अब जीवनशैली परिवर्तन गरौं, अहिलेका लागि कोरोनाको औषधि नै यही हो : डा. शेरबहादुर पुन

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

पछिल्लो समय कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण दर बढेको छ । उपत्यकामा यसको दर अझ उच्च छ । देशैभर मृत्युदर पनि बढेको तथ्यांकले देखाएको छ ।

नेपालमा कोरोना संक्रमणको अवस्था के हो ? अझै कति समय नेपालमा कोरोना संक्रमण रहन्छ ? समुदायमा फैलिएको हो या होइन ? आगामी दिनमा हामीले यसबाट बच्न के गर्नुपर्छ भन्ने विषयमा लोकान्तरकर्मी गगन अर्यालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन कुराकानी गरेका छन् ।


Advertisement

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

नेपालमा कोरोना संक्रमित दिनप्रतिदिन बढिरहेका छन् । कोरोनो समुदायमै फैलिसकेको हो  ?


Advertisement

समुदायमा फैलिएको हो कि होइन भन्ने ठूलै बहस भइराखेको छ । होइन भन्यो भने समुदायमा जसलाई परीक्षण गर्‍यो त्यसैलाई देखिएको छ ।

साइन्टिफिक (वैज्ञानिक) बाटो समाएर यो–यो क्षेत्रमा वा काठमाडौंमा कति मान्छेमा कहाँ–कहाँ फैलिएको छ भन्ने कुरा अर्थात् तथ्यांकहरू छन् भने त्यसलाई देखाएर सरकारले समुदायमा फैलियो भन्नुपर्छ । अहिलेसम्म सरकारले कन्ट्याक्ट ट्रेसिङमा देखिएका मानिसहरूको मात्र परीक्षण भएको छ । समुदायमा परीक्षण नै भएको देखिँदैन । 

सरकारले समुदायमा परीक्षण गर्ने पनि भनिराखेको छ । त्यसको आधारमा समुदायको तथ्यांक तयार भएको खण्डमा समुदायमा फैलिएको हो कि होइन भन्नलाई सजिलो हुन्छ ।

समुदायमा फैलिसक्यो भन्ने कुराका उदाहरण धेरै छन् । यसका लागि सरकारले एउटा पद्धतिमा अनुसन्धान गरेर समुदायमा फैलिएको छ भन्नुपर्छ । अर्को व्यक्ति–व्यक्तिको परिभाषालाई हेर्ने हो भने त संक्रमणको स्रोत नखुलेका संक्रमित र एक्कासि संक्रमण बढी देखिनुले पनि समुदायमा गएको भन्न सकिन्छ । डब्ल्यूएचओले पनि यो परिभाषालाई मान्यता दिएको छ ।

राम्रो तथ्यांक संकलन गरेर अन्त्यमा आधिकारिक जानकारी दिने भने सरकारले नै हो  । र यसको फाइदा भनेको आगामी दिनका कसरी जाने भन्ने स्पष्ट खाका आउँथ्यो र योजना बनाउन पनि सजिलो हुन्थ्यो ।

सरकारका प्रतिनिधिले भने अहिलेसम्म समुदायमा फैलिसकेको छैन भन्नुहुन्छ । परीक्षण पनि गर्छौं भन्नुभएको छ । यता विज्ञहरूले समुदायमा फैलिसकेको छ भन्दै आएका छन् । समुदायमा परीक्षण गरेर यकिन तथ्यांक सरकारले सार्वजनिक नगरेसम्म आधिकारिक मान्न मिल्दैन । तर समुदायमा फैलिएका उदाहरणहरू प्रशस्त छन् । 

हाम्रो यही ढंगको परीक्षणले कोरोना नियन्त्रण सम्भव होला ? सरकारले समुदायमा परीक्षण गर्न नसकेको हो ?

नसकेको भन्न मिल्दैन । अहिले स्वास्थ्य मन्त्रालयले सेरो सर्भिलेन्स (Serosurveillance) गर्ने भनेको छ । यसले सामान्य तरिकाले छिटो परिणाम दिन्छ । यो मानिसमा भएको रोग प्रतिरोधात्मक क्षमता हेरेर समुदायमा फैलिएको भन्ने कुरालाई व्यवस्थित अध्ययन गर्ने हो । यसको अध्ययन गर्दा देशका विभिन्न शहरहरूमा अध्ययन गर्नुपर्छ । 

डब्ल्यूएचको कुरालाई मान्ने हो त अझै पहिला नै समुदायमा संक्रमण फैलिसकेको भन्न मिल्छ । तर व्यापक रूपमा समुदायमा फैलिएको छैन भनेर डब्ल्यूएचओले अनुमान गरेको थियो । संक्रमण बढिराखेको अवस्थामा परीक्षणको दायरा धेरै बढाउनु पर्ने थियो, तर त्यो हुन सकेको छैन ।

नेपालमा पनि अहिले वृद्धवृद्धा र पाको उमेरका व्यक्तिहरूको मृत्यु बढी हुन थालेको छ, पहिला युवाको मुत्यु भएको थियो, यसलाई कसरी बुझ्ने  ?

