उपत्यकाको सडक पूर्वाधार सुधारका लागि एक निर्दोष नारीको सुझाव

  • मोतीलाल महतारा

जीवनको उत्तरार्द्धमा स्वास्थ्य चेकजाँच गर्ने बहानामा पहिलोपटक सुदूर कर्णालीबाट काठमाडौं घुम्ने मौका मिलाउनुभएका नातेदारहरू आएपछि काठमाडौं बसी टोपलेकोलाई एकदुई दिन समय मिलाएर शहर नघुमाउँदा आफ्ना खोजेर आएका पाहुनामाथि अन्याय नै हुन्छ । मीठोमसिनो खानपिन र जाडोयामको बसाई व्यवस्था सुकिला–मुकिला शहरीयालाई कठिन हुने भएतापनि हाम्रा पाहुनाका लागि जसोतसो व्यवस्था गर्न गाह्रो थिएन र हुँदैन पनि । गाह्रो पनि के होस् जीवनमा पहिलोपटकको काठमाडौं घुम्ने रहरको कौतुहलता बोकेका पाहुनालाई मीठो खाना र आनन्दको बासभन्दा शहर घुम्ने रहर बढी हुन्छ । घुम्नका लागि उपत्यकाका शहरहरू र शालीनदी, पशुपतिनाथ, सिहंदरबार, चिडियाखाना लगायतका यस्तै–यस्तै गन्तव्यहरू थिए।


Advertisement

काठमाडौंमा धेरै दिन पाहुना पाल्न विभिन्न कठिनाइहरू हुन्छन्, सबै कुरा यहाँ छरपष्ट नपारौं । मीठो मसिनो खुवाउन भन्दा पनि समय मिलाएर घुमाउन कठिन थियो मेरा लागि । जागिरे जीवन बिहान गयो साँझ आयो चलिरहेको आफ्नो दिनचर्या । छोटो शहरीया मनभन्दा विशाल मन भएका गाउँका पाहुनालाई समय नदिँदा कतै अप्ठ्यारो महसूस गर्छन् कि भनेर असहज महसूस भैरहेको थियो। अतः भोलिपल्ट बिहानै पशुपति, जोरपाटी हुँदै सालीनदीको भ्रमण गराउने योजना मुताविक यात्रा शुरू गरियो । शहरका मुख्य–मुख्य स्थानसहित बाटोमा पर्ने चाबहिल चुच्चेपाटी बौद्धको बाटोमा पर्ने स्थानको परिचय बताउँदै घुमाउने क्रममा बाटोमा जाममा परियो । कारण सडक पिच भैरहेको थियो । शहरको रहर पूरा गर्ने एक जना वृद्धाले भन्नुभयो, 'हामी नै घुम्न आउँदा बाटो बनाउन पाएछन् ।' मैले जवाफ दिए हिउँदको समयमा सजिलो हुने भएर काम गराइरहेका होलान् ।

यसरी नै भोलिपर्सिका दिनहरू काठमाडौंका अन्य गन्तव्यहरू घुमाइफिराइ गरी उहाँहरूलाई गृहगाउँतिर बिदाइ गरियो । एकजना भने उपचारका लागि लामै समय बस्नुपर्ने भयो। धित मर्नेगरी काठमाडौं बस्ने रहर पूरा गर्नुभो उहाँले।  २०/२२ दिनपछि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा लिएर जानुपर्ने भयो त्यही बाटो कलंकीदेखि महाराजगंज, चाबहिल, चुच्चेपाटी हुँदै जोरपाटीसम्म । जोरपाटी जाँदा चाबहिलदेखि बौद्धतिर लागेपछि पूरानो सम्झना गराउँदै भन्नुभो– पहिला आएको बाटो र आजको बाटो फरक हुन् कि उही ? मैले जवाफ दिएँ उही बाटो हो ।


Advertisement

उहाँले भन्नुभो– हैन, पहिला आउँदा बाटो बनाउँदै थिए आज भत्काउँदै छन् त ? मैलै पनि गाडीको गति कम गरेर यसो दायाँबायाँ नियालें । हुन पनि मज्जाले पीच बाटो भत्काइरहेका मजदुरहरू देखें । मनमनै पूर्वाधार विकासमा समन्वय र सहकार्यको अभावमा स्रोत साधनको दुरूपयोगको लेखाजोखा नै गर्न नसकिने हाम्रो राजधानीमा गैरजिम्मेवार र लापरवाहीपूर्ण कार्यको गतिलो उदाहरण देखियो । उहाँले थप्दै भन्नुभो– जान्नेसुन्ने ठूला मान्छे बस्ने शहरमा पनि मति बिग्रेका मान्छे बस्दा रहेछन् । गाउँमा भए भ्रष्टचार भयो भनेर यस्तो काम गर्नेको ठूलै बदनाम पो हुन्थ्यो होला । हेर, सरकारी पैसाको सत्यानाश गरेका बाबै कति पैसा खर्च भयो होला फेरि उस्तै बनाउन कति चाहिएला । यो त बालुवामा पानी हाले झैं भयो कसैले केही भन्दैनन् भनेर सुनाउनुभो लगातार मलाई तिनै मेरो अतिथि पाहुनाले मेरो आँखा पनि खोलेर केही लेख्न ऊर्जा थपी दिनुभयो।

