कांग्रेस किन यति धेरै कमजोर छ ?

  • अञ्जनी कोइराला

हिजोको राणा, राजा, पञ्चायत अनि कम्युनिस्टको अत्याचारविरुद्ध निडरताका साथमा लडेको कांग्रेस आजको दिनमा आइपुग्दा थिलथिलो भएको छ । अहिले सरकारको चरम लापरबाहीका कारण कोरोना संक्रमणले यति गाँजिसक्यो कि हरेक जनताको मुखमा माड नलाग्ने अवस्था आइसकेको छ ।


Advertisement

जनताको रोजीरोटी खोसिँदै आर्थिक अवस्था एकदमै दयनीय अवस्थामा पुगिसकेको छ । तर सरकार सञ्चालन गरिरहेको नेकपा आफ्नै आन्तरिक किचलोमा फसेको छ भने सरकारको काममा खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस झन् आफ्नो आन्तरिक किचलोको दलदलमा फसेको छ । न त कांग्रेसले अहिले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सकेको छ, न त प्रजातान्त्रिक अनि जिम्मेवार दलको भूमिका निर्वाह गर्न नै सकेको छ ।

अनुदार र अदूरदर्शी नेतृत्व


Advertisement

अहिले नेपाली कांग्रेसको नेतृत्व इतिहासकै कमजोर देखिएको छ । अघिल्लो नेतृत्वको जुन कुराको विरोध गरेर महाधिवेशनबाट विजयी भएको वर्तमान नेतृत्व आफ्नो हातमा नेतृत्व आएपछि त्योभन्दा पनि विधि, विधान र नियमलाई लत्याउन अग्रसर देखिएको छ ।

लेखक अञ्जनी कोइराला

वर्तमान नेतृत्व बहुमतको नाममा आफ्ना निर्णयहरू मनलाग्दी गर्दै र पार्टीमा ठूलो त्याग, तपस्या र लगानी भएका नेताको मानमर्दन गर्ने काममा अग्रसर देखिएको छ । जसले पार्टीमा आन्तरिक किचलो बढाउन मुख्य भूमिका खेलेको छ । महाधिवेशनमा होस् वा सकिएपछि होस् अबको ५ वर्ष भित्रमा कांग्रेसलाई कस्तो बनाउने, राष्ट्रिय भूमिकामा कांग्रेस कुन ठाउँमा रहने जस्ता कुरामा नेतृत्वमा कुनै स्पष्टता देखिएको छैन ।

गुटगत टकराव

नेपाली कांग्रेसमा गुटको जुहारी चलिरहेको छ । एकले अर्काको गुटमाथि अनेकन किसिमका आरोप–प्रत्यारोप लगाउने काम भइरहेको छ । साना–ठूला गरेर कांग्रेसमा अहिले ६ गुट बाहिर देखिने गरी आइरहेका छन् ।

सभापति शेरबहादुर देउवाले एउटा गुट चलाइरहेका छन्, जसले आजको दिनमा नेपाली कांग्रेस कब्जा गरेर राखेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को गुट छ, जसले शेरबहादुरको गुटबाट पार्टी चल्दैन त्यसैले शेरबहादुर देउवालाई अब सभापति बन्नबाट रोक्नुपर्छ भनेर जताततै आवाज दिँदै हिँडेको छ । पौडेलको यो गुटभित्र अनेकन अरु गुट भनौं वा उपगुट भनौं चलायमान छन् ।

यसमा महामन्त्री शशांक कोइरालाको गुट छ, जसले आगामी सभापतिमा शशांकबाहेक कसैलाई पनि नस्वीकार्ने अवस्था छ । अर्को गुट छ प्रकाशमान सिंहको, यो गुटको दलिल छ काठमाडौं सभापति, केन्द्रिय सदस्य, महामन्त्री, उपसभापति भइसकेपछि अब त प्रकाशमान सिंह सभापति बन्नुपर्छ ।

अर्को गुट छ शेखर कोइरालाको तर यो गुटमा शेखरभन्दा बाहेक को–को छन् भन्ने कुरा अहिलेसम्म सार्वजनिक त भएको छैन तर अहिले देशभरका कांग्रेस कार्यकर्ताको सामाजिक सञ्जाल र सार्वजनिक भाषण सुन्दा शेखर कोइरालाको विकल्प छैन भन्ने आवाज जबरजस्त रूपमा आइरहेको छ ।

