‘प्रहरी मोटा भया दरबार र घरबार दुवै बलियो हुन्या छन्’

स्वास्थ्यकर्मीले पीपीई नदिए काम गर्न सक्दैनौं भने । भन्नु नपर्ने कुरा थियो भन्न बाध्य भए र दिन बाध्य भए दिनेहरूले । 

७५ हजार नेपाल प्रहरी, ३७ हजार सशस्त्र प्रहरी र आवश्यकताले नेपाली सेनासहितका बर्दीधारीहरू प्रत्यक्ष अप्रत्यक्षरूपमा खटिएका छन् कोरोका संकटमोचनका निमित्त ।


Advertisement

बर्दीधारीलाई चिकित्सिकले जस्तो बोल्ने आधिकारिक मुख प्राप्त छैन, त्यसैले बोल्दैनन् । नबोल्नुको अर्थ नचाहिनु वा नदिनु पनि त होइन । बोल्न नसक्ने सन्तानले आमाको दूधबाट बञ्चित हुनुजस्तै घातक छ हतियारविना युद्ध लड्न पठाउनु । 

नेपालमा कोरोनाभाइरसको संक्रमण देखिएको ४ महिना हुन लाग्यो । लकडाउन भएको नै २ महिना भइसक्यो । काठमाडौंका केही ट्राफिक प्रहरी, आइसोलेनसन र क्वारेन्टाइनमा खटिएकामा बाहेक त्यो पीपीई भन्ने चिज प्रहरीका शरीरमा पर्न पाएको छैन ।


Advertisement

दिनेहरूले नदिएपछि पीडा बोध भएर होला केही संघ–संस्थाले थोरै भएपनि उपलब्ध गराएका छन् । ती पर्याप्त छैनन् । उपलब्ध भएका सामग्री विश्व स्वास्थ्य संगठनको मापदण्डका छन्, छैनन् थाहा छैन । 

सबै सुरक्षा निकायका कर्मचारीहरू संक्रमित हुन थालिसकेका छन् । तिनले सुरक्षा सामग्री पाएका भए तिनको जीवन जोखिममा पर्ने थिएन । अरूको सुरक्षा गर्न खटिनेहरू नै असुरक्षित बनाइनुको परिणाम भयावह हुन सक्छ ।

बर्दी लगाउनु भनेको जोखिम उठाउनु हुँदै हो । यसको अर्थ रक्षात्मक उपाय अपनाउन नपाउनु पनि त होइन । आफू बाँचे मात्र अरूलाई बचाउन सकिन्छ । तर आफ्नै सुरक्षाको महसूस हुन सक्दैन । हरदम आफ्ना लालाबाला र श्रीमतीको चिन्तामा डुब्नुपर्छ भने उसले के साहस र जाँगरले काम गर्छ  अनि आउला त कामको नतिजा ?

बर्दीधारी हुनु वा तिनका परिवार हुनु अभिसाप रहेछ भन्ने सन्देश दिन खोजिरहेका छौं हामी । यसले नेपाली युवामा के सन्देश गइरहेको छ ? युवा विदेश पलायनको कारण यी र यस्तै अकर्मण्यता होइन र ? देशको सुरक्षा निकायमा आकर्षण किन घटिरहेको छ ? यस विषयमा कहिले ध्यान जान्छ हाम्रो ?

एकधर बर्दी मात्र लगाएर सडक व्यवस्थापन, विभिन्न उद्धार, अपराध अनुसन्धान, भीड नियन्त्रण र पक्राउ आदिमा खटिरहेका आफ्नो लोग्ने, छोरो वा बाबाआमालाई देख्दा तिनका परिवारले के सोच्दा हुन् ?

द्वन्द्वकालमा भएको गल्ती नै आज दोहोरिँदैछ । उसबेला हतियारविना नै युद्धमा धकेलियो जबरजस्ती । पर्याप्त हतियार भएको भए आक्रमण कम हुन्थे, कम आक्रमण हुनु कम क्षति हुनु हो । प्रहरी बलियो भएको भए विद्रोही पक्षबाट सर्वसाधारण र प्रहरीको त्यति धेरै हत्या हुने थिएन । 

उसबेला र अहिलेको युद्ध फरक भएपनि सिकाइ एउटै हो । विगत वा विश्वका अरू देशबाट नसिकेर पर्याप्त रक्षा कवचविना नै कोरोना युद्ध मैदानमा धकेलिँदैछ आज पनि ।

बर्दीधारी हुनु वा तिनका परिवार हुनु अभिसाप रहेछ भन्ने सन्देश दिन खोजिरहेका छौं हामी । यसले नेपाली युवाहरूमा के सन्देश गइरहेको छ ? युवा विदेश पलायनको कारण यी र यस्तै अकर्मण्यता होइन र ? देशको सुरक्षा निकायमा आकर्षण किन घटिरहेको छ ? यस विषयमा कहिले ध्यान जान्छ हाम्रो ? 