कलकत्ता सुनेको र पढेको पनि थिएँ निर्माण गरिएका भौतिक पूर्वाधारहरू टिकाउ, उपयोगी, मितव्ययी र दिर्घकालीन हुनुपर्छ । सम्भवत: आम नागरिकहरूको चेतनाले पनि यही प्रतिनिधित्व गर्छ होला । हरेक नागरिकले आफ्नो घर छेउछाउदेखि आफूले प्रयोग गर्ने सडकहरू धुलोरहित, खाल्डाविहीन चिल्ला भैरहुन भन्ने चाहन्छन् होला । योजना तर्जुमा, बजेट विनियोजन, सर्वे डिजाइन, खरिद प्रक्रिया, निर्माण व्यवसायी, फिल्ड हेर्ने प्राविधिक, लगायतका थुप्रै औपचारिक वा अनौपचारिकरूपमा संलग्नहरू त्यही सडकमा कुनै न कुनै दिन फन्को मारिरहेका पनि हुन्छन् । तथापी उपत्यकाका सडक निर्माणमा विकास गतिविधिको दोहोरो कार्यबाट सार्वजनिक सम्पत्तिको दुरूपयोग भैरहेको देखिन्छ ।

काठमाडौं उपत्यकामा विशेष गरी सडकसँग प्रत्यक्ष रूपमा जोडिएका सेवाप्रदायक निकायहरू सडक, खानेपानी, ढल निकास, विद्युत, केबललगायतका कार्य गर्ने जिम्मेवारी प्राप्त निकायहरू छन् । विडम्बना सडक विभागले कालोपत्रे गरेको २/४ दिनपछि खानेपानीले पाइप बिछ्याउनका लागि सडक भत्काउने, अर्को २/४ दिनपछि विद्युतले पोल सार्ने, ढल निकासले मर्मत शुरू गर्ने गरेका दृटान्तहरू नौला भने होइनन् । यही समस्याका उत्कृष्ट समाधानहरू लोकसेवाका कापीमा लेखेर अब्बल छनौटमा परेका योग्यहरू नै कर्मचारीतन्त्रको उच्च नेतृत्वमा बहाल रहेका छन् । तथापी राजधानीवासीहरू खाल्डाखुल्डी, धूलोधूवाँबाट आक्रान्त जीवनयापन गरिरहेका छन् । सरकारी निकायहरूबीचको समन्वयको साङ्लो कहिल्यै दरिलो बनेको देखिँदैन बरू सहकार्य र समन्वयको साङ्लो दिनहुँ क्रमशः कमजोर हुँदै गएको अनुभूति सेवाप्रदायक संयन्त्र बाहिरका आम नागरिकहरूले गरिरहेका छन् ।

विशेषगरी दैनिक नजर परिरहने टेकु विष्णुमतीमाथिको पुल र चाबहिल-जोरपाटी सडक खण्डले गिज्याइरहेको हुनुपर्ने हो कार्यान्वयनमा संलग्न कर्मचारीतन्त्रलाई । अपराधबोध भैरहेको हुनुपर्ने हो निर्माण व्यवसायी र ड्रोइङ डिजाइन गर्नेदेखि विशिष्ट ज्ञानकर्मी प्राविधिकहरूलाई । जसले कार्यान्वयन, अनुगमन र सुपरीवेक्षणको जिम्मेवारी काँधमा लिएका थिए । अनुभव र अवलोकनले भन्छ, मितव्ययी, दिगो, टिकाउभन्दा पनि एउटा विचित्रको चक्रीय रूपमा जेलिरहेको छ काठमाडौं उपत्यकाभित्रका पूर्वाधार विकासको गति । वित्तीय लगानीका दृष्टिले लाभलागत विश्लेषण गर्ने हो भने कार्यान्वयनकर्ताहरूलाई आत्मग्लानी पनि हुनुपर्ने हो ।

