हरारीको लेखन : चिन्ता, चिन्तन र चुनौती

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकहरू आफ्ना दृष्टिकोण दिएर मानव प्रगतिको मार्ग प्रशस्त गर्छन् । लेखक बन्न सजिलो छैन, रहरले मात्र लेखक बन्न सकिँदैन ।

झन् पुस्तक नै लेख्न फराकिलो दृष्टिकोण चाहिन्छ र विषयवस्तु पस्कने सुन्दर शिल्प पनि चाहिन्छ । किताब अक्षरको बग्रेल्ती होइन । अक्षरमार्फत जीवन दृष्टिकोण दिने, मानवीय प्रगति र खुशीको बाटो देखाउने, पीडा र विपत्तिबाट समाजलाई मुक्त गराउने व्यक्ति नै लेखक बन्ने गर्दछ ।


Advertisement

लेखक बन्न व्यक्तिलाई खास समस्या वा आकांक्षाले सताएको हुनुपर्छ । लेखकमा चिन्तन हुनुपर्छ, जसले जीवन जगतलाई शिक्षा र सन्देश दिन सकोस् । युभल नोह हरारी त्यस्ता लेखक हुन्, जसले मानव विकासका विस्तृत घटनाक्रम, मानवीय प्रगति र सभ्यताको विश्लेषण साथ भावी दिनका लागि चिन्तन अघि सारेका छन् । उनको पुस्तक ‘एक्काइसौं शताब्दीका एक्काइस पाठ’ एक्काइसौं शताब्दीको समस्त आयामलाई गहन आकलन र विश्लेषण गरिएको ओजनदार कृति हो । ओजनदार यस अर्थमा भनिएको हो कि कृतिले एक्काइसौं शताब्दीको सटिक विश्लेषण साथ यस शताब्दीका अवसर उपयोग गर्ने क्रममा सामना गर्नुपर्ने चुनौतीप्रति सचेत गराएको छ । शताब्दीका फाइदा र खुशी उपभोग धेरैले गरे । तर चुनौतीप्रति सचेत कमैले गराए । हरारीमा सचेत गराउने सचेतना भएर नै पुस्तक ओजनदार बनेको हो । 

‘स्यापिएन’ र ‘होमो देओस’ पछि लेखिएको हरारीको तेस्रो पुस्तक ‘एक्काइसौं शताब्दीका एक्काइस पाठ’ विचार, विश्लेषण र दृष्टिकोण निकै सशक्त छ । समाजले यस्तै कृतिको उपयोगिता देख्छ, युगले यस्तै कृतिको माग गरेको छ । धेरैजसो पुस्तकहरू अस्पष्ट विचारका बाढी हुने गर्छन् । के भन्न खोजिएको हो र समाजको पुनर्निर्माणमा के योगदान गर्न खोजिएको भन्ने अस्पष्टतामा किताबहरू गुज्रिएका हुन्छन् ।


Advertisement

पुस्तक पढ्न पनि जबरजस्ती गर्नुपर्छ र पढिसेकपछि दिमागले केही पाउँदैन, न मनले केही पाउँछ । लेखिएका कुराहरू पढ्दा एउटा सपाट बिम्ब, स्पष्ट गन्तव्य, उपयोगी शिक्षा, स्वाभाविक उत्साह र मौलिक आकांक्षा जगाउन सक्ने पुस्तकले मात्र लेखकीय धर्म निभाउने गर्छ, पुस्तकीय सार्थकता सिद्ध गर्दछ । हामीले खोजेको पुस्तक यस्तै हो । 

‘एक्काइसौं शताब्दीका एक्काइस पाठ’ पुस्तक रहरले होइन, विचारले लेख्नुपर्छ भन्ने जवाफ हो । पुस्तकमा चिन्तन र दर्शन छ । चिन्तन र दर्शनले समाजलाई डोर्‍याएको छ । पुस्तक धेरै विषयमा लेखिन्छन् । सबै विधाको केन्द्रस्थ भनेको मानिस र उसको प्रगति हो । त्यही विन्दुमा आएर चिन्तन र दर्शनहरू टुंगिन्छन् । सबै विधाका लेखकले केही न केही दिने गर्छन् ।

हरारी इतिहासकार भएकाले मानिसलाई खाना वा नाना दिन सक्दैनन्, मानव इतिहासको विश्लेषण गर्छन् र मानिसलाई भविष्यका विषयमा सोच्ने सपाट आधार दिन्छन् । सच्चा इतिहासकार बनेर मानिसका विगत र वर्तमानको विश्लेषण गरेर भविष्यको चित्र उतार्छन् । इतिहासकार भएर भविष्यको इतिहास लेखिरहेका छन् । 

