नेकपा कलहको अन्तर्य

गुरूराज घिमिरे
गुरूराज घिमिरे

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

आर्थिक सिद्धान्तका दृष्टिले महत्त्वपूर्ण मानिएको संसारभरिका कम्युनिस्टहरूका आराध्य कार्ल मार्क्सद्वारा लिखित 'पूँजी' राजनीतिक कारणबाट पनि विश्वव्यापी महत्व राख्दछ । विश्वमा सामन्तवाद र पूँजीवादको एकछत्र वर्चस्व कायम रहेको समयमा लेखिएको यस कृतिले अर्थशास्त्रको क्षेत्रमा मात्र होइन, राजनीतिक क्षेत्रमा समेत अद्भूत तरंग उत्पन्न मात्र गरेन, विश्वव्यापी रूपमा वर्तमानमा अस्तित्वमा रहेको कम्युनिस्ट विचारधाराको उद्भव भयो । यस कृतिका तिनै भाग मार्क्स आफैंले लेखि सक्न भ्याएनन् । उनको निधनपश्चात् उनकै अभिन्न साथी फ्रेडरिक एङ्गेल्सले पूँजीका अन्य २ भाग पूरा गरे । यी तिनै भागको राजनीतिक र आर्थिक निष्कर्ष भनेको सम्पूर्ण मानव जातिलाई हर प्रकारका शोषणबाट मुक्त गर्नु,सु खी, सम्पन्न मानव समाजको निर्माण गरी सारा संसारलाई बदल्नु रहेको उल्लेख गरिएको छ । साथै पूँजीपति वर्गले मजदुर अर्थात् श्रमजीवी वर्गको शोषणको प्रमाण नै अतिरिक्त मूल्य हो । यसलाई नामेट पार्न पूँजीपति वर्गलाई सिध्याउनुपर्छ अर्थात् अन्त्य गर्नुपर्छ । यसका निम्ति वर्ग संघर्ष अपरिहार्य छ । अनि मात्र सर्वहारा वर्गको मुक्ति सम्भव छ भन्ने मूल मन्त्रहरू समेत उल्लेख छ ।

यो विषय यहाँ उद्धृत किन गरियो भने अहिले नेपालमा यही मन्त्रको जप गरेर सत्तामा पुगेको राजनीतिक दलको शासन विद्यमान छ । उसले प्रकट गरेका कागजी प्रतिबद्धताहरू नागरिकको ताजा स्मृतिमा छन् । त्यसैले देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली समाजमा परिवर्तित राजनीतिक व्यवस्था र यसको सुदूर भविष्यप्रति नै प्रश्न उठ्ने गरी बहस शुरू भएको छ । गत निर्वाचनमा बहुमत प्राप्त गरी सत्ताको बागडोर हातमा लिएको नेपाल कम्यूनिष्ट पार्टीको आन्तरिक सत्ता संघर्ष छताछुल्ल भएपछि चुलिएको संकटबाट समग्र नेपालको राजनीतिमा सघन प्रभाव पारेको छ । दुईवटा ठूला कम्युनिस्ट पार्टीको चुनावी गठबन्धनबाट प्राप्त सहज बहुमतको धरातलमा निर्मित वर्तमान सरकारले प्रारम्भ देखि नै अबलम्बन गरेको जनविरोधी र गैरलोकतान्त्रिक नीति र कम्तिमा आफ्नै राजनीतिक उद्घोषप्रतिको खुलेआम बेइमानीका कारण देश अस्तव्यस्त हुँदै जनतामा निराशा थपिँदै गएको पृष्ठभूमिमा हालको पार्टी कलहले जनआक्रोश र राजनीतिक अन्यौलता बढाएको छ । 


