आफ्नो भए सबै माफ, अरूको भए पत्तासाफ !

  • दीपक शर्मा

करीब–करीब राजनीतिक प्रतिपक्षको अवसान भैसकेपछि पछिल्लो सरकार भ्रष्टाचारको दलदलमा फुक्काफाल नाचिरहेको छ । कोरोनाको कहरमा नेपाली जनतालाई घरभित्र थुनेर सरकारले विभिन्न घोटालाको स्क्रिप्ट बनाएर त्यसको कार्यनव्यन पनि गरिसकेको छ ।


Advertisement

यसमा स्वास्थ्य सामाग्री घोटालादेखि विदेशबाट नेपाली ल्याउने नाममा गरिएका अर्बौं र करोडौंका अनियमितताहरू समावेश छन् । कुनै समय भ्रष्टाचारीको मुख हेर्दिनँ भनी भाषण ठोक्ने शासक सबै भ्रष्टाचारीसँग गला जोड्दै मित लगाउन सक्षम भैसकेका छन् ।

अवस्था कतिसम्म निराशाको छ भने नेपाली जनतालाई यो सरकारमा भएका एक व्यक्ति पनि इमानदार छन् जस्तो लाग्न छाडिसक्यो। यो लोकतान्त्रिक प्रणालीका लागि नै घातक कुरा हो ।


Advertisement

स्थिर सरकारको ब्यानर लगाएर त्यसमा विकास र समृद्धिको नारा टाँसेर भित्रभित्रै यो सरकार अनेक घोटाला र काण्डमा पोलिएको छ । नेपाली जनताको स्मरण शक्ति तेज नै छ सरकार ! ती काण्डमध्येका पनि बाहिर आइसकेका सुन काण्ड, वाइडबडी जहाज काण्ड, यती होल्डिङ्स काण्ड, सेक्युरिटी प्रेस काण्ड, ओम्नी काण्ड आदि हुन् । सबै काण्ड लेख्ने हो भने सानो पुस्तक नै तयार हुन सक्छ । 

अनियमितता, अराजकता र भक्तहरू पोस्ने काममा मग्न छ. सरकार । जनताको जीवन भाँडमा जाओस् तर ओम्नीको कमिसन रोकिनुहुन्न, किसानले मल नपाएर टाउको समाऊन् तर घरबेटीलाई कष्ट दिइनुहुन्न । युवाले रोजगार गुमाए केही छैन तर मेरा नातागोतालाई सरकारी नियुक्ति हुनै पर्छ । यस्ता बेथितिविरुद्ध बोल्नेमाथि जाइलाग्न राज्यको ढुकुटीबाट अरिंगाल पालिँदैछ । केही प्रश्न गरे क्रान्तिकारितामा ठेस लाग्छ. गज्जब छ अहिलेको सरकारको शासनशास्त्र, कराहीमा मासु पाकेकै छ । छतमा पार्टी चलेकै छ साथमा हेभी मेटलको संगीत पनि छ । यतिले नपुगे राम नामको डोज छ, राष्ट्रवादको राग छ । रागमा कमी आए बेसार पानीको ज्ञानशास्त्र छँदैछ ।

कोरोना कहरमा आफ्नो आधारभूत अधिकारबाट वञ्चित भएर र अवैज्ञानिक लकडाउन र निषेधाज्ञाका कारण धेरै नेपालीले आत्महत्या गरिसकेका छन् बाँचेकाको स्थिति पनि अन्योलताले भरिएको छ । तर सरकार हेभी मेटलको संगीत सुन्दै बेसार पानी खाएर कविता लेख्छ अब आँसु खसाउनु पर्दैन, कोही भोकले मर्नुपर्दैन । खाडी राष्ट्रहरूबाट नेपाली श्रमिकहरूले मागिरहेको मद्दतको बेवास्ता गर्दै टिभी शो मै पैसाको मोलमोलाइ गरिरहेका मन्त्री यही देशमा देख्न मिल्छ । 

कृषिप्रधान देशमा मलका लागि रोइरहेको किसान यहीँ देख्नुपर्छ तर मन्त्री भन्छन् विदेशमा रहेका नेपालीले भोट हाल्न पाउँछन् । अरे विद्वान मन्त्रीज्यू, पहिले किसानलाई मल त ल्याउनोस्, चुनाव आउन त अझै केही समय छ । तपाईंका सिद्धान्तका ठेलीलाई एक छिन थन्काउनोस् । मार्क्सलाई एकछिन आराम गर्न दिनोस् र किसानका सत्य समस्याबारे गम्भीर हुनोस् ।

सरकारको शासन शैलीले नैराश्यता भरिरहेको यो देशमा प्रतिपक्षी दलको ताल हेर्दा डिप्रेसनमा जाने खतरा बढ्छ । यतिधेरै बेथिति र भ्रष्टाचार भैसकेको छ । जनता दुःख र तकलिफबाट गुज्रिरहेका छन् तर आफूलाई लोकतन्त्रको हिमायती भन्ने दल मानचित्रबाटै गायब छ । हो यो देशमा प्रजातन्त्र ल्याउने भूमिका होस् वा माओवादीरूलाई शान्ति प्रक्रियामा ल्याउने कुरामा होस् कांग्रेस सधैँ अग्रमोर्चामा उभिएको छ ।

