बलराम र लक्ष्मीको मायाको छहारीमा फक्रिँदै बेसहाराको ‘सहारा घर’

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

लहरै ओछ्याइएको बेडमा पल्टेका बिरामीलाई औषधि सहितको सलाइन पानी चढाइरहेको दृश्यले लाग्छ, अस्पताल हो । नजिकै गहिरो ध्यान मुद्रामा बसेकालाई हेर्दा लाग्छ, आध्यात्मिक ध्यान केन्द्र हो ।

छेउमा हुँदै गरेको संगीत साधना र भाषण अभ्यासले कुनै प्रशिक्षण केन्द्रको आभास गराउँछ । बिहान १० बजेको थियो । सबैजना खानाको लागि अनुशासनपूर्वक लाइनमा बसे । लाग्छ, कुनै धार्मिक समारोहमा आयोजित भोजनको समय हो ।


Advertisement

तर होइन, आफ्नै अनुशासनको डोरीले बाँधिएको तर विभिन्न दृश्यले भरिएको त्यो न कुनै अस्पताल हो, न कुनै ध्यान केन्द्र र प्रशिक्षण केन्द्र नै । यो दृश्य त मनकारी जोडी बलबहादुर विष्ट र लक्ष्मी पौडेलले सञ्चालन गरेको सहारा घरको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा सञ्चालित ‘सहारा घर’ सडकमा भेटिएका असहाय मानसिक रोगीको आश्रयस्थल हो । जहाँ हरेक दिनको ४ बजेको बिहानी नित्यकर्मसँगै गतिविधि शुरू हुन्छ ।


Advertisement

सहारा घरमा ४ कोठे पक्की घर छ । छेउमै जस्ता पाताले छाएको टहरो छ । वरिपरि ४ कठ्ठा फराकिलो जमिनमा तारबारले घेरिएको छ । यही दुनियाँ मानसिक स्वास्थ्य समस्याले बेघर तथा सहाराविहीनको सहारा घर हो । जुन बलराम र लक्ष्मीको माया र ममताको छहारीमा फक्रिरहेको छ । सहारा घरमा हाल ९४ जनाले आश्रय पाइरहेका छन् । जसमध्ये १२ जना टुहुरा बालबालिका छन् ।

सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले बलबहादुर विष्ट दम्पतीले २०७० सालदेखि सहारा घर सञ्चालन गरिरहेका छन् । शुरूआती अवस्थामा परिवार र समाजको छिःछिः दुरदुरको अवस्थासँग जुध्दै हाल उनीहरूको परिवार समाजमा प्रेरणाको स्रोत बन्न पुगेको छ ।

पहिले छिःछिः दुरदुर, अहिले सम्मान

सडकमा भौतारिँदै फोहोरमा सुत्ने र सडेगलेको खाने अवस्थामा रहेकाहरूलाई सहारा घरको ओत दिन पाएकोमा सञ्चालक विष्ट सन्तोष मान्छन् । उनी भन्छन्, ‘सडक–मानव हुँदा हिजोसम्म उनीहरूलाई सबैले पागल भन्थे र छिःछिः दूरदूर गर्थे, आज उनीहरूको जिउने शैली फेरिएको छ । यो मेरो लागि आनन्दको कुरा हो ।’

परिवार र समाजले पनि आजभोलि विष्ट दम्पतीलाई आदर भावले हेर्दै आएको छ । लक्ष्मी भन्छिन्, ‘शुरूका दिन त निकै कहालिलाग्दा थिए । निकै मुस्किल थियो । तर आजभोलि पहिलेको भन्दा सहज भएको छ । परिवार र समाजले घृणाको दृष्टिले हेर्थे, आजभोलि सम्मान भावले हेर्छन् ।’

विष्टले पेशागत र रहरको काम गर्ने क्रममा विभिन्न समयमा विविध क्षेत्रको अनुभव बटुलेका छन् । लामो समय पत्रकारिता, कलाकार, खेलाडी, स्वास्थ्यकर्मीसम्मको भूमिकामा काम गरेर सन्तुष्टि पाउन नसकेको उनी सुनाउँछन् । ‘अहिले बेसहाराको सेवामा समर्पित हुँदा भने असाध्यै आनन्दित महसूस भइरहेको छ,’ उनी भन्छन् ।