युभल नोह हरारीका सबै किताबमा परिपक्व विचार र सटिक निष्कर्ष हुन्छ । पुस्तकमा वस्तुतथ्य र विश्लेषण पाइन्छ, प्रामाणिकता र विचार मिसिएको हुन्छ । ‘स्यापिएन’ मानव इतिहासको विवेचना हो । मानिस कसरी विकास हुँदै यस अवस्थामा आइपुग्यो र पृथ्वीको शासक बन्यो भन्ने क्रमवद्ध सोलोडोलो प्रस्तुति छ । दोस्रो किताब ‘होमो देओस’मा मानिसले कसरी ईश्वरीय शक्तिमाथि धावा बोल्दै छ, प्रकृतिमाथि विजय प्राप्त गर्दैछ र दीर्घकालीन भविष्य कस्तो होला, अन्तिम अस्तित्व के होला भन्ने चिन्तन छ । तेस्रो पुस्तक ‘एक्काइसौं शताब्दीका एक्काइस पाठ’मा यस शताब्दीमा मानिसका प्रमुख चुनौती के हुन् र ती चुनौती सामना गर्न के–कस्ता पक्षमा ध्यान दिएर जीवनलाई समृद्ध बनाइराख्न सकिन्छ भन्ने पक्षमा प्रकाश पारिएको छ । यो मूलतः मानव भविष्यको इतिहास हो । 

मानिस तथ्य, संख्या र सूत्रमा भन्दा कथामा विचार गर्छ । हरेक व्यक्ति समुदाय र मुलुकका आ–आफ्नै कथा र भ्रमहरू छन्, त्यसैमा उ रमाउँछ, विवेचना गर्छ र दिग्भ्रमित पनि हुन्छ । बिसौं शताब्दीका ३ कथाहरू थिए, जसले समस्त मानव समुदाय र विचारलाई निर्धारण गर्दथ्यो । निरंकुशताको कथा, साम्यवादी कथा र उदारवादी कथा । यी भ्रमहरूको विवेचना पुस्तकको प्रस्थान विन्दु हो । 

दोस्रो विश्वयुद्धले अधिनायकवादी कथा भत्कायो र १९४०–१९८० सम्म विश्व २ कथामा संघर्षरत रह्यो, साम्यवादी र उदारवादी कथा । कथामा सत्य र अद्र्धसत्यभन्दा भ्रम र उछालहरू बढी थिए । पछि साम्यवादी कथा पनि कोल्याप्स भयो र उदारवादी कथा मात्र बाँकी रहन गयो । समस्त विश्व र मानव समाजलाई निर्देश गर्दै रह्यो र यसका कथाकारहरू ‘ग्लोबल एलाइट’ बने । 

उदारवादी कथा सापेक्षिक रूपमा स्वतन्त्रताको शक्ति र मूल्यप्रति आवद्ध छ र निजत्वको आनन्द पिइरहेको छ । हजारौं वर्षदेखि मानव समुदाय थिचोमिचोमा रहँदै आएकाले वैयक्तिक स्वतन्त्रता, व्यक्ति, विचार र वस्तुको गतिशीलता निषेधित थिए । मानिसहरू आफ्नो स्वतन्त्रता र निजत्वका लागि चरणवद्ध युद्धहरू लड्दै आए । युद्धमोर्चाहरू फरक भए तर युद्धहरू लड्दै आए । स्वतन्त्रताको अर्थ बुझ्दै आए, स्वतन्त्रताबाट आनन्दित भए । सोच्ने, बोल्ने, लेख्ने र उपभोग गर्ने जस्ता धेरै कुराहरू आफ्नै पाए । अर्को अर्थमा जीवनको वास्तविक स्वाद लिँदै आए । स्वाद झनै स्वादिलो भयो । त्यो भनेको स्वतन्त्रताको आनन्द हो । निजत्वको आनन्दमा रमिनु मानिसको अभिष्ट हो, जीवनको सार्थकता हो । 

