प्रचण्डले अपमानको विष धेरै पिउनुभयो, अब सहनुहुन्न : मातृका यादव [अन्तर्वार्ता]

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मातृका यादव स्पष्ट र खरो विचार राख्ने नेताका रूपमा चिनिन्छन् । पार्टीमा देखिएको पछिल्लो विवादका सन्दर्भमा उनले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दह्रो साथ दिइरहेका छन् । 

एकता र संघर्षपछि पार्टी रुपान्तरण हुनुपर्ने मार्क्सवादी सिद्धान्त विपरीत पार्टीमा पुनः सहमति र एकताको प्रयास भइरहेकोमा यादव चिन्तित छन् ।


Advertisement

लोकान्तरसँगको कुराकानीमा उनले अध्यक्ष प्रचण्ड धेरै लचक भइसकेका र अब सहन नसक्ने स्थितिमा रहेका टिप्पणी गरे । 

प्रस्तुत छ यादवसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीको सम्पादित अंश –
   
भोलि सचिवालय बैठक बस्ने भनिएको छ, सचिवालय बैठकले पछिल्लो विवाद समाधान गर्ला ?


Advertisement

– सचिवालयले गर्न सके झन् राम्रो । गर्न सकेन भने स्थायी कमिटी र केन्द्रीय कमिटीमा विषयहरू आउनुपर्‍यो । त्यसपछि समाधान हुन्छ । सचिवालयले चाह्यो भने गर्न नसक्ने होइन । नेता त यिनै हुन् । उहाँहरूकै जोडबलमा प्रधानमन्त्री बैठक बस्न तयार भएको स्थिति हो । 

प्रधानमन्त्री बैठक नै बस्न नमान्नुको कारण के रहेछ ? बैठकमा यो विषयमा पनि छलफल हुनुपर्ला नि ?

– मैले देखेको उहाँ (केपी शर्मा ओली) ले आफू नै सर्वेसर्वा भएको बारम्बार दोहोर्‍याउनुभएको छ । हिजो पनि सार्वजनिक कार्यक्रममा उहाँले दिएको अभिव्यक्तिबाट पनि उहाँमा दम्भ देखिएको पुष्टि हुन्छ । म नै आन्दोलन हुँ र आन्दोलन नै म हो भन्ने दम्भ छ उहाँमा । 

वास्तवमा भन्ने हो भने उहाँको योगदान के छ भन्ने सबैलाई थाहा छ । उहाँ त गणतन्त्र नै आउँदैन भन्ने मान्छे हो । संघीयताको पक्षधर उहाँ होइन । म जस्तो कोही जान्ने छैन, सबै मेरो कारणले भएको हो भन्ने छ उहाँमा । 

जब मान्छे आफूप्रति यति धेरै दम्भ जाग्छ, त्यसलाई ‘विनाश काले विपरीत बुद्धि’ भनिन्छ । व्यक्तिगत रूपमा उहाँको केही क्षति नहोला तर देश त बर्बाद हुन्छ नि ! आन्दोलन बर्बाद हुन्छ, पार्टी बर्बाद हुन्छ ।

प्रधानमन्त्रीले संवैधानिक हक अधिकार प्रयोग गर्न पार्टीको विधान र निर्णयले बन्देज गरेजस्तो देखिएको छ । कतै पछिल्लो विवाद संविधान र पार्टी विधानबीचको द्वन्द्व त होइन ?

– यो त्यस्तो होइन । यो सकारात्मक र नकारात्मक चिन्तनबीचको द्वन्द्व हो । पार्टीको घोषणा पत्रलाई प्रधानमन्त्रीले लागू गर्नुपर्छ । जनताले केपी ओलीको अनुहार राम्रो छ भनेर भोट दिएको त होइन, घोषणा पत्रलाई हेरेर हो । घोषणापत्र पार्टीको हो ।

त्यतिबेला जुन गठबन्धनको घोषणापत्र थियो, त्यसको आधारमा भोट पाएको हो । नत्र ती व्यक्तिहरू पहिला पनि त थिए नि ! पार्टीको घोषणापत्र, सबै नेताको प्रयास, कार्यकर्ताको प्रयास, आन्दोलनप्रति सकारात्मक सोच राख्नेहरूको प्रयासमा अरु पनि मान्छे आकर्षित भएर यत्रो भोट दिएको हो । 

मुख्यकुरा पार्टीले संविधान र कानून विपरीत जान भनेको छैन । पार्टीको घोषणापत्र लागू गराउने जिम्मेवारी पार्टीको पनि हो । संवैधानिक रूपमा प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो । त्यसो नगरे आन्दोलन खत्तम हुन्छ, पार्टी खतम हुन्छ । 

