कोरोनाकालमा उहिले हजुरआमाका पालाको तीजको मिठो सम्झना !

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

कनौजे बैंकिङ क्षेत्रमा कार्यरत छिन् ।

कोरोनाबीच तीज पर्व आउन केही दिन मात्र रहेसँगै मलाई सुरक्षित भएर माइत गएर आमालाई भेट्ने  पाए हुन्थ्यो भन्ने रहर एकातिर पलाउँदै छ भने अर्कातिर कोरोनाको डरत्रासले अनि लकडाउनको हल्लाले घरमै बस्नुपर्ने बाध्यताले म जस्ता विवाहित महिलाको मन पिरोलिन थालेको छ ।

सामाजिक र सांस्कृतिक दृष्टिकोणले निकै महत्त्व बोकेको तीज पर्व महिलालाई घरको जिम्मेवारी बिर्सेर माइतीसँग प्रेम सम्बन्ध प्रगाढ बनाउने पर्व हो । हरेक वर्ष हरितालिका तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ, जसअनुसार यसपालि भदौ ४ देखि ७ गतेसम्म परेको छ ।


Advertisement

तृतीयाका दिन व्रत बस्ने विशेष दिन हुनाले यस दिनमा भने महिलाहरूलाई सार्वजनिक बिदा पनि दिइन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा निर्भिक, स्वतन्त्र र स्वच्छन्द रूपमा मनाइने तीज विवाहित महिलाका लागि एक विशेष पर्व हो । धार्मिक ग्रन्थमा उल्लेख गरेको अनुसार हिमालय पुत्री पार्वतीले भगवान् शिवकी अर्धाङ्गीनी हुन पाउ भनि उनको आराधना गरी व्रत बसेको दिन हरितालिका तीजको दिन भएको र सोको प्रभावले पार्वतीको भगवान् शिवसँग विवाह हुन पुगेको पाइन्छ । यसर्थ भाद्र शुक्ल तृतीयाको दिन यही विश्वाससहित अविवाहित महिलाले सुयोग्य पति पाउनका लागि र विवाहित महिलाले आफ्ना पतिको दीर्घायू, प्रगति एवं सुस्वास्थ्यको कामना गरी तीजको व्रत बस्ने चलन देशभर चलिआएको छ ।

यो पर्व नजिकिँदै गर्दा मलाई माइतमा तीज आउनुभन्दा १ हप्ता अघिबाट हामी गाउँका घरघरमा जम्मा भएर गीतसंगीत साथ रमाइलो गरेको याद आउँछ । हाम्रो घरमा धेरै फूपू, दिदीबहिनी भएर होला, दर खाने दिन भने प्रायः हाम्रो घरमा जम्मा भएर रातको १२–१ बजेसम्म नाचगान गरिन्थ्यो । सो दिन बिहान सामान्य भातदाल तरकारीका साथै काक्रोको विशेष अचार चाहिँ अनिवार्य जस्तै हुन्थ्यो । एकदम धेरै घ्यू राखेर खाजा बनाइन्थ्यो । दिउँसो ४ बजेतिरबाट फेरि खीर, तामा टुसा, घिरौलाको परिकारले पेट भरिन्थ्यो । आमा र हामी मिलेर घाँसका २०–२५ भारी काटेर थुपारिन्थ्यो । तीजको दिन हामी दिदीबहिनी सल्लाह गरेर डाँडामा गएर नाचगान गरिन्थ्यो ।


Advertisement

मेरी हजुरआमा (स्व. भुमकला कनौजे) डाँडामा नाच्दानाच्दै साँझ ६ बजेतिर सुटुक्क घर आएर हामीलाई साँझको खाना तयार पारिदिनुहुन्थ्यो । आमा र ६ बहिनी फुपू दिदीहरूले भने निराहार व्रत बस्नुहुन्थ्यो । हामी साना केटाकेटी, दाइ र बुवाले ८–९ बजेतिर हजुरआमाले पकाएको मीठो मानीमानी खाना खान्थ्यौं । तीजको तेस्रो दिन चौथीका दिन स्नान गरी व्रतको पारण हुन्थ्यो । पूजा सामग्री तयार गर्न हामी साना केटाकेटीहरू मिलेर दत्तिउन, अमलाको माटो, धमिराको ढिस्कोको माटो, भलायाका पातहरू खरबारी तथा खोला किनारमा खोज्न डुल्थ्यौं । अनि राति सबै बसेर सुपामा ३६५ वटा दत्तिउन प्रति १ जनालाई तयार गरी अन्य सामग्री बनाएको हेर्दा रमाइलो लाग्थ्यो ।