उदारवादी कथाले सबै स्वतन्त्रता राम्रो मानेन । स्वतन्त्रताका कतिपय तगाराहरू अझै पनि भत्काउन बाँकी छन् । स्वतन्त्रतालाई साझा खुशी र समृद्धिमा सुसंस्कृत बनाउन अझै बाँकी छ । हाम्रो साझा आश्रयस्थल आमा पृथ्वी केही सम्भ्रान्तबाट बलात्कृत छ । स्वतन्त्रताका जननी मुलुकहरू पनि गरीबी, हिंसा र थिचोमिचोबाट आक्रान्त छन् । तर खुशी मान्नुपर्ने कुरा के छ भने ती विसंगति र विव्ल्याटाहरू हटाउने उपाय मानिसलाई थाहा छ । त्यो भनेको अझै स्वतन्त्रता दिनु हो । सार्थक र सम्पूर्ण स्वतन्त्रता दिनु हो । सबैलाई सामाजिक सुरक्षा, मानव अधिकारको सुरक्षा, सबैलाई मताधिकार र स्वतन्त्र बजार प्रत्याभूति दिनु हो । व्यक्ति विचार र वस्तुको स्वतन्त्र प्रवाह सम्भव तुल्याउनु हो । व्यक्तिमा निहित सम्भावनाहरू बाहिर ल्याउनु हो । सबै उदारवादीहरू उदारवादलाई सबै प्रकारका समस्याको एकमुष्ट समाधान मान्दछन् । जर्ज बुसदेखि बाराक ओवामासम्म केमा एकमत छन् भने हाम्रा आर्थिक र राजनीतिक प्रणालीलाई उदारवादी र विश्वव्यापी बनाउँदै जाँदा शान्ति र समृद्धि स्वतः प्राप्त हुन्छ । 

छिटो समृद्धिका यात्रा समाउनेहरूले उदारवाद र विश्वव्यापीकरणलाई नै समाए, प्रगतिमा पछि परेकाहरू यसमा नै पछि थिए । अघिल्लो दशकको वित्तीय संकटपछि उदारवादको अपव्याख्या हुन थालेको छ । उदारवादी कथामाथि भ्रामक परिभाषा हुन थालेको छ । लोकतान्त्रिक भनिएका सरकारहरू नै न्यायिक स्वतन्त्रता र प्रेसमाथि अंकुश लगाउन उद्यत छन् । टर्की, रसिया, वेलारुस गणतन्त्रहरू लोकतन्त्रको उल्टो व्याख्या गरी अधिनायकवाद लाद्दै छन् । आजभोलि दक्षिणपन्थी अधिनायकवादको वर्चस्व बढ्दै गएको छ । मताधिकार लिएर शक्तिमा गएकाहरू नै अधिनायकवादमा परिणत हुँदै जाने खतरा बढेको छ । मत लिनेहरूले अभिमान र वेमत प्रदर्शन गरिरहेका छन्, जुन–जुन खतरा अझै भयानक छ । 

राजनैतिक र वैचारिक रुपमा हरारीले उल्लेख गरेका ३ कथाहरू आ–आफ्नै परिवेशका भ्रम थिए । ६० को दशकसम्म ३ मध्ये १ कथा छान्ने अवसर थियो । ६० मा २ मा झर्‍यो । नब्बेमा केवल १ मात्र रह्यो र २०१८ मा आइपुग्दा शून्यमा झर्‍यो । उपयुक्त कुनै पनि अवसर नरहनु दुःखको कुरा हो । उदारवादीले के भुल्नु हुन्न भने इतिहास पूर्व निर्धारित बाटोबाट विषयान्तर भयो । यसले नयाँ शुरूआतका लागि अन्तिम युद्ध लिनुपर्ने छ । यो मानव सभ्यताको अन्त, राज्य व्यवस्थाको अन्त्यको संकेत हुनुहुन्न । लेखकले समुदाय, सभ्यता, शासन प्रणाली, राष्ट्रवाद, धर्म, आप्रवासन र राजनीतिका क्षेत्रमा रहेका चुनौती निकै राम्रो विश्लेषण साथ उजागर गरेका छन् ।

हरारी प्रविधिजन्य चुनौतीमा पनि सटिक विश्लेषण गर्छन् । ईश्वरीय शक्ति प्राप्त मानिस आविष्कार र नवप्रवत्र्तनले चुनौतीका चक्रब्यूहमा पर्दै गएको छ । आविष्कार र नवप्रत्र्तन मानवहित र सहजताका लागि हो । तर रफ्तारमा रहेको प्रविधिको विकासले मानिसको दिनचर्या बदल्दै लगेको छ, कार्य वातावरण बदलेको छ, स्वतन्त्रता र समन्याय साघुर्‍याएको छ । निरन्तर अनुकूलन क्षमता विकास नहुँदा सन् ४०–५० तिर धेरैजसो मानिसहरू आफैंलाई अस्वाभाविक बन्नुपर्ने अवस्थामा पुग्ने छन् । कुरा गर्न, काम गर्न, पढ्न, खान, उब्जाउन, यात्रा गर्न, मत दिन, व्यवसाय गर्न, किनमेल गर्न, खेल्न, रमाउन आदिमा आफूलाई अस्वाभाविक पाउँदै छन् । के आफ्नै सिर्जना र आविष्कार धेरैका लागि अभिशाप बन्नुहुन्छ ? यसखाले चुनौतीका लागि अहिलेदेखि नै सर्वसाधारण सचेत र सशक्तीकृत हुनुको विकल्प छैन । यसैमा लेखक चिन्तित छन् र चेतना दिइरहेका छन् । 

