पुराना पत्रकार भैरव रिसालको दशैं सम्झना– ९३ वर्षको अवधिमा यसपालिको जस्तो दशैं आएको थाहा छैन !

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

विक्रम संवत् २०१३ सालदेखि पत्रकारिता शुरू गरेका भैरव रिसाल गत साउन २९ गतेबाट ९३ वर्षका लागे ।

नेपालीको औसत उमेरपछि पनि २० वटा वसन्त देखे/भोगेका रिसाल अहिले पनि उत्तिकै सक्रिय छन् । उनको पत्रकारिता बुढो भएको छैन । दशैंका बारेमा कुराकानी गर्न खोज्दा रिसालले युवा जोशका साथ फोन हातमा लिएर प्रश्न सोध्न आग्रह गरे ।


Advertisement

लोकान्तरले उनीसँग फोनमार्फत पुरानो दशैं र नयाँ दशैंको तुलना कसरी गर्न सकिएला भनेर सोधेको थियो ।

प्रस्तुत छ रिसालसँगको कुराकानीको सम्पादित अंश :


Advertisement

यसपालिको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

यसपालिको दशैं लुकुवा दशैं भयो । गोप्य दशैं भयो । अहिलेसम्म यस्तो दशैं आएको मलाई थाहा छैन ।

अन्य दशैं र यो दशैंमा के तात्विक फरकहरू छन् ?

अहिले दशैंको रौनक नै आएको छैन । यो हरेक हिसाबले बिल्कुलै फरक दशैं हो । दशैं भनेपछि जुन किसिमको माहोल हुन्थ्यो नि, त्यो आएको छैन । दशैं भनेपछि व्याख्या गर्न नसकिने, अनुभव गर्न मात्र सकिने हुन्थ्यो । अहिले चाहिँ अनुभव होइन, व्याख्यामा सीमित भएको छ । फोस्रो या फुस्सा भयो ।

सम्झनलायक दशैं कुन हो तपाईंको ?

म केटाकेटी हुँदाको दशैं नै सम्झनलायक थियो । त्यतिबेलाको नेपालको समाजमै पेटभरी मासु खान पाउने अवस्था अत्यन्त कम हुन्थ्यो । दशैंमा मात्र हो पेटभरि मासु खाने । त्यही भएको हुनाले त्यतिबेलाको दशैं उत्तम हुन्थ्यो । दायित्व पनि केही हुँदैनथ्यो । खर्च पर्छ पनि आफूले जुटाउन नपर्ने । मिठो खायो, पिङ खेल्यो । बाल्यकालको दशैं रौनकमय थियो ।

दशैंको महत्त्वपूर्ण पक्ष के हो जस्तो लाग्छ ? धार्मिक कि सामाजिक-सांस्कृतिक ?

दशैंमा धार्मिक पक्ष मिलाउँदा अलि अप्ठेरो र जटिल बन्न जान्छ । धर्मसँग नमिसाउँदा हुन्छ जस्तो लाग्छ मलाई । यद्यपि पूजा-पाठ आदि इत्यादि धर्मसँग गाँसिएको विषय हो । तर पनि यसलाई सांस्कृतिक चाडका रूपमा लिइयो भने बढी न्याय हुन्छ ।

त्यतिबेला रातो अवीर नेपालका धेरै ठाउँहरूमा पाइँदैन थियो । अवीर सर्वसुलभ नभएकैले मान्छेहरूले सेतो अक्षता लगाएर हिंड्ने पनि गर्दथे ।

बाजुरामा एउटा मान्छेले धेरै अघि ऐना लिएर गएको रहेछ । त्यहाँ मान्छेले ऐना नै देख्न नपाएका । उसले ऐना देखाउने रैछ र मान्छेसँग भाडा असुल्ने गर्दो रहेछ । आफ्नो अनुहार कस्तो हुन्छ भने पनि मान्छेले पैसा तिरेर हेर्नुपर्ने खालको समाज थियो त्यतिबेला । मैले भन्न खोजेको, जे उपलब्ध छ त्यही प्रयोग गरेर दशैं मनाउने चलन धेरै पहिलादेखि थियो । त्यसले पनि यसको धार्मिक भन्दा बढी सांस्कृतिक महत्त्व भएको पुष्टि गर्छ ।

दशैंमा किनमेल गर्ने स्वभाव कत्तिको थियो तपाईंको ? अहिले पनि किनमेल गर्दा खुसी लाग्छ ?

