नेकपामा मञ्चित नाटकको अन्तर्य : हामी सधैं प्रयोगशाला मात्र बन्ने हो ?

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।

वर्तमान समय सत्तारुढ दल नेकपाभित्रको द्वन्द्वका कारण तरंगित भएको छ, गुट र उपगुटबीचको स्वार्थका कारण यो दल विभाजनको अवस्थासम्म पुग्न सक्ने अनुमान भइरहेको छ । 

एक्काइसौं शताब्दीको जनवादको नारा लिएर संसदीय राजनीतिका प्रवेश गरेको नेकपा माओवादी र जनताको बहुदलीय जनवादका आधारमा अघि बढेको संसदवादी दल एमालेबीचको गठबन्धन आफैँमा अस्वाभाविक थियो, सिद्धान्त र आस्थालाई थाती राखी क्षणिक स्वार्थ सिद्धका लागि अथवा सत्ता प्राप्तिका लागि गरिएको दलीय एकताले लामो समयसम्म निरन्तरता दिन सक्ने अवस्था आजको नेतृत्व वर्गले अभ्यस्तता प्राप्त गरिरहेको राजनीतिक चरित्रले स्वीकार गरेको थिएन ।


Advertisement

निर्वाचनको समयमा देशको अर्थतन्त्र, प्रविधि र विज्ञता तत्काल सम्भव नहुने अत्यन्त सस्तो लोकप्रियता आर्जन गर्ने प्रकारले देशको समृद्धिको सपना बाँड्दै, छिमेकी देश भारतले अनावश्यक नाकाबन्दी गरेर नेपालीहरूलाई पीडा दिइराखेको  स्थितिमा त्यस कदमको खुलेर गैर कूटनीतिक शैलीमा नै भए पनि जनतालाई कर्णप्रिय लाग्ने शब्दले निर्वाचन प्रचार–प्रसार गर्न सफल भएका कारणले गर्दा र नेपाली कांग्रेसका कमी कमजोरीका कारण खराबमध्येका कम खराब दल भएको सोचाइ राख्दै एकपटक ओलीजीको नेतृत्व नेपाली मतदाताहरूले रोजेका हुन् ।

अब्बल दल विशेषका हिसाबले र ओलीजीमा रहेको विलक्षण प्रतिभालाई आत्मसात गरेर मत प्राप्त गरेको विलकुल होइन । जे होस्, आरामदायी बहुमत नेकपाले प्राप्त गरिरहँदा दलको नेतृत्वको स्टेरिङ अध्यक्षद्वयको हातमा पुगेको थियो ।  साम्यवादी ब्रान्डमा राजनीति गर्नेहरूले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएर शासन सञ्चालन गर्ने र सामूहिक समझदारीका आधारमा शासन र दल सञ्चालन गर्ने विषय आफैँमा हास्यास्पद मात्र होइन मध्यपूर्वी खाडी मुलुकमा विश्वको सर्वोच्च शिखर सगरमाथाको खोजी गर्नुसरह हो ।


Advertisement

यही कारण हो अहिले यस दल ठूलो द्वन्द्वमा परिराखेको छ । यहाँसम्म कि दुईवटा अध्यक्षहरूले आ–आफ्ना स्वार्थ लोलुप झुण्डहरू समेटेर अलग–अलग बैठक गर्नेसम्मको तहमा पुगेका छन् । देशको लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थिरताका लागि यो अत्यन्त पीडादायी अवस्था हो ।  

सत्तारुढ दलभित्रको यो उत्कर्षमा पुगेको आपसी बैमनस्यको अवस्था  सिर्जना हुनुमा दलले अवलम्बन गरेको लामो समयदेखिको चरित्र र व्यक्तिवादी सोच नै प्रमुख कारण हो । कम्युनिस्ट दलभित्रको अन्तरकलह दल फुटेर मात्र समाप्तिमा पुगेको छ, कम्युनिस्ट पार्टीले विभाजित हुनेमा आफ्नो पहिचान बनाएको छ, यो दल आज विभिन्न चिरामा विभक्त हुनु यसको प्रमाण हो । 

