राम नामको आवरणमा लोकतन्त्रमाथि ढोंगी सत्ताको धावा !

राजनीतिक वृत्तमा अक्सर सुनिने नारा हो – अब हामी देशलाई ‘रामराज्य बनाउँछौं’ । रामराज्य एउटा कोरा कल्पना हो ।

अझ आफूलाई मार्क्सका १६ क्यारेटका पक्का अनुयायी हौं भन्ने नेपाली कम्युनिस्टबाट रामनाम नसुनिनुपर्ने । तर त्यस्तो गजबको नसिब हामी नेपालीलाई कहाँ मिल्थ्यो ?


Advertisement

एकातिर अस्पतालहरू सामान्य पूर्वाधार नभएर कोरोनामा डबल आपत झेलिरहेका छन् भने अर्कातिर डबल छाप शासक मन्दिरका नाममा बजेट बाँडिरहेका छन् । देशको सम्पूर्ण क्षेत्र अवैज्ञानिक र अनुपयुक्त लकडाउनले थला परेका छन् । तर यसबारे सरकार बेखबर लाग्छ । 

कोरोनाले ल्याएको विभिन्न वास्तविक यथार्थलाई नजरअन्दाज गर्दै र आफ्ना तमाम कर्तुतलाई छुपाउन पनि सरकारले रामकै आवरण प्रयोग गरेको छ । हिन्दू धर्म–परम्परा अनुसार जाने हो भने रामका राम्रा काम थाहा पाइन्छ तर अपराध, भ्रष्टाचार र बेथितिमा अनेक रेकर्ड बनाइरहेको सत्ता रामराम भन्दैछ ।


Advertisement

अहिले रामराम जपिरहेको सरकारको स्मरणशक्ति कस्तो छ त्यो त थाहा भएन तर होलीवाइनको राजनीति देखेका जनताको ‘आईक्यू पावर’ धेरै छ । संस्कृति र सम्पदा नै मास्न कस्तो गूठी विधेयक तयार गरिएको थियो र कुन गुप्त शैलीमा त्यसलाई पास गर्न सरकार लागिपरेको थियो, सब जनताले याद राखेका छन् । 

किसानलाई मलको पनि प्रबन्ध गर्न नसकेर यसका मन्त्री हेभी मेटल संगीतमा बरालिएका छन् । एक और झूट भुनाउन ठेकेदारलाई कारवाहीको स्वाङ गरिँदैछ । बंगलादेशबाट मल ल्याउने भनिन्छ तर कसरी ? प्रस्ट उत्तर छैन । उखानटुक्का छन् । तर खेतबारीमा हाल्न मिल्दैन ।

भ्रष्टाचारको पोल खुल्दै गएपछि र १–१ बेथिति र अराजकताको चिठ्ठा खुल्दै गएपछि अनि जनताका वास्तविक समस्या सम्बोधन गर्न नसके, उखानटुक्काले नभ्याएपछि मात्र नयाँ छलका रूपमा राम र नक्सा आएको हामी सबैलाई स्पष्ट छ । प्रदीप गिरिले भने जस्तै अतिक्रमित जग्गा नल्याउने सेटिङलाई पूरा गर्न नक्सा हल्ला गरिएको हो । ठोरीका रामबारे त अहिले हल्ला करीब–करीब गुमनाम भएको छ । कोभिड–१९ का नाममा गरिएका भ्रष्टाचारको विषयलाई लुकाउन, मन्दिर बनाउने नाममा बजेट नाटक मञ्चन भएको छ । 

होलीवाइनको प्यालामा देशको मानसम्मान बन्धक राख्न पनि पछि नपर्ने भूइँफुट्टाले देशको संस्कृति संरक्षण गर्छ भन्ने पत्यार कुनै नेपालीलाई छैन । अहिलेको विपत्तिको समयमा पनि कमिशन मिलाउन मात्र सक्रिय बन्ने नोकरशाही र तिनका पिठमा धाप लगाउने शासक भएको देशमा न राम हुन्छन्, न राज्य बन्छ । ‘आफ्ना भए सब झूट, गरीब र असहाय भए कुटैकुट’ हुने कानूनी व्यवस्थामा राजनीतिक आपराधिकीकरण र बेथिति मात्र हुन्छ, जुन अहिले नेपालमा जारी छ । 

रामायणमा विभिन्न शीर्षकमा काण्ड छन् । यता सरकार बनेपछि काण्डै–काण्डका महाभारत बनेका छन् – वाइडबडी काण्ड, यति काण्ड, सुन काण्ड, ओम्नी काण्ड, बालुवाटार जग्गा काण्ड, प्रिन्टिङ प्रेस काण्ड आदि इत्यादि । यी सब काण्ड छुपाउने पछिल्लो काण्ड चाहिँ राम काण्ड र नक्सा काण्ड हुन् ।

सत्तामा आसिन हुनुपूर्व प्रतिपक्षी नेताका रूपमा अहिलेका प्रधानमन्त्रीले प्राकृतिक विपत्ति वा दुर्घटनालाई पनि सरकारसँग जोडेर व्यंग्य कस्थे । तर सत्य र दुःखद तथ्य यो हो कि आजको सरकार विगतका सरकारभन्दा बढी अराजकता, बेथिति र भ्रष्टाचारमा लीन छ । उदाहरणमा माथि उल्लेखित काण्ड हुन्, जसमा अर्बभन्दा बढीका घोटाला भएको मानिन्छ । हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएर राज्यले नागरिक मारिरहेको शासनकालमा अर्बौं घोटाला गर्ने भनि नाम चलेकाहरू निर्वाध र निसंकोच बालुवाटार आउजाउ गर्छन् । अपराध र गुण्डाराजको प्रक्रिया ‘दिन दुई गुना, रात चौगुना’ बढेको छ । अपराधी १ हप्ताभित्र पक्राउ गरिने घोषणा नै गर्ने उपप्रधानमन्त्रीले आजसम्म निर्मलालाई न्याय दिलाउन सक्नुभएको छैन । रेल, समृद्धि र विकास शब्द भ्रष्टाचार गर्ने सबैभन्दा काइदाका उपकरण रहेछन् भन्ने पनि अहिले नै देखियो । उदाहरण, रेलमार्ग नाममा छरपस्ट हालैका घोटाला खबर । कुन पुसमा देशका नागरिक रेल चढ्छन् ? त्यो त पशुपतिनाथलाई मात्र थाहा होला । तर सार्वजनिक रूपमा गालीगलौजमा उत्रिएका मान्छे भने रेल विभागको डिब्बा चढिसके । अब नेपालमा रेल आउन कसैले रोक्न सक्ने छैनन् । 

कोरोनाको महाब्याधिमा पनि भ्रष्टाचाररूपी अपराध निर्वाध चलिरहेको छ, स्वास्थ्य सामग्री खरिदका नाममा होस् वा विदेशमा अलपत्र नेपाली फिर्ता ल्याउने बहानामा ! यी सबमा गरिएका हेराफेरी सार्वजनिक रूपमा नै उजागर भइसकेका छन् । हाम्रो लोकतान्त्रिक व्यवस्थाको यो अलग विडम्बना हो कि यस्ता राज्य लुट चलिरहँदा पनि प्रमुख प्रतिपक्ष दल मानचित्रबाट गायब छ । एकाधलाई छाडेर भन्ने हो भने आजको दिनमा प्रतिपक्षको भूमिका केही आलोचनात्मक चेत भएको जमात र मिडियाले गरेका छन् । जनताका लागि त ‘इनफ इज इनफ’का अभियन्ताहरू नै उनका पक्षका हुन् । अहिले समस्या र अनेक अन्योलता देशसामु छन् । 

तर यावत् प्रश्नको अहिले एकै उत्तर उत्पादन गर्नमा सत्ता लागिपरेको छ । कोरोना हाच्छ्यूले भाग्छ, न भागे बेसारले जान्छ ! नभए हामीसँग राम छन्, राम नाम सत्य हो भन्ने र अर्को उत्तर डोज छ राष्ट्रवाद । यो यस्तो अचुक बुटि हो, जसमा सबै प्रश्नको, समस्याको, आजको आवश्यकताको इलाज छ । यावत षड्यन्त्रको मूल पक्ष कतै राम नाममा गुप्त त छैन ?

अतिक्रमित भूमिलाई देखाएर जुन राष्ट्रवदको बिगुल फुकिराखिएको छ, यसमा लोकतन्त्र नै मास्ने धुनी पनि हुन सक्छ । लोकतन्त्रलाई अपाहिज बनाउने अनेक प्रक्रियाको पहिलो चरणका केही झलक अहिले देखिँदैछन् । लोकतान्त्रिक व्यवस्था काट्न सबैभन्दा पहिले गरिने अपराध हो, संस्था भंग वा कमजोर पार्ने ।  संस्थाको छवि निकम्मा बनाउन त्यस्तै पात्र छनोट गरिन्छ । अहिले यहाँ यो प्रक्रिया शुरू भइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यो शुरू भइसकेको भान हुन्छ । रेल विभाग र कुलमान नदोहोरिनुको कारण पनि । सरकारी नियुक्तिमा छानिएका केही पात्रले पनि यो शंकामा बल थपेका छन् । जस्तो युवराज खतिवडालाई सल्लाकारमा नियुक्ति । यो कार्यशैली हेर्दा यो प्रक्रियामा अब बिस्तारै राज्यका अन्य संयन्त्र पनि पर्दै जाने देखिन्छ । 

नक्सा राष्ट्रवाद निकै उछालेको यो ढोंगी सत्ताले सो सम्बन्धी पुस्तक चाहिँ लुकाएर बसेको छ । एउटा सत्याग्रही गोविन्द केसीप्रति जुन उपेक्षा र क्रुरता शासकले देखाइरहेको छ, यसले प्रस्ट भएको छ कि यो सत्ता कुन मानसिकताले ग्रसित छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल यसअघि यति निरिह अवस्थामा कहिल्यै थिएन । झूट फैलाउन माहिर अहिलेको सरकारले लाख कोसिस गरे पनि सत्य बाहिर आइसकेको छ । किसानलाई मलको पनि प्रबन्ध गर्न नसकेर यसका मन्त्री हेभी मेटल संगीतमा बरालिएका छन् । एक और झूट भुनाउन ठेकेदारलाई कारवाहीको स्वाङ गरिँदैछ । बंगलादेशबाट मल ल्याउने भनिन्छ तर कसरी ? प्रस्ट उत्तर छैन । उखानटुक्का छन् । तर खेतबारीमा हाल्न मिल्दैन ।

यसैले छिमेकी देश भारतसँग आफ्नो व्यक्तिगत कुण्ठा पोख्न परम्परागत सम्बन्ध नै मास्ने खेलको कडी पनि लोकतन्त्रसितै जोडिन्छ । भारत सधै नेपालको लोकतन्त्रका लागि उभिएको मित्र हो । तर जब लोकतन्त्र नै मास्ने डिजाइन बनाउनु छ भने त उसलाई बाहिर गर्नु बेस । यसमा अर्को तार एमसीसीबारे गरिएका अनेक बखेडाबाट पनि हेर्न सकिन्छ । अमेरिका पनि लोकतान्त्रिक देश हो र विश्वभर लोकतन्त्रको वकालत गर्छ । बुझि नसक्ने मनसाय त तब देखिन्छ, जब अर्का छिमेकी राष्ट्रले बारबार समान सम्बन्धमा जोड गर्दा पनि किन अहिलेको सरकार एकांकी अन्तर्राष्ट्रिय सम्बन्धतिर अग्रसर भइराखेको छ ?

यी सबै घटनाक्रमले सरकार कतै तानाशाही व्यवस्थातिर त जाँदै छैन भन्ने शंकामा बल पुगेको छ । सरकारलाई सचेत गर्न नसक्ने प्रतिपक्ष हुनु भनेको लोकतन्त्र नै मासिने खतरा बढ्नु हुन्छ हाम्रो जस्तो अस्थिर लोकतान्त्रिक व्यवस्थामा । संख्याले भन्दा पनि दलका नेताको नैतिकताको प्रश्नले यतिखेर प्रतिपक्ष पनि सरकार जस्तै देखिएको छ ।

यसले गर्दा जनता पनि खुलेर प्रतिपक्षको समर्थन गरिरहेका छैनन् । सशक्त प्रतिपक्षले नै गलत मनसाय भएको सरकारलाई चुनौती दिन सक्छ । लोकतन्त्र कमजोर बनाउन गरिएका यस्ता गतिविधि तुरुन्तै रोकिनुपर्छ । लोकतन्त्रमाथि नै धावा बोलियो भने जनता सडकमा आउनेछन् र आए भने हटाएर मात्र जानेछन् । 

नक्सा राष्ट्रवाद निकै उछालेको यो ढोंगी सत्ताले सो सम्बन्धी पुस्तक चाहिँ लुकाएर बसेको छ । एउटा सत्याग्रही गोविन्द केसीप्रति जुन उपेक्षा र क्रुरता शासकले देखाइरहेको छ, यसले प्रस्ट भएको छ कि यो सत्ता कुन मानसिकताले ग्रसित छ ।

त्यसैले रामको आवरणमा यतिखेर देशमा के–के चलिरहेको छ, जनतालाई सबै खबर छ । बरु देशको वास्तविक परिस्थिति थाहा नपाएर कुकर्मतिर बरालिरहेको सत्तालाई तिनै रामले सद्बुद्धि दिउन् । जय सीयाराम !
 

दीपक शर्मा
दीपक शर्मा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्