राष्ट्रिय एकता ओलीले भनेजस्तो मात्र हुन्न, हाम्रा एजेण्डा पनि समावेश हुनुपर्छ: जनता समाजवादी

फाइल फोटो

मधेशकेन्द्रित जनता समाजवादी पार्टीले नयाँ नक्सा जारी भएपछि हुन लागेको संविधान संशोधनमा आफूहरूले विगतदेखि उठाउँदै आएका एजेण्डाहरू पनि समावेश हुनुपर्ने माग राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलवार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा जनता समावदी पार्टीका नेताहरूले सुगौली सन्धिअनुसारको भूमि नेपालको हो भन्ने कुरामा आफूहरूको फरक मत नरहेको तर, संविधान संशोधन गर्दा आफूहरूका मागलाई पनि समावेश गर्नुपर्ने बताएका हुन् ।


Advertisement

राष्ट्रिय एकता प्रधानमन्त्रीले भनेजस्तो मात्र नहुने जनता समाजवादीका नेता उपेन्द्र यादवले बताए । 

'हामी पनि राष्ट्रिय एकताको पक्षमा छौं, तर राष्ट्रिय एकता केपी ओलीले भनेजस्तो मात्र पनि हुन्न,' यादवले लोकान्तरसँग भने, 'हामीले पहिलेदेखि नै उठाउँदै आएका एजेण्डाहरू पनि समावेश हुनुपर्छ, यद्यपि सुगौली सन्धिअनुसारको भूमि हाम्रो हो भन्नेमा दुईमत छैन ।'


Advertisement

राष्ट्रिय एकता कायम कसरी गर्ने भन्ने विषयको बल सरकारको कोटमा रहेको यादवले बताए ।

नयाँ नक्सा जारी भएको सन्दर्भमा निशान छाप संशोधनका लागि संघीय संसद्‍मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिका आधारमा पारित गर्न बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहमति जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्