कार्य प्रकृतिका आधारमा पनि स्वास्थ्यकर्मीसँगै सबै सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने थियो । लकडाउन भएर त्यसको पालना गराउन थालेको पहिलो दिनदेखि नै सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत जो अत्यावश्यक सेवामा खटिने छन्, तिनीहरू पीपीईमा सजिएको देख्न पाएको भए नागरिकको पनि त मनोबल बढ्थ्यो । 

हाम्रा लागि खटिएकाहरू सुरक्षित छन् । तिनले हाम्रो सुरक्षा गर्न सक्छन् भन्ने प्रभाव पर्थ्यो होला । यसकारण पनि लकडाउन को पालना अझै प्रभावकारी बन्न सक्थ्यो ।

‘तपाईंहरू पहिले आफू सुरक्षित भएर आउनु अनि हामीलाई सम्झाउनु,’ काठमाडौंका भित्रीबस्तीमा तोकिएको समयपछि पसल बन्द गर्न अनुरोध गर्दै खटिएका प्रहरीलाई नागरिकले दिएको जवाफ हो यो ।

नागरिकको चिन्ता सर्वथा उचित छ । तर यस्तो प्रतिक्रियाले ती प्रहरीको मनमा के असर गरिरहन्छ हरेक दिन ? 

यो प्रतिनिधि उदाहरण मात्र हो । यस्ता अनेक अवस्था सिर्जना भएका होलान् जसले प्रहरीको मनोबललाई जमिनतिरै थिचिरहोस् ।

प्रहरीका स–साना एकाइहरूले आफ्नो सम्बन्ध र सम्पर्कका आधारमा २/४ थान सामग्री जुटाएको भरमा सबै प्रहरीलाई संक्रमणबाट बचाउन सकिएला ?

काठमाडौं ट्राफिक प्रहरी प्रमुखले जसरी सबैले जुटाउन सक्छन् भन्ने पनि छैन । सबैसँग त्यो क्षमता र सम्पर्क नहुन सक्छ । अर्काको आश गर्दागर्दै प्रहरीहरू संक्रमणमा परिरहेका छन् । अझै कति पर्ने हुन् ?

प्रहरीलाई अझै कुन युगसम्म मगन्ते बनाइरहने हो ? उनीहरूका लागि जग्गा जनताले दिने, उनैले कार्यालय भवन बनाइदिने, कम्प्युटर र मसलन्द उनकै, इन्धन पनि उनकै भर । यही भिख मगनी संस्कृतिले प्रहरीलाई भ्रटाचारी र घूसखोरी बन्न प्रेरणा प्रदान गरिरहेको त छैन ?

सबै निकायका सुरक्षाकर्मी ब्यारेकमा बस्छन् । ब्यारेक र मेस भनेकै सामूहिक हुन्छ । धारा, पानी, ट्वाइलेट बाथरूम सबै साझा प्रयोग गर्नुपर्छ । एउटाको संक्रमणले धेरैलाई सार्ने निश्चित छ । सुरक्षाकर्मीमा संक्रमण देखिनु भनेको थपिनु पनि हो । थपिनुको अन्त्य कहाँ पुगेर रोकिएला ?

जनताको सुरक्षामा खटिनेहरूको व्यक्तिगत सुरक्षालाई ध्यान दिइएन भने उनीहरूको मनोबल र परिवारको मनोविज्ञानको कुरा कस्तो होला ? यसलाई पनि सहल्लान् बाध्यतावश्, तर जनताको सुरक्षाका लागि काम गर्नेहरू नै जनतामा महामारी फैलाउने कारण बनेका दिन नियन्त्रणभित्र रहला अवस्था ? 

प्रहरीहरू क्वारेन्टाइन र आइसोलेसनमा जानुपर्ने अवस्था बढिरह्यो भने आन्तरिक सुरक्षामा पर्ने असरका बारेमा यतिका दिनसम्म पनि किन चिन्तन गरिँदैन ?