Advertisement

देशका नागरिकहरूमा जाँगर, गतिशील समाज, जनताप्रति समर्पित राजनीतिक दल र नयाँ पुस्ता भरपुर आशावादी एवं उत्साहित ‌बन्न सक्यो भने कुनै पनि देशले विकास र प्रगतिमा बाँकी संसारलाई उछिन्न धेरै समय लाग्दैन । यसका लागि कुनै पनि समाजले गतिलो नेतृत्व पाउनु पर्छ, र यस्तो नेतृत्व जोसँग मानवजातिको उत्थान गर्ने ठोस कार्ययोजना, संकल्प, आत्मविश्वास र स्वप्निल चिन्तन होस् । वैयक्तिक जीवनमा इमान, सादगी र परोपकारको भावना होस् । समर्पण, त्याग र मानवीय गुण सम्पन्नता समेत विद्यमान होस् । यी तत्वहरू संसारलाई सुखी बनाउँछु भन्ने हरेक राजनीतिक नेतृत्वमा अनिवार्य रूपमा हुनैपर्छ । तब मात्र उसले आफ्नो आँट र अठोट पूरा गर्न जस्तोसुकै कदम उठाउन सक्छ र निर्धारित लक्ष्य प्राप्त गर्न सफल हुन्छ । संसारमा भएका प्रगतिका दृष्टान्तहरू केलाउँदा औसत क्षमता र बुद्धिले कहीँ पनि सफलता हात लागेको पाइँदैन । त्यसैले नेतृत्वमा लगन, इमान्दारिता, प्रतिभा, गतिशीलता र समुदायको भरोसा जित्न सक्ने सामर्थ्य भने हुनैपर्दछ । यी कुराको अभावमा जनताको साथ प्राप्त हुँदैन, र नेतृत्वले व्यक्त गर्ने प्रतिबद्धता फगत नारामा सीमित हुन्छ ।

अब प्रश्न उठ्छ, नेकपाको वर्तमान झगडा केका निम्ति? मार्क्सवादको सही कार्यान्वयनमा ओली सरकार चुक्यो भनेर हो या लेनिनवादी संगठनात्मक पद्दतिमा खलल पुग्यो भनेर हो? किनभने दुवै पार्टीको एकतापछि नेकपाको मार्गदर्शक सिद्धान्तको रूपमा मार्क्सवाद लेनिनवादलाई अवलम्बन गरिएको छ । दर्शन र सिद्धान्तमा आधारित पार्टीको कार्यक्रम लागू गर्न प्रधानमन्त्री अग्रसर भएनन् वा प्रचण्डले सरकारको लोकप्रियता देखी सहेनन् भनेर हो? के अहिले ओलीको सट्टा नेपाल वा प्रचण्ड सरकारमा भएको भए चमत्कार हुन्थ्यो? वा चमत्कार गरिरहेका ओलीमाथि जाइलाग्नु एकदमै अनुचित भयो भनेरचाहिँ हो? साँच्चै बुझिनसक्नु देखिन्छ ।


Advertisement

मुलुक सञ्चालनको स्थानमा स्वार्थ भरिएका नेता र दलको स्थापनाले राज्यमा विवेकहीनता बढ्छ र अवसरवाद प्रोत्साहित हुन्छ । जनताका सरोकारहरू छायामा पर्दछन् । अनि शुरू हुन्छ, घृणास्पद द्वन्द्व । लाजमर्दो कुरा त के छ भने जनता हेरिरहेको छ, बुझिरहेको छ र नेताको योग्यता थाहा पाएर मन्द–मन्द मुस्कुराइरहेको छ भन्ने कुरा स्वयं झगडियाहरूलाई भने अझै थाहा छैन ।

सरकार बनेदेखि यता के-के राम्रा काम भएछन् भनेर लेखाजोखा गर्ने हो भने सरकारपक्षीय नेकपाका नेता कार्यकर्ताबाहेक कसैले पनि औंला भाच्न सक्दैन । गत चुनावमा नेकपालाई नै मतदान गरेको सिमान्तमा उभिएको अदना मतदातालाई सोधे पनि पुग्छ । सरकार जनहितमा केन्द्रित छैन र मन्त्रीहरूको अभिव्यक्तिलगायत सबै काम कारवाही जनविरोधी छन् भन्ने कुरा सत्तारुढ दलकै नेताहरूका अभिव्यक्तिबाट उजागर भइरहेका छन् । बरु प्रतिपक्षी दल सरकारप्रति आक्रामक भएन भनेर उसका मतदाताहरू उसैसँग रिसाएर बसेका छन् । त्यति मात्र होइन, स्वतन्त्र र भोलि निर्वाचनमा निर्णायक हुने मतदाताहरू समेत विपक्षी दलसँग रुष्ट देखिन्छन् । यस्तो नियती विश्वका अन्य विपक्षी दलले शायदै भोग्नुपरेको होला ।

विश्वभरिका कम्युनिस्ट पार्टीहरू संवादमा नभएर विवादमा विश्वास गर्दछन् । सिद्धान्तको आफू अनुकूल व्याख्या गर्दछन् र आफ्नो प्रतिस्पर्धीलाई ‌सिद्धान्तच्युत देखाएर आफ्नो उत्कृष्टता सावित गर्न अनेक तर्क र कुतर्कको सहारा लिन्छन् । लेनिन, स्टालिन र ट्राटस्की नै यसका उदाहरण हुन् । नेपालमा त कति हो कति उदाहरण छन् । पुष्पलालइतरका सबैजसो नेताले उनलाई सिद्धान्तच्युत ठहर गरेकै हुन् । झापाली विद्रोहीको रूपमा चिनिएका मैनाली हुन् या ओली वा खनाल, नेपाल सबैले आफ्ना संस्थापक नेतालाई गद्दार र कांग्रेसको पुच्छरसम्म भन्न बाँकी राखेनन् । मनमोहन अधिकारीले यही नियति झेले ।

मोहनविक्रम सिंह, निर्मल लामाले, तुलसीलाल र विष्णुबहादुरले पढाएको कम्युनिस्ट पाठशालाका विद्यार्थीहरू विभिन्नरूपमा अहिले पनि सक्रिय छन् र आरोपको परम्परागत श्रृंखला धानिरहेका छन् । केशरजंगको वैचारिक स्कूल त अभूतपूर्व नै थियो । उनको पथलाई नेपालमा राजतन्त्र रहुञ्जेल कम्युनिस्ट नेताहरूले अघोषितरूपमा जोगाउने काम गरे । एकप्रकारले नेपालको कम्युनिस्ट द्वन्द्व त्यस्तो खिचडी हो जसमा गैरखिचडी तत्व समेतको मिसावट पाइन्छ । नेपालका कम्युनिस्ट नेताहरूमध्ये सर्वाधिक प्रतिभाशाली र लोकप्रिय ठानिएका मदन भण्डारीको भौतिक अवसानपछि तत्कालीन ‌एमालेको विभाजनमा सीपी मैनाली, वामदेव गौतम तथा माधव नेपाल, खड्ग ओलीबीच चलेका विवादको तरंग हिजोआज पनि देखिन्छ । यो प्रसंगको तात्पर्य के हो भने कम्युनिस्टहरू आफ्नो समूह र त्यसमा पनि आफूलाई अरू भन्दा अब्बल देखाउन र त्यसभन्दा पनि प्रतिस्पर्धालाई अर्घेलो र निच देखाउन ‌ज्यान फालेर ‌लाग्छन् । यो उनीहरूको अन्तर्राष्ट्रिय चरित्र हो ।

वर्तमान सरकार चलाइरहेको नेकपाको सत्ता संघर्षको अन्तर्यमा त तथाकथित सैद्धान्तिक विवाद समेत छैन । सबैले देखेको र बुझेको एउटै मात्र द्वन्द्वको कारण सत्ताको अतृप्त क्षुधा अर्थात् बासना । सत्ताको बासनाले आसक्त दुवै धारको निर्वस्त्र लडाईं जनताका निम्ति गजबको तमासा तर अभिशाप भएको छ । कम्युनिस्ट पार्टीको सरकार भएपनि यो सरकार जननिर्वाचित हो । यसले निर्वाचनका दौरानमा जनसमक्ष केही प्रतिबद्धता गरेको र सोबमोजिम थोर बहुत काम होला कि भन्ने जनअपेक्षासमेत रहेको कुरा सर्वविदितै ‌छ । तर यस्तो यथार्थबाट निकै पर पुगिसकेको वर्तमान सरकार पार्टीभित्रका आफ्ना सहयात्रीहरूसँग समन्वय गरी अघि बढ्नुको सट्टा शक्तिको आडमा अहंकार प्रदर्शन गरिरहेको देखिन्छ । अर्कातिर गत निर्वाचनमा अहिलेका प्रधानमन्त्रीको तत्कालीन छवि भजाएर सत्तारुढ भएको ‌यथार्थ कसैबाट छिपेको छैन । दुई पार्टीको गठबन्धनले परिणामलाई सहज तुल्याए पनि मूलतः भारतीय नाकाबन्दीबारे ओलीको अडान नै नेकपाको विजयको कारण थियो । अहिले पनि प्रधानमन्त्री‌ ओलीकै नेतृत्वमा राष्ट्रको नक्सा सार्वजनिक भएको यथार्थ पचाउन ओलीइतर समूहलाई निकै गाह्रो परेको देखिन्छ । 

राजधानीको सचेत वृत्तमा नक्सा प्रकाशनपछि नेकपाका केही नेताहरूले भारतीय खप्की खानुपरेको रमाइलो चर्चा समेत चलेको हो । तत्पश्चात् आएको नागरिकता विधेयकमा राखिएका प्रावधानको जस समेत वर्तमान प्रधानमन्त्रीलाई नै जाने निष्कर्ष प्रचण्ड–नेपाल समूहले निकालेको देखिन्छ । यी खतराहरूसँग सामना गर्न नेपालजस्तो गरीब देशमा सत्ता मात्र गतिलो हतियार हुनसक्छ । फेरि लडाकुको पैसा र द्वन्द्वकालीन मुद्दाका कारण कुनैपनि बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय संकटमा पर्न सक्ने आशंका झेलिरहेका प्रचण्डको मनोविज्ञान हरतरहले सुरक्षित  रहन जे पनि गर्न सक्नुपर्ने ‌देखिन्छ । अर्को कुरा महाधिवेशनमा आफूसरह मत ल्याएका माधवकुमार नेपाललाई किनारामा धकेलेर एकलौटी सत्ता चलाउन खोज्नु अहिलेको विवादको एउटा महत्त्वपूर्ण कारण हो । लोकतान्त्रिक विधिबाट चुनिएको नेताले आफूभन्दा पहिले पार्टी प्रमुख भइसकेको आफ्नो प्रतिस्पर्धीलाई कदर गर्न नसक्नुले पार्टी वृत्तमा उत्पन्न तनाव चानचुने कारण होइन ।

सबै जनताले देखेका र बुझेका दृश्य कारणका अलावा अरू अपारदर्शी कारण समेतले नेकपाभित्रको शक्ति संघर्षलाई चर्काउने काम गरेको छ । जुनसुकै पार्टीका नेताहरू जानी–नजानी आफू लहसिएका अन्तर्राष्ट्रिय शक्ति केन्द्रको गोटी बन्नु नेपालजस्तो देशका लागि सामान्य कुरा हो । आफ्नो बुद्धि, योगदान, योग्यता, सांगठनिक सामर्थ्य र जनताको समर्थनभन्दा शक्तिकेन्द्रको आशिर्वादलाई निर्णायक ठान्ने लघुताभाषबाट ग्रस्त नेतृत्व चिन्तन समेत अर्को गतिलो कारण हो । सम्पूर्ण जीवन र सर्वस्व दिएका पार्टीका होनाहार कार्यकर्ताको अन्त्येष्टिमा पुग्नुभन्दा तेस्रो श्रेणीको विदेशीले राखेको डिनरमा सहभागी हुनुलाई गौरव ठान्ने चरम स्वार्थी र  पराधीन चरित्र अर्को डरलाग्दो कारण हो ।

‌राजनीतिको केन्द्रमा सधैंभरि राष्ट्र र जनता हुनुपर्छ । त्यसले राजनीतिक दल र नेतालाई योगदान र निरन्तर योगदानका लागि उत्प्रेरित गर्दछ । राज्य र राजनीतिको प्रादुर्भाव नै जनसेवाका लागि भएको हो । मुलुक सञ्चालनको स्थानमा स्वार्थ भरिएका नेता र दलको स्थापनाले राज्यमा विवेकहीनता बढ्छ र अवसरवाद प्रोत्साहित हुन्छ । जनताका सरोकारहरू छायामा पर्दछन् । अनि शुरू हुन्छ, घृणास्पद द्वन्द्व । नेपालमा यस्ता दृष्टान्तहरू मनग्य छन्, जसले नेपालको लोकतन्त्रलाई समेत खाइदिएको छ र विकासलाई धेरै पछि धकेलेको छ । अहिले देखिएको नेकपाको कलह यसैको नयाँ संस्करण हो । आफ्नो सत्ता लिप्साको  भद्दा प्रदर्शन र कलाविहीन प्रहसन हो । लाजमर्दो कुरा त के छ भने जनता हेरिरहेको छ, बुझिरहेको छ र नेताको योग्यता थाहा पाएर मन्द–मन्द मुस्कुराइरहेको छ भन्ने कुरा स्वयं झगडियाहरूलाई भने अझै थाहा छैन ।

तसर्थ जुनसुकै सिद्धान्तका बाहक भएपनि जनताप्रति संवेदना नभएका दल र नेता काम लाग्दैनन् । नेकपाको हकमा त सरासर यो मान्यता लागू हुन्छ । किनभने कार्ल मार्क्सको पूँजीलाई सिरानी हालेर आफ्नो स्वार्थको रोटी सेक्न खप्पिस कम्युनिस्ट पार्टी र यसका नेताहरूले देखाएको चरित्र र व्यवहार नेपाली जनताले माफी दिन लायक छैन । अतिरिक्त मूल्यलाई नामेट पार्ने सिद्धान्त पढेर राजनीति गर्नेहरूको दिनचर्या नै अतिरिक्त मूल्य आर्जन गर्नमा केन्द्रित छ र नेकपामा क्रियाशील हजारौं  इमान्दार सदस्यहरू  साँच्चै चिन्तित र व्यथित छन् जसको यस कलहमा कुनै हात छैन ।

गुरूराज घिमिरे
गुरूराज घिमिरे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्