कमरेड अजंगको त्यो फोनले मन लरबराएको बेला...

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

आज जनैपूर्णिमा । विराज सबेरै पशुपति गयो । जनै फेर्‍यो, रक्षाबन्धन बाँध्यो र वाग्मतीमा मन्त्र जपेर घर फर्कियो । 

उसले बच्चा र श्रीमतीलाई पनि रक्षाबन्धन र टीका लिएर आएको छ ।


Advertisement

‘पापा मलाई पहिला, मलाई पहिला’ । ठूलो र सानो बच्चा उछिनापछिन गरिरहेका छन् । 

सानोको जिद्धी ‘म सानो भएकाले मलाई पहिला रक्षाबन्धन’ । 


Advertisement

ठूलोको आग्रह ‘म ठूलो भएकाले मेरो पालो पहिला आउँछ । दशैमा पनि पहिला मलाई टीका लगाएको थाहा छैन’ ? 

दुवै बाबुलाई नाडीमा रंगिन धागो र निधारमा टीका लगाएपछि पालो आयो श्रीमतीको । 

टीका र रक्षाबन्धन के सकिएथ्यो ल्यान्डलाइनमा फोनको घण्टी बज्यो ‘टिनि ... ... न्न’ । 

श्रीमतीलाई चिया नभन्दै विराजले रिसिभर उठायो । 

‘म कमरेड अजंग । तपाई उपसचिव विराज होइन ? तपाईलाई आज हामी लिन आउँदैछौं ।’

विराजको शरीर थर्रर काप्न थाल्यो । बोली लर्बरियो । शब्द अड्किए जस्तो भो ।

‘आज बिदा नै हो । आजै हामी लिन आउँछौं । कुरा जरुरी छ । तर यसको सूचना कसैलाई नदिनु होला । तपाईंको लोकेशन हामीलाई थाहा छ ।’

‘होइन त्यस्तो के पर्‍यो र ? मैले त्यस्तो के बिगारेको छु र ?’ विराजले साहस तोड्यो । 

ठूलो र सानो विराजलाई हेरिरहेका छन् । श्रीमती भान्छामा क्वाटी र भात पकाउँदै छिन् । जनैपूर्णिमा उसले क्वाटी भातसँग मनाउने परम्परा धान्दै आएको छ ।

विराजको मन आन्दोलित छ । के भन्ने ? द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षको मारमा धेरैले ज्यान गुमाइसकेका छन् । क्रूर यातना पाएका छन् । हुँदैन भनौं, जबरजस्ती गरिहाल्छन्, बाबुहरू र श्रीमतीलाई रुवाउँदै मलाई उठाउलान् । ज्यान पनि जानसक्छ । हुन्छ भनांै, कसरी ? 

बरु ठाउँ सोधी आफैं जानु ठीक । भोलि गाईजात्रा पनि छ । भोलिको भाका माग्नुपर्‍यो । विराजको मनले यस्तै आदेश दियो । 

‘कमरेड अजंग, आज होइन, भेट्नैपर्छ भने भोलि आउँछु । आज बच्चाहरूसँग जनैपूर्णिमा मनाउन दिनुस् । अँ, भन्नुस् न कुरा चाहिँ के हो ?’

एकछिन अडिएर कमरेड अजंगको आवाज आयो ‘हुन्छ । भोलि आउनुहोला नि ! म फोन गर्छु । जरुरी कुरामा छलफल गर्नुछ । तर यो कुरा कसैलाई थाहा नहोस् नि ! अन्यथा भए खतरा हुने थाहा होला ।’

थाहा हँुदा आफू, आफन्त र परिवार असुरक्षित हुने डर । श्रीमतीलाई बाहेक अरुलाई बताउनुभएन । विराज बच्चालाई पनि कुरा थाहा नदिई श्रीमतीलाई मात्र भन्ने अठोटमा पुग्यो । 