तीजको अन्तिम दिन अर्थात् ऋषिपञ्चमीका दिन आमा, हजुरआमा, फुपू दिदीहरूले दत्तिउन सहितले दाँत माझेर बिहान ४ बजेदेखि करीब ५ घण्टा सम्पूर्ण शरीरमा बेसार, कमेरो, गोबर, खरानी लगायत दलेर नुहाउनुहुन्थ्यो । यस प्रकारले नुहाउने गर्नाले छालाका रोगहरू हराउँछन् भन्ने विश्वास पनि रहेको पाइन्छ । दिदीहरूले नुहाएको कर्म हामी सानासाना केटीहरू लुकीलुकी हेर्ने गर्थ्यौं र लाजले आफैं भुतुक्कै हुने गर्थ्यौं ।
 
पूजा सामग्री तयार गरेर सप्तऋषि लगायतको पूजामा आमादिदीहरू बस्नुहुन्थ्यो । हामी भने त्यही वरिपरि खेल्थ्यौं अनि पूजा सकिने बेला दिदीको पछि दक्षिणा पाउन कुरेर बस्थ्यौं । सबैले माया गर्दै २–५ रुपैयाँ दिँदै टीका लगाइदिनुहुन्थ्यो । साँझ घर गएर जतन साथ गन्दा ३५–४० रुपैयाँ हुन्थ्यो । मन एकदम फुरुङ्ग हुन्थ्यो । घर फर्केपछि हामी सबैले कर्कलाको तरकारी र हलो नलगाएको धानको भात (अनदीको चामल) तयार हुन्थ्यो । आमाहरूले यस दिनलाई भनेर कोदालोले खनेर धानको बिउँ रोप्नु हुन्थ्यो । बेलुकी फेरि नाचगान गरी समापन हुन्थ्यो । यसदिनमा बुवाले भान्सामा सहयोग गरेको देख्न पाइन्थ्यो । जुन मलाई अहिले सम्झँदा पनि रमाइलो लाग्छ । अर्को दिन बिहान फुपू दिदीहरू आफ्नो–आफ्नो घर जानुहुन्थ्यो । माइतमा गरेका यी सम्झना अनि हजुरआमा, आमा र फुपू दिदीले गर्नुभएको कर्मले तीजको पर्वबारे केही जानकारी भए पनि तीजको सम्पूर्ण विधि भने विवाह भएपछि काठमाडौं घरमा भएको हो ।

तीजमा गीत संगीतको विशेष महत्त्व हुने गर्दछ । यसै सन्दर्भमा मेरी आमा तारादेवी कनौजेले तीजमा गाउने ओझपूर्ण सन्देश बोकेका पुराना लयका भाकाबारे दूरसञ्चार प्रविधिको प्रयोग गरेर केही दिनअघि संकलन गरेकी थिए । जुन यसप्रकार छन् –

“भुरुरुरु बतास लाग्यो उडाइ लयो पोस्कर, हाम्री आमा अभागी छोरी लस्कर  
धेरै छोरी छन् भनेर पिर नमान आमाले, बाँचे बाटो लगाइदिन्छन् उनै रामले ।”

“राम जस्ता दाजु मेरा सीता जस्तै भाउजु
माइत मेरो स्वर्ग जस्तै होउस् बरिलै ।।
देख्न पाम्ला बाबा आमा सय वर्ष बाचेको  
दाजु भाउजु भाई बुहारी सधै हाँसेको ।”

“आँगनीमा दोछायाँ पर्‍यो बरिलै कदमको छायाँले 
अर पनि दर पनि छोडी आए घर पनि
बाबाका मायाले बरिलै, आमाका मायाले !”