यसलाई मैले कसरी विश्लेषणको गरेको छु भने यसभन्दा अगाडिको परीक्षण विदेशबाट आएका र भारतबाट आएका मानिसहरूमा सीमित थियो । ती सबै रोजगारीमा गएका युवा थिए । जो काम गर्ने उमेर समूहका थिए ।

उनीहरूलाई क्वारेन्टीनमा राखेर परीक्षण गरिन्थ्यो र त्यसको संख्या बढी थियो ।

अब अहिले कोरोनाको संक्रमण समुदायतर्फ लम्किएको छ । समुदायमा भएका वृद्धवृद्धामा कोरोनाको संक्रमण हुन थाल्यो । यसरी पहिले र अहिले सिनारियो परिवर्तन भएको छ । 

त्यो समयमा कोरोनाको लक्षण कमैमा देखिन्थ्यो क्वारेन्टीनमा नाचेर/गाएर फर्किएको पनि हामीले देखेका थियौं ।

अब त्यो बेला र यो बेलामा किन बढी संक्रमितको मृत्यु भएको छ भने पहिले युवा थिए रोगसँग लड्ने क्षमताका थिए । अहिले समुदायमा कमजोर मनिसहरू जस्तै वृद्धवृद्धा, दीर्घरोगीहरूमा पनि कोरोना संक्रमण देखिएको छ र यसले पनि के प्रमाणित गर्छ भने समुदायमा फैलिसकेको छ । 

पहिला गर्मी लागेपछि कम हुन्छ भनियो, पछि भदौसम्ममा कम हुन्छ भन्ने थियो, तर संक्रमण बढिरहेकै छ, यो अवस्था कहिलेसम्म जाला ?

वास्तवमा भन्नु पर्दा कुनै पनि विज्ञहरू एक मत छैनन्, किनभने यो नयाँ रोग हो । यसको बानीबेहोरा पनि अचम्म–अचम्मको देखिएको छ । अर्थात् एउटा व्यक्तिमा देखिएको संक्रमणको लक्षण अर्कोमा एउटै हुन्छ भन्ने नहुँदोरहेछ । पहिला फोक्सोमा मात्रै क्षति पुर्‍याउँछ भनिन्थ्यो, अहिले यसले मानव शरीरका अन्य अंगहरूमा पनि क्षति पुर्‍याउँदो रहेछ भन्नेमा दुई मत रहेन । 

अर्को कुरा यो एकपटक लागेपछि फेरि लाग्दैन भन्ने कुरा पनि रहेन । संक्रमण शून्यमा झरेका देशहरूमा पनि अहिले फेरि संक्रमण देखिएको छ । पहिला देखिएका व्यक्तिमा पनि फेरि देखिएको छ । 

पहिला गर्मी महिना लाग्दा चाहिँ संक्रमणको असर कम हुन्छ भन्ने थियो किनकी सामान्यतया गर्मी देखिएको भाइरस जाडोमा नदेखिने र जाडोमा देखिएको भाइरस गर्मी नदेखिने हुन्थ्यो त्यो अवस्था पनि अब रहेन । यसले समय र मैसमअनुसार आफ्नो व्यवहार र लक्षणमा परिर्वतन गर्ने देखियो ।

यसको अर्थ के हो भने जति पनि अनुमान लगाइएका थिए ती सबै अनुमानमा सीमित रहे । यो संक्रमण कहाँसम्म लम्बिन्छ ? कहिलेसम्म लम्बिन्छ ? भन्ने कसैले पनि अनुमान लगाउन सक्दैन । 

डब्ल्यूएचओले पनि २ वर्षमा यसको संक्रमण सकिन्छ भनेको थियो । भ्याक्सिन आएर सकिन्छ भनेको थियो कि आफैँ सकिन्छ भनेको थियो त्यो खुलाएको छैन । तर एक वर्षपछि हराउँदैन र २ वर्षपछि हराउँछ भन्ने आधारहरू के हुन् ? डब्ल्यूएचओले पनि अनुमान लगाउने मात्र हो ।

अहिले जसले बोलेपनि विनाआधार र सीमित ज्ञानमा बोलेका हुन् । कहिलेकाहीँ विश्वमा आएका अनुसन्धानका आधारमा बोल्दा अर्को अनुसन्धानले ओभरल्याप गरेको देखिन्छ । अर्थात् विरोधाभास देखिएको छ । 

२/३ महिनासम्म एन्टीबडी रहँदैन भन्दै गर्दा आइसल्याण्डको एउटा अध्ययनले ४ महिनासम्म रहन्छ भनिदियो । तर नेपालको कति भन्ने कुरा कसैलाई पनि थाहा छैन किनकी यहाँ अध्ययनहरू भएका छैनन् । भन्नुको मतलब अनुमानका कुरा आए । भौगोलिक अवस्था अनुसार पनि यसको व्यवहार फरक हुँदो रहेछ ।  