एमालेबाट माले दल बनाएर विभाजन हुनुको अतिरिक्त अन्य सबै विभाजनहरू आस्था, सिद्धान्त र मुद्दाका आधारमा भएका थिएनन् । एमालेभित्र महाकाली सन्धिका विषयमा मत विभाजन हुनुका कारण महाकाली भारतलाई बढी फाइदा दिई नेपाललाई नोक्सानी गराउने पक्षमा रहेका वर्तमान प्रधानमन्त्री ओलीजीलगायत तत्कालीन एमालेका बहुमत सदस्यहरू एकातर्फ भई त्यसभित्र यस सन्धिलाई राष्ट्रघाति मान्दै विरोधमा मत जाहेर गर्ने अल्पमतमा रहेकाहरू माले बनेका थिए, यो यथार्थता नेपालको राजनीतिक इतिहासमा अंकित  छ ।

यस अवस्थाको कम्युनिस्ट पार्टीभित्रको एमाले र माओवादीहरूले  तत्कालीन समयमा नेपाली कांग्रेसलाई पराजित गरेर सत्तासीन हुने उत्तम विकल्प पार्टी एकतादेखि नै तिलस्मी प्रकारले कृत्रिम एकता गरेका हुन्, एकता गर्दाको समयमा एक दल मात्र भई एकै व्यक्तिले दल र सरकार दुवैको नेतृत्व लिने सिद्धान्त बोकेका कम्युनिस्ट दलले दुईवटा अध्यक्षहरू र लोकतान्त्रिक शासन व्यवस्थालाई आत्मसात गर्ने विषय आफैँमा मेल नखाने छँदैछ । यो दलले साम्यवादी समर्थकहरूको मत आफ्नो पक्षमा पार्न मात्र कम्युनिष्ट ब्रान्डमा राजनीति गरेको हो, यथार्थतामा यो दल साम्यवादी र लोकतन्त्रवादी दुवै हुन सकेको छैन ।

यस्तो गैर राजनीतिक हिसाबले आस्था, सिद्धान्त सबैलाई तिलाञ्जली दिँदै अघि बढेको राजनीतिक दलमा व्यक्ति, उपगुट र गुट मात्र हावि हुने हो, वर्तमान राजनीतिक परिस्थिति त्यसैको परिणाम वा उपज भएकोमा सन्देह रहँदैन । कुनै पनि दलमा दुई अध्यक्ष हुने विषय नै अनौठो मात्र होइन अस्वाभाविक र अनिष्ट आमन्त्रण गर्ने नै हुन्छ, त्यसमा पनि दुईवटा चालकहरूले विपरीत दिशातर्फ अघि बढाएको अवस्थामा परिणति ढिलोचाँडो दुर्घटना मात्र हुने हो । यही दिशामा अहिले सत्तारुढ दलले गन्तव्य निर्धारण गरेको छ, यथा समयमा सुधार नहुँदा दुर्घटना निश्चित छ । 

सत्तारुढ दलमा एक नेता छन् जसले आफूलाई अत्यन्त विश्वास गर्न नसकिने पात्रका रूपमा नेपालको राजनीतिमा स्थापित गरेका छन् । द्वन्द्वरत अवस्थामा १७ हजार नेपालीको ज्यूज्यान समाप्त पारेर सर्वसाधारण नेपाली जनतालाई बाँडेका सपनाहरू सबै अलपत्र पारी, दश वर्षसम्मको कहालीलाग्दो युद्धको उपादेयता उनी र उनका समूहका स्वर्थलोलुप केही झुण्डहरूलाई सत्तामा पुर्‍याउन मात्र हो भन्ने पुष्टि भैसकेको छ । शान्ति प्रक्रियामा आएपछि वृद्ध नेता गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा समर्थन गर्ने विश्वास दिलाई डा. रामराजाप्रसाद सिंहलाई प्रतिस्पर्धामा उतारे ।

आफ्नै राजनीतिक गुरु, सहयात्री एवं सहयोगी थुप्रै साथीलाई धोका दिई परिवारवादमा रमाएर करीब सयको संख्यामा सुरक्षाकर्मीको घेराभित्र रहँदा पनि पूर्ण सुरक्षित महसूस गर्न सकेका छैनन्, उनले । केन्द्रीय स्तरका नेताहरू अब उनीबाट केही स्वार्थ सिद्ध नहुने निष्कर्षमा पुगी उनलाई परित्याग गर्दै गएका छन् । गाउँस्तरमा जनता र कार्यकर्ता प्रायः शून्य अवस्थामा पुगिसकेका छन्, यस अवस्थामा पनि नेपाली कांग्रेससँग गठबन्धन गरेर छोरीलाई नगर प्रमुख र ओलीजीसँगको दलीय एकताबाट बुहारीलगायत केहीलाई सरकारमा पठाई आफू दलको अध्यक्ष र प्रधानमन्त्रीको दाबेदार बन्न सफल भएका छन् ।

