किम जोङ उनका साथी अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले किमलाई समस्या परेको संकेत दिएका छन् । किमकी बहिनी यो जोङ आजकल टीभीमा बढी देखिनु भनेको किमलाई केही समस्या परेको संकेत हो, रोडम्यानले बताए ।
सन् २०१३ मा प्योङयाङको भ्रमण गरेका रोडम्यानले किमसँग मित्रता गाँसेका हुन् । किमको मुटुको शल्यक्रियापछि उनी गम्भीर बिरामी परेको भन्ने खबर आएदेखि नै आफू सम्पर्कमा रहेको उनले बताए ।
‘म उत्तर कोरियासँग सम्पर्कमा छु । उनकी बहिनी टीभीमा देखिइरहेकी छन् अनि देश चलाइरहेकी छन् भने केही न केही गडबडी छ,’ रोडम्यानले गूड मर्निङ ब्रिटेनका प्रस्तोता पीयर्स मोर्गनलाई बताए ।
रोडम्यानले किमकी बहिनी यो जोङको प्रशंसा समेत गरेका छन् । बहिनी अब देशको शासक बन्ने लाइनमा रहेको हल्ला चलिरहेको छ ।
‘उनकी बहिनी एकदमै प्यारी छन्,’ रोडम्यानले बताए । ‘म त्यहाँ जाँदा उनले मसँग निकै राम्रो व्यवहार गरिन् ।’
‘उत्तर कोरियाबाट आएको खबर नसुनुन्जेल अरूले दिएको समाचार म विश्वासै गर्दिनँ । उनीहरू आफ्नै संसारमा मस्त भएकाले अरू देशका मिडियाले हल्ला फिँजाइरहेका हुन्छन् ।’
उत्तर कोरियाको सरकारी मिडियाले मे महिनाको आरम्भतिर एक तस्वीर सार्वजनिक गरेर किमले सुनचियोनमा रहेको एक कारखानाको निरीक्षण गरेको देखाएको थियो । मृत्युसम्बन्धी हल्ला चिर्न उसले त्यसो गरेको थियो ।
एजेन्सी