कालिमाटीका २१६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

प्रतिकात्मक तस्वीर

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरूमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।


Advertisement

यस क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो । यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालिमाटी वृत्त र त्यस आसपासका प्रहरी विट तथा महिला सेललाई सील गरेर पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पीसीआर परीक्षण गरिएको थियो ।

कोभिड–१९ संक्रमण भएका २ प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भएका छन् । दुवै जनालाई शनिवारै होम क्वारेन्टाइनमा पठाइएको छ । 


Advertisement

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म मुलुकभर गरेर २० प्रहरीलाई कोभिड–१९ देखिएको छ । उनीहरूमध्ये धेरैको उपचार भइरहेको र उपचारपछि रिपोर्ट नेगेटिभ आएकालाई भने क्वारेन्टाइनमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्