पश्चिम नवलपरासीका पत्रकारको कोरोना बीमा

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध सदस्य पत्रकारको कोरोना बीमा गराएको छ ।

बीमा रकम प्रतिव्यक्ति ५० हजार रुपैयाँको रहेको छ । पश्चिम जिल्ला भारतसँग सीमाना जोडिएको र उच्च जोखिममा रही समाचार संकलन गर्नुपरेकाले शाखामा आवद्ध सबै सदस्यको बीमा गरिएको शाखा अध्यक्ष हरि शर्माले बताए ।  


Advertisement

शाखामा ६३ जना सदस्य आवद्ध छन् । आवद्ध सदस्यमध्ये केही विदेशमा रहेका र केहीको यसअघि नै बीमा भइसकेकाले १ जना कर्मचारीसहित ४९ जना सदस्यको बीमा गरिएको अध्यक्ष शर्माले जानकारी दिए । 

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय पश्चिम नवलपरासीमार्फत बीमा गरिएको हो । बीमावापत लाग्ने सम्पूर्ण खर्च पत्रकार महासंघ जिल्ला शाखाले व्यहोरेको छ ।


Advertisement

कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर पोजेटिभ रिपोर्ट आए बीमा रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिए । कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा रहेका पत्रकारको मनोबल उच्च बनाउन सरकारबाट कुनै सहयोग उपलब्ध नभएको अवस्थामा शाखामा आवद्ध पत्रकारलाई पेशाप्रति उत्साहित बनाउन बीमा गरिएको अध्यक्ष शर्माले बताए ।

सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभएपनि शाखाले आवद्ध सदस्य र जिल्लामा कार्यरत अन्य पत्रकारलाई स्वास्थ्य सामाग्री, प्रेस ज्याकेट लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । 

यसैबीच पत्रकार महासंघले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारको पीसीआर परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको शाखा सचिव राजकुमार रेश्मीले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्