विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउन सांसद संग्रौलाको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौं नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छन् ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, ‘महंगो चार्टर्ड उडान गरेर सरकारले झण्डै ७० हजार नेपालीहरूलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेशियामा झण्डै ३ लाख नेपालीहरू स्वदेश फर्कन पर्खिरहेका छन् । तीमध्ये हजारौं महिला, बेरोजगार तथा असक्त नेपालीहरू विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् ।’


Advertisement

सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरू गर्न नसक्नु खेदजनक रहेको उनले विज्ञप्तिमा भनिन् ।

डा. संग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरू, अन्य सामाजिक संस्था र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा श्रम मन्त्रीको पटक–पटक ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा उल्लेख छ । 


Advertisement

‘कोभिड–१९ महामारीका कारण काम गुमाएर लामो समयदेखि खानका लागि पनि अरुको राहतको आशमा बसेका श्रमिकहरूको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्ने, दशैं अगावै स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकले नै तिर्ने गरी ७ दिनका लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकलाई निःशुल्क क्वारेन्टीनको व्यवस्था मिलाइयोस्,’ विज्ञप्तिमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्