दशैंमा खसीको भित्रास भन्छन् नि (कलेजो, फोक्सो, मुटु) त्यो मलाई मन पर्थ्यो । अनि दशैं आउनुभन्दा पहिला मसँग पैसा भयो भने भित्रास चाहिँ मेरो भाग भनेर त्यो पैसा खर्च गर्थें, बालाई दिन्थें । यो १२/१३ देखि १८ वर्षसम्म यस्तो गरें ।

अनि खसी बोका मार हान्नुभयो कि नाई ?

त्यसो गर्न मलाई मजा लाग्दैनथ्यो । अहिले पनि हेर्न सक्दिनँ । तर मासु भने मीठो तरिकाले खाइन्थ्यो ।

दशैंसँग जोडिएको कुनै सम्झना छ तपाईंसँग ? दु:खद या सुखद ?

हाम्रो पालामा नयाँ लुगा लगाउने भनेको दशैंमा थियो । बालीघरे सूचीकारले सबैका लागि लुगा सिएर ल्याउँथे । तर कहिले कहिले सबै लुगा सिउन नभ्याउने । नयाँ लुगा लगाएर मामाघर जानुपर्ने । एक/दुई वर्ष त लुगा नआएकै कारणले मामाघर जान पाइएन । त्यतिबेला दुख लागेको थियो ।

दशैं भनेको हाम्रो गाउँमा काँचो इँटाको घर थियो । कमेरो या रातोमाटोले घर पोत्नुपर्ने । आमा र दिदीबहिनीहरूलाई अति नै दु:ख थियो । कमेरो बोकेर ल्याउनु पर्ने, रातो माटो पनि बोकेर ल्याउनुपर्ने । अनि घर पोत्दा अग्लो, नयाँ खालको बाँसको भर्‍याङ हालेर पोत्नुपर्ने थियो । त्यो विशेष मान्छेले मात्र जान्दथ्यो ।

पिङ कत्तिको खेल्नुभयो ?

म अन्यको तुलनामा पिङ कम खेल्थें । १०/१२ वर्षसम्म अलिकति बढ्ता खेलियो र त्यसपछि कम भयो । पिङ खेल्ने भन्दा पनि पिङ हाल्ने काममा बढ्ता सरिक भएँ म चाहिँ । मेरो नेतृत्वमा गाउँमा पिङ हालिन्थ्यो ।

कसैकहाँ बाँस माग्न जानुपर्ने, कसैकहाँ बाबियो माग्न जानुपर्ने । ४ वटा अग्ला बाँस चाहिन्थ्यो, अनि बाँसको बीचमा एउटा गरालो चाहिन्थ्यो । लठारो अड्किने गरालो चाहिन्थ्यो । खुट्टा टेक्ने काम्रो बनाउनु पर्थ्यो । बाँस काट्ने, धुरी चढ्नु पर्ने । डेन्जर काम थियो त्यो ।

दक्षिणा कतिसम्म बटुल्नु भयो त्यतिबेला ?

मामाको घरमा दक्षिणा २ पैसा आउँथ्यो कि ४ पैसा भनेर हामीले पहिल्यै अड्कल गर्थ्यौं । ५ पैसा दक्षिणा पाउँदा पनि हामी खुसीले उफ्रिन्थ्यौं । घरमा त छोरीले मात्र पाउने चलन थियो ।

नवदुर्गालाई नौ पैसा चढाउने चलन हुन्थ्यो । छोरीहरूलाई पनि त्यही ९ पैसाबाट टाकटुक मिलाउनुहुन्थ्यो । हामीलाईचाहिँ मामाघरबाट दक्षिणा दिइन्थ्यो ।

त्यतिबेला १ पैसाले के आउँथ्यो ?

एक पैसाले १२ टुक्रा सुपारी आउँथ्यो । खानेकुरामा पुष्टकारी, नरिवल, मिश्री, ल्वांग आउँथ्यो । केटाकेटीहरूलाई नरिवल, छोडा र पुष्टकारी भए पुगिहाल्थ्यो नि ।

आएको दक्षिणा केमा खर्च गर्नुहुन्थ्यो ?

दक्षिणा त बा आमालाई राख्न दिइन्थ्यो । अलिअलि खर्च पनि गरिन्थ्यो । त्यतिबेला १५/२० पैसा भनेको त ठूलो थियो नि, अहिलेको हजार/लाख जस्तो ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्