पुण्य भूमि नेपालमा किन हुन्छन् पत्तुर भूमि जस्ता अपराध ?

रामायणमा सीताको अपहरणदेखि महाभारतमा द्रौपतीको चिरहरण हुँदै निर्मला पन्तको बलात्कार र हत्यासम्म आइपुग्दा समाजमा कस्तो–कस्तो परिवर्तन भयो ? त्यो सबैमाझ सर्वविदितै छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष पुगेको छ । निर्मला पन्तको लागि न्याय माग्नेहरू पनि थाकिसके वा अरु कुनै मुद्दामा व्यस्त छन् ? थाहा छैन ।


Advertisement

नमिता–सुनिता हत्याकाण्डपछि आजसम्म हाम्रो समाजमा कयौं यस्ता घटना घटेका छन्, जसमा न त अपराधी पत्ता लगाइएको छ, न त फाटफुट पत्ता लगाइएका अपराधीलाई कारवाही नै गरिएको छ । निर्मला पन्तको बलात्कार र हत्यापछि हरेक दिन समाजमा बलात्कार भई नै रहेका छन् । फरक यत्ति हो ती बलात्कार हत्यामा परिणत भएका छैनन् । 

कतै हाम्रो समाज बलात्कारी संस्कृतितिर जाँदै त छैन ? बजारमा निर्मला पन्तको हत्यारा अब पत्ता लाग्छ र लगाउने छौं भन्नेहरूको तर्क र वितर्क सुन्दा अचम्म लाग्छ । नेपालको संविधान २०७२ को धारा १६ को १ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनेर त लेखियो तर के गर्ने त्यो नियम, कानूनका ठेलीमा मात्रै सीमित रह्यो ।


Advertisement

नेपालमा छोरी हुनु भनेको आमा, बुवा, दाइलाई चिन्ताको विषय हुनु हो । छोरी भएपछि घर बाहिर एक्लै कहिल्यै हिँड्न नमिल्ने, सूर्य अस्ताउनुभन्दा अगाडि घर आउनुपर्ने, लुगा लगाउँदा पनि विचार पुर्‍याएर लगाउनुपर्ने, प्रत्येक पाइलामा सतर्क रहनुपर्ने । सम्पूर्ण कुरालाई पाइतालामा दबाएर हिँड्न सके मात्रै असल नामको छाप लाग्ने । हक र अधिकारका निम्ति आवाज मात्र के उठाउनुपर्छ, उसको बोली पोथी बासेको राम्रो नसुनिने कथनमा गएर जोडिन्छ ।

प्रजातन्त्रमा बराबर अधिकार भनिए पनि छोरा जस्तै स्वतन्त्र हुने हक प्राप्त गर्न आज पनि छोरीहरू वञ्चित छन् । राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा विगत १० वर्षमा बलात्कारका घटना २५६ प्रतिशतले बढेको छ । नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्ने हो भने पनि हरेक दिन ४ वटा बलात्कारको केस दर्ता हुन्छ । दर्ता नभएका केसहरू त अनगिन्ती छन् ।

बलात्कारबाहेक यौन उत्पीडित, यौन दुर्व्यवहारको त कुनै लेखाजोखा नै छैन । विगत ७ वर्षमा झण्डै ७ हजार बलात्कारका केस दर्ता भए । यिनै केस दर्ता भइरहँदा नेपालका सबै राजनैतिक दलहरू एकआपसमा मिलेर पालैपालो सरकार चलाए । अब पनि चलाउने छन् ।

यो देशमा बलात्कारसँग सरोकार राख्नेहरू मानव अधिकारकर्मी (कानूनका जानकार, महिला अभियन्ता र विश्लेषक) यसको समाधानको लागि कम र एउटै मञ्चमा बसेर एकले अर्कालाई दोष लगाउनमा बढी तल्लिन छन् । किनभने ती सम्पूर्ण अरुलाई दोष लगाउँदा मात्र आफूमाथि परिन्छ भन्ने कुण्ठाले ग्रसित छन् । दुःखको कुरा एकले अर्कालाई गाली गर्दै गर्दा गालीगलौज गर्नेहरूको आफ्नो जीविकोपार्जन आरामले भई नै रहेको छ । यस्तो संवेदनशील विषयमा पनि एउटै ठाउँमा उभिएर सिंगो आवाज उठाउन सक्दैनन् भने योभन्दा लाजमर्दो कुरा के हुन सक्ला ? सरोकारवालाहरूसँगै एकता छैन भने अरुबाट के नै आशा गर्न सकिन्छ ?