जसले शेखरलाई मिडियादेखि बुद्धिजीवी, पुराना कांग्रेसी, अहिलेका युवा पुस्तासम्मले कांग्रेसको सभापतिको विकल्प देखिरहेको कुरा बताउन थालेका छन् । यो गुटले पनि कांग्रेस सभापति जसरी पनि शेखर कोइरालालाई बनाउने भन्दै बलियो तयारी गरेको छ र सभापतिमा अन्यलाई नस्वीकार्ने बताइसकेको छ ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको अर्को गुट छ, जसले अघिल्लो महाधिवेशनमा पनि पदाधिकारीमा प्यानल नै उम्मेदवारी दिएर आफ्नो उपस्थितिलाई देखाइसकेको छ ।

यो गुटमा केही नाम चलेका युवा नेता पनि देखिएका छन् । तर अबको महाधिवेशनमा तिनले सिटौलालाई साथ दिन्छन् कि दिन्नन् अहिले यसै भन्न नसकिने अवस्था छ । त्यसकारण सिटौला गुट अबको महाधिवेशनसम्म रहन्छ कि रहँदैन र यो गुटले आफैं लड्छ वा अरुलाई सहयोग गर्छ भन्ने अहिले नै यकिन भन्न सकिने अवस्था छैन ।

व्यक्तित्वको दम्भ

अहिले नेपाली कांग्रेसमा एकले अर्काको व्यक्तित्वलाई नस्वीकार्ने र दम्भ देखाउने गरेका छन् । शेरबहादुर देउवालाई आफू ४ पटक प्रधानमन्त्री भइसकेको, चौथो पटकमै भए पनि सिंगो कांग्रेसको सभापति भएको, गिरिजाप्रसाद कोइरालासँग टक्कर लिएको कारण बाँकी सबैका अगाडि म सबैभन्दा अब्बल हुँ भन्ने दम्भ भएको देखिन्छ ।

रामचन्द्र पौडेलमा जे भए पनि शेरबहादुर देउवाभन्दा अगाडि नै पार्टीको राजनीतिमा आएको, सबै जनाले सादगी नेता भनेर मानेको, पटक–पटक अवसर आउँदा त्याग गरेको, कहीँकतै अहिलेसम्म खासै दाग नलागेको, वैचारिक बहसमा वर्तमान सभापतिभन्दा निकै अगाडि रहेको कारण आफ्नो चाहना पनि एक पटक मात्रै सभापति बन्ने रहेको, आफू अब्बल रहेको दम्भ देखिन्छ ।

शशांक कोइरालामा महामन्त्रीमा जितेको, खासै विवादमा नपरेको, कोइराला परिवारको अनि त्यसमाथि बीपीको छोरा भएको कारणले पनि अबको सभापतिमा सहजै जित्न सक्ने उम्मेदवार म नै हुँ भन्ने दम्भ देखिन्छ । प्रकाशमान सिंहमा पनि गणेशमान पुत्र भएको तर पनि क्षमता देखेर नै सुशील कोइरालाले महामन्त्री र गिरिजाबाबुले संसदीय दलको उपनेता बनाएको, संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेको भन्ने दम्भ उनमा देखिन्छ ।

शेखर कोइरालामा सबैभन्दा बढी जिल्ला दौडाहा गरेको, गत महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको, अहिलेसम्म सांसदबाहेक अन्य कुनै राजनीतिक पद नलिएको, अत्याधिक कार्यकर्ताले रुचाएको, अन्यभन्दा वैचारिक क्षमता अब्बल भएको, शहीद परिवारका सदस्य, अपाङ्गता भएका व्यक्ति र मजदुर सबैले अबको सभापति शेखर नै बन्नुपर्छ भनेको, बुद्धिजीवीले पनि अन्तर्वार्ता र लेखहरूमा निरन्तर अबको सभापति शेखर भएमा कांग्रेसको साख फेरि पनि पुरानै अवस्थामा फर्कन सक्छ भनेर आफ्नो अभिव्यक्ति दिइरहेको, कतिपय नाम चलेका युवा पुस्ताका नेताले पनि शेखर सभापति भएमा आफ्नो पनि पालो अब पदाधिकारीमा आउने थियो भनेर आन्तरिक रूपमा उनैलाई सभापति उठाउने तयारी गरिरहेको, शान्ति प्रक्रियाको काममा गिरिजाबाबुले गरेको परीक्षणमा आफू सफल भएको भन्ने दम्भ शेखर कोइरालामा देखिन्छ ।

सत्तालिप्सा

कांग्रेस सभापति शेरबहादुर देउवामा सत्तालिप्सा अलि बढी नै देखिएको छ । जसको कारण पनि कांग्रेसलाई जनताले हेर्ने नजर पहिलाभन्दा अहिले नराम्रो देखिँदै गएको छ । जहिले पनि सत्ताको अनि वर्तमान सरकारको गलत कामको विरोध गरिन्छ, तत्कालै प्रधानमन्त्री ओलीले सभापति देउवालाई बोलाएर वा आफ्नो दूत भेट्न पठाएर भए पनि कहीँकतै नियुक्तिमा भाग दिउँला भनेपछि देउवा लोभिने गरेको कारण पनि कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन । यही कारणले कांग्रेस अहिले जनताको प्यारो बन्न सकिरहेको छैन र बिस्तारै उसले जनविश्वास गुमाइरहेको छ । यसै कारणले पनि कांग्रेस पहिलाभन्दा कमजोर बनिरहेको छ ।  

एजेण्डामा सम्झौता र भ्रम

कांग्रेसको आफ्नो एजेण्डामा दरिलो गरी टिक्न सकिरहेको छैन । सबैभन्दा पहिला गणतन्त्र कांग्रेसको आफ्नो एजेण्डा नै थिएन । जब उसले लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्ने नीति लियो तर त्यसलाई उसले आफ्नो एजेण्डाभन्दा पनि कम्युनिस्टको एजेण्डामा लतारिएको जस्तो व्यवहार देखायो । यदि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको लागि नायकको भूमिका ननिभाएका भए तत्कालीन राजा ज्ञानेन्द्र शाह सायद आज पर्यन्त पनि राजगद्दीको सिंहासनमा रहिरहेका हुन्थे । वास्तवमा धर्मनिरपेक्षता कांग्रेसको एजेण्डा नै थिएन बरु कांग्रेस त धार्मिक स्वतन्त्रताको पक्षपाती थियो । तर कांग्रेसले धर्मनिरपेक्षतामा सही गरेर धर्मविरोधीको एजेण्डामा सम्झौता गर्‍यो । जसको कारण कांग्रेसलाई एजेण्डाविहीन पार्टी भनेर प्रचार गर्न सजिलो बनाइदियो ।

गत स्थानीय चुनावमा तत्कालीन माओवादीसँग चुनावी तालमेल गर्ने नाटक गरेर कांग्रेसका कार्यकर्तालाई नारा लगाउन लगाइयो ‘नेपाली कांग्रेस जिन्दावाद, भोट केमा हँसिया हतौडामा’ । जबकि माओवादीको सशस्त्र विद्रोहको एक मात्र उद्देश्य थियो नेपाली कांग्रेसका कार्यकर्तालाई आतंकित बनाएर हुन्छ कि हत्या गरेर हुन्छ गाउँगाउँ अनि शहर–शहरबाट कांग्रेस निमिट्यान्न पार्नुपर्छ भन्ने तर शेरबहादुर देउवाले कांग्रेसको संगठन बलियो भएको भरतपुरमा माओवादीकी रेणु दाहाललाई मेयर जिताउन आफैं स्वयं उपस्थित भएर भाषण गरेको कुरा कांग्रेसको इतिहासमा कहिल्यै पनि नमेटिने कालो दाग रहेको छ ।

लगत्तै आएको संसदीय निर्वाचनमा पनि त्यसै गरि पञ्चायत कालदेखि नै काँग्रेसलाई दुःख दिने राप्रपा अध्यक्ष कमल थापासँग सम्झौता गरि राप्रपालाई भोट् दिन लगाएर काँग्रेसको मन चुँडाउने काम गरियो जसले काँग्रेस आफ्नो एजेण्डामा बस्नै सक्दैन र जस्तोमा पनि सम्झौता गरिहाल्छ भन्ने देखायो ।

विना पद हुँदैन काम

विक्रम संवत् २०४६ पछि २०५९ सालसम्म नेपाली कांग्रेस अधिकांश समय सत्तामा थियो ।

जब २०५९ सालमा तत्कालीनप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी फुटाएर प्रजातन्त्रलाई नै कमजोर बनाए त्यसबाट कांग्रेसको अधोगति वास्तविक रूपमै शुरू भएको हो । उक्त समयमा शेरबहादुर देउवालाई पार्टीभन्दा पनि प्रधानमन्त्रीको पद नै प्यारो भयो र आफ्नो पदलोलुपतालाई स्पष्ट प्रदर्शन गर्दै कांग्रेस पार्टीलाई औपचारिक रूपमा नै २ चिरा बनाए र नेपाली कांग्रेस सोही दिनदेखि नै इतिहासकै कमजोर अवस्थामा पुग्यो ।

त्यतिबेला पार्टीबाट प्रधानमन्त्री बनाइसकेको व्यक्तिलाई जसरी पनि राजनितिक भूमिकामा कमजोर बनाउनुपर्छ तब मात्र आफ्नो अभिष्ट पुरा हुनेछ भन्ने जसरी तत्कालीन महामन्त्री सुशील कोइरालाले भूमिका खेल्न थाले अनि चुलियो आपसी टकराब र पार्टी फुट्यो ।

कार्यकर्तासँग भावनात्मक सम्बन्ध टाढा

अहिले नेपाली कांग्रेसमा नेता र कार्यकर्ताको दूरी असाध्यै बढेको छ । अब यो खाडल बढ्दै गयो भने नेपाली कांग्रेसलाई त्योभन्दा महंगो अन्य केही हुने छैन । किनकि राजनीतिक दल भनेको विना कार्यकर्ता चल्नै सक्दैन ।

जति पनि अहिले सभापति र पदाधिकारी पदका आकांक्षी छन्, तिनको स्वभाव अनि चरित्र राजर्षि ठाँटको भएका कारण पनि कार्यकर्ताको पहुँचबाट ती नेता बिस्तारै अब टाढा–टाढा हुँदै गएको अधिकांश कार्यकर्ताले महसूस गर्न थालेका छन् । त्यसै कारण पनि गत निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्ष हुने निर्वाचनमा शर्मनाक हार व्यहोर्नुपरेको हो ।

समानुपातिक निर्वाचनमा कांग्रेसले पाएको मत खासै घटेको देखिन्न । तर पनि नेताहरूमा यो चेत आएको देखिन्न । जसले गर्दा आउने निर्वाचन पनि कांग्रेसको लागि महंगो नै साबित हुने देखिन्छ । न कार्यकर्तासँग नजिक हुन गाउँमुखी कार्यक्रम ल्याउन सकेको छ, न त कार्यकर्ता प्रशिक्षणको कार्यक्रम नै । यसले कांग्रेसलाई अत्यन्तै कमजोर बनाएको छ ।

त्यसकारण आगामी महाधिवेशनबाट कांग्रेसका कार्यकर्ताले एकदमै विचार पुर्‍याएर नेतृत्व नछान्ने हो भने कांग्रेस अझै कमजोर हुने निश्चित छ ।

अबको १० वर्षपछिसम्मको सबल र सक्षम कांग्रेसको खाका स्पष्ट कोर्न सक्ने, गुट/उपगुटभन्दा सिंगो कांग्रेसमा रमाउन सक्ने, व्यक्तित्वको दम्भलाई त्याग र तिलाञ्जली दिने, पदलोलुपता र सत्तालिप्सा कत्ति पनि नदेखाउने, आफ्नो सु–स्पष्ट भिजन र मिसन सफा भएको जसमा कसैसँग सम्झौता गरेर नलातिरिने, कांग्रेसको विषयमा कसैले भ्रम छर्छ भने त्यसलाई तुरुन्तै चिर्दै जन–जनमा विश्वास जगाउन सक्ने, विना पद पनि आफ्नो कौशलता देखाउने र नेतृत्व लिन सक्ने र कार्यकर्ताको भावनालाई सदैव शिरोपर गरेर हिँड्न सक्ने, मिडियामैत्री, सबैको भावनालाई उच्च सम्मान दिन सक्ने, क्रियाशिलता, लगनशिलता र योगदानलाई बुझ्न सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउन सक्नुपर्छ । होइन भने फेरि पनि आएको यो मौका इतिहासले कांग्रेसलाई कदापी दिने छैन ।

कम्तिमा यति कुरामा कांग्रेसका कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले विचार पुर्‍याउने हो भने फेरि पनि कांग्रेसलाई नेपालको पहिलो र ठूलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन । 

(लेखक कोइराला नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिकासचिव हुन् ।)

कमेन्ट गर्नुहोस्