यात्रा गरेको २ हप्ताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

सरकारले यात्रा गर्नेबित्तिकै आशंकामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ ।

संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । 


Advertisement

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले २ हप्तासम्म क्वारेन्टीनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । २ हप्तासम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिए पीसीआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरे ।
    
लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पीसीआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पीसीआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रिने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ । 

उनले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको २ हप्तासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । ‘कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैं पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु,’ उनले भने ।


Advertisement

कमेन्ट गर्नुहोस्