दिनभरिको छटपटाहट । शरीरमा घाम पनि लागेन । सानोलाई काँधमा र ठूलोलाई एकहातले सुम्सुम्याइ निरीह भर्ई श्रीमतीसामु उभिएर, कहिले यता कहिले उता गर्दै छट्पटिएको छ विराज ।

चिया खाएको खायै गर्नुपर्ने आदत, आज उसलाई श्रीमतीले दिएको चियाको पनि स्वाद आएन । बेलुकीको खाना पनि भाग मात्र बस्यो । 

विराजको मनमा कुराहरू खेलिरहेका छन् । नराम्रा कुराहरू खेलिरहेका छन् । आङ सिरिङ्ग हुने दृश्यहरू आँखाभरि दौडिएका छन् । 

‘आजै गएको भए पनि हुने, जानै परेपछि । जे पर्छ आजै भोगिन्थ्यो, सकिन्थ्यो ।’

‘होइन, भोलि मन बदलिन पनि सक्छ । आज जनैपूर्णिमाको चाड पनि हो ।’

‘आ, जे पर्छ पर्छ । मानिस भएर जन्मेपछि मानिससँग भेट्न किन डराउने ? भेट्ने बित्तिकै खाँदैनन् होला । मार्दैनन् होला । मैले कसको के बिगारेको छु र ? शत्रुभन्दा मित्र नै कमाएको छु, दुःख गरेको छु । उनीहरूले पनि त बुझेका होलान नि !’

‘मेरो टोलमा विद्रोहीको ठूलै नेताले शेल्टर जमाएको छ रे ! अस्ति राति सेनाले घर सर्च गरेथ्यो । पछि कर्मचारी भएको थाहा पाएर सोधपुछ गरेर गए । आधा रातमा बर्दीका सेना देख्दा बच्चाहरू कसरी तर्सिएका थिए !’

‘सेना पनि घरमा आउने । कमरेड अजंग पनि भेट्नुपर्‍यो भन्ने । हे भगवान् के आपत्ति आइपर्‍यो !’

‘होइन, छोरो भएर जन्मिएपछि के डराउनु ? कहिले काहीँ खतरा पनि मोल्नुपर्छ । अनुभव नै हो जे पर्ला ।’ 

‘जिशिअलाई पनि यसैगरी बोलाएर महिनौं राखे । एलडीओलाई पनि महिनौं राखे । उता उनीहरू बेखबर, यता श्रीमती र परिवारमा छट्पटी ... ।’

‘आ, भोलि बिहान फोन गरेर आफैं जान्छु ।’

अब विराजसँग अर्को विकल्प पनि छैन । 

‘रात पनि कति लामो । ठूलो, सानो दुवै मस्त निद्रामा छन् । शायद सपना देखिरहेका । श्रीमती पनि छोटो छोटो निन्द्रामा ।’ तर विराजका लागि आजको रात महिना जस्तै भयो । 

बिहान नित्य कर्म र पूजापाठपछि केही खाएर कमरेड अजंगसँग फोनमा कुरापछि विराज श्रीमतीसँग बिदा भए । ‘म बेलुकी रातिसम्म फर्किन्छु । फर्किन भने भोलि बेलुकातिर दाजुलाई सबै बताउनु ।’
 
बच्चासँग छुट्टिन सारै गाह्रो । ‘ठूलो, सानो उनीहरू पनि गाइजात्रा हेर्न जान तयार छन् । उनीहरूलाई क्याडबरी ल्याइदिने शर्तमा टम एण्ड जेरी च्यानल लगाइ दिएर बिदा भएँ ।’

रत्नपार्कको कर्नरमा रहेको ओम बूक्समा मोटरसाइकल र हेल्मेट राखेर दरबार हाइस्कूलको गेटतिर भेट्न हुलिया दिएको छ विराजले । 

