त्यो पनि लकडाउनमा छ । यसकारण सबैभन्दा बढी धरासायी भएको क्षेत्र पर्यटन हो ।

राष्ट्रिय आयमा पर्यटनको योगदान बढी

होटेल एसोसिएसनका पदाधिकारीसँग मैले कुरा गर्दाखेरि पर्यटनले नेपालको कूल गार्हस्थ उत्पादनमा ३ प्रतिशत जति योगदान गर्छ भन्ने विषयमा छलफल भएको थियो तर त्यो प्रत्यक्ष योगदान हो । योगदान प्रत्यक्ष र अप्रत्यक्ष हुन्छ ।

जस्तै एउटा टुरिस्ट आयो भने १ जना मान्छेलाई प्रत्यक्ष फाइदा हुन्छ भने ४/५ जनालाई अप्रत्यक्ष लाभ हुन्छ । मैले बुझेको के हो भने पर्यटनले कूल गार्हस्थ उत्पादन (जीडीपी)मा अप्रत्यक्ष रूपमा ७ देखि ८ प्रतिशतसम्म योगदान गर्छ । त्यो भनेको धेरै हो ।

अब थाइल्याण्ड जस्तो देशमा झण्डै १२–१३ प्रतिशत आय पर्यटन क्षेत्रबाट हुन्छ । त्यो भनेको प्रत्यक्ष हो । अप्रत्यक्ष त त्यसको २ गुणाभन्दा बढी छ । कतिपय अनौपचारिक व्यवसायहरू पनि पर्यटनमै आधारित भएर चलेका हुन्छन् ।

कोरोनापछि विश्वको स्थिति

बाहिरी देशहरूमा कोभिड १९ ले परेको इम्प्याक्टले गर्दाखेरि पेट्रोलियम पदार्थको मूल्य तल झरेको अवस्था छ । विश्वकै अर्थतन्त्र ऋणात्मक हुँदै गएको विभिन्न प्रतिवेदनहरूले सार्वजनिक गरिसकेका छन् । अब कोसँग त्यसको वास्तविक तथ्यांक लिने ? अहिले विश्वको अर्थतन्त्र र नेपालको अर्थतन्त्रमा ठ्याक्कै कति प्रतिशत ह्रास आयो भनेर कोसँग वास्तविक तथ्यांक लिने ? कसैले दिन सक्दैन ।

तर के भने नेपालको केसमा हामीहरूको कूल गार्हस्थ उत्पादन (जीडीपी) ५–६ प्रतिशत भनिरहेका थिए, मेरो आफ्नो विचारमा विश्वभरि अर्थतन्त्रमा ह्रास आउँछ भने यहाँ पनि ऋणात्मक त हुन्छ नै । हामीलाई रेमिट्यान्स आउने कुरामा केही दिनअघिको तथ्यांक हेरेको थिएँ, १४ प्रतिशत घट्ने भनेको छ । विश्वमै २०–२२ प्रतिशत भनेको छ । नेपालमा कसरी १४ प्रतिशत भयो, मलाई थाहा भएन तर जति भएपनि १४ प्रतिशत घट्ने भनेको धेरै नै हो ।

पर्यटनबाट हाम्रो आय घट्ने, रेमिट्यान्सबाट आय घट्ने भएको छ । यसको मतलब कूल राष्ट्रिय आय धेरै नै तल खस्कने देखिन्छ । रेमिट्यान्सले ३० प्रतिशत अर्थतन्त्र धानिरहेको छ । यो सबै कुराको चेन रियाक्सन हेर्‍यो भने संसारकै अर्थतन्त्र ‘स्लो डाउन’ हुन्छ, त्यसले नेपाललाई त्यसले प्रत्यक्ष प्रभाव पार्ने कुरा त रहिहाल्यो ।

'पहिलो असर वैदेशिक रोजगारीमा गएका नागरिकमाथि'

पहिलो त वैदेशिक रोजगारीमा गएका २५ देखि ३० लाख मान्छेमा लकडाउनले प्रत्यक्ष असर पार्छ । तीमध्ये धेरै नेपाल फर्किन्छन् । भारतमा ४०–५० लाख छन् । २० लाख जति त लगभग नेपाल नै फिर्ता होलान् । युरोप अमेरिकामा जसरी काम गरिरहेका छन्, उनीहरूको काम पनि त ‘शट डाउन’ हुन्छ नि !

मेरो २ वटा कुरामा कन्सर्न छ । हाइड्रोपावर हेर्ने हो भने त्यसमा त खासै घाटा छैन । जतिसुकै शट डाउन भएपनि मान्छेले बिजुली त खपत गर्छ नै । बढीभन्दा बढी असर पर्ने उद्योग व्यवसाय भनेको पर्यटन नै हो ।

दुई किसिमको हुन्छ हस्पिटालिटी पनि । एउटा माथिल्लो तह र दोस्रो तल्लो तह । होमस्टेहरू, साना साना कफीसप, व्यवसायहरू तल्लो तहमा पर्छन् । त्यसमा पनि एउटा क्षेत्र काठमाडौंभित्र छ भने अर्को काठमाडौं बाहिर छ ।
काठमाडौंमा सबैभन्दा धेरै प्रभाव पर्ने देखिन्छ ।