“अस्तीदेखि सुकाएका धान छन् बाबु कुटिन
सवा ८ हुँदा पनि बुहारी उठिन ।
भो भो आमा नकराउनु यस्तै आयो चलन 
आजकालका बुहारीलाई हुन्न बोलन ।”

“कर्कलोको पानी जस्तै मानिसको जीवन, अजम्बरी भए जस्तो तेज बरिलै
न काललाई चिनजान न काललाई देख्न, आयो भने सकिँदैन हाम्ले छेकन ।
काखमाका बालखुलाई च्यात भुइँमा राखेर, आयो भने जानुपर्ने मुख ढाकेर
स्वर्गबाट आयो विमान नगइ मलाई भएन, शोक र सन्तापको सीमा रहेन ।” 

आफ्ना ती पुराना दिनहरूका स्मरण गर्दै गुल्मी बलेटक्सारकी ८७ वर्षीया हजुरआमा तुलसादेवी पन्थ पुराना भाकाहरू यसरी सम्झनुहुन्छ ।

“कहाँमा जान्छौं रानी चरी बगाल, बरिलै भगवान्लाई भेट्न ।
भगवान्लाई भेट्न के–के पाहुर चाहिन्छ ? बरिलै फूलपाती अक्षेता ।”

“आँगनुका डिल बसी काली कौवा करायो, के को मा समीचार ल्यायो बरिलै ।
के कु मा समीचार कागतुको चिर्कटो, दोसरी समीचार तिम्लाई लिन हो । 
माया दया हुँदो हो त बाबा लिन आउँदा हुन्, कागतका चिर्कटाले जान्न बरिलै ।”

मेरा पालाका तीजका गीत भने यूट्युबमा हेर्न पाइन्छ, जस्तै कोरोना कहर अभिव्यक्त भएको समसामयिक तीज गीत गायिका प्रिया भण्डारीको गायन र चिरन बरालको शब्द अनि संगीत रहेको ‘कोरोना र लकडाउन’ म्युजिक भिडियो, जसले ८ लाखभन्दा बढी दर्शकको माया बटुलिसकेको छ । आजकाल यी तीज गीतले सजगतापूर्वक तीज मनाउनुपर्ने सन्देश दिन्छन् ।

“आमाबुबा, दिदीबहिनी सुन्नुहोला दाजुभाइ 
कोरोनाले के–के गर्‍यो भन्छु सबैलाई
कस्तो रोग आयो बरै नामै पनि कोरोना
टाढै बस्न पर्ने अरे हुन्न रे छुन
दश सय हजार हुँदै लाखौं ज्यान लिइसक्यो
नेपालमा नि माहामारीको संकेत दिइसक्यो ।”  

आमा, हजुरआमाका पालामा महिलाका दुःख, उकुसमुकुस आफ्ना माइतीसँग साटासाट गर्ने माध्यम भएका तीज गीतले हाल हाम्रो समयमा परिस्थिति अनुसार धेरै विषयमा समाजका प्रतिनिधित्व गर्न थालेको छ । विश्वलाई आतंकित पारिरहेको कोरोनाले यस तीजमा नयाँ विषयवस्तु थपिदिएको छ, जसमा व्यंग्य मिश्रित सुखदुःख प्रकट भएको पाइन्छ । समय र परिस्थिति अनुसार शब्द चयन गरी गीत बनाउन खख्पिस चर्चित गायक दुर्गेश थापाले यसपालि कोरोनाले जनजीवनमा पारेको असरलाई लिएर बीच्च बीचमा–२ शीर्षकमा तीज गित सार्वजनिक गरेका छन् । जसले यूट्युबमा ८४ लाखभन्दा बढी भ्यूज पाइसकेको छ । कोरोना कहरले बन्दाबन्दीका कारण कमाइ नभएकाले तीज पर्व मितव्यवी भएर मनाउनुपर्ने सन्देश मूल रूपमा गीतले दिएको छ ।

हाल म काठमाडौं घरमा छु । संयोगवश म र मेरा श्रीमानको घर गुल्मी नै रहेकाले हाम्रो माइती र घरको संस्कार तथा संस्कृतिमा केही भिन्नता छैन । एकअर्काको भावना बुझ्ने र सहयोगी हुनाले मलाई घरमा निकै सहज भएको छ । मेरी सासुआमालाई सानोमा पढ्न एकदम आउने रहेछ । ८ कक्षासम्म प्रथम हुनुहुने आमा त्यसपश्चात् विवाह र काम काजमा रुमल्लिनुभयो । अहिले उहाँ मसँग भन्ने गर्नुहुन्छ, ‘एकदम पढ्नुपर्छ, पढाइ नै धन हो ।’ मेरो विवाह भएर घरमा आउँदा मेरो एमबीएको पढाइ अन्तिम चरणमा थियो । त्यसपश्चात् पनि जागिरको क्रममा गर्नुपर्ने तयारी कक्षाको व्यवस्थापन र घरको काममा उहाँको सहयोग निकै प्रेरणादायी छ । परीक्षाको समयमा पाहुना घरमा आउँदा मलाई केवल परिचय गराइदिएर ‘तिमी पढ्न जाउ, म चिया नास्ता बनाउँछु’ भनेको सुन्दा मलाई आमाको स्नेहको सही  सदुपयोग गर्ने अझ बढी जिम्मेवारी बढेको महसूस हुने गरेको छ ।