यस अवस्थामा नेपाली राजनीतिबाट विस्तारै ओझेलमा पर्दै गएका पात्र प्रधानमन्त्रीलाई हटाई आफैँ प्रधानमन्त्री हुने दिवा स्वप्न देख्न थालेका छन् । 

अर्का पात्र छन्, जनताले नराम्ररी दुईदुई निर्वाचन क्षेत्रबाट पराजित गरेपश्चात देशको प्रधानमन्त्री बन्न सफल खारिएका लोकतन्त्रवादी, राजालाई मोहोर चढाई अब्बल श्रेणीको राजभक्ति प्रदर्शन गरी ठूला गणतन्त्रवादी घोषणा गर्न सफल जनप्रिय नेता, बालुवाटार जग्गा  प्रकरणका नायक तर सच्चरित्रताको दाबी गर्ने वरिष्ठ नेता ।  निर्वाचनमा पराजित भई राष्ट्रिय सभामा शोभायमान बन्न पुग्नुभएका अर्का आदर्श व्यक्तित्व पनि यसै दलमा हुनुहुन्छ ।

सोही मार्गमा आफूलाई उभ्याई देशको कार्यकारी प्रमुखसम्म बन्ने लक्षका साथ अघि बढेका अर्का पात्र पाँचतारे होटलको व्यञ्जन मात्र ज्युनार गर्न अभ्यस्त भएका, आफ्नै संस्थालाई आफू प्रधानमन्त्री भएका समयमा सत्तरी करोड रूपैयाँ रकम राष्ट्रिय ढुकुटीबाट लिने अनि सर्वहारा वर्गका लागि राजनीति गरिराखेको बताउने पराक्रमी नेता, यस्ता अत्यन्त प्रतिभाशाली सच्चरित्रताका धनीहरू अब यस देशको सत्तामा पुग्दा देशमा सुशासन कायम हुनेमा सबै नेपालीहरूले विश्वस्त भइदिनुपर्ने स्थिति छ । 

सत्ता टिकाउने पक्षका पात्रहरूमा स्वयं प्रधानमन्त्री भ्रष्टाचारका आरोपीहरू सबैका पक्षमा संरक्षण प्रदान गर्न क्रियाशीलता प्रदर्शन गर्ने, दलको बैठकबाट आफू अनुकूल निर्णय आउने अवस्थामा मात्र उपस्थित हुने, दलबाट भएका  बहुमतका निर्णय मान्य नहुने, दुईटा अध्यक्षहरूले संयुक्त रूपमा उपयुक्त ठहर गरेका विषयमा मात्र समर्थन गर्ने विचित्रको कार्यशैली, दलभित्र सर्वसम्मतरूपमा  गरिएका निर्णयहरूको पालना गर्ने विषयमा कुनै चासो र चिन्ता नराखी आफूखुशी एकपक्षीय निर्णय गर्न सक्ने क्षमतावान, आफ्ना समूहको संरक्षणमा अब्बल प्रमाणित हुनुभएकै कारण दलभित्र ठूलो समूह खडा गर्न सफल, वरिष्ठ मन्त्रीहरू संक्रमणको समयमा र अन्य काल खण्डहरूमा बदनाम पात्रहरू, यस्ता स्वार्थ लोलुपहरूबाट देश समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना अनुसार अघि बढ्न सक्दैन ।

करीब ३ वर्षको समय दुरूपयोग भए पनि अब बाँकी दुई वर्षभित्र चुनावी दौरानमा गरेका वाचाहरू सबै पूरा गर्न प्रतिबद्ध भएकाले यदि यस अवस्थामा प्रधानमन्त्रीबाट राजीनामा गर्ने हो भने देश बर्बाद हुने राष्ट्रिय चिन्ता प्रधानमन्त्रीमा देखिएको छ । यस्तैयस्तै नाटकहरूको मञ्चन गर्दै नेपाली जनताले अत्यन्त ठूलो अवसर प्रदान गरेको करीब दुई तिहाइको सरकार अघि बढेको छ । सबै दलहरूमा व्यक्तिगत, गुटगत स्वार्थ अत्यन्त ज्यादा हावी भइराखेकाले अब नेपालमा जनताले जुनसुकै दललाई जतिसुकै मत प्रदान गरी सरकार बनाउने अवसर प्रदान गरेपनि राजनीतिक अस्थिरता नै देशको नियति बन्दै गएको छ, सरकार परिवर्तन र मन्त्री परिवर्तनबाट कुनै पनि प्रकारको सुधार हुन नसक्ने अवस्था प्रस्ट छ । आशा लाग्दा केही मन्त्रीहरूको कार्य सम्पादनको अवस्था निराशाजनक हुनुले पनि यही पुष्टि गरेको छ ।