सरकार चलाउनेले चलाएकै छ, मानव अधिकारवादी कुर्लेकै छन्, महिला हकहितको लागि जुलुस निस्केकै छ, पाँच तारे होटेलमा समस्याको समाधान खोजिएकै छ र पनि बलात्कार र महिला हिंसा भने घटेको छैन ।

बलात्कार एउटा सामाजिक मुद्दा हो । यसलाई राजनीतिकीकरण गर्नु हुँदैन । तर दुर्भाग्य आज बलात्कार एक राजनीतिक उपकरण बन्दैछ । बलात्कार केवल महिला मात्रको मुद्दा होइन । यो एउटा सामाजिक समस्या भएकाले यसको लागि सामाजिक समाधान खोजिनुपर्छ । दण्ड दिनु मात्र समस्याको समाधान होइन । जबसम्म महिलाप्रति हेर्ने समाजको दृष्टिकोण र लैंगिक संवेदनशीलताबारे जनमानसमा शिक्षा दिइँदैन, तबसम्म यो समस्या निवारण हुँदैन । बलात्कार एउटा सोच हो । बलात्कार उत्तेजनाले होइन, बलात्कारी सोचले हुन्छ । त्यो सोच हिजो पनि थियो । आज पनि छ र भोली पनि रहनेछ । यसलाई कम गर्नको निम्ति सोच परिवर्तन गर्नुपर्ने बेला आएको छ ।

मेरो देशमा धेरै मानसिक रोगीहरू छन् । जहाँ बलात्कार सामान्य भएको छ । मलाई लाज लाग्छ । किनकि म त्यो देशमा बस्छु जहाँ हरेक ५४ मिनेटमा एउटा बलात्कार हुन्छ र बलात्कारीलाई कारबाही गरिँदैन । चाहे ती नाबालिका होउन्, किशोरी होउन्, प्रौढ होउन् वा वृद्ध नै किन नहुन्, ती सबै बलात्कारको शिकार हुन्छन् । अनि राज्य टुलुटुलु हेरेर बस्छ । तबसम्म यो देशमा कुनै पनि महिला सुरक्षित हुने छैनन्, जबसम्म यो समाजका क्रूर पुरुषहरू महिला भनेका भोगविलासका साधन हुन् भन्ने नजरले हेरिरहन्छन् । एउटी महिलाको कोखबाट जन्मिएर जीवन प्राप्त गरेकाहरू नै बिर्सिन्छन् कि नारी अस्मिताको मूल्य कति हुन्छ भनेर । उल्टै बलात्कृतलाई नै आक्षेप लगाउने प्रवृत्ति पनि बढ्दो छ । किनभने समाजको मस्तिष्कमा पुरुष महान् र बलिष्ठ प्राणी बनेर जो उभिएको छ । उसलाई छुट छ बाटो बिराउन । बलात्कार गर्ने पनि छुट छ ।

नेपालमा यौन पर्यटन, बाल यौनमोह, बाल वेश्यावृत्ति, बाल अश्लील चित्रण, फुटपाथे यौन व्यवसाय, बाल विवाह र जबरजस्ती विवाहमार्फत व्यावसायिक यौन शोषणका अभ्यास भइरहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीले यौन व्यवसायीलाई परिचयपत्र दिएर कर लगाउनुपर्छ भनेको हामीले बिर्सेका छैनौं । कतै नेपाल पनि यौन पर्यटन व्यवसायतर्फ उन्मुख हुँदै गएको त छैन ? सोचनीय विषय हो । यस्तै हो भने एकदिन नेपालले यौन पर्यटन वर्ष मनाउन बेर छैन । बलात्कारको पनि मूल्य तोकिएपछि त्यो नहोला भन्न सकिन्न ।

निर्मला पन्तको बलात्कार र हत्यापछि सरकारले परिवारलाई १० लाख दिने निर्णय गर्‍यो । तर बलात्कारी र हत्यारा पत्ता लगाउने हो कि होइन त्यो अहिलेसम्म थाहा छैन । हुन त देशको कार्यकारी प्रमुखको भूमिका नै महिलाले चलाएको मेरो देशमा पुरुषले महिला हकहितका कुरा गर्दा महिलावादी बन्यो भन्ने आरोप नआउला भन्न सकिन्न । तर पनि एउटा सचेत नेपालीको नाताले हामी सबैको दायित्व बन्छ कि हामी हाम्रो ठाउँबाट आफूलाई सभ्य मान्छे बनाऔं । 

