‘डरलाग्दो सलहको हुल छिमेकमा आएर यता हेर्दैछ, सरकार भने मीठो मादलको धुनमा व्यस्त छ’

खेती लगाउने समयमा बिउ मलको व्यवस्था नभएको तथा विनाशकारी सलह किराको प्रकोप छिमेकी देशमा आइसक्दा समेत सरकार सतर्क नबनेको भन्दै कांग्रेसका एक सांसदले विरोध जनाएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सत्यनरायण खनालले भविष्यमा भोकमरीको अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।  


Advertisement

‘कोरोनाले विश्वलाई ढाकिसक्दा नेपालमा केही तयारी छैन । हजारौं भोका नागरिकको हुल सीमामा आउँदा सरकारले उनीहरूलाई दुर्गम गाउँमा पठायो जहाँ स्वास्थ्य संस्था र उपचार छैन,’ उनले भने, ‘खेती लगाउने समयमा मलबिउको अभाव र डरलाग्दो सहलको हुल छिमेकमा आएर यता हेर्दैन । सरकार मीठो मादलको धुनमा व्यस्त छ । जनता कोरोना या भोकमरीको कुन महामारीले बोल्नुपर्ने हो थाहा छैन ।’

अफ्रिकाबाट इरान, पाकिस्तान हुँदै सलह भारतको पञ्जाब आइपुगेको भन्दै नेपालमा कृषि क्षेत्रका जानकारहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।


Advertisement

शून्य समयमा सांसदहरूले देशभरका क्वारिन्टाइनको गुणस्तरलाई लिएर प्रश्न उठाएका छन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्