बन्दाबन्दीले राजस्व संकलन प्रभावित, सेवाग्राहीको उपस्थिति प्रायः शून्य

प्रतिकात्मक तस्वीर

आन्तरिक राजस्व कार्यालय विराटनगर हिजोआज सुनसान छ । सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण कर्मचारी फुर्सदिला छन् । कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द छ ।


Advertisement

बन्दाबन्दी हुनुअघि कामको चापले कर्मचारीलाई भ्याइँनभ्याइँ हुन्थ्यो । गत चैत ११ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गरेसँगै अहिले आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन प्रभावित भएको छ । 

गत चैत महिनामा ९३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सो कार्यालयले उक्त अवधिमा १३ करोड ९२ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।


Advertisement

वैशाखमा १ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले ११ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । जेठमा १ अर्ब १ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले जेठको २० गतेसम्म १३ करोड ६१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको हालसम्म कार्यालयले १ अर्ब ७६ करोड अन्तःशुल्क, १ अर्ब ३५ करोड मूल्यअभिवृद्धि कर र २ अर्ब १ करोड आयकर संकलन गरेको छ । बन्दाबन्दीका कारण राजस्व संकलन प्रभावित भएको प्रमुख सापकोटाको भनाइ छ । 

कमेन्ट गर्नुहोस्