अमेरिकापछि सबभन्दा धेरै सैन्य खर्च गर्ने चीनले आफ्नो रक्षा बजेटमा वृद्धि गरेको छ ।
पोहोर साल १७७.६ अर्ब डलर छुट्ट्याएकोमा चीनले यस वर्ष १७९ अर्ब डलर पुर्याएको छ ।
शुक्रवार चीनको वार्षिक बैठक टु सेसन्समा विभिन्न महत्त्वपूर्ण निर्णय लिइएका छन् । त्यसमध्ये एक भनेको रक्षा बजेटमा ६.६ प्रतिशतको वृद्धि हो ।
नेसनल पिपुल्स कंग्रेसको बैठकमा बजेटपारित गरिन्छ र अर्को वर्षको आर्थिक वृद्धिको लक्ष्य वा प्रस्तावित कुल गार्हस्थ्य उत्पादनको निर्णय लिइन्छ ।
यस वर्ष चाहिँ कोरोना महाव्याधिका कारण कुनै आर्थिक वृद्धिदर लक्ष्य निर्धारण नगरिने घोषणा चीनले गरिसकेको छ ।
अमेरिकाले चीनसँग सम्बन्ध विच्छेद गर्ने भनी धम्की दिइरहेको अनि कतिपय देशले चीनमा रहेका आफ्ना कम्पनीहरू बन्द गर्ने निर्णय लिएकाले चीनको अर्थतन्त्रमा आगामी समयमा निकै प्रतिकूल प्रभाव पर्ने सम्भावना देखिन्छ ।
सन् १९९० पछि पहिलोपटक चीनले आर्थिक वृद्धिको लक्ष्य निर्धारण नगरेको हो ।
एजेन्सी