यो प्रवृत्तिबाट देशलाई मुक्ति दिलाउने विषयमा सम्पूर्ण राजनीतिक शक्तिहरूका बीच मतैक्यता नहुँदासम्म देशले यही परिस्थितिबाट गुज्रनुपर्ने अवस्था छ, तसर्थ सरकार परिवर्तन हुनु र नहुनुले सर्वसाधारण नेपालीहरूलाई कुनै पनि प्रकारको प्रभाव पार्न छाडेको छ, यो अवस्था सिर्जना हुनु भनेको देशको समग्र राजनीति असफल हुनु हो । 

नेपालको राजनीति सधैँ बाहिरबाट परिचालित छ । २००७ सालमा राजाले आफ्नो अधिकार रानाहरूबाट फिर्ता गर्न भारतको शरणमा पुग्नुपरेको थियो । २०१५ सालमा संविधान सभाको नभई संसदीय निर्वाचनमा जान जनताका प्रतिनिधिहरूलाई बाध्य पार्ने सम्बन्धमा राजा महेन्द्रको एकल निर्णयबाट सम्भव भएको थिएन ।

२०१७ सालमा प्रजातन्त्रको गला घोट्ने काम बाहिरी समर्थनबाटै सम्भव भएको थियो । २०४६ साल र २०६३ सालको जनआन्दोलनको ढाँचा तयार पारी समर्थन गर्ने काम पनि छिमेकी देशबाट भएको हो । यस परिस्थितिमा भारतका गुप्तचर प्रमुख अकस्मात नेपाल आउनु, तत्पश्चात सत्तारुढ दलभित्र यो द्वन्द्व प्रारम्भ हुनु, केही समय पहिले कमरेड प्रचण्ड र डा. बाबुरामले रअ प्रमुखसँग सिंगापुरमा भेट गरेको विषय सञ्चारमाध्यमहरूले सम्प्रेषण गर्नुले  केही पर्दा पछाडिका कारणहरू समेत प्रभावी भइराखेको अवस्था छ । सरकार परिवर्तनका विषयमा नेपाली नागरिकहरू प्रस्ट छन् ।

नेपालको संविधानमा उल्लेख भएका प्रावधानहरू अनुसारका प्रक्रियाको अवलम्बन गर्नु पर्दछ । सार्वभौम संसद्मा अविश्वासको प्रस्ताव पेश गरी बहुमतबाट पारित गर्दा प्रधानमन्त्री सत्ताच्युत हुनु नै पर्दछ । लोकतान्त्रिक प्रक्रिया पनि यही हो जसलाई प्रधानमन्त्रीले सहजै स्वीकार गर्नुपर्ने हुन्छ । दलभित्रको अन्य समस्यालाई समाधान गर्न दलीय विधान अनुरूप अघि बढ्नुपर्दछ । दलको केन्द्रीय महाधिवेशनबाट बहुमतको विश्वास प्राप्त व्यक्ति अध्यक्ष बन्ने अवस्था प्रस्ट छ, त्यसैले दुवै पक्षले यो नाटक मञ्चनलाई अन्त्य गरी विधिसम्मत तरिकाले राजनीति गर्दा अति उत्तम हुनेछ । जहाँसम्म प्रधानमन्त्री परिवर्तन गर्ने सबाल छ, प्रतीक्षामा रहेका पात्रहरू सबै यसअघि परीक्षण भइसकेकाले कुनै पनि प्रकारको सुधार हुन सक्नेमा नागरिकहरू विश्वस्त हुन सकेका छैनन् ।

त्यसैले हामी सधैँ प्रयोगशाला मात्र बन्दै गएकाले पनि आफ्नो अस्तित्व रक्षा र सार्वभौमसत्ताको संरक्षणका लागि पनि सबै  राजनीतिक दलहरू, नागरिक समाज, सचेत नेपालीहरू सबैले  राष्ट्र र राष्ट्रिय एकताका विषयमा गम्भीरताका साथ चिन्तन गर्ने सही समय भएको चर्चा राजनीतिमा चासो राख्नेहरूबीच  भइरहेको छ ।    

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्