कसरी गर्ने निजामती सेवाको सुधार ? यी हुन् अनिवार्य शर्त

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

निजामती सेवा व्यावसायिक भएन । निजामती सेवामा विज्ञता भए पनि कार्यसम्पादनमा त्यो देखिएन । भएको विज्ञता र दक्षतालाई प्रणालीले आफ्नो बनाउन सकेन ।

निजामती सेवामा पेशागत व्यावसायिकता नभएकाले परिवर्तनको अपेक्षा पूरा भएन । सेवाग्राहीले प्रभावकारी सेवा पाएनन् । यस्तै आलोचनाबीच निजामती सेवाले काम गर्दै आएको छ । तर वास्तविकता के हो र व्यावसायिकता कसरी विकास गरिन्छ भन्ने विषयमा भने गहन रूपमा कहिल्यै सोचिएन । 


Advertisement

निजामती सेवाको व्यावसायिकता अरु केही नभएर निजामती सेवाका सिद्धान्त र ती सिद्धान्तको कार्यान्वयन गर्ने प्रतिवद्धता हो । निजामती सेवाका सिद्धान्तको व्यावहारिक अभ्यास हो । प्रश्न उठ्न सक्छ, निजामती सेवाको सिद्धान्त चाहिँ के हुन् ? राज्यका तर्फबाट आमनागरिकलाई दिइने सेवाको प्रभावकारी व्यवस्थापन, सेवा वितरणको कार्यकुशलता, कार्यसम्पादनमा सार्वजनिक जीवनका आचरणको अवलम्बन, कार्यालय व्यवहारमा पदीय भूमिका निर्वाह, तथ्यपरक निर्णय, सेवाप्रतिको निष्ठा र निष्पक्षता निजामती सेवाका सिद्धान्त हुन् । नर्थकोट ट्रेभेलियनको प्रतिवेदनमा राजनीतिक रूपमा मूल्यतटस्थ, गैरसैनिक चरित्र, योग्यता प्रणालीमा आधारित वृत्ति अवलम्बन गर्ने विवेकशील प्रणालीलाई नै निजामती सेवा भनी परिभाषा गरिएको थियो । परिभाषाले नै सेवाको सिद्धान्तलाई मार्गदर्शन गरेको छ । यी सिद्धान्त अवलम्बनले संस्थामा मूल्य आदर्श स्थापना हुन्छ, जुन कार्य उपलब्धिको आधार हो ।

सिद्धान्त प्रतिको प्रतिबद्धता किन हो भने सिद्धान्तलाई व्यवहारमा नउतारी त्यसको कुनै महत्त्व रहँदैन । सिद्धान्त प्रतिको प्रतिबद्धताले ज्ञान, सीप र क्षमताको अतिउत्तम प्रयोग गर्न लगाउँछ, कार्य प्रतिको जवाफदेहीता निर्वाह गराउँछ र सुम्पिएको कामको वैधता पुष्टि गर्छ । त्यसैले निजामती सेवामा व्यावसायिकताका लागि सिद्धान्त र मूल्यको अभिमुखीकरण पहिलो शर्त हो भने त्यसलाई कार्यरूप दिने क्षमता विकास सहितको कार्यवातावरण दोस्रो शर्त । सारमा भन्दा निजामती सेवा मूल्यमा आधारित हुनु नै निजामती सेवाको पेशागत व्यावसायिकता हो । 


Advertisement

कनिष्ठ र कमयोग्यलाई जिम्मेवारी दिएर कम जिम्मेवारी पाएका निष्ठाका यात्रीबाट नतिजा खोजिनु हुँदैन, यसले व्यावसायिकतालाई विलुप्त बनाउँदै लान्छ । उच्च ओहोदाका कर्मचारी उदाहरणीयता, प्रवीणता, स्वयं उत्साह र निष्ठाका धरोहर बन्नुपर्छ, प्रणाली रक्षा र आउने पिढीका लागि आदर्श प्रणाली हस्तान्तरण गर्न जस्तै जोखिम लिन पनि सचिव, मुख्यसचिवहरू पछि पर्नु हुन्न ।

