कोरोना महाव्याधिसँग उपभोगवादको साइनो : प्राकृतिक दोहनको दुष्परिणाम हो महामारी ?

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

कोरोनाभाइरस महाव्याधिपछि मानवले वातावरणमा पारेको दुष्प्रभावका विषयमा अनेकौं विश्लेषणहरू हुन थालेका छन् । अत्यधिक उपभोगको बानीले गर्दा पर्यावरण र प्रकृतिमा नकारात्मक प्रभाव परिरहेको विज्ञहरूको मत छ । 

हामीले गर्ने अनावश्यक उपभोगका कारण हरितगृह उत्सर्जनमा वृद्धि हुनका साथै प्राकृतिक स्रोतको अत्यधिक दोहन भइरहेको भनी सन् २०१६ मा जर्नल अफ इन्डस्ट्रियल इकोलोजीमा प्रकाशित एक अध्ययनले देखाएको छ ।


Advertisement

हामीले उपभोग कम गर्न थाल्ने हो भने वातावरणमा खराब असर पार्नबाट धेरै हदसम्म रोक्न सकिन्छ भन्ने निष्कर्ष उक्त अध्ययनको छ । 

हामीले यसका लागि अहिलेको व्यवहारमा सामान्य परिवर्तन गरे पुग्छ । हिँडेरै पुगिने ठाउँमा गाडीको उपयोग नगरिदिँदा विषाक्त धूवाँ उड्न पाउँदैन र वातावरण स्वच्छ हुन्छ । नुहाउँदाखेरी पानी धेरै नाश नगरे भयो । पिज्जा बर्गर जस्ता पत्रु खाना बनाउँदा पानीको अत्यधिक उपयोग गरिन्छ र स्वास्थ्यको हिसाबमा पनि तिनीहरू लाभदायक हुँदैनन् । त्यसैले त्यस्ता खानेकुरा खान छोडे भयो । 


Advertisement

मासु खाने बानी छोड्ने हो भने पनि प्रकृति संरक्षणमा धेरै ठूलो योगदान गर्न सकिन्छ । उपभोगका लागि औद्योगिक स्तरमै गरिने पशुपालन (एनिमल फार्मिङ) ले वनजंगलको भयवाह विनाश हुने गरेको छ र जलस्रोतको पनि चरम उपयोग बढेको छ ।

उपभोग संस्कृतिको सबभन्दा ठूलो योगदानकर्ता भनेको ईर्ष्या हो । अरूले भौतिक प्रगति गरेर अत्यधिक उपभोग अर्थात् सुखसयल गरेको देख्दा मानिसलाई त्यसैको सिको गर्न मन लाग्छ । तर प्रतिस्पर्धाको भावना त्याग्नेबित्तिकै उपभोगमा त्यति मन जाँदैन । 

पश्चिममा प्रचलित उपभोग संस्कृतिका कारण अनेकौं समस्या देखिन थालेपछि आजकल न्यूनवादी (मिनिमलिस्ट) जीवनशैलीको अवधारणा पनि अघि सार्न थालिएको छ । न्यूनवादी जीवनशैली भन्नाले हामीलाई अत्यन्त आवश्यक वस्तु मात्र किन्ने र अनावश्यक संग्रह नगर्ने हो । 

खासमा आधुनिक संस्कृतिले मानिसको जीवनको सार्थकता नै वस्तुको संग्रहमा निहित छ भन्ने भ्रमपूर्ण धारणालाई प्रोत्साहन गर्ने गरेको छ । यसअनुसार, जति बढी वस्तु आफूसँग भयो त्यति नै आफू सफल तथा समृद्ध हुन्छु भन्ने सोच मानिसमा पलाएको देखिन्छ । डिपार्टमेन्टल स्टोरमा गएर सामान किन्नुमा नै खुशी अडेको सोच मानिसहरू पाल्न थालेका छन् । पश्चिममा तनावमुक्तिका लागि मानिसहरू शपिङ मल जाने गरेका छन् र खरिदलती (शपाहोलिक) को संख्या बढ्दो छ ।

मानिसहरूको यही सोचलाई भजाउँदै डिपार्टमेन्टल स्टोरहरूले अनावश्यक खरिद गराउन विभिन्न रणनीति बनाउने गरेका छन् । ग्राहकको आँखा पर्ने ठाउँमा रंगीचंगी सामान राख्दा ध्यान आकर्षण हुने र किन्न मन लाग्ने उनीहरूलाई थाहा छ । अनि मधुरो संगीत बजाइदिँदा पनि मानिसलाई एकोहोरो बनाएर सोचविचार क्षमतालाई थाती राख्दै सामान किन्न मन लाग्ने पनि उनीहरूले बुझेका छन् । त्यसैले डिपार्टमेन्टल स्टोर जाँदा हामीले जहिले पनि मानसिक तयारी गरेर हिँड्नुपर्छ । घरमा अत्यन्त आवश्यक कुरा मात्र म किन्छु भन्ने सोच राखेर शपिङ गर्न जानुपर्छ ।

