अनाधिकृत गाडी रोक्न काठमाडौंका सुरक्षा प्रमुखहरू नै नाकामा, यात्रु ओसार्ने एम्बुलेन्स र प्रेसका गाडी पनि फिर्ता पठाइए
उपत्यका छिर्न खोज्ने गाडी झ्याप्ले खोलाबाटै फिर्ता, यात्रु ओसार्ने प्रेस र एम्बुलेन्सका गाडीमा पनि रोक
कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन र सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)लाई प्रभावकारी बनाउन प्रहरीले राजधानी बाहिरबाट काठमाडौं भित्रिने सवारी प्रवेशमा कडाइ गरेको छ ।
लकडाउन फितलो भएको, विना पासका गाडी पनि धमाधम काठमाडौं छिरेको र कोरोना संक्रमित भेटिएका क्षेत्रका सर्वसाधारण पनि काठमाडौं आउन थालेको पाइएपछि उपत्यका भित्रने सबै नाकामा प्रहरीले कडाइ गरेको हो ।
बुधवार महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख डीआईजी विश्वराज पोखरेल र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली तथा सशस्त्र प्रहरीका उपत्यका इञ्चार्ज डीआईजी चन्द्रप्रकाश गौतम नागढुंगामा पुगेर अनुगमन गरेका थिए ।
अनुगमनका लागि पोखरेल र गौतम नागढुंगाभन्दा तल धादिङ र काठमाडौंको सीमा झ्याप्ले खोलासम्म पुगेका थिए ।
प्रहरीले विनापास हिँडेका, पुरानो पास देखाएर हिँडेका, यात्रु बोकेका एम्बुलेन्स र एक ठाउँको पास बनाएर अर्को क्षेत्रमा हिँडेका गाडी र मोटरसाइकललाई झ्याप्ले खोलाबाटै फर्काएको थियो ।
‘लकडाउन प्रभावकारी बनाउन अनावश्यक मान्छेलाई उपत्यका प्रवेशमा कडाइ गरेका छौं,’ नागढुंगामा भेटिएका डीआईजी पोखरेलले भने ।
प्रहरीले मंगलवार पनि दर्जनौं सवारी साधनलाई फिर्ता पठाएको थियो ।
‘सूचना विभागको पास समेत नभएका व्यक्तिले पत्रकार हुँ भन्दै गाडीमा पाँचजना यात्रु समेत राखेर हिँडेको पाइयो,’ चेकिङमा खटिएका एक प्रहरी अधिकारीले भने ।
यसरी पासको दुरुपयोग गर्नेलाई जहाँबाट आएको त्यतै फर्काइदिएको उनले बताए ।
गाडीमा प्रेस लेखेर पोखराबाट आएको बा१२च ५४५ नम्बरको गाडीलाई परिचयपत्र देखाउन नसकेपछि प्रहरीले झ्याप्लेखोलाबाट फिर्ता पठाइदिएको थियो । प्रेस लेखेर हिँडेको अर्को एउटा गाडीलाई पनि फर्काइएको थियो ।
‘लकडाउनको समयमा पत्रकारको नाममा गैरपत्रकारले प्रेस शब्दको दुरुपयोग गरेको पाइएको छ, सूचना विभागको परिचयपत्र बोकेकोलाई रोकेका छौनौं,’ नागढुंगामा खटिएका एक प्रहरी अधिकारीले भने ।
कतिपय औषधि बिक्रेता र सप्लायर्सले समेत गाडीमा अस्पताल (एच) लेखेर हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
परिचयपत्र माग्दा यसरी काठमाडौं बाहिरबाट आएका व्यक्तिहरूले अस्पतालमा सामग्री सप्लाइ गर्ने गरेको बताएका थिए ।
उनीहरूलाई पनि प्रहरीले फर्काइदिएको थियो ।
पासको दुरुपयोग बढेको र अनावश्यक मान्छेहरू राजधानी भित्रिन खोजेपछि चेकजाँचमा कडाइ गरिएको ज्ञवालीले बताए ।
उनका अनुसार हिजो नागढुंगाबाट ५४ वटा सवारी साधनलाई फिर्ता पठाइएको थियो ।
दूध, तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडी, बिरामी बोकेका एम्बुलेन्सलाई भने आवतजावतमा रोक लगाइएको छैन ।
केही एम्बुलेन्सले बिरामी नभई यात्रु ओसार्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
राजमार्गमा एम्बुलेन्सको अस्वाभाविक ओहोरदोहोरबारे लोकान्तरले यसअघि पनि समाचार प्रकाशित गरेको थियो ।
पढ्नुहोस्, यो पनि :
बिरामी बोक्नुपर्ने एम्बुलेन्स यात्रु बोकेर साइरन बजाउँदै खुरुरु !
बुधवार प्रहरीले महिला सशक्तीकरण तथा महिला जागरण नेपालले सञ्चालन गरेको एम्बुलेन्सलाई काठमाडौंको नागढुंगाबाट फिर्ता पठाइदियो ।
साइरन बजाउँदै आएको एम्बुलेन्समा बिरामी नदेखेपछि चितवनबाट आएको एम्बुलेन्सलाई फिर्ता पठाइदिएको हो ।
एम्बुलेन्समा चालकबाहेक एकजना यात्रु आएका थिए ।
बीपी राजमार्गमार्फत उपत्यकामा भित्रिन खोज्ने सवारी साधनलाई भक्तपुरको साँगाबाट फिर्ता पठाइएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत चैत्र ११ गतेदेखि बन्दाबन्दी (लकडाउन)को घोषणा गरी अत्यावश्यक बाहेकका सवारी आवागमनमा रोक लगाएको छ ।
हिजो मात्र सरकारले लकडाउनको अवधि लम्ब्याएर जेठ ५ गतेसम्म पुर्याएको थियो ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द गरेको छ ।
संक्रमित क्षेत्रबाट सर्वसाधारण काठमाडौं भित्रिन सक्ने सम्भावना रहेको भन्दै तीनदिन यता सरकारले बाहिरबाट काठमाडौं भित्रिने सवारीमा कडाइ गरेको छ ।
सुशील पन्त
लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् ।