नेकपामा कुबेलाको प्रहसन : नेतृत्वको 'मल्लयुद्ध'ले मुलुकलाई भड्खालोमा पार्ने खतरा !

मुलुक अत्यन्त दारुण अवस्थामा रहेका बखत सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले लामो समयदेखि देखाइरहेको प्रहसन जनसाधारणका निम्ति मनोरञ्जनको होइन, दिगदारीको विषय बनेको छ । 

जतिसुकै उम्दा राजनीतिक व्यवस्था भए तापनि न्वारानदेखि लागेको खराब बानी छाड्न नेतृत्वगण फिटिक्कै तयार नरहेको उदाहरण पछिल्ला घटनाक्रमले देखाएका छन् ।


Advertisement

संसद्मा झन्डै दुईतिहाइ शक्ति बोकेको, अधिकांश प्रदेश तथा स्थानीय तहमा विजयी झण्डा गाडेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो समयावधिको आधाआधी नपुग्दै जे जस्तो ङ्यारङ्यार ङुरङुरको नौटङ्की मञ्चन गर्दै आएको छ, यसले दशवर्षे सशस्त्र द्वन्द्व र पट्यारलाग्दो सङ्क्रमणकालपछि राजनीतिक स्थिरता, शान्ति तथा विकासको प्रतीक्षामा रहेका जनतालाई लोप्पा ख्वाउने काम मात्रै गरेको छ । 

जे गरे पनि सरकार नछाड्ने र जसो गरेर भए पनि सरकारबाट हटाएरै छाड्ने भिडानमा कसको अडान ढलान हुने र कसको अडान चलान हुने कुरो चाहिँ अझै रहस्यको गर्भमै छ । गत शुक्रवार (असार २६) बस्ने भनिएको नेकपा स्थायी समितिको बैठक फेरि एक हप्तासम्म सारिनुले अन्योलको भुमरी रत्तीभर कम नभएको प्रस्ट हुन्छ ।


Advertisement

स्थायी समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग घन्किएपछि टन्किएको नेकपाको घाउ सितिमिति बिसेक हुने छाँट छैन । पक्ष, विपक्षबीच आरोप–प्रत्यारोपका वाण निरन्तर चलिरहेका छन् । प्रधानमन्त्री ओलीका पक्ष र विपक्षमा सडक तताउने र सामाजिक सञ्जाल रंग्याउने काम भएका छन् ।

पहिलो पुस्तालाई खबरदारी गर्ने नाममा दोस्रो पुस्ता अघि सरेको मात्र होइन, तेस्रो, चौथो, पाँचौं, छैटौंलगायत एकन्नी, अधन्नी कार्यकर्तासम्ममा छटपटी चुलिएको छ । 

आशंकाले जन्माएको अविश्वास र अविश्वासको धरातलमा लर्खराएको एकताले कस्तो विद्रूपता झल्काउने हो, कोही भन्न सक्ने अवस्थामा छैन । अडकलबाजी धेरै भए तापनि नेकपाभित्रको रस्साकस्सीमा बाजी मार्नेको भविष्यवाणी गर्न सहज छैन । आफ्ना ठाउँबाट कोही टसको मस भएका छैनन्, साताव्यापी युद्धविराम गरिए तापनि सिंगौरी खेल अन्त्य भएको छैन ।

यस्तो बिब्ल्याटिँदो अवस्थामा नेकपाको विवादलाई उसको नितान्त निजी आन्तरिक, स्वाभाविक विवाद ठानी मुख मोड्न सजिलो छैन । विगतमा देखिएकै हो, दलभित्रका विवादलाई समयमै समाधान गर्नु साटो, ‘ठूला दलमा यस्ता विमति प्रजातान्त्रिक अभ्यासकै नमुना हुन्’ भनी हेलचेक्र्याइँ गरिँदा त्यस्ता दल टुटफुटका शिकार मात्रै भएनन्, मुलुकमा वैदेशिक हस्तक्षेप र चलखेललाई उर्वरभूमि पनि प्राप्त हुनपुग्यो । 