दिमाग नलगाउने रोबोटिक उपभोक्ता संस्कृतिका कारण मानिसहरू तनावमा रहने गरेका छन् । सामान किन्नका लागि बढी पैसा कमाउने ध्येयका साथ धेरैथरी काम गर्ने, परिवारलाई समय दिन नभ्याउने, आत्मचिन्तन नगर्ने लगायतको प्रवृत्तिले मानसिक अशान्ति दिन्छ । अनि त्यस अशान्तिबाट मुक्तिका लागि मानिस मनोरञ्जनको खोजी गर्न थाल्छ । तर मनोरञ्जनका साधनले क्षणिक खुशी मात्र दिन्छन् । अझ तिनमा देखाइने तडकभडकले झन् मानिसलाई त्यस्तै जीवनशैली अपनाउने लालसा जाग्छ । 

वास्तवमा वस्तुहरूले अल्पकालीन सन्तुष्टि मात्र दिन्छन् र स्थायी आनन्दबाट वञ्चित गर्छन् भनी हामीले बुझ्नु जरूरी छ । अनि हामी स्पष्ट हुनुपर्छ, उपभोक्तावादले धनीहरूलाई थप धनी बनाउने काम मात्र गर्छ । उपभोक्ता संस्कृतिको सबभन्दा ठूलो हतियार विज्ञापन हो र विज्ञापनले अभिजात वर्गको जीवनशैलीलाई आकर्षक रूपमा देखाएर दर्शकहरूमा अपर्याप्तताको गहिरो भाव उत्पन्न गराउँछ । यसले थप मानसिक तनाव दिन्छ र तनाव शान्तिका लागि वस्तु खरिद गर्न मन लाग्ने बनाउँछ ।

हाम्रा धर्मग्रन्थहरूले अत्यधिक उपभोग नगर्नका लागि उपदेश दिएका छन् । भोगलाई ग्रन्थहरूले पूरै निषेध गरेका छैनन् । चार्वाकको ऋण गरेर भए पनि घिउ खाऊ, मोजमज्जा गर भन्ने दर्शन पनि हाम्रै विराट संस्कृतिमा अटाएको छ । 

तर अनावश्यक उपभोगलाई निन्दनीय मान्दै ईशावास्योपनिषद्को पहिलो मन्त्रलाई आदर्शवाक्य बनाइएको छ :

ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ।।

यसको अर्थ हुन्छ– जड चेतन प्राणीहरू भएको यो समस्त सृष्टि परमात्माले व्याप्त छ । मनुष्य यसका पदार्थहरूको आवश्यकतानुसार भोग गरोस् । यो सबै मेरो हैन भन्ने भाव राखेर संग्रह नगरोस् ।

यस मन्त्रलाई जीवनमा अवलम्बन गर्ने हो भने लोभलालचको जालमा फसिदैन र त्यागको भावले आनन्द पनि दिन्छ ।

त्यस्तै श्रीमद्भागवतमा लेखिएको छ :

यावद् भ्रियेत जठरं तावत् स्वत्वं हि देहिनाम् ।
अधिकं योऽभिमन्येत स स्तेनो दण्डमर्हति ।।
(सप्तमस्कन्ध, चतुर्दश अध्याय, आठौं श्लोक) 

यसको अर्थ हुन्छ, पेट भर्नका लागि चाहिने जति सम्पत्ति नै एक व्यक्तिका लागि पर्याप्त छ । त्यसभन्दा बढीको इच्छा गर्ने व्यक्ति दण्डनीय छ ।

यही भावलाई महात्मा गान्धीले पनि आफ्नो शैलीमा व्यक्त गरेका छन् । उनका अनुसार, प्रकृतिसँग संसारको आवश्यकता पूरा गर्नका लागि सबै कुरा छ तर उसले मानिसको लोभलालच चाहिँ पूरा गर्न सक्दैन । 

त्यसैले उपभोग र लालचको जालबाट बच्नका लागि हामीले न्यूनवादी तथा त्यागवादी जीवनशैली अपनाउनुपर्छ । उपभोगवादी सोचले प्राकृतिक विनाश तथा मानसिक शान्तिको लोप गरिरहेको वर्तमान परिस्थितिमा प्राचीन धर्मग्रन्थहरूको निर्देशन पालना गर्नुमा नै यस जगतको र मानवको हित छ ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्