सरकार पार्टीको तागतमा बनेको हो । पार्टीले निरन्तर सहयोग गर्दा पनि यत्रो महामारीमा सरकारले केही गर्न सकेको छैन । अनि अमेरिका, भारत जस्ता देशहरूको तुलना गरेर त हुँदैन । हाम्रो आर्थिक स्थिति डामाडोल भएको छ । हामी कमजोर बनिरहेका छौं । भएका उद्योग धन्दाहरू पनि चौपट भएको छ । बेरोजगारहरूको संख्या बढिरहेको छ । त्यसपछि जनता यही सरकारविरुद्ध उत्रने हो । हामीले त्यसो नहोस भनेर सरकारलाई निरन्तर खबरदारी गरिरहेका छौं ।

प्रतिपक्षी दलले सरकारविरुद्ध मोर्चा कस्नुपर्ने हो, नेकपामा त कांग्रेसभन्दा ठूलो प्रतिपक्षी गुट बनिरहेको छ भन्ने टिप्पणी हुने गरेको छ नि !

– सरकार ठीक ढंगले गएन भने त जुन पार्टीले सरकार बनाएको छ, त्यही पार्टीको अस्तित्वमा प्रश्न आउने भयो नि ! सरकारलाई ट्रयाकमा लैजाने काम पार्टीकै हो । सरकारमाथि हुने आलोचनालाई विरोधका रूपमा लिनु पनि भएन । 

आलोचना भनेको एक हिसाबले सल्लाह हो । सच्चिने अवसर हो । बैठक नै बोलाएर सरकारमाथि गरिएका आलोचना बेठीक छ भनेर छलफल गर्नुपर्छ । मैले ठीक गरेको छु भनेर बैठकमै भन्नुपर्‍यो नि त ! बाहिर आलोचना भएको कारण नै बैठक नबस्नु हो । बैठकबाट भएको निर्णय पनि लागू नगर्ने ।

बैठककै निर्णय कार्यान्वयन हुँदैनन् भने किन बैठक बस्नुपर्‍यो त ? 

– अहिलेसम्म जति पनि समस्या आएको छ त्यो बैठक नबसेर हो । पहिलो कुरा त बैठक नै बस्न नमान्ने, जबरजस्ती बैठक बसाउनुपर्ने, बैठक माग गर्दा दुनियाँभरको चर्काचर्की गर्ने । अनि बल्लतल्ल बसेको बैठकले गरेका निर्णयहरू नमान्ने । समस्या त यहीँबाट शुरू भएको हो नि ! कमिटी प्रणालीबाट पार्टी चलाउन त बैठक अनिवार्य हुन्छ । 

अन्य एजेण्डा छैनन्, अहिले मुख्य एजेण्डा भनेकै बैठक बस्ने कि नबस्ने भन्ने छ, पार्टी यो हदसम्म तल पुगिसकेको हो, के देख्नुहुन्छ ?

– एजेण्डामा बैठक हुनुपर्थ्यो । कोही–कोही भन्ने गर्छन् सरकार असफल बनाउन लाग्यो भनेर । तर सरकार केपी ओलीको हो कि पार्टीको हो ? हाम्रो सरकार हो । जसले सरकारलाई आफ्नै पार्टीबाट असहयोग भयो भनेर भनेका छन्, तिनले मात्र फेस गर्ने हो कि चुनाव, हामीले पनि फेस गर्ने हो ?

जनतामा जानुपर्‍यो । जवाफ हामीले पनि दिनुपर्छ । आमजनता, कार्यकर्ता सबैको चिन्ताको विषय बनेको छ । 

पार्टी कमिटीले एकपटक गरेको निर्णयलाई थप व्याख्याको आवश्यकता पर्ने परिस्थिति सिर्जना भएको छ, पार्टी अहिले पनि पूर्व समूहकै भागबण्डाका आधारमा चलेको छ । यी सबै घटनाक्रमले पार्टी एकताको औचित्य कसरी पुष्टि हुन्छ ?

– जुन हतियारले देश र जनताको हीतमा काम गर्दैन, त्यसको कुनै अर्थ छैन । तर हामी चाहँदैनौं यो पार्टी फुटोस् । मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने मैले भन्छु – कि सबै कुरा छिनोफानो गरेर एकता गर्नुपर्थ्यो । गठबन्धन छँदै थियो । सबै हल गरेपछि पार्टी एकताको घोषणा गरेको भए हुन्थ्यो । तर त्यो भएन । अहिले त्यसको गीत गएर बस्नु पनि उपयुक्त छैन । 

पार्टी एकताको नाममा चाहिँ गलत चिजलाई स्थापित गर्न दिनुभएन । सही चिज स्थापित गरेपछि को बस्छ को जान्छ भन्ने गौण कुरा हो । 

पार्टी एकता प्रक्रिया टुंग्याउने भनेर कहिले १५ दिन, कहिले १ महिना कहिले १० दिनको समयसीमा तोकिन्छ । तर पार्टी जहाँको त्यहीँ छ किन ? तपाईंहरूले पनि त भूमिका खेल्नुपर्ने होला ?