अतः काठमाडौं उपत्यकाकै पूर्वाधार विकासको विधमान मोडल सिको गरेर उपत्यकाबाहिरका विकासोन्मुख शहरले कार्य थालनी गरेको खण्डमा वर्तमानभन्दा भविष्य निराशाजनक हुनेछ । विगतबाट पाठ सिक्दै वर्तमानको अनुभवबाट भविष्यका लागि टिकाऊ, दिगो र मितव्ययी पूर्वाधार विकासको प्रतिफल हासिल गर्नका लागि योजना तर्जु तहदेखि बजेट विनियोजन लगायतका चरणमा एकीकृत कार्ययोजना, एकीकृत कार्यगत संरचना र तद्अनुरूपको जनशक्ति व्यवस्था गरी अगाडि नबढेमा शहरी पूर्वाधारमा गरिने लगानी चाबहिल-जोरपाटी सडककै हविगत र लागतको अवस्थामा रहने देखिन्छ ।

सेवाप्रदायक निकायगत रूपमा कार्यक्षेत्र र कार्यविभाजन गरी राष्ट्रिय योजना आयोगको समन्वयमा एकीकृत कार्ययोजना तर्जुमा र स्वीकृत गर्ने, स्वीकृत कार्ययोजनाअनुसार खरिद प्रक्रियाका चरणहरू समेत एकीकृतरूपमा अगाडि बढाउँदै हालसम्म रहेका फरक–फरक निकायले फरक–फरक समयमा गर्ने अलग–अलग काममा समन्वय, सहकार्यको वातावरण विकास हुन गै सडकमा गरिने पूर्वाधार सुधारका काममा मितव्ययीता, दिगोपना र टिकाउपन कायम गर्न सकिने एउटा विकल्प हुनसक्छ ।

अलग–अलग निकायले आफूलाई तोकिएको मसिना प्रकृतिका कार्यक्षेत्र अनुसारका कार्यक्रमहरू कार्यान्वयन गर्ने क्रममा उक्त काम आवश्यकता परेको समयमा वा आकस्मिकरूपमा पनि गर्नु/गराउनुपर्ने समेत हुँदा काम गराउँदा सडकलगायतका पूर्वाधारमा पर्न जाने असरको जानकारी तत् तत् निकायमा गराई सोही निकायबाट प्राविधिक सहयोग लिने र पूर्वाधारमा परेको क्षति तत्काल सो काम गराउने निकायबाटै परिपूरण गराउने मोडल पनि अर्को विकल्पका रूपमा अंगिकार गर्न सकिन्छ ।

शहरी क्षेत्र र शहरोन्मुख क्षेत्रमा गरिने पूर्वाधार विकासका कामहरू एकद्वार प्रणालीबाट गराउन सकिने अर्को विकल्प हुन सक्छ । अलग–अलग निकायबाट हाल गरिँदै आएका पूर्वाधार विकासका कामहरू गर्न गराउन हालको उपत्यका विकास प्राधिकरणको संस्थागत सवलीकरण गरी कामको प्रकृति अनुरूपका एकाइहरू प्राधिकरणअन्तर्गत खडा गर्ने र एउटै निकायबाट सबै पूर्वाधार विकासका कामहरू गर्न गराउन पनि सकिन्छ । हाल छरपस्टरूपमा छरिएर रहेका निकायहरूलाई प्राधिकरणअन्तर्गत मर्ज गर्ने र प्राधिकरणलाई सबल, सक्षम र उत्कृष्ट संगठनका रूपमा विकास गरी शहरी पूर्वाधार विकासका कार्यहरू गर्न गराउन सकिन्छ ।

विद्यमान भागबण्डाको बजेट बाँडफाँड प्रणाली र कार्यविभाजन पद्दतिमा रमाउने मानसिकता बोकेका सेवाप्रदायक निकायबाट शहरी सडक पूर्वाधार विकासले प्रतिफलमुखी नागरिक चाहनाको सम्बोधन गर्ने/गराउने लक्षण देखिँदैन साथै चाबहिल-जोरपाटी सडक खण्डले भने त्यो सत्यलाई लुकाउने छूट पनि दिँदैन । उल्लेख गरिएअनुसारकै दूर कर्णालीबाट पहिलोपटक काठमाडौं घुम्दा वृद्ध नारीले व्यक्त गरेका अभिव्यक्ति नै शहरका विद्वान ब्यूरोक्याट्स र पूर्वाधारविज्ञ वर्गहरूका लागि भावी कार्य सुधार गर्ने सिकाइको उत्कृष्ट विश्वविद्यालयरूपी ज्ञानको भण्डार हुनपर्ने हो ।

कमेन्ट गर्नुहोस्