भनेकै समयमा भानुको शालिक अघि कमरेड अमरसँग भेट भयो । उसले विराजलाई चिनिहाल्यो । ‘किन नचिन्नु, कतिलाई यसरी लगिसके होलान्’ ।

‘२०० मिटरजति पर अर्कै कसलाई मलाई पास गरी कमरेड अमर त्यतै अलप भए ।’

अर्को २०० मिटरजति पर पुगेपछि कमरेड मिलन नामको हट्टाकट्टलाई विराज पास भयो । 

केही पर जिगज्याग बाटो हुँदै गल्लीमा सामान्य होटल स्टाइलको घरमा विराज भित्रिए । त्यसपछि कमरेड मिलन पनि कतै अलप भए । 

छिडीदेखि नै कडा सुरक्षा तैनाथी । माथिल्लो तलाको एउटा ठूलो कोठामा ५०–६० जना लगभग उस्तै उमेरका युवायुवती भएको स्थानमा विराजलाई पुर्‍याइ त्यहाँ पुर्‍याउने जवान मानिस पनि अलप भयो । 

गेटमा हतियारसहित २ जना बलिष्ठ युवा, देख्दै डरलाग्दा । हलमा कापीकलम साथ अनुशासित र उत्सुक युवायुवती ! विराज निशब्द अघिल्तिरको मेचमा बस्यो । 

टोली नेता जस्ता एक युवा भन्न थाले, ‘सर म कमरेड आगो । उहाँहरू हाम्रा साथीहरू । हामीहरू मुक्ति अभियानमा राज्यसत्ता विरुद्धको आन्दोलनमा हेलिएका मानिस । यस अभियानमा कति साथी हामीले गुमायौं । हामीमध्ये कति शहीद भयांै । हामी देशबासीको मुक्तिको अभियानमा, गणतन्त्रको अभियानमा छौं । हामीलाई सरहरू जस्तो कर्मचारीको सहयोग चाहिएको छ ।’

‘सर डराउनु पर्दैन । हामीले सरलाई बुझेका छौं । हामीहरू सरहरू जस्तै इमान्दार राष्ट्रसेवकका पक्षमा छौं ।’

विराजको छातीमा ठूलो जातोले थिचेजस्तो भयो । मुख सुकेको छ । मन लरबराएको छ । आफू हुनुको अनुभूति गुमेको छ । मानसपटमा घर परिवार, ठूलो, सानो र श्रीमतीका दृश्यहरू आउँदै धमिलिँदै गएका छन् । 

‘किन मलाई यहाँ ल्याइयो ? मैले के अपराध गरेको थिए र ?’ विराज साहसले पोखियो ।

सायद उसको मनको भाव कमरेड विराजले बुझे, ‘सर डराउनु पर्दैन । सर आदरणीय हुनुहुन्छ । सरलाई सम्मान हुन्छ । सरहरू जस्ता ४ जना राष्ट्रसेवक हाम्रा सूचीमा छन् ।’

‘आब्बै, अब बिताउने भए’ । के भन्ने भन्ने द्विविधा र त्रासबीच विराजको मुखबाट अनायास शब्द छुटे, ‘मैले के गर्नुपर्‍यो ? मलाई किन बोलाउनुभयो ?’

‘सर कत्ति पनि डराउनु पर्दैन । हामी पनि मानिस नै हौं । कसलाई कस्तो व्यवहार गर्नुपर्छ, हामीलाई राम्ररी थाहा छ । हामी अन्याय र अत्याचारको विरुद्धमा कठोर छौं । तर न्याय र निष्ठामा नरम छौं ।’

हलको वातावरण निकै शान्त छ । कोही बोल्दैनन् । सबै आँखाहरू जोरनाल सोझ्याएर क्वारक्वार्ती ममाथि तेर्सिएका छन् । ती आँखाका हेराइ पनि गोली जस्तै, वाण जस्ता छन् । 

बेलाबेलामा गेटमा हतियार लिएर शालिकझै उभिएका अजंगका युवातिर विराजको आँखा पुग्छ । ‘ती हतियार समाउने हातले धर्म छोडे भने !’

