राजनीति अचम्मको जागिर, मतदाता क्यासिनोका ग्राहक जस्ता !

कस्तो राजनीतिक प्रणालीमा छौं हामी ? थोत्रो च्यातिएको लुगा लगाउने एउटा गरीब नेपालीले आफ्नो सुन्दर भविष्यको कल्पना गर्न भोट हालेर चुनाव जिताएको चिल्लो कोट लगाएको भत्ता र सत्तामा लिप्त भएको सांसदले जवाफ चाहियो भनेर संसदमा फलाक्छ । अर्काे सांसदले ध्यानाकर्षण भयो भन्छ अनि सरकारको मन्त्रीले जवाफ दिन्छ तर जवाफदेहिता कसैले लिँदैनन् ।

जवाफ माग्ने र दिने प्रक्रियाबीच गरीब जनता खान नपाएर भोकले मरिरहेका हुन्छन्, औषधि नपाएर मर्न बाध्य हुन्छन्, युवा विदेशिन बाध्य भइरहेका छन् । यो क्रम जारी रहँदै गर्दा मर्नेहरूले श्रद्धाञ्जलीसम्म पाउँदैनन् । संसदमा चिच्याउनेहरूको जागिर चलिरहन्छ ।


Advertisement

राजनीति एउटा अचम्मको जागिर हो, यहाँ जसलाई न कुनै योग्यता, न कुनै पढाइ, न कुनै सीप, न कुनै तालिम, न त ठाउँठाउँ सरुवा, विदेश भ्रमण, न उमेरको हद, न अवकाश हद, न आन्तरिक मूल्यांकन मृत्यु नहुञ्जेल ढुक्कको जागिर ! 

राजनीति सेवा हो वा जागिर हो ? यदि राजनीति सेवा हो भने सेवा गर्नेले तलब, पेन्सन र अरु सुविधा किन लिन्छन् ? यदि जागिर हो भने राजनीति गर्नेको लागि योग्यता र परीक्षा किन हुँदैन ? कतै यो मानव समाजप्रति घोटाला त होइन भनेर जति नै प्रश्न उठे पनि नेपाली जनताले जवाफ पाउन सकेका छैनन् ।


Advertisement

हामी कस्तो प्रजातन्त्र/लोकतन्त्रको भरोसा गरिरहेका छौं ? मैले भोट हालेर मेरो समाजको समस्या सुनाउन पठाएको निर्वाचित व्यक्तिले हाम्रो समस्या सुनाउनको लागि पनि ३ मिनेटभन्दा बढी समय बोल्न पाउँदैन । अझ दुःखको कुरा त्यो ३ मिनेटमा पनि के बोल्नुपर्छ  भन्ने नजान्नेलाई हामी चुनाव जिताएर पठाउँछौँ । नेपाल पटक–पटक लोकतन्त्र खतरामा हुनुको २ वटा कारण छ । एउटा – नेपाली जनता लोकतान्त्रिक पार्टी भोका छैनन् । दोस्रो – लोकतन्त्रको स्थायित्वको लागि समय लाग्छ र नेपाली जनतासँग धैर्य छैन ।

मेरो देशमा अनपढको लागि राजनीतिभन्दा अरु कुनै क्षेत्र छैन । राजनीतिभन्दा राम्रो नाफा कमाउने अर्को व्यापार छैन । हामी यस्तो सिस्टममा छौं, जहाँ मानसिक र शारीरिक सन्तुलन बिग्रिएको मान्छे स्वास्थ्यमन्त्री बन्छ, मान्छे मार्ने गृहमन्त्री, जाँचमा चिट चोरेर पास गर्ने शिक्षामन्त्री ।

हामी यस्तो समाजमा बस्छौँ, जहाँ राजनीतिज्ञहरू किनबेच गर्नमा नै व्यस्त छन् । पैसाले किन्न सकिने सबैभन्दा उत्तम लोकतन्त्र नेपालमा छ भन्दा फरक नपर्ला । हाम्रो देशको लोकतन्त्रले अब बिस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ । नेपालका राजनीतिज्ञलाई सत्ता र राजनीति अब सेवा गर्ने माध्यम होइन, यो केवल धन्दा बनेको छ । 

जनताको चुलोमा ग्यास छैन । धारामा पानी छैन । बिरामीले अस्पतालमा बेड पाउँदैन । स्कूलमा गतिलो पढाइ छैन । जनता सुरक्षित छैनन् । कार्यकर्ताको अनुशासन, नेताको शासन दुवै गलत दिशामा गएको मेरो देश । अब यो अप्रजातान्त्रिक महंगो प्रजातन्त्रलाई कहिलेसम्म राख्ने हो ? कतै यो प्रजातन्त्रलाई प्रजाबाट पर धकेल्ने दिन आएको त होइन ?