प्रशासन सुधार, व्यवस्थापन सुधार, शासकीय सुधार वा अन्य जे भनौं, सबैको केन्द्रविन्दुमा रहने विषय भनेको संस्थागत क्षमता विकासमार्फत नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सेवा वितरण हो । यी कुरा पात्रको क्षमता, उत्प्रेरणा, इमान्दारिता र आचरण जस्ता पक्षबाट प्राप्त गर्न सकिने हो भन्ने गरिन्छ । निष्पक्षता, इमान्दारिता र व्यावसायिकता नै निजामती कर्मचारीका धर्म हुन् । यी ३ पक्षको एकसाथ उपयोग भएमा कमजोर कानून र फितला नीतिले पनि राम्रा उपलब्धि दिन्छ, यी ३ पक्ष कमजोर भएमा राम्रा नीति र कानून पनि कमजोर कार्यान्वयनमा पुगी अर्थहीन हुन पुग्छन् । यी ३ धर्म (गुण) मध्ये २ सम्म व्यवहारमा देखिए पनि खासै आलोचना हुँदैन । तर एक मात्र रहेमा आलोचना हुन शुरू हुन्छ र एक पनि नरहेमा सर्वपक्षीय आलोचना हुन गई निजामती सेवा रक्षात्मक बन्ने गर्दछ । 

अल्पविकसित मुलुकमा यी तीनै पक्षमा कमजोरी देखिँदै आएकाले त्यहाँ प्रणाली सबल नभएको हो अथवा भनौं अविकास भएको हो । त्यसैले त्यहाँ निजामती सेवामाथि प्रश्न ओइरिएका छन् र निजामती सेवा गुमेको पहिचान कायम गर्नुपर्ने चौबाटोमा उभिएको छ । 

कर्मचारीको आचरण कर्म हो र त्यसैले उसलाई कर्मचारी भनिएको हो । कामबाहेक न उसको नाम हुन्छ, न पहिचान नै । कर्मचारीले आफूमाथि ओइरिएका प्रश्न र गरिएको अपेक्षाको जवाफ शब्दबाट होइन, कामबाट दिनुपर्छ । गरेर देखाउने जिम्मेवारीमा नै कर्मचारी रहेको हुन्छ । कर्मचारीका काम पनि २ प्रकारका हुन्छन् । पहिलो करारी काम, जुन स्पष्ट देखिन्छ । नियम, कानून, कार्यविवरण र करारबाट सुम्पिएको हुन्छ । व्यावसायिक कर्मचारीहरू करारी दायित्व पूरा गर्न बाध्यात्मक अवस्थामा रहन्छन् । दोस्रो हो, सांकेतिक काम । जुन कानूनहरूमा देखिँदैन तर आचरणबाट अपेक्षा गरिन्छ । किनकि निजामती कर्मचारी समाजको अब्बल प्रतिभा, पढालेखा, योग्यताबाट परीक्षित र अनुभवबाट खारिएको हुनाले उसको व्यवहार, आनीबानी, शीलसौकत पनि उदाहरणीय भइदिएहुन्थ्यो भन्ने सामाजिक अपेक्षा हुन्छ, संस्थाको अपेक्षा हुन्छ । त्यसो गर्नु उसको नैतिक दायित्व पनि हो ।

राष्ट्रपति विड्रो विल्सनले भनेका थिए, जोकुनै व्यक्ति निजामती कर्मचारी बन्ने हैसियत राख्दैनन्, ती मात्र निजामती कर्मचारी बन्ने हैसियत राख्छन्, उससँग सापेक्षिक क्षमता बढी छ । यसर्थ निजामती सेवाको व्यावसायिकता भनेको कानूनी एवं कार्यक्रमिक दायित्व पूरा गर्ने क्षमता र सामाजिक अपेक्षा पूरा गर्ने स्वभावको समष्टि हो । कानूनी र नैतिक दुवै रूपमा उत्तरदायी कर्मचारी नै व्यावसायिक ठहर्छ । 