‘सर हामी छिट्टै विजय प्राप्त गर्दैछौं । मुलुकमा प्रशासन निकम्मा र बोझो भएको हाम्रो ठम्याइ छ । विजयपछि हामीले कसरी प्रशासन चलाउने ? त्यसको प्रशिक्षण सरबाट चाहेका छौं । हामी भ्रष्ट, कामचोर र अत्याचारीलाई सहन्नौं । त्यो शुद्धीकरण र जागरुकता कसरी ल्याउने । हामीसँग त्यस्ता कर्मचारीको सूची तयार छ,’ कमरेड आगोले विषयवस्तु प्रवेश गर्दै भने ।

दिनभरको प्रश्नोत्तर सत्र । सबै प्रशिक्षार्थीले मनमा लागेजति कुराहरू एकएक गरी सोधे । प्रश्न सोध्न पनि फौजी अनुशासन छ । 

विराजलाई भोक तिर्खा केही छैन । खाना, चिया कसैले सोधेको पनि छैन । सोध्ने छाँट पनि छैन । 

छलफलमा शिष्टता र विनयशीलता छ । उठेका सवालहरू सम्बोधन गर्न विराज तम्सिएको छ । मनमनै गम्छ, ‘आजै सार्वजनिक प्रशासन पढाइसक्नुपर्ने भो’ ।
 
दिनभरजसो कक्षाको अन्तर्क्रिया र सान्निध्यताले विराजमा केही सुझाव र आलोचना गर्ने साहस आयो । ‘हो तपाईंहरूको आन्दोलन राम्रो छ भने किन भ्रष्ट कर्मचारी, व्यापारी र नेताहरूबाट चन्दा लिनुहुन्छ ? त्यसले तपाईंहरूको आन्दोलनलाई बिटुलो बनाउँदैन ? भोलि त फेरि तिनीहरूले नै रजाइ गर्ने भए ।’

भनि नसक्दै कमरेड आगो प्रत्युत्तर दिन्छन्, ‘ती आमाको खुन चुस्ने पिसाच हुन् । युद्धमा उनीहरूको सहयोग लिने हो । तर विजयपश्चात उनीहरूलाई कारवाही गर्ने हाम्रो कार्यनीति छ । उनीहरूले जनताकै खुन, पसिना सोसेका हुन् । त्यो हाम्रो बन्दोबस्तीमा खर्च गर्ने रणनीति हो ।’

हिम्मतले विराज पुनः सुझाव दिन थाल्छ, ‘यहाँहरू जनताकै पक्षमा, जनताका अन्यायका विरुद्धमा हुनुहुन्छ भने मानिस मार्ने र अपहरण गर्ने काम बन्द गर्नुहोस् । आजसम्म द्वन्द्वका क्रममा तेह्र हजारको ज्यान गइसक्यो । कल्पना गर्नुस्, तेह्र हजार लाश फिजाउन कत्रो चौर चाहिएला ? हामी ती लाशहरू हेर्न कसरी सक्छौं ? युद्ध अहिंसात्मक गर्न सकिँदैन र ?’

कमरेड आगोको मुखमा अब ज्वाला देखिन थाल्यो । आँखा र चेहरा आदरको सीमाबाट पर पुग्न लागे । ‘यहाँको यस्तो सुझाव यहाँकै सरकारलाई दिन सक्नुहुन्छ । युद्ध निशस्त्र हुन्छ ? यो कि वार कि पारको युद्ध हो ।’
 
‘सबै आँखाहरू बन्दुकका नालसरी रौद्ररूपमा मतिर तेर्सिएका छन् । अब बोल्नु कत्ति पनि ठीक हुने छैन ।’ विराज पुन निशब्द भए ।