भर्खरै नयाँ जसरी खोलिएका छन्, होटेल रेस्टुरेन्टहरू, ट्राभल एजेन्सीहरू जसले लोन लिएर काम शुरू गरेका थिए । तिनीहरू सबैभन्दा बढी प्रभावित हुन्छन् । मैले नै ठमेलमा एउटा होटेल खोलेको छु । लोन छ । शुरूमा त पिकअप गरिरहेको थियो नि ! सरकारको पोलिसी पनि सहज थियो । भिजिट नेपाल २०२० को लहर थियो ।

पर्यटनमा ‘पिक–ड्रप’को सिलसिला

नेपालमा भुइँचालो आएको ५ वर्ष भयो । त्यसभन्दा अगाडि नेपालको पर्यटन क्षेत्र राम्रो थियो । भुइँचालोपछि १–२ वर्ष ड्रप भयो । अहिले बिस्तारै फेरि पिक अप गरेको थियो । हामीले यो साइडबाट यसरी जोखिम आउँछ भनेर त कहिल्यै पनि सोचेका थिएनौं । सानो–सानो समस्या आउन सक्छन् भन्ने हामीले तयारी गरेका थियौं तर विश्व नै यसरी लकडाउनमा जान्छ भनेर हामीलाई के थाहा ?

बैंक पनि समस्यामा !
धेरै असर पर्ने अर्को सेक्टर छ, बैंक । बैंकले व्यवसायीलाई उपभोक्तासँग जोड्छ । कमन फ्याक्टर बैंक हो । व्यवसायीले लोन लिएर काम गरिरहेको हुन्छ, फाइदा भयो भने पनि त्यो बैंकमै जम्मा हुन्छ । बैंक अर्थतन्त्रको इन्जिन हो ।

लकडाउनले बैंकलाई हिट गर्छ । बैंकहरूले पनि के गर्ने ? बदमासी गरेको होइन । यो आउट अफ कन्टेक्स्ट, फोर्स मेजरको अवस्था हो । बैंकहरूलाई पनि अप्ठ्यारो छ । त्यसैले बैंकहरूले पनि राष्ट्र बैंकको निर्देशन अनुसार केही कुनै सीमामा रहेर राहत दिन सक्ला ।

धेरै असर पर्ने पर्यटन, ट्राभल एजेन्सी, रेस्टुरेन्ट, एयरलाइन्स, सिनेमा, होटेल जस्ता क्षेत्रहरूलाई विशेष प्याकेज दिएर अघि बढाउनुपर्छ । यो महामारी सकिएपछि पनि २ वर्ष त यहाँ पर्यटन नै हुँदैन । मैले त ३ वर्ष त मान्छेहरू आउँदैनन् ।

'डोमेस्टिक पर्यटन भने बढ्न सक्छ'

भित्रभित्रै डोमेस्टिक पर्यटन चाहिँ बढ्ला । मान्छे लकडाउन भएर त बस्दैनन् । योपछि त मान्छेहरू स्वतन्त्र रूपले बाहिर निस्केलान् । हाम्रो प्रकृति नै घुम्ने, डुल्ने केही नयाँ खोज गर्ने हो नि ! डोमेस्टिक पर्यटन चाहिँ बढ्ला तर यसले काठमाडौंको पर्यटनमा योगदान दिँदैन । पोखराले अलि छिटो पिक अप गर्ला । सबै कुरा सामान्य हुन ५ वर्षजति लाग्ने मेरो अनुमान छ ।

'पूरै सिस्टम नै रिफर्म गर्नुपर्ने अवस्था आएको छ'

कोभिड १९ को अर्को वेभ आयो भने फेरि लकडाउन गर्ने ? मान्छेको जीवन र अर्थतन्त्रबीचको समन्वय कसरी गर्ने ? अमेरिकामा पनि भनिरहेका छन्, हामीलाई काम गर्न देउ भनेर । नेपालमा १ महिना काम गरेन भने त अनौपचारिक क्षेत्रमा हात–मुख जोर्न समस्या देखिन्छ । हामी मध्यम वर्गलाई त गाह्रो हुन्छ भने अझ तलको मान्छेलाई कति गाह्रो होला ?

'सरकारले समयमै स्टेप लियो, धन्यवाद दिनुपर्छ'

सरकारले समयमै यो सबै गर्‍यो । आलटाल गरेन तर यसको क्रेडिट सरकारलाई दिनुपर्छ । अर्थतन्त्रको सवालमा चाहिँ हाम्रो हैसियत नै यत्ति हो ।  सरकारबाट बढी आशा गर्नु बेकार छ । यस्तोमा सरकारले पनि के गर्न सक्छ र ?

अब सरकारले व्यवसायीहरूलाई प्रोत्साहन गर्ने किसिमले नीति निर्माण गर्नुपर्छ । अहिले घाटामा परेको व्यवसायीले लगानी नै नगर्ने गरी हतोत्साहन हुन सक्छ । बजेट पनि आउँदैछ । त्यसबाट केही सम्बोधन हुने आशा गरौं ।
 

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्