निजामती सेवा पदसोपानयुक्त कार्यसंरचनामा रहन्छ । जिम्मेवारी अनुरूप कार्यशृंखला र पदसोपान रहन्छन् । सामान्य मान्यता के छ भने ठूलो जिम्मेवारीमा रहने पदाधिकारी व्यावसायिक आचरणमा रहेमा त्यसको लहरे असर तलतिर झर्दै जान्छ । तलको असर माथितिर पुग्न सक्दैन वा पुगे पनि लामो समय लाग्छ, थोरै प्रभाव पार्छ । त्यसैले निजामती सेवामा पेशागत व्यावसायिकता विकास गर्नुछ भने त्यसको शुरूआत माथिल्ला पदबाट गरिनुपर्छ । हरेक सुधारको प्रवेशविन्दु उच्च तह हो । उच्च पदाधिकारी उदाहरणीय, नियामक र प्रतिनिधित्वको भूमिकामा रहन्छन् । पेशागत जवाफदेहिता, कार्यसम्पादन, जागरुकता लगायत सबै विषयमा उच्च पदसोपानका पदहरू बढी जिम्मेवारीमा छन् । सुधार र राम्रा कुराको थालनी माथिबाट तलतिर सर्दै जान्छ, पानीजस्तै । त्यसैले व्यावसायिकता विकास नेतृत्व तहमा पहिला र त्यपछि क्यास्केडिङ गरिनुपर्छ । तर अल्पविकसित मुलुकमा सुधारमा बोटलनेक हुन्छ, ‘वोटलनेक इज अल्वेज दी भेरी टप अफ दी बोटल’ । 

आफूमा होइन, मातहतमा सुधार खोज्ने बानी विकास गर्छ यस्तो बोटलनेकले । त्यसैले व्यावसायिकता असजिलो भएको हो । युरोप, अमेरिका, जापान, सिंगापुर लगायत सबै विकसित मुलुकले व्यवस्थापन प्रभावकारिताको रणनीति विन्दु उच्च नेतृत्वलाई बनाई संगठन संस्कृति नै व्यावसायिक बनाउँदै ल्याएका हुन् । उच्च तहमा रहेको अनुभव र आर्जित क्षमता सुधार र अग्रसरतामा आत्मविश्वास राख्ने हैसियतमा हुन्छ, हुनुपर्छ । नेपालकै उदाहरण लिने हो भने पनि कुशलशेखर शर्मा, यदुनाथ खनाल, उमेश मैनाली, दामोदर गौतम, विमल कोइराला, भुवनेश्वर खत्री, रामेश्वर खनाल लगायत व्यावासायिक निष्ठाका धरोहरहरूले देखाएको आर्जित स्वायत्तता अहिले पनि प्रणालीभित्र संरक्षित छ । सुसुप्त मात्र भएको हो । अहिले पनि सेवाभित्र व्यावसायिक निष्ठाका आदर्शहरू कार्यस्थलको आझेलमा छन् । यसलाई उपयोग गर्न सके पनि प्रणालीले धेरै सिक्न सक्छ । 

आफूमा होइन, मातहतमा सुधार खोज्ने बानी विकास गर्छ यस्तो बोटलनेकले । त्यसैले व्यावसायिकता असजिलो भएको हो । युरोप, अमेरिका, जापान, सिंगापुर लगायत सबै विकसित मुलुकले व्यवस्थापन प्रभावकारिताको रणनीति विन्दु उच्च नेतृत्वलाई बनाई संगठन संस्कृति नै व्यावसायिक बनाउँदै ल्याएका हुन् ।