प्रजातन्त्र र गणतन्त्र एउटा क्यासिनो जस्तै भएको छ । त्यो क्यासिनोको मालिक नेपालका राजनीतिज्ञहरू हुन् अनि हामी जस्ता जनता त्यो क्यासिनोको पैसा जितेर जिन्दगी बन्छ कि भनेर जुवा खेल्ने खेलाडी मात्र हौं । भोट हाल्ने प्रक्रिया भनेको क्यासिनोको ‘स्लट मशिन’ जस्तै हो । फरक यत्ति हो कि स्लट मशिन ह्यान्डल तल खिचेर भाग्य खोज्ने अवसर हाम्रो लागि हरेक ५ वर्षमा १ पटक आउँछ, जसमा जनताले आफ्नो जीवनस्तर माथि उठ्छ र समस्या समाधान हुन्छ कि भनेर स्लट मशिनको ह्यान्डल तल खिचेर भाग्य खोजे  जस्तै भोट हाल्छन् तर जनताको जीवनस्तर कहिल्यै माथि उठ्दैन र समस्या कहिल्यै समाधान हुँदैन । फेरि अर्को ४ वर्ष भाग्य खुल्छ कि भनेर कुर्नुभन्दा अरू कुनै उपाय हुँदैन ।

हामी नेपालीलाई जुवाको लत लागे जस्तै भोट हाल्ने लत लागेको छ र समयान्तरसँगै क्यासिनो मालिकले विभिन्न जुवा खेल्ने प्रणालीको प्रयोग गर्छ तर दुर्भाग्य जीत सधैं क्यासिनो मालिक (राजनीतिज्ञ) को मात्रै हुन्छ र हुँदै आएको छ । कतै अब त्यो क्यासिनोलाई हटाएर नयाँ सिस्टम प्रयोग गर्ने बेला त आएको होइन ? नभए त क्यासिनोमा जुवा खेल्न आउनेलाई निःशुल्क मदिरा, खाने कुरा दिएर जुवा खेलाए जस्तै हाम्रा राजनीतिज्ञले बेला–बेलामा विकासको नाममा ‘गँड्यौला’ फालेर जनतालाई लुट्ने काम गरिरहनेछन् । कतै अब त्यो क्यासिनोलाई नै हटाएर नयाँ सिस्टम प्रयोग गर्ने बेला त आएको होइन ?

अन्न उब्जाउने किसान आज भोको छ । घर बनाउने सिकर्मी र डकर्मीको आफू बस्ने घर छैन । कपडा सिलाउनेहरूसँग आङ ढाक्न एकसरो कपडा छैन । तैपनि गाँस, बास, कपास तथा रोजगारीको नारा गुञ्जिरहेको छ । हरेक दिन गरीबी उन्मुलनको नाममा गरीबकै उन्मुलन गरिँदैछ । हामी त्यो देशमा बस्छौँ, जहाँ भविष्य बनाउनका लागि ३५ दिन कुरेर पहिला पासपोर्ट बनाउनुपर्छ । तब मात्र मेरो भविष्यको ढोका देखिन्छ । यहाँ हरेक दिन गरीबी उन्मुलनको नाममा गरीबकै उन्मुलन गरिँदैछ । नेपालका राजनीतिक पार्टीहरू व्यापारी हुन् । उनीहरू बजारको खोजीमा छन् । यिनीहरूले केवल व्यापार गरिरहेका छन् । फाइदाको लागि यिनीहरू बजार, उत्पादन र ग्राहक परिवर्तन गर्न कुनै पनि समय तयार रहन्छन् । आखिर व्यापार फाइदाको लागि नै गरिन्छ ।

आमाको कोख रित्तिइरहेको छ, छोरी/बुहारीको सिन्दुर पुछिएकै छ, जेठो छोरा मुगलान पसेकै छ । छोराको बिहेमा आँगनमा धूलो उडाउँदै रत्यौली खेलौँला भन्ने आमा छोराको शव हेरेर कुनामा भक्कानो छोडी रोइ नै रहेकी छन् । कान्छो छोराको बिहे गर्ने रहर पूरा नहुँदै  बुढा बा छोराको मलामी गएकै छन् । बूढापाकाले भन्थे, आक्रामक नेताको साथ दिने निष्क्रिय समर्थन र बुद्धिमान शिक्षकसँग अज्ञानी विद्यार्थी भएको समाज कहिल्यै अगाडि बढ्न सक्दैन । यही हामीले भोगी रहेका छौं । समस्या व्यक्तिमा होइन, संरचनामा छ । हामीकहाँ लोकतन्त्र किन सफल छैन ? अन्तरनिहीत निर्वाचन, अयोग्य नेताहरू, अज्ञात मतदाताहरू र अल्पकालीन सोच । 

जब–जब हामी नेतृत्वको कुरा गर्छौं, असल नेतृत्वको कमी गम्भीर समस्याको रूपमा देखा पर्छ । नेताको व्यक्तित्वले हाम्रो जीवनको हरेक पक्षमा महत्त्वपूर्ण भूमिका खेल्छ । हाम्रो समाजमा इमान्दार व्यक्तित्व भएको नेताको कमी छ । देशलाई सही बाटो देखाउन इमान्दार, मेहनती, दूरदृष्टि भएको नेतृत्वको आवश्यकता छ । नेपाली जनता एउटा यस्तो नेताको खोजीमा छन्, जसले विफलताको जिम्मा आफूले लिन्छ र सफलताको श्रेय आफ्नो टीमलाई दिन्छ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्