जनतालाई यो पनि स्मरणमा नै छ कि ज्ञानेन्द्र शाहको असंवैधानिक कुलाई आधा अधिकार भएपनि ठीक भनेर जाँदा पनि कांग्रेसले नै जनतालाई पूरै लोकतान्त्रिक अधिकार मागेर दोस्रो जनआन्दोलन गरेको हो । हो, जनताले त्यस्तै जुझारू कांग्रेस खोजिरहेका छन् । तर आजको कांग्रेसको नेतृत्व गरेकाहरूमा त त्यो क्षमता देखिएन ।

अहिलेको प्रतिपक्षी दलको नेता सरकारभन्दा कट्टर देखिन्छन् । नैतिकरूपले पनि उनमा आवाज उठाउने हिम्मत देखिँदैन् । सरकारले गरेका भनिएका केही काण्डमा उनकै नाम पनि आएको थियो, यसले जनतामा उनीमाथि विश्वास गर्ने आधार पनि खुम्चिएको छ । आन्तरिक घरझगडा र केही थान संवैधानिक भागबण्डाको चक्करमा नेपाली कांग्रेसले आज आफ्नो मुख्य भूमिका बिर्सिसकेको छ । 
व्यक्तिगत रूपमा शेखर कोइराला, गगन थापा, मिनेन्द्र रिजाल र प्रकाशमान सिंहलगायत अरू केहीले सरकारलाई बारबार सचेत गराएको भए पनि नेतृत्वका प्रमुखहरू चुपचाप छन् । यहाँनेर प्रतिपक्ष दललाई सुझाव छ आगामी महाधिवेशनबाट सक्षम नेतृत्व ल्याऊ, हैन भने जनताले आफैं विकल्प तयार गर्न सक्छन् । र विकल्पको संकेत पनि आइसकेको छ । 

सलाम छ यो देशका ती सबै युवाहरूलाई जसले आफूलाई मैमत्त ठान्ने शासकलाई बालुवाटार पुगेरै प्रश्न गर्न सके, जसले बेथितिविरुद्ध लड्ने हिम्मत देखाए । कोरोना कहरका बीचमा अहिंसात्मक रूपले जुन आन्दोलन र सत्याग्रह भयो यसले केही पर नै सही यो देशको भविष्य रहेको संकेत गरायो । आजको युवाले मागेको लोकतन्त्रमा ती सबै विषय समावेश छन् जुन हामीले आजसम्म यो किताबमा मात्र पढिरहेका थियौं । प्रश्नले लोकतन्त्र मासिने बेतुकको जवाफ फर्काउने शासककै निवास अगाडि गएर युवाले स्वस्थ्य सामग्रीको घोटाला, बेरोजगारी, खस्किँदो मानवअधिकार आदि विषयमा सवाल गरे ।

वास्तवमा आजको सचेत युवाले नै यो देशको लोकतन्त्र बचाउन सक्छ । आफ्नो भए सब माफ अरूको भए पत्तासाफ गरिने शैली फाँसीवाद हो । लोकतन्त्रको ब्यानर झुन्ड्याएको आधारमै लोकतन्त्र छ भनी मान्दिनुपर्ने हुकुमी शौलीको उन्मुलन जरुरी छ । आजका युवालाई लोभलालचको उति भोक पनि छैन किनकि उनीहरू आफ्नो क्षमतामा विश्वस्त छन् न कि कुनै गुलामी र जी हजुरीमा । आजका युवाले खोजिरहेको विषय हो पारदर्शिता, समता, मानवअधिकार र विधि तथा विधान । 

अहिले यी सबै कुरा नेपालमा तामेली रूपमा राखिएका छन् । शासक आफू र आफ्नालाई चाहिँदा मात्र यिनको प्रयोग गर्छ । आमजनताका लागि यी विषय सहज पहुँचबाहिर छन् । सत्ताको बफादार हुन सके यहाँ सात खुन पनि माफ गरिन्छ तर निर्दोष नै पनि यो देशमा विभिन्न नाममा बलि चढ्न पर्छ उदाहरणका लागि रुकुमका नवराज विक, सिमामा भोकले मरेका वीरेन्द्र यादव, सिद्धार्थ आहुजी, अंगिरा पासी आदि । यो कस्तो लोकतन्त्र भएको देश हो जहाँ जातका कारण नै कोही मारिनुपर्छ । शम्भु सदा, विजय राम, रोशन विश्वकर्मा जस्ता युवाका लागि त यो देश गुण्डाराज भएको देश बन्यो । आजका युवा यो मत्स्यन्याय भिरेको लोकतन्त्र फाल्न चाहन्छन् ।

आजका नव युवाले मागिरहेको लोकतन्त्रका लागि फेरि पनि संघर्ष हुनसक्छ, त्यसका लागि युवामा धैर्यता र आत्मविश्वास रहनुपर्छ । इनफ इज इनफको ब्यानरमा जुन खालको आन्दोलन र सत्याग्रह भयो त्यसले यो देशमा वास्तविक लोकतन्त्र पनि स्थापित हुन सक्छ भन्ने पूर्वानुमान चाहिँ भएकै छ । जय युवा, जय देश, जय नेपाल ! 

कमेन्ट गर्नुहोस्