जुँगाको लडाइँमा परेको पद्मश्री पुरस्कार र सम्मान

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

यस वर्षको पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान घोषणासँगै विवादित बन्यो । विवाद शुरू भयो पद्मश्री पुरस्कार पाउने हंस उपन्यासका स्रष्टा प्रा. सञ्जीव उप्रेतीको तर्फबाट ।

उनले पुरस्कार घोषणा हुनासाथ पुरस्कार प्रदायक संस्थाले अन्यथा निर्र्णय गरेबाहेक यौन हिंसाको आरोप लागेका व्यक्तिसित सँगै उभिएर पुरस्कार लिन नसकिने आशयको वक्तव्य जारी गरे ।


Advertisement

तत्कालैजसो पद्मश्री साधना सम्मान पाउने स्रष्टा मोदनाथ प्रश्रितको तर्फबाट पनि वक्तव्य आयो । उनी हस्ताक्षरित वक्तव्यमा भनिएको थियो, ‘केही व्यक्ति र संस्था अप्रमाणित कुरा उठाएर मेरो चरित्रहत्या गर्न लागिपरेकाले मलाई प्रदान गरिएको पद्मश्री साधना सम्मान नलिने निर्णय गरेको छु ।’ तर उनी यसमा धेरैबेर टिक्न भने सकेनन् ।

लगत्तैजसो उनकै तर्फबाट अर्को वक्तव्य आयो । जसको आशय थियो, ‘मैले सम्मान लिन्न भनेको नभई उपयुक्त समयमा लिन्छु भनेको हुँ । वक्तव्य कहाँबाट कसरी आयो मलाई थाहा छैन ।’ 


Advertisement

प्रश्रितको दोस्रो वक्तव्य आउनासाथ प्रा. उप्रेतीले पुरस्कार अस्वीकार गरेको घोषणा गरे भने प्रश्रितले पनि एक अनलाइन मिडियालाई अन्तर्वार्ता दिँदै पुरस्कार नलिने घोषणा गरे । दुवै स्रष्टाको यस किसिमको अस्वस्थ प्रतिस्पर्धापछि पुरस्कार तथा सम्मान प्रदायक संस्था खेमलाल हरिकला वाङ्मय प्रतिष्ठानको आकस्मिक बैठक बसी पुरस्कार तथा सम्मान प्रदान गर्ने पूर्व निर्णय खारेज गरिएको घोषणा गर्‍यो ।

संस्थाले जे गर्नुपर्ने थियो, त्यही गर्‍यो । योबाहेक उसका निम्ति अर्को विकल्प नै थिएन । स्रष्टाहरू आफैं प्रस्ट हुन सक्दैनन् र आफूलाई प्रदान गरिएको पुरस्कार र सम्मानको सम्मान गर्न सक्दैनन् वा जान्दैनन् भने पुरस्कृत गर्नुको औचित्य नै के थियो र ?

पैसा बढी भएर कसैले पनि पुरस्कार स्थापना गरेका हुँदैनन् । लेखक साहित्यकारको सम्मान पनि होस् र प्रोत्साहन पनि मिलोस् भन्ने उद्देश्यले आफ्ना दैनन्दिन खर्च कटाएर पुरस्कारको राशि जोहो गरेका हुन्छन् । तर स्रष्टाहरू त्यसैलाई जुँगाको लडाइँ लड्ने मैदान बनाउन खोज्छन्, प्रतिशोध साँध्ने वा तुष ओकल्ने थलो बनाउन थाल्छन् भने जुनसुकै संस्थाले त्यही गर्छ वा गर्न बाध्य हुन्छ, जुन खेमलाल हरिकला वाङ्मय प्रतिष्ठानले गरेको छ । 

पुरस्कार लिने/नलिने भन्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो, जसको सम्मान गर्र्नैपर्छ । यसमा कसैले पनि केही भन्न मिल्दैन । मन परे लिन्छन्, मन नपरे वा आफूले जस्तो नभए नलिन सक्छन् । तर यहाँ जसरी सष्टाहरूका तर्फबाट पुरस्कार र सम्मानको अपमान भएको छ, यसबाट प्रत्यक्ष/अप्रत्यक्ष अन्य स्रष्टाहरूलाई पनि आघात गरेको छ । जब स्रष्टाहरूका सम्मानका निम्ति दिएको पुरस्कारले स्रष्टाहरूमा विवाद गराउँछ, स्रष्टाहरू नै सम्मान गर्न जान्दैनन् वा स्रष्टाहरूकै तर्फबाट अपमान हुन्छ भने किन स्थापना गर्ने यस्ता पुरस्कार भन्ने प्रश्न स्वतः उठ्न सक्छ । आशा गरौं त्यस्तो नहोस् । एकाध घटनाकै कारण दाताहरू त्यस्तो अवस्था नपुग्लान् पनि तर आयो भने के गर्ने ? यसतर्फ उहाँहरूबाट ध्यान पुगे जस्तो लागेन ।

सम्मान सम्मान नै हो, पुरस्कार पुरस्कार नै हो । यहाँ पैसा वा धन राशिको कुरा आउन्न । पुरस्कारको राशि जत्रो भए पनि जुन श्रद्धाले दिइएको हुन्छ, त्यसको मूल्य बढी हुन्छ । यसलाई अपमान गर्नु हुँदैन । अन्यथा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ कुनै न कुनै रूपमा, कसै न कसैको तर्फबाट । 

एकपटक दुर्वासा ऋषि कतै जाँदै थिए, बाटामा देवराज इन्द्र भेटिए । ऋषिसँग तत्काल राजको स्वागतमा दिने चीज केही दिएन । यताउता हेरे केही नपाएपछि आफैंलाई कुनै भक्तले लगाइदिएको फूल झिकेर इन्द्रको गलामा लगााइदिए । तर देवराज इन्द्रलाई त्यो मन परेन । उनले मजस्तो देवताका राजाले अरुको जुठो माला लगाउनु भनेको आफ्नै अपमान गर्नु हो भन्ने सोचे र आफैंले चढेको हात्ती ऐरावतको मस्तकमा राखिदिए । मालिकलाई मन नपरेको चीज हात्तीलाई पो किन मन पर्थ्यो र ? उसले पनि सुँढले पर जंगलतिर हुत्याइदियो । 

ऋषिले श्रद्धाले दिएका थिए तर इन्द्रले त्यसतर्फ ध्यान नदिई अपमान गरे । दुर्वासाले यसलाई पचाउन सकेनन् र तत्कालै ऐश्वर्य भ्रष्ट हुने श्राप दिए । फलतः उनको कारण सारा–सारा देवताहरूले ऐश्वर्य भ्रष्ट भई कसैले नपाएको दुःख पाउनुपर्‍यो । पछि त्यसलाई प्राप्त गर्न समुद्र मन्थन नै गर्नुपरेको थियो । 

यहाँ श्रद्धाको अपमान गर्ने काम भएको थियो देवराज इन्द्रको तर्फबाट । तर दुःख पाउनुपर्‍यो सारा देवताहरूले । यसको अर्थ जहाँ पनि यस्तै हुन्छ भन्ने होइन । हुनसक्छ भन्नेसम्मको आशय हो । कदाचित भयो भने उहाँहरू आफैंलाई पनि सायद राम्रो लाग्ने छैन, जसको तर्फबाट पुरस्कार र सम्मानको अपमान भएको छ ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्