प्रहरीको सुरक्षा सोचेर नगरे पनि नागरिकका लागि त यति कृतघ्न नहोऔं । जति ढिलो भयोभयो, अब पनि यता ध्यान दिइएन भने एउटा अक्षम्य कालो वर्तमानसँगै इतिहास पनि निर्माण हुनेछ । 

अपजसको भारी नबोक्ने हो भने विलम्ब नगरी हरदम अग्रपंक्तिमा खटिनेलाई दुई सेट र पर्दा खटिने हरेक प्रहरीलाई एकसेट भरपर्दो पीपीई, अन्य आवश्यक सरसफाई र सावधानीका सामग्री तत्काल उपलब्ध गराउनु पर्छ ।

एकजोर पञ्जा र एकथान मास्क कुनै संस्थाले बाँडेका भरमा संकटको प्रहरी कार्य सम्भव छैन । काठमाडौंकै भित्री बस्तीका कतिपय प्रहरीसँग आज पनि एकथान पञ्जा, मास्क र स्यानिटाइजरको सानो बोत्तलसम्म छैन । 

आगलागी, हत्या, मृत्यु, अपराध अनुसन्धान, भीड नियन्त्रण, सवारी व्यवस्थापन, उद्धार लगायतमा खटिने त नियमित कर्म हुँदै हो । बाँकेको क्वारेन्टाइनमा कोरोनाको कारण मृत्यु भएका युवाको शव व्यवस्थापनमा समेत प्रहरी खटिएको समाचार सुन्न पाइयो । यस्ता कार्य स्थानीय तहले गर्ने कि प्रहरीले ? कानूनले तोकेको प्रहरी कार्यका अलावा कसैले नगरेको सबै काम प्रहरीकै जिम्मामा पर्ने गरेको छ । 

प्रहरी एक जिम्मेवार निकाय भएकाले जनताका यस्ता पीडाहरूबाट प्रहरी भाग्न पनि त सक्दैन । 

धुलिखेलमा मृत्यु भएकी काभ्रेकी कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाल स्काउटका दुई साहसिक युवा अघि सरे । सधैं सबै ठाउँमा त्यसो पनि नहोला । नेपाल प्रहरीमा विपद् व्यवस्थापन कार्यदल छँदैछ ।

प्रहरीको सुरक्षा सोचेर नगरे पनि नागरिकका लागि त यति कृतघ्न नहोऔं । जति ढिलो भयोभयो, अब पनि यता ध्यान दिइएन भने एउटा अक्षम्य कालो वर्तमानसँगै इतिहास पनि निर्माण हुनेछ ।

आवश्यक तालिम र भरपर्दो सुरक्षा सामग्री भए यसबाट पनि त प्रहरी पछि हट्दैन थियो होला । अन्य सुरक्षा निकायमा झन् भरपर्दा जनशक्ति छन् । केबल सुरक्षा सामग्रीसँगै तिनलाई मनोबल चाहियो ।

तिनका नाममा निर्णय भएको जोखिम भत्ता पाएका छन् कि छैन्, यता नि ध्यान दिऔं । उधारो आशा नबनोस् ।

आइसोलेसनबाट कोरोना संक्रमित भागे भने गोली हान्ने निर्णय गरेको समाचार बाहिरयो पर्साबाट ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रले त्यस्तो निर्णय गर्नु वैशाख ३१ गते नारायणी अस्पतालबाट कोरोना संक्रमित दुईजना युवा भागेपछिको शिक्षा हुनसक्छ । 

जेठ १ गतेको त्यो निर्णय २४ घण्टा टिकेन, सच्याइएको भनियो, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार गरिने भनियो । त्यो भनेको पनि सामाजिक अशान्ति सिर्जना गर्नेलाई सम्झाउने, नमाने बल प्रयोग गर्ने, त्यतिले नभए गोली प्रहार गर्ने नै हो ।

पर्साको त्यो निर्णय विकल्पविहीन, कानूनसम्मत् र व्यावहारिक पनि थियो । नागरिक तहबाट समर्थन सर्वत्र स्वागत भएको थियो निर्णयको । 

कोरोना संक्रमित व्यक्ति अस्पतालबाट भाग्छ । पक्राउ गर्ने काम प्रहरीकै हो । समातौं प्रहरीसँग आवश्यक सुरक्षा सामग्री छैन । नसमातौं अरू कैयौंलाई संक्रमण हुन्छ ।

धेरैलाई बचाउनका लागि एउटालाई कानूनबमोजिम प्रहार गर्ने कुरा मानवअधिकारविरुद्ध कसरी हुन्छ ? एक व्यक्ति आफू भागेर अरूलाई रोग सार्ने र अरूको बाँच्न पाउने अधिकारको रक्षा गर्न नपाउने कुरा कसरी मानअधिकार पक्षीय हुन्छ ? निर्णय मानवअधिकारकै रक्षार्थ थियो । बरू रोग सार्नेहरूको पक्षमा पैरवी गर्नुचाहिँ मानअधिकारविरोधी कार्य होइन र ?

बुझ्नै पर्ने तथ्य के हो भने पर्साको संकट व्यवस्थापन केन्द्रले त्यो निर्णय मान्छे मार्न नभई भाग्न खोज्नेहरूमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरेर अरू धेरैको जीवन रक्षा गर्ने बौद्धिक कदम थियो । यति सानो सत्य नबुझेर रडाको गर्नुको के तुक ? 