– अब अझै पनि विलम्ब भयो भने भारतको पश्चिम बंगालमा ३० वर्षमा कम्युनिस्ट हरायो । नेपालमा चाहिँ ५ वर्षमै कम्युनिस्ट समाप्त हुन्छ । यो सबै नेतालाई हेक्का रहोस् । 

जो सही पक्षमा छ, डराएको छ पार्टी फुटिहाल्छ कि भनेर ती साथीहरूले पनि सोच्ने बेला आइसकेको छ । हामीले बोलिरहेका छौं । गत पुसको स्थायी कमिटी बैठकमा पनि मैले यस्तो चालाले हुँदैन भनेर भनेको थिएँ ।
 
एकता गरियो, संघर्ष भयो । अब रुपान्तरण हुनुपर्‍यो । तर नेकपामा के भयो भने एकता भयो, संघर्ष भयो फेरि एकताको कुरा हुँदैछ । रुपान्तरण खै ? यो मार्क्सवादी विधि नै भएन । म एक्लै थिएँ स्थायी कमिटी बैठकमा । अब रुपान्तरणको बाटो अपनाउनुपर्‍यो । 

यथास्थितिवाद भनेको प्रतिगमन नै हो । यथास्थितिवादमा जो कोही बस्छ भने त्यो घोर अवसरवादी । 

मधेशको नेता तपाईं हो कि प्रभु शाह हो भन्ने बहस पार्टीभित्र चलिरहेको छ ? शीर्ष नेताहरूले तपाईं २ बीच फूट गराउन खोजेका छन् भन्ने सुनिन्छ नि !

– मेरो व्यक्तिगत केही कुरा छैन । पार्टीले जसलाई जिम्मा दिन्छ, उही नेता बन्ने हो । उसले पार्टी र जनताको काम राम्रोसँग गरोस् । पार्टीको जिम्मेवारी पाउनेबित्तिकै म सर्वेसर्वा भएँ भन्ने जुन प्रवृत्ति केन्द्रमा देखिएको छ, त्यो प्रवृत्ति भयो भने सबै बर्बाद हुन्छ । सामूहिक निर्णय गर्नुपर्‍यो, व्यक्तिगत के–के जिम्मेवारी हुन्छ, त्यो पूरा गर्नुपर्‍यो । 

नेता चोर्ने र आफ्नो पक्षमा सुविधाजनक बहुमत पुर्‍याउने खेल केन्द्रबाट चलिरहेको छ नि, तपाईलाई कसैले चोर्न प्रयास गरेको हो र ?

– नेता चोर्ने होइन कि आफ्नो दलाल बनाउने प्रयास भइरहेको छ । आफ्नो पछि को–को आउँछ त्यसलाई प्रश्रय दिने काम भइरहेको छ, त्यो हानिकारक छ । मलाई कसैले आफ्नो बनाउनु पर्दैन, पार्टीलाई सही दिशातर्फ लैजाने हो भने म सबैको हो ।

तपाईंको अध्यक्ष प्रचण्डसँग पनि निकटता छ । प्रचण्डमा पछिल्लो विवादलाई लिएर छुट्टिनै पर्छ कि भन्ने विचार पलाउन थालेको हो ? प्रचण्डको अनुहारमा तपाईंले एकता देख्नुभएको छ कि विभाजन ?

– उहाँ हदैसम्मको लचकता अपनाउने मान्छे हो । जब अब चाहिँ केही हुँदैन भन्ने उहाँलाई लाग्छ त्यसपछि कदम चाल्नुहुन्छ । मैले बुझेको त्यही हो । मैले कहिले–कहिले आलोचना पनि गर्छु – कति लचक हुने ? कति झुक्ने भनेर । 

उहाँको दिमागमा जबसम्म भोलिको परिस्थिति यो हुन्छ भनेर सबै कुरा सेट हुँदैन, तबसम्म अघि बढ्नुहुन्न । 

अहिले प्रचण्डको दिमागमा ‘लचकता’ नै चलिरहेको छ कि उहाँकै भाषामा छलाङ हान्नुपर्ने बेला आयो त ?

– जस्तै सचिवालय बैठक बोलाउन आजको मिति दिइएको थियो । अब भोलि बस्ने भयो भनेपछि एक दिनमा के निहुँ खोज्ने भन्ने उहाँको धारणा हो । यो लचकतामा थप लचकता हो । 

तर अब मेरो विचारमा उहाँ सहेर बस्न तयार हुनुहुन्न । व्यक्तिगत रूपमा उहाँलाई धेरै अपमानित गरिएको छ । धेरै अपमानको विष पिउनुभएको छ उहाँले । उहाँ अझै पनि चुप बस्नुभयो भने आन्दोलन नै सखाप हुने खतरा छ । 

कुनै बेला यस्तो समय पनि थियो, प्रचण्ड बोलेपछि देश, जनता र अन्तर्राष्ट्रिय जगतमा पनि तरंग आउने गर्दथ्यो । सबैको ध्यान हुन्थ्यो । अहिले त उहाँले केही नगरेको, सबै ओलीले गरेजस्तै देखिएको छ ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्