अर्को कुरा भारतको अवस्थालाई हेर्ने हो भने त्यहाँको जनसंख्यालाई हेरेर त्यहाँको संक्रमण र मृत्युदर धेरै भन्न मिल्दैन । अन्य देश अमेरिका, इटली भन्दा भारतमा किन मुत्युदर कम छ भन्ने प्रश्न पनि अनुत्तरित छन् । 

यसकारण भौगोलिक अवस्था, स्थान, भाइरसको प्रकृति, अब भाइरसले परिवर्तन गर्ने आफ्नो व्यवहारले गर्दा भाइरस कति समय र कति वर्षसम्म जान्छ भन्न सकिँदैन ।  

अहिले सबैले भन्ने डब्ल्यूएचओको आधारमा हो तर उनीहरू पनि सय प्रतिशत सत्य छैनन् ।

भनेपछि दैनिकी तत्काल सहज हुने लक्षण नदेखिएको हो ?

अब भ्याक्सिन नआउञ्जेल र यो भाइरसको संक्रमण नसकिने बेलासम्म कसरी जाने भन्नेतर्फ हामीले सोच्नुपर्छ ।

अबका दिनमा हरेक व्यक्तिले आफ्नो जीवनशैली परिवर्तन नगरेको खण्डमा देशमा निषेधाज्ञा के कर्फ्यु लगाएर गोली नै चलाए पनि केही हुँदैन ।

बन्दाबन्दी तथा निषेधाज्ञाले छोटो समयका लागि र केही पर धकेल्ने मात्र हो । यो दीर्घकालीन समाधान होइन । 

सम्माननीय प्रधानमन्त्रीलाई विज्ञहरूले बन्दाबन्दी (लकडाउन) गर्नुपर्छ भन्ने सुझाव दिनुभएको थियो, त्यो बेलामा पनि मैले यो दीर्घकालीन तथा अन्तिम समस्याको समाधान होइन भनेको थिएँ । हामी सधैँ बन्द गरेर बस्न सक्ने अवस्था पनि रहँदैन । 

मैले यदि प्रधानमन्त्रीलाई सल्लाह दिने हो भने ‘हामी परिवर्तन हौं’ भन्छु ।

जो व्यक्ति सामान्य लक्षण देखिएर निको भएर आयो त्यसले ‘यो त केही होइन’ भन्छ । जुन व्यक्ति आईसीयूबाट वा भेन्टिलेटरबाट फर्किएको छ, त्यसले ‘यो त खतरनाक रहेछ, यसलाई खेलाँची नगर्नुस्’ भन्छ । 

त्यसले गर्दा संक्रमण कसलाई कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन । हामी स्वास्थ्यकर्मी भएको नाताले कुनै पनि व्यक्ति आईसीयूसम्म नजाओस् भन्ने नै हुन्छ । त्यसकारण हामीले आफ्नो जीवनशैली परिवर्तन गरौं । कोरोनासँगै जिउन सिकौं । कोरोनाको आधारमा जीवनशैली ढल्काऊँ भन्दै आएको छु । 

पहिला जस्तो स्वतन्त्र जीवन अब कोरोनाले रहन दिएन यदि कसैले त्यस्तै खोज्छ भने उसले त्यसको परिणाम पनि भोग्न तयार हुनुपर्छ । कोरोनाले भनेजस्तै जीवन जिउन सिक्ने अवस्था आयो जसले गर्दा अबको हाम्रो जीवन रक्षा त्यसरी नै हुन्छ ।

अहिले यूरोपका देशमा पनि दूरी कायम गर्ने, मास्क लगाउने, धेरै जमघट नहुने खालका जीवनशैली अपनाएर खोलिएको छ । त्यो पनि कोरोनाकै अर्डर हो नि ! यदि नेपाली जनता पनि त्यसप्रति सचेत हुने हो भने बन्दको आवश्यकता रहँदैन ।

यदि भविष्यमा कोरोना भाइरस रहिरह्यो भने विद्यालयमा भौतिक संरचनाहरू परिवर्तन गरेर विद्यालय सञ्चालन गर्नुपर्ने हुन्छ, यसको अर्थ अब हामी परिवर्तन हुन जरुरी देखिन्छ ।

जबसम्म कोरोना रहन्छ तबसम्म हामी परिवर्तन हुनुपर्ने देखिन्छ अथवा जबसम्म यसको दीर्घकालीन समाधानको भ्याक्सिन आउँदैन तबसम्मका लागि हाम्रो जीवनशैली परिवर्तन नै यसको मूल औषधि हो ।

यसमा करोडौं खर्च गर्नुपर्दैन केवल व्यक्ति आफूले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । हामीले धेरै भेन्टिलेटरको कल्पना गरेका छौं, त्यो पनि आवश्यकता नपर्न सक्छ । 

पहिला म परिवर्तन भएँ भने समाज परिवर्तन हुन्छ, अनि कोरोनाको लडाइँ जितिन्छ भन्ने सोच राखौं ।

अहिलेसम्म मैले गरेको अनुसन्धान, मैले देखेको भविष्य पनि यही नै हो ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्