देवभूमि र पुण्य भूमि नेपाल आज कुन अवस्थामा आयो ? कुनै बेला षड्दर्शन (पूर्व मीमांसा, वेदान्त (उत्तर मीमांसा), सांख्य वैशेषिक, न्याय, योग) मध्ये ४ वटा दर्शन मीमांसा, वेदान्त, सांख्य, न्याय दर्शनका प्रणेता क्रमशः महर्षि जैमिनी, व्यास, कपिल र गौतम नेपालकै ऋषिमुनिहरू थिए । अझ भन्निछ योग दर्शन लेख्ने महर्षि पतंजलि पनि नेपालकै हालको अर्घाखाँचीमा जन्मिएका थिए । हामी यस्ता महान् महर्षिहरूका सन्तती हौं । तर हामीले हाम्रा पूर्खाले प्राप्त गरेको विद्या जान्न र रक्षा गर्न सकेनौं । यस्तो पुण्यभूमि नेपालमा आजकल लुट, हत्या, चोरी, बलात्कारबाहेक अरु केही हुँदैन । त्यस्ता धुरन्धर ऋषिमुनि जन्मेको र तप गरेको भूमिमा आजकल सिसीमुनि झुलेर बस्ने, देश र जनतालाई विनाशको मार्गतिर लैजाने आपराधिक मानसिकताबाट ग्रस्त भएकाहरूको भीड छ ।

जबसम्म महिलालाई वस्तु, डिस्पोजेबल उत्पादन, चाहना पूरा गर्ने यौन उपभोगका सामानको रूपमा हेरिन्छ, तबसम्म महिलाप्रतिको हिंसा अन्त्य हुँदैन ।

महर्षि बाल्मीकि (नवलपरासी), महर्षि पाणिनि (अर्घाखाँची), महर्षि श्रृंगी (गुल्मी), महायोगी गोरखनाथ (गोरखा) का हुन् । महर्षि कपिल नेपालको कपिलवस्तुको बाणगंगा, महर्षि जैमिनीको जन्म भूमि र तपोभूमि जैमिनिघाट काली र ठेउलेखोलाको दोभान म्याग्दी हो । महर्षि वेदव्यास नेपालको तनहुँमा जन्मेका हुन् । नेपालको कोशी, गण्डकी र कर्णाली नदीमा ऋषि विश्वामित्र, वशिष्ठ र वामदेव तपस्या गर्थे । गौतम बुद्धको ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, शान्तिभूमि नेपाल नै हो । माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका पुत्र दुर्वाशाको तपोभूमि दूर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिल क्षेत्र पणेना दह, कश्यपकै नामबाट काश्यपी पर्वत चिनिएको थियो । त्यही काश्यपी पर्वतले कालान्तरमा कास्की (जिल्ला) नाम पाएको थियो ।

यी त केवल केही उदाहारण मात्र हुन् । हामीले बाँचेको समयले पुरानो समय र पुराना मान्छेका संस्कारलाई अन्धविश्वासको नाम दिएर यसरी पन्छायौँ कि त्यहाँभित्र केही राम्रा कुराहरू पनि होलान् भनेर हेर्न हामीलाई आधुनिकता नामक अहंकारले छेक्यो । जसको परिणाम हामीले भोगिरहेका छौं ।

१७ हजार मान्छे मार्ने, मान्छेलाई ग्यास च्याम्बरमा कोचेर मार्ने, बलात्कार गर्नेलाई खुलेआम छाड्ने, विदेशीलाई नेपाली नागरिकता दिने, रातो पासपोर्ट बेच्ने धर्म संस्कृति बेच्ने, सर्टिफिकेट किनेर डिग्री लिने, जे मन लाग्यो त्यही बोल्नेहरूले चलाएको देशको भविष्य कस्तो हुने हो ? देश कता जाने हो कसैलाई थाहा छैन । हामीलाई सुरक्षाको अनुभूति दिनेहरूले नै हामीलाई नै बलात्कार गरिरहेका छन् । हामीलाई नै बेचिरहेका छन् । कस्तो दुर्भाग्य दलालहरू नै यो देशमा शिर ठाडो गरेर हिँड्छन् । अनि हामी उनीहरूको जयजयकार गरी नै रहन्छौं ।