यतिखेर नेकपाको द्वन्द्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो रहेकामा दुई मत छैन । जहाँसम्म प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसको कुरो छ, उसले यतिखेर पूँजी बजारको माहिर खेलाडी झैँ ‘पर्ख र हेर’को नीति अंगालेको भान हुन्छ । कदाचित् नेकपा फुटेमा चित वा पट जो जसको भए तापनि सत्ताका निम्ति चित/पट दुवै आफू अनुकूल हुने भएकाले भावी तुरुपको स्वरूप सम्झी रमाइलो अनुभव गरेजस्तो लाग्छ ।

नेकपाको विवादलाई उसको नितान्त निजी आन्तरिक, स्वाभाविक विवाद ठानी मुख मोड्न सजिलो छैन । विगतमा देखिएकै हो, दलभित्रका विवादलाई समयमै समाधान गर्नु साटो, ‘ठूला दलमा यस्ता विमति प्रजातान्त्रिक अभ्यासकै नमुना हुन्’ भनी हेलचेक्र्याइँ गरिँदा त्यस्ता दल टुटफुटका शिकार मात्रै भएनन्, मुलुकमा वैदेशिक हस्तक्षेप र चलखेललाई उर्वरभूमि पनि प्राप्त हुनपुग्यो । 

नेपालको राजनीतिक इतिहासमा आफ्नो खुबीका कारणले भन्दा पनि अरूको कमजोरीले गर्दा दोस्रोले पहिलो हुने मौका पाउँदै आएको सर्वविदितै छ । ३० वर्ष यताको मात्रै इतिहास पल्टाउँदा पनि छर्लङ्ग हुने सत्य हो यो । तसर्थ, प्रमुख प्रतिपक्षी दलका रूपमा दह्रो प्रमाणित हुन नसकेको, राष्ट्रिय प्रमुख मुद्दा तथा जनजीविकाका सवालमा चर्को आवाज उराल्न नसकेको र आन्तरिक किचलोले दिनानुदिन जर्जर बन्दै गएको नेपाली कांग्रेसका लागि नेकपाको आशंकित फुट सत्तारोहणका निम्ति स्वादिलो सपना प्रतीत हुनु स्वाभाविक हो । 

नेकपाको रापमा आ–आफ्नो रोटी सेक्न चाहने देशी/विदेशीको सङ्ख्या कम नहुनु अनौठो होइन । द्वन्द्वका दुवै पक्षतिर वैदेशिक पुट रहेको ठोकुवा गर्नेहरू पनि छन् । नेकपाभित्र समेत एकअर्कालाई विदेशी ‘ट्याग’ भिराइदिने लोमहर्षक प्रवृत्ति पनि बढेको छ । प्रधानमन्त्री ओलीलाई सत्तामा टिकाइराख्न उत्तर र गिराउन दक्षिण सक्रिय रहेको टिप्पणी साँचो हो भने नेपाली राजनीतिक मैदान वैदेशिक चलखेलका निम्ति सुरम्य बनेको छर्लङ्ग हुन्छ । यसो हुनु स्वतन्त्र, स्वाधीन नेपाल र सार्वभौमसत्ता सम्पन्न नेपालीका निम्ति घोर चिन्ताको विषय हो । 

नेकपाको दन्कँदो आन्तरिक द्वन्द्व, राजनीतिक दलको निजी मामिलामा वैदेशिक चलखेल, सत्ताधारीको अन्योलमा प्रशासनयन्त्रको अलमल, संवेदनशील घडीमा मिसावटखोर तथा भाउबेसाहा चर्काउनेको चकचकी जस्ता कारणले आम नेपाली गहिरो सकसमा परेका छन् । कोरोना कहरले सन्त्रस्त जनजीवनमाथि बाढी, पहिरोको अकल्पनीय प्रकोप थपिँदैछ ।