चुनौतीको अर्को पक्ष मानव आशामाथि छ । मानवीय आकांक्षा साथ तृष्णा, प्रत्यासा, खुल्दुली र भग्नासाहरू ओइरिएका छन् । प्रयत्नभन्दा प्रत्यासा र इच्छाभन्दा इश्र्यामा मानिस जल्दैछ । युद्ध, आतंक, आक्रमणका स्वरुप र दृश्य बदलिएका छन् । अर्को चुनौती सत्यमाथिको प्रश्न (आफू जे छ, त्योभन्दा कम आकलन गर्ने मनोविज्ञान), समुत्थानवादी शिक्षाको चुनौती (जसलाई सम्बोधन गरेर जीवनलाई कथा र भ्रममा होइन, अर्थमा पुर्‍याउन सकिन्छ) लाई जोडदार रुपमा उठाएको छ । 

सबैभन्दा ठूलो चुनौती मानिस महामानव (सुपरह्युमन) बन्न लागेकोमा देखाइएको छ, जुन हरारीको सबैभन्दा ठूलो व्यावहारिक चिन्तन हो । के मानिस सुपरह्युमन बन्नुहुन्छ ? इन्फोटेक, बायोटेक र डाटाको समायोजनमा व्यक्ति अरुको आनीबानी, सोच, शैली, मनका भाव, संवेग, आवेग बुझ्न सक्ने सामथ्र्यमा पुग्दैछ । प्रविधिको प्रयोग (दुरुपयोग ?) खराब शासक/अमानवीय व्यक्तिले गर्न पुगेमा मानवीय रहस्यको अलिकति पनि अंश बाँकी रहने छैन र यस अवस्थामा मानव गैरमानव बन्नेछ, समाज संवेगहीन औपचारिकतामा परिवर्तित हुनेछ । मानिसको भौतिक क्षमता प्रगतिले बुझोस्, भावनात्मक क्षमता अरुले बुझेपछि मानव जीवनमा के नै बाँकी रहला ? त्यस अवस्थामा उ महामानव होइन, अमानव पो बन्ने हो कि ?

हरारीको विश्लेषण भन्छ, मानव विकास यहाँसम्म आइपुग्न हजारौं वर्ष लाग्यो । यो विकासक्रम हो, आकस्मिक घटनाको परिणाम होइन । यसलाई बचाएर मानव जीवनलाई झनै वैभवशाली बनाउन हरारीले एक्काइस सन्देश दिएका हुन् । उनले भविष्य यस्तो हुन्छ भन्ने भविष्यवाणी गरेका होइनन्, तथ्य र प्रवृत्तिको वस्तुगत विश्लेषणबाट भविष्यको कल्पना मात्र गरेका छन्, जसबाट सम्भावित दुर्योगबाट मानिसलाई बचाउन सकियोस् । यो लेखकीय धर्म हो । उनमा आग्रह छैन, चिन्तन छ, श्वेरकल्पना छैन, वस्तुतथ्य छ । मलाई लाग्छ युभल नोह हरारीले सबै लेखक र चिन्तकलाई ठूलो व्यावहारिक चुनौती दिएका छन्, लेखक कस्तो हुनुपर्छ भनेर । अझै ठूलो चुनौती इतिहासकारलाई दिएका छन्, जसले आजसम्म घटना मात्र जानी–नजानी पढे/पढाए, लेखेर बसे, जुन इतिहासकारको धर्म थिएन । त्योभन्दा पनि ठूलो चुनौती राज्य सञ्चालकलाई दिएका छन्, जो दृश्य नदेखी दृश्य बनाइरहेका छन्, गतावधिक शैलीमा शासन गरिरहेका छन्, शासन गर्ने शक्ति र विश्वास गुमाएका छन् । तर पनि शासन गरिरहेका छन्, अहिलेका पुस्ताका सबै राजनीतिज्ञ साँच्चै अर्थमा अस्वाभाविक छन् । त्यसैले हरारी यस युगका दृष्टिबोधी सच्चा लेखक हुन्, जसले कसैलाई छाडेनन्, सबैलाई सचेतना र शिक्षा दिए,  चिन्ता मात्र जगाएनन् र चिन्तन पनि दिए ।

mainaligopi@gmail.com

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्