‘अब धेरै बोले भने मलाई यही राख्न बेर छैन । त्यसपछि सानो ठूलो र श्रीमती कति पीरमा रहलान् ?’ विराज मनभित्रै उद्वेलित हुन्छ । 

घाम अस्ताएर साँझ पर्न लाग्यो । हिम्मतले कमरेड आगोलाई अनुरोध गर्‍यो, ‘साथीहरूले अब बिदा दिए पनि हुने । बच्चाहरूलाई छिट्टै आउँछु भनेको छु । श्रीमती पनि आँखा तानेर हेर्दै होलिन् । बरु आवश्यक परे पछि आउँछु नि !’

‘होइन, सरलाई आज छाड्नुहुन्न । केही दिन हामीसँगै राख्नुपर्छ । हाम्रो दुःख पनि देखाउनुपर्छ,’ ब्याक बेञ्चका कुनै युवाले जोशले बोल्यो । 

कमरेड आगोले रिसाउँदै भने, ‘त्यो बोल्ने को ? कमरेड हिमाल सरलाई आदरपूर्वक सडक पुर्‍याएर फर्किनु ।’

‘यो अन्तिम होइन । आवश्यक परे आउनु होला सर । फेरि प्रशिक्षण दिनुपर्छ । तपाईं त्यसैको योग्य हुनुहन्छ ।’

‘हस कमरेड आगो । सबै साथीहरू नमस्कार, म बिदा हुन्छु ।’

बिदाइका शब्दसाथ मुठी बाटेको पाखुरी उठाँउदा विराज झनै डरायो । कमरेड हिमालसाथ छिटो–छिटो सडक आइपुग्यो । ‘सर आरामले जानुहोला । सर सुरक्षित हुनुहुन्छ,’ कमरेड हिमालले बिदा गर्‍यो । 

सडकमा छ्यापछ्याप्ती प्रहरी छन् । 

‘प्रहरीहरू मलाई खोज्न त आएका होइनन् ? कतै ती प्रहरीले त समाउँदैनन् ? समाइहाले भने कर्मचारी परिचयपत्र देखाउनुपर्ला’ । यस्तै कुराहरू मनमा खेलाउँदै त्रास र उन्मुक्तिको खुशीमा द्वेलित हुँदै विराजका पाइलाहरू रत्नपार्कतर्फ लम्किए ।

जमलतिरबाट १ जना वरिष्ठ राजनीतिक चिन्तक हातमा ब्याग र काखीमा पत्रिका च्याप्दै केशरमहलतर्फ आउँदै छन् । उनलाई देखेपछि विराजको साहस बढ्यो । उनले नचिने पनि विराजले उसलाई चिन्छ । उसलाई अब सुरक्षित छु भन्ने लाग्यो । 

रत्नपार्कको आमबूक्समा पुगेर मोटरसाइकल र हेल्मेट लिएर घरतिरको यात्रा शुरू गर्‍यो । तर मनसँगै लरबरिएका हात र कामेका खुट्टाका कारण मोटरसाइकल राम्ररी चलाउन पनि सकेनन् उसले । 

भद्रकालीबाट सिंहदरबार गेट, मण्डला, बबरमहल र बिजुली बजार आइपुग्दा विराजको मनमा साहस बढ्दै गयो । लाग्छ सडक छेउका परिचित भवन, रुख, पोलहरू सबै नै उसको फिर्तीमा हासिरहेका छन् । 

घरमा पुग्दा कौशीबाट ठूलो, सानो र श्रीमतीका प्रतिक्षाका आँखा बाटोतिर लगातार फिजिइरहेका थिए । तीनै जनालाई अँगाल्दै विराज पुनः निशब्द तर अश्रुत बन्यो । 

महिनौं दिनसम्म पनि विराज सामान्य अवस्थामा फर्किन सकेन । तर यो रहस्य वर्षौंसम्म कसैलाई बताएन । 

(क्षितिज मार्ग, शंखमूल)

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्