बलात्कारका घटनाहरू मात्र होइन, नेपालमा महिलाविरुद्ध पुरुषद्वारा गरिने  दुर्व्यवहारका घटनाहरू पनि बृहत् रूपमा बढ्दैछ । एक पुलिस नोटमा यो देखिन्छ कि नेपालमा प्रत्येक १ घण्टामा महिला सम्बन्धी दुर्व्यवहारका घटनाहरू घट्ने गर्छन् । परिणामस्वरूप ३० मिलियन जनसंख्या भएको क्षेत्र महिलाहरूको लागि खतरनाक क्षेत्र भयो । धर्म गुरु, नेता, समाजसेवी नै बलात्कारका घटनामा समातिन्छन् । बलात्कारीको धर्म र जाति दुवै हुँदैन । ८ महिनाको शिशुदेखि ८० वर्षको बृद्धसम्म बलात्कारको चपेटामा परेका छन् । पछिल्लो समयमा बलात्कारपछि हत्या गर्ने प्रवृत्ति पनि बढ्दो छ । हाम्रो समाज यतिबेला नैतिक संकटमा छ ।

हाम्रा प्रायः सबै धर्महरूले हामीलाई नैतिक मार्ग अनुशरण गर्न प्रेरित गर्दछ । धर्मले परोपकार, अनुकम्पा, अहिंसा, इमान्दारिता सिकाउँछ । त्यसैले धर्म र नैतिकता पारस्परिक पूरक मानिन्छन् । अर्कोतर्फ धर्मको नाममा भएको दंगा, लडाइँ, कथित धार्मिक नेताहरूको यौन शोषण, धर्ममा हुने राजनीतिक घुसपैठ आदिले धर्म र नैतिकतालाई एकअर्काबाट अलग्याउँदै आएको छ ।

धार्मिक देखिएर अनैतिक काम गर्ने र आस्तिक देखिएर नैतिक काम गर्ने पनि छन् । नैतिकता वास्तविक यथार्थ र संसारसँग जोडिएको हुन्छ । व्यक्ति र समाजलाई धर्मले जोडेको छ । धर्म आ–आफ्नो भगवान्को उपासना मात्र होइन, साँचो धर्म मानव धर्म हो । हरेक दिन हाम्रो समाजमा द्रौपदीको चिरहरण हुन्छ । तर यो  कलियुग हो, यहाँ द्रौपदीलाई बचाउने कृष्ण भेटिँदैनन् ।

वेश्यावृत्ति एक ठूलो विश्वव्यापी बजार भएको छ । जसबाट सजिलै ठूलो आर्थिक लाभ लिन सकिन्छ । वेश्यावृत्ति सरकारी संरचनाको छत्रछायाँमा दिनप्रतिदिन बढ्दैछ । हाम्रो समाजमा अहिले पनि यदि छोरा जन्मियो भने बढी खुशी मनाइन्छ र छोराको लालनपालन अलि फरक ढंगले हुन्छ । छोराले रुनु हुँदैन, पुतलीहरूसँग खेल्नु हुँदैन, बलियो हुनुपर्छ, जिम्मेवारी बहन गर्नुपर्छ भन्ने कुरा सिकाइन्छ । यदि तपाईं छोरी भएर जन्मिनुभयो भने यो पहिरन लगाउनु हुँदैन, चर्को स्वरले आवाज उठाउनु हुँदैन, एक्लै हिँड्नु हुँदैन, राति हिँड्नु हुँदैन, खुट्टा फट्टयाएर बस्नु हुँदैन, आज्ञापालन गर्नुपर्छ, सधैं राम्री देखिनुपर्छ, के गर्नुहुन्छ र हुँदैन भन्ने दबाब तपाईंको उमेरसँगै बढ्दै जान्छ ।

जबसम्म महिलालाई वस्तु, डिस्पोजेबल उत्पादन, चाहना पूरा गर्ने यौन उपभोगका सामानको रूपमा हेरिन्छ, तबसम्म महिलाप्रतिको हिंसा अन्त्य हुँदैन । महिला शालीन र सुन्दर हुनुपर्छ । महिलाले आफूलाई मन लागेको कपडा लगाएर हिँड्ने छुट पनि छैन यो समाजमा । त्यसो गरेमा पुरुषहरूले उनलाई एक यौन वस्तुको रूपमा हेर्छन् । जसरी पुरुष यौनको आधा पाटो हो, विषय हो, त्यसरी नै महिला पनि यौनको एउटा  विषय हुन्, वस्तु होइनन् । सचेत मान्छे बनौं । चेतनशील प्राणी बनेर बाँचौँ । समानता आजको आवश्यकता हो । जसलाई स्वीकार गर्नुको विकल्प छैन ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्