परापूर्वकालदेखि सासु बुहारीको सम्बन्धका अनेक टीकाटिप्पणी हुने गरेका सुनिन्छ । मेरो विचारमा अहिलेको समयमा धेरैजसो पुस्तान्तरणको खाडलले गर्दा कति कुरामा विवाद वा मन नपर्न सक्छन् तर त्यो कुरा अरुलाई भन्दा पनि सम्बन्धितसँग नै कुरा गरेर स्पष्ट पार्नुपर्दछ । जुन मैले मेरो घरमा आमासँग गर्ने गरेकी छु, जसले गर्दा सासु–बुहारी होइन, आमा–छोरीको सम्बन्ध स्थापित भएको छ ।

परम्परागत संस्कृतिसँग जोडिएर आएको तीज पर्वलाई चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण महिलाले आफ्ना खुशीको लागि मनाउनुपर्छ । तीजमा प्रयोग हुने रातो पहिरन र गहनाको पनि आफ्नै महत्त्व छ । रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक हो भने रातो टीका र पोते सौभाग्यको अंकित हो । नवविवाहित महिलालाई गहनाले आकर्षक गर्नु स्वाभाविक हुन्छ । तर अहिलेको यो समयमा गहनाभन्दा जीवन उपयोगी कुरामा लगानी गर्न सकिन्छ । 

नेपाली जनजीवनको सांस्कृतिक, सामाजिक तथा धार्मिकताको मौलिक झल्को दिने तीज नेपाली महिलाको सुखदुःखको पर्व हो भन्न सकिन्छ । सांस्कृतिक र सामाजिक रुपान्तरण समय क्रमसँगै हुने कुरा हुन् तर मलाई के लाग्छ भने हाम्रो धर्म संस्कृतिले हामी महिलालाई जति स्वतन्त्रता दिएको छ, यसलाई कुनै दिन वा पर्वमा सीमित गरिनु हुँदैन । पर्वमा जस्तै स्वतन्त्र रूपमा आफू सधै खुशी रहन र आफ्नो घरपरिवार समाज अनि राष्ट्रलाई अगाडि बढाउन अब महिलाले सीपमूलक रचनात्मक कार्यमा संलग्न भएर उद्यमशीलतामार्फत आयआर्जनमा अघि बढ्नुपर्छ । आर्थिक आत्मनिर्भरताले महिलालाई उच्च मनोबलका साथ समाजमा उभिन टेवा पुर्‍याउँछ ।

आधुनिकतासँग रम्दै गर्दा हामीले अन्धविश्वास र कुरीतिलाई परिस्कृत गर्दै तीजका पुराना भाका र संस्कृतिको पनि संरक्षण गर्नुपर्छ । विगत १० वर्षदेखि गुल्मेली समाजले आफ्ना माइत जान नपाएका गुल्मेली चेलीलाई काठमाडौंको सिफल चौरमा गर्दै आएको तीज विशेष कार्यक्रम पनि यस वर्ष कोरोना महामारीका कारण स्थगित गर्ने निर्णय गरेको सो समाजका महासचिव टंक पन्तले फेसबूकमार्फत जानकारी गराइसकेको अवस्था छ । हामी चेलीहरूले यस्ता निर्णयलाई स्वाभाविक रूपमा लिई घरमै रहेर परिवारका सदस्यबीच रमाइलो गरेर बस्नुपर्छ । अबको विकल्प भनेको यसपालिको तीजमा कोरोना महामारीबाट हामी जहाँ छौं, सुरक्षित रहेर नेपाल सरकारको निर्देशन मान्दै उपलब्ध भएका प्रविधिको माध्यम जस्तै फोन, मोबाइल, भाइबर, फेसबूक, जूम आदिबाट कुराकानी गर्दै, गीत गाउँदै अनि नाच्दै मनाउनुको विकल्प छैन । सम्पूर्ण महिला दिदीबहिनीमा महान् पर्व तीजको हार्दिक मंगलमय शुभकामना ! 

इमेल : kanaujesabita@gmail.com

 

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्