बिचल्लीमा परेका, मानसिक रोगी लगायतलाई सहाराको हात दिएका विष्ट कुनै बेला आफू पनि मानसिक स्वास्थ्य समस्यामा परेका थिए । उनी डिप्रेसनको बिरामी भएका थिए । तर समयमै परिवारको हेरचाह र प्रेम पाएर उनी त्यसबाट पार पाउन सफल भए । ‘परिवारको माया नपाएको भए म पनि सडकमा निस्किन्थें होला,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा सबैभन्दा राम्रो उपचार नै माया–प्रेम हुँदो रहेछ ।’

डिप्रेसनलाई जितेपछि उनी सबै रहरका काम छाडेर स्वास्थ्य क्षेत्रमा केन्द्रित भए । फार्मेसी पढेका उनी कैलालीको बौनिया बजारमा क्लिनिक खोलेर बसे ।

२०७० सालमा उनले सडक जीवन बिताउँदै आएका एक मानसिक रोगी वृद्धलाई देखे, जसको खुट्टाभरि घाउ थियो र घाउमा कीरा परेको थियो । वृद्धलाई सडकबाट क्लिनिकमा ल्याएर उपचार गरेपछि त्यही ठाउँमा पुर्‍याएर छाडिदिए । तर उनलाई त्यो रातभरि निद्रा लागेन । बिहानै उठेर ती वृद्धलाई खोजेर घरमै ल्याएर राखे ।

विष्टले त्यसको केही दिनपछि कैलालीको लम्की सडकबाट मानसिक सन्तुलन गुमाएका एक युवकलाई पनि घरमा ल्याए । बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–८ का ३५ वर्षीय महेश कुँवर घरायसी तनावका कारण मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिँदै कैयौ दिनको यात्रापछि लम्की पुगेका थिए । 

समय बित्दै जाँदा उनले घरमै आश्रय दिएर राख्नेको संख्या बढ्दै गयो । त्यसपछि छिमेकीबाट नराम्रो टीका–टिप्पणी सुन्नेदेखि घरमा ठाउँ साँघुरो भएपछि छुट्टै ठाउँ खोज्न बाध्य भएको उनी बताउँछन् । 

२०७२ सालमा सहारा घर नामको संस्था दर्ता गरे । त्यसपछि विभिन्न सहयोगी र दाताको सहयोगमा २०७४ मंसिरमा टहरो निर्माण गरेर मानसिक रोगीलाई राख्न थाले । सहारा घरमा बिरामीलाई उचित सुविधासहित राख्नुका साथै उपचार पनि गरिन्छ । उनीहरूको उपचारमा विष्टलाई हेल्थ असिस्टेन्ट (एचए) लक्ष्मी सघाउँछिन् ।

यहाँ बस्ने हरेक व्यक्तिको आफ्नै विगत र छुट्टै कथा छ । तर सडकमा अलपत्र अवस्थामा भेटिएका उनीहरू आफ्नो नामबारे नै बेखबर छन् । तर सहारा घरमा आएपछि सबैले बस्ने छानासँगै नाम पनि पाएका छन् । उनीहरूको स्वभाव, हाउभाउ आदि हेरेर नाम राख्ने गरिएको छ । शान्त स्वभाव भएकालाई शान्ति, संस्थामा आएपछि छिटो निको भएकालाई आशाराम, मुस्काइरहनेलाई मुस्कान जस्ता नामले सम्बोधन गरिन्छ । 

समाजले पागल भनेर परिचय नै गुमनाम बनाइदिएका व्यक्तिलाई संस्थाले प्रेमको औषधि दिएर प्रेमपूर्वक नै नाम दिएको विष्ट बताउँछन् । 

उनका अनुसार उद्धारको काम शुरू गरेयता सहारा घरको हेरचाह र माया पाएर ८८ जना निको भई पूर्ववत् सामान्य अवस्थामा फर्किएर परिवारसँग पुनर्मिलन भएका छन् । जसमध्ये केही व्यक्ति संस्थामै सेवारत छन् । 

पुनर्जीवनपछि संस्थामै समर्पित

मानसिक तनावका कारण सडक–मानव बन्दै सहारा घरमा पुगेपछि महेश कुँवर पूर्णरूपमा सञ्चो भइसकेका छन् । नयाँ जीवन पाएपछि अहिले संस्थामै आफूजस्तै समस्यामा परेकाहरूको सेवामा जुटिरहेको उनी बताउँछन् । 

सहारा घरको व्यवस्थापकीय इन्चार्ज कुँवर भन्छन्, ‘म माया र स्नेह पाएरै सञ्चो भएको हुँ । अहिले म जस्तै मानसिक सन्तुलन गुमाएर सहाराविहीन भएकाहरूको स्याहारसुसारमा खटिन पाउँदा बडो आनन्द लाग्छ ।’ आफ्नो लागि सहारा घरका सञ्चालक विष्ट भगवान् नै रहेको उनी बताउँछन् । 

कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालीपुरकी सुनिता (शान्ति) पनि मानसिक सन्तुलन गुमाएर सडकको जीवनमा आएकी थिइन् । बौनिया प्रहरीले सहारा घरमा पुर्‍याएपछि सञ्चो भएकी उनी संस्थामा भान्साको काम हेर्छिन् ।  

२ छोरा र २ छोरीकी आमा उनलाई करीब १२ वर्ष अघिदेखि मानसिक रोगले सताएको थियो । निको भएर संस्थामार्फत धेरैलाई सेवाको मल्हम लगाउँदा रमाइरहेकी उनी भन्छिन्, ‘यहाँबाट मेरो माइतीघर नजिकै पर्छ, तर जान मन लाग्दैन ।’

यी २ सहित संस्थाभित्रका ६ जना व्यक्ति निको भएर विभिन्न भूमिकामा सेवा दिइरहेका छन् । जसमध्ये २ जना भान्सामा, १ जना सुरक्षा गार्ड र अन्यले व्यवस्थापनको काम हेर्छन् । बाहिरबाट ६ जना स्वयंसेवक आएर खट्ने गर्छन् । यहाँ बस्नेलाई योग पनि सिकाउने गरिन्छ ।

सहारा घरमा कठिन स्वास्थ्य अवस्थाका बिरामी पनि आइपुग्छन् । आफूले उद्धार र सहयोगको काम शुरू गरेयताको ७ वर्षमा १२ जनाको मृत्यु भएको सञ्चालक विष्ट बताउँछन् । ‘सहारा घर’ भएको ठाउँमा जाने बाटोको राम्रो सुविधा छैन । एम्बुलेन्स सेवा नहुँदा गम्भीर बिरामीलाई अस्पताल पुर्‍याउन कठिन हुने गरेको उनले बताए ।

क्षमताभन्दा बढीलाई सहारा

सहारा घरबारे प्रचारप्रसार बढेसँगै यहाँ बेसहाराहरू ल्याएर राखिदिने क्रम पनि बढेको छ । जसका कारण यहाँको भौतिक संरचनाको क्षमताले थेग्न गाह्रो भएको सञ्चालक विष्ट बताउँछन् । 

व्यक्ति र समुदायले मात्र होइन, सडकका बेसहारालाई सरकारी निकायले पनि ल्याएर जिम्मा लगाउने गरेको छ । जसका कारण संस्थालाई व्यवस्थापन गर्न गाह्रो भएको छ ।

‘सरकारी निकायले यहाँसम्म ल्याइदिन्छन् तर व्यवस्थापन कस्तो छ भनेर कहिल्यै हेर्दैनन्,’ उनी भन्छन्, ‘बेसहाराहरू थपिएका थपियै गर्दा खासगरी सुत्नलाई खाट र ओढ्ने–बिछ्याउनेको अभाव भएको छ । सुत्केरी, बालबालिका, अशक्त वृद्धवृद्धालाई खाटमा र बाँकीलाई भूइँमै सुताउनुपरेको छ ।’

गर्मी मौसममा जसोतसो सुते पनि अब जाडोयाममा कसरी व्यवस्थापन गर्ने भनेर उनलाई चिन्ताले सताएको छ । सहारा दिन खाना खुवाएर मात्र नहुने, उचित सुविधा दिएर आधारभूत आवश्यकता पूरा गर्नुपर्नेमा उनी सजग छन् । 

अहिले सहारा घर सहयोगी दाताबाट जन्मदिन, विवाहको वर्षगाँठ, श्राद्धको अवसरमा प्राप्त हुने सहयोगबाट चल्ने गरेको छ । तर सहयोगले मात्र चल्न गाह्रो परेको भन्दै व्यवस्थापनको काम सरकारले गर्नुपर्ने उनी बताउँछन् । 

‘दानको भरमा संस्था चलाउन सकिँदैन । यदि सरकारले जिम्मा लियो भने म जीवनभर निःशुल्क सेवा गर्न तयार छ,’ विष्ट भन्छन् ।

 


 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्