तराईका दूरदराजका क्वारेन्टाइनको के कुरा काठामाडौंकै कतिपय क्वारेन्टाइनमा बसेकाहरू समयमा सन्तुलित र स्वस्थ्यकर खाना र खाजा देऊ, नदिने भए आफैं किनेर खान देऊ भनेर त्यहाँ खटिएका प्रहरीसँग गुनासो गरिरहन्छन् । यदि त्यहाँबाट पनि मान्छे भाग्ने प्रयास गरे भने हातमा एकजोर पञ्जा र एकजनाले एकथान पीपीई लगाएको भरमा उनीहरूलाई कसरी रोक्लान् ?

वैशाख २६ गते धर्ना बसेका ४७ जना चिनियाँ नागरिक पक्राउ गर्दा होस् वा अन्य विरोधका कार्यक्रममा खटिएका प्रहरीको शरीरमा पीपीईको के कुरा हातमा पञ्जासम्म देखिँदैन ।

यसरी प्रहरी कर्मचारी र तिनका परिवारप्रति घोर उपेक्षा नगरौं ? परिवार र आफ्नो ज्यानको पर्वाह नगरी रातदिन खट्ने प्रहरीप्रति कहिलेसम्म यसरी निर्मम भइरहने होला ? कृपा गरी यो निर्ममता आजैबाट तोडियोस् । 

प्रहरीलाई भरपर्दो पीपीई सहितको सुरक्षा सामग्री उपलब्ध भयो भने पनि प्रहरीले प्रत्यक्ष हातले व्यक्ति समात्नु समातिने व्यक्तिको हितविपरीत हुन्छ । प्रहरीसँग सबै ठाउँमा मल्टी फङ्सनल एरेस्ट डिभाइस छैन ।

काठमाडौंमै पर्याप्त छैन । धानेसम्म यसैको प्रयोगबाट पक्राउ गरौं । सम्भव नभएका ठाउँमा व्यक्तिलाई नभाग्न र प्रहरीको गाडी चढ्न वा प्रहरीको अघि लागेर हिँड्न अनुरोध गरौं । अनुरोध नमानी भागेमा बल प्रयोग गर्ने चेतावनी दिने र नियन्त्रणमा लिने गर्नुपर्छ । 

अनुरोध वा चेतावनीबाट पक्राउ गर्नुपर्ने व्यक्ति नियन्त्रणमा नआए आवश्यक कानूनी बल प्रयोग गर्दा कसैको आपत्ति हुनु दुर्भाग्य हो । किनभने यस्तै विशेष परिस्थितिमा जनताकै हितमा प्रयोग गरिने हुन् यस्ता कानूनहरू । बल प्रयोगको यस्तो अभ्यास नै प्रहरी र आम नागरिकको हितअनुकुल हुनेछ ।

अन्यथा हरेक दिन सडक र बस्तीहरू, आन्दोलनस्थल, क्वारेन्टाइन, आइसोलेसन र लकडाउन पालना गराउनमा सर्वत्र प्रहरी असुरक्षित हुनेछ । त्यसपछि प्रहरीकै कारण जोखिमा बढ्नेछ समाजमा ।

कतिपय कमान्डर र फिल्डमा खटिएका सुरक्षाकर्मीको पनि लापरवाही देखिन्छ । आफ्नो व्यक्तिगत सरसफाइमा कम ध्यान दिने, एकापसमा वा नागरिकसँग दूरी कायम नगर्ने, उपलब्ध सुरक्षा सामग्री प्रयोग नगर्ने र हात मिलाउने जस्ता असावधानी देखिएमा प्रहरी नियमावलीबमोजिम नसिहत, ग्रेड वा प्रमोसन रोक्कासम्मको कारवाही गर्नुपर्छ, किनभने यस्ता लापरवाही आफू, परिवार र समाजका लागि अक्षम्य हुन्, घातक हुन् ।

‘प्रजा मोटा भया दरबार बलियो रहन्छ,’ पृथ्वीनारायण शाहको यो उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । प्रहरी बलिया भए नागरिक र तिनको निरोगी भई बाँच्न पाउने अधिकार बलियो बन्छ ।

सम्पूर्ण सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र प्रत्यक्ष अप्रत्यक्ष खटिने सबै संकटका सेवाकर्मीहरू संक्रमणलाई टार्न सक्ने गरी बलिया भए भने मात्र सरकारको दरबार र नागरिकको घरबार बलियो हुन्छ । चेतना होस् ।

suskera32@gmail.com

शम्भु सुस्केरा
शम्भु सुस्केरा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्