तर के भुल्नु हुन्न भने निजामती सेवामा व्यावसायिकता विकासको विषय निरपेक्ष हुँदैन, अन्तरसम्बन्धित हुन्छ । निजामती प्रशासन राजनीतिक कार्यकारीबाट निर्दिष्ट हुन्छ, यसले सेवा दिने वर्ग सर्वसाधारण हो, सेवाग्राही सर्वसाधारणसँग घुलमिल गर्छ, आर्थिक तथा प्राविधिक पक्षबाट प्रभावित हुन्छ । सामाजिक मूल्यसंस्कृतिबाट माथि उठ्न धौधौ मान्छ । यसले कार्यसम्पादन गर्दा वा सुधारका कार्य अघि बढाउँदा अन्य निकायको सम्मति जित्नुपर्छ, अन्य निकायले सहयोग गर्नुपर्छ । सुधारका लागि थुप्रै सकस सहेर अघि बढ्ने साहस गरिरहनुपर्छ । यसको मतलब परोक्ष/प्रत्यक्ष रूपमा अन्य प्रणालीसँगको सापेक्षमा आफूलाई परिमार्जित र व्यावसायिक बनाउनुपर्ने बाध्यात्मक अवस्था उसमा रहन्छ ।

भर्ना छनोटका परीक्षण विधिले व्यक्तिको वृत्ति झुकावलाई ठीक ठम्याउन सक्नुपर्छ । अन्यथा गलत मानिस अनुपयुक्त जिम्मेवारीमा पुगी वृत्ति अवधिभर व्यक्ति र संस्था दुवै प्रताडित हुन्छन्, दुवैका अपेक्षा मिलान हुँदैनन् । यस अवस्थामा वृत्तिप्रति व्यक्तिको र व्यक्तिप्रति संगठनको अपनत्वबोध हुँदैन । उपयुक्त परीक्षण विधिमार्फत उपयुक्त व्यक्ति छानिएपछि तालिम तथा क्षमता विकासका विधिमार्फत व्यक्तिको सीप, क्षमता र केही हदमा स्वभाव परिवर्तन गरिनुपर्छ । कर्मचारीलाई नीति, विधि र प्रविधि अभ्यासको क्षमता विकासमार्फत परिवेशमा अनुकूलित बनाउँदै लाने व्यवहारोपयोगी तालिम चाहिन्छ । गतावधिक सिद्धान्त र कथनहरू तालिमका विषय हुनुहुन्न । सरुवा, बढुवा र वृत्ति–व्यवस्थापनका अन्य विधि प्रयोगमा योग्यता प्रणालीका सिद्धान्तहरू क्रियाशील हुनुपर्दछ, उभय पक्षको कत्ति पनि गुञ्जायस हुनुहुन्न । राजनैतिक कार्यकारीले निजामती सेवाको संरक्षण, दिशाबोध र अभिभावकत्वको भूमिका लिनुपर्छ । निष्ठामा विभाजित र आग्रही देखिनुहुन्न । प्रणालीलाई अनुमानयोग्य बनाइनुपर्छ, ताकि वृत्ति सेवकहरू भविष्यप्रति आश्वस्त हुन सकून् ।

कनिष्ठ र कमयोग्यलाई जिम्मेवारी दिएर कम जिम्मेवारी पाएका निष्ठाका यात्रीबाट नतिजा खोजिनु हुँदैन, यसले व्यावसायिकतालाई विलुप्त बनाउँदै लान्छ । उच्च ओहोदाका कर्मचारी उदाहरणीयता, प्रवीणता, स्वयं उत्साह र निष्ठाका धरोहर बन्नुपर्छ, प्रणाली रक्षा र आउने पिढीका लागि आदर्श प्रणाली हस्तान्तरण गर्न जस्तै जोखिम लिन पनि सचिव, मुख्यसचिवहरू पछि पर्नु हुन्न । यी पदहरू सामान्य जागिरे वृत्तिभन्दा प्रणाली द्योतन र उत्साह सञ्चार गर्ने पदहरू हुन्, । सुधारका प्रवेशविन्दु नै सचिव/मुख्यसचिवहरू हुन् । कार्यव्यवहारबाट सञ्चार गर्न सक्नुपर्छ कि निजामती सेवा राष्ट्रसेवा र वृत्तिसेवा एकसाथ गर्ने अपूर्व अवसर हो । तब मात्र निजामती सेवा साँच्चै व्यावसायिक बन्ने गर्दछ । अन्यथा निजामती सेवामा व्यावसायिकता विकास भन्ने विषय सार्वजनिक उपयोगको गिमिक सिवाय केही हुने छैन ।
(mainaligopi@gmail.com)

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्