बढ्दो बेरोजगारी, लज्जाजनक दण्डहीनता र वनमारा झार झैँ फैलँदै गइरहेको भ्रष्टाचारले जनसाधारणको मुहार उजेलिन दिएको छैन । ठाडै भ्रष्टाचारमा मुछिएकालाई समेत कठघरामा उभ्याउने ‘सुरमा’ कोही  नदेखिँदा असन्तोषको पारा चढ्दो छ । आफ्नो मुलुक सम्झी घर फर्किएका र यहीँ बेरोजगार रहेका युवाहरू छटपटाउन थालेका छन् । तिनलाई गाउँघरमै स्वरोजगारको प्रबन्ध मिलाउनेतिर गम्भीरतासाथ इमान्दार प्रयत्न अघि बढेको देखिँदैन । 

कोरोना कहरले पारिरहेको प्रत्यक्ष, परोक्ष असर अत्यधिक छ । ठूला उद्योगपति, व्यापारी, व्यवसायी समेत कठिनाइका राग अलापिरहेको परिपे्रक्ष्यमा स–साना व्यापारी, उद्यमी, व्यवसायीको कस्तो दुरवस्था होला ? अझ मजदुर, किसान, सर्वसाधारणले भोग्नुपर्ने विवशताका पन्ना कस्ता होलान् ? तिनलाई कसरी यथाशीघ्र अहिलेको हबिगतबाट माथि उठाउने ? अनुत्तरित प्रश्न बनेका छन् । हरेक वडामा कम्तीमा सय जनाका दरले मात्रै रोजगार प्रवद्र्धन गर्न सकिएमा पनि केही राहत पुग्नसक्छ । यसका निम्ति राजनीतिक दलको अग्रसारिता नमूनाको पाटो बन्न सक्थ्यो तर आन्तरिक द्वन्द्वको रनाहामा परेकाबाट यस्तो सोच, सक्रियताको अपेक्षा पनि गर्न सकिँदैन । 

नेकपा अहिले जुन संकटमा छ, यसले नेकपालाई मात्र होइन, अन्य दल तथा समग्र मुलुकलाई नै कष्ट दिइरहेको छ । केही नेता वा दलविशेषका कारण मुलुक र मुलुकवासीले सास्ती भोग्नुपर्ने कथा निश्चय नै आजको नेपालका लागि दुःखद् छ । यस संकटरूपी ढ्याकका दुवै पाटा कलङ्कमुक्त छैनन् । ओलीसरकार रहिरहे फलानाका कारणले टिकेकोे र नरहे ढिस्कानाले गर्दा गिरेको कलङ्क रहनेछ । कलङ्कलाई निष्कलङ्क मान्ने हो भने बेग्लै कुरा, नत्र कलङ्क जहिले पनि कलङ्क नै हुन्छ । 

नेपाली राजनीतिमा खोटको विषय भन्नु यही हो । त्यही कुरो अरूका सन्दर्भमा कलङ्क र आफ्ना सम्बन्धमा निष्कलङ्क मानिँदै आएको छ । हरेक राजनीतिक आन्दोलनमा भारतले सघाउँदै आएको र सत्तारोहणपछि त्यसको दोब्बर साँवाब्याज खोज्दै आएको यथार्थबाट बिरलै अनभिज्ञ होलान् । अरूलाई सत्ताबाट खुरमुर्‍याउन होस् वा कुर्सीमा टाँसिरहन दाहिने हावा लच्छिनको ठान्ने प्रवृत्ति विगतमा देखिएकै हो । तब त मधेशकेन्द्रित दलले ‘भारतले आफूलाई सघाउँदा ठीक मान्ने र आज हामीलाई सघाउँदा बेठीक भन्ने ?’ प्रश्न गर्दा अकमकिएर दायाँबायाँ हेर्नुपरेको त्यो क्षण यतिखेर स्मरणीय बनेको छ । नेपालका लागि भारतीय राजदूतले विगतमा गरेका प्रत्यक्ष तथा प्रच्छन्न चलखेल होस् वा भारतीय कुनै नेता काठमाडौं आउँदा यहाँका विशिष्ट नेताले आफ्नो मर्यादा समेत कायम नराखी होटलमा भेट्न गएको अवस्था होस्, वा सत्ताका लागि दिल्लीयात्रा गरिएका घटना होऊन्, यस्ता कुनै पनि अवाञ्छनीय क्रियाकलाप कलङ्कमुक्त छैनन् । 

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्वतन्त्रताका लागि कूटनीतिक मर्यादा पालन अनिवार्य हुन्छ । विगतको भूलबाट सिकेर पनि आगतलाई त्रुटिमुक्त राख्नसके खुबीको विषय ठहरिनेछ । भारत र चीनका सन्दर्भमा समान मर्यादाको पालनामा चुक्नुहुँदैन । पार्टी–पार्टीबीचको सम्बन्ध होस् वा राजदूतको बढ्दो गतिविधिको प्रश्न होस्, यस्ता मामिलामा नेतृत्वगणले धैर्य, संयम र बुद्धिमानीको परिचय दिनैपर्छ । देखाउनका लागि मात्र होइन, भूराजनीतिक हिसाबमै नेपाल साँच्चै दक्षिण वा उत्तर कतैतर्फ पनि लहस्सिन नहुने परम यथार्थ छ । त्यो बेग्लै कुरा, लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा पारित भएपछि भारत बेखुशी छ तर उसले ढिलोचाँडो यथार्थको धरातलमा उत्रिएर नेपाल र नेपालीको सम्मान गर्नुको विकल्प छैन । 

चीनतिर लागेर भारतलाई चिढ्याउने वा भारतसँग टाँसिएर चीनलाई जिस्क्याउने काम कहिल्यै गर्नुहुँदैन नै । ‘चाइनिज कार्ड’ र ‘इन्डियन कार्ड’ का उपयोगिता अब निरर्थक भइसके । अहिलेको सही कूटनीतिले मात्र वर्षौं सुख दिने र गलत कूटनीतिले युगौं पिरोल्ने भएकाले पनि क्षणिक तुष्टि वा आवेगलाई होइन, दीर्घकालीन सोचलाई मलजल गर्नु आजको आवश्यकता बनेको छ । 

मुख्य कुरो, आज दुनियाँ फेरिँदो छ, मुलुक पनि परिवर्तनको संघारमा छ । परिवर्तनको सारथि बनेका नेतृत्व गण प्रारम्भिक यात्रामै यसरी मल्लयुद्धमा उत्रिँदा कतै राम्रो सन्देश गएको छैन । देशभित्रै लथालिङ्ग समस्या छन्, रोग, भोक र शोकले जनता व्याकुल छन् । सुशासन नाम मात्रको छ ।

भारत चिढिएको छ भने त्यहाँका केही सञ्चार माध्यम (गोदी मिडिया) अनर्गल प्रलापमा छन् । नक्सामा समेटिएको र समेटिन बाँकी थप भूमि समेत भोगचलनमा ल्याउनुपर्ने ठूलो काम अधुरै छ ।

यसका निम्ति राष्ट्रिय सम्पूर्ण शक्ति एकजुट हुनैपर्छ । यस्तो विषम, दुःखद् र अन्योलको बेलामा केवल कुर्सीका लागि जुन खेल भइरहेको छ, सर्वथा आलोच्य छ । नेकपाभित्र कहाँ, कसलाई कसरी मिलाउने हो ? जनसरोकारको विषय होइन तर आजको कहालीलाग्दो वातावरणमा मुलुकलाई भड्खालोमा पार्ने प्रहसनले जनतामा हाँसो होइन, आक्रोश बढाइरहेको छ, समयमै चेत खुले, सबैको भलो हुनेछ । ​

acharya.nik@gmail.com

निर्मलकुमार